सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


‘महारानी’ को बाँकी जीवन चिडियाखानामा

प्रकाशित मिति । १० चैत २०७९

काठमाडौँ — गत शुक्रबार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई गाउँका महिलाहरु खप्टी नालामा घाँस काट्दै थिए । त्यही बेला बाघले आक्रमण गर्दा भागाभाग भयो ।

४२ वर्षीय गंगा चन्दलाई बाघले आक्रमण गरेर घिसार्दै लग्यो । अन्य महिलाहरु बाँच्न सफल भए । चन्दको शव शनिबार बिहान नजिकैको दललदलमा भेटियो ।

सोही दिन ४ वटा हात्ती प्रयोग गरेर नरभक्षी बाघ नियन्त्रण गर्न शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सकसहित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले डार्ट गरेर बाघलाई नियन्त्रणमा लियो । शनिबार राति नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुरुप बाघलाई सदर चिडियाखाना पठाइयो ।

आइतबार साँझ साढे ५ बजे सदर चिडियाखानामा ल्याइएको यो पोथी बाघको नाम ‘महारानी’ राखिएको छ । चिडियाखानाका प्रमुख डा‍. नरेश सुवेदीले भने,‘अब यो बाघलाई यहाँ भएको महाराज बाघसँगै राखिने भएकाले हामीले महारानी नामकरण गरिदिएका छौं । ’ अन्दाजी ५ वर्ष उमेर रहेको यो बाघले भारतीय वन क्षेत्रमा पनि एक नेपालीसहित २ जनाको ज्यान लिइएको कोषले जनाएको छ ।

चिडियाखानाको खोरमा ल्याइदै गरेको बाघ । तस्बिरः अंगद ढकाल/कान्तिपुर

महारानीको अबको बाँकी जीवन चिडियाखानामा बित्ने कोषका सदस्य सचिव शरद अधिकारीले बताए । उनका अनुसार २०७५ सालमा चितवनबाट उद्धार गरिएको महाराज नाम गरेको बाघसँगैको खोरमा यो बाघलाई राखिने भएकाले नामकरण पनि महारानी राखिएको हो । चिडियाखानामा महाराज नाम गरिएको बाघको उमेर अन्दाजी १२ वर्षको छ । चिडियाखानामा रहेका अन्य भाले बाघहरुभन्दा ठूलो भएकाले यसको नाम महाराज राखिएको थियो ।

बाघले एक पटक मानिसको आक्रमण गरेपछि पुनःमानिसलाई आक्रमण गर्ने र जंगलमा छाड्दा झन् समस्या हुने भएकाले घरमा राख्नुको विकल्प नभएको सुवेदीले बताए ।

सदर चिडियाखानामा अब ६ वटा बाघ भएका छन् । यसअघि विभिन्न समयमा ५ वटा बाघ यहाँ ल्याइएका थिए । २०७१ सालमा चितवन निकुञ्जबाट, २०७५ सालमा चितवनको प्रतापपुर र जगतपुरबाट १/१वटा बाघ ल्याइएको थियो । यस्तै, २०७७ सालमा बर्दियाबाट उद्धार गरिएको बाघ यहाँ राखिएको छ ।

हाल सदर चिडियाखानामा प्रताप नाम गरेको भाले र जागती नाम गरेका पोथी बाघलाई सँगै राखिएको छ । यस्तै, अब महारानी नाम दिइएको यो बाघ पनि महाराजसँगै रहने छ । चिडियाखानामा रहेका बाघलाई शनिबार बाहेक दैनिक ५/५ किलो राँगाको मासु दिने गरिएको छ ।

यो बाघलाई अब केही दिन खोरमै राखिने छ । खोरसँगै रहेको अर्को खोरमा महाराज रहने छ । त्यसको केही समयपछि मात्रै सँगै राखिने सुवेदीले बताए ।

चिडियाखानामा ल्याइएको यो बाघसँगै अब थप बाघ राख्ने ठाउँ नरहेको सुवेदीले जनाए । ‘अब ठाउँ पनि साँघुरो भएकाले थप बाघ राख्न सक्ने अवस्था छैन,’ सुवेदीले भने ।

जनमोर्चा अध्यक्ष केसीको चुनाव खर्च १८ लाख

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत मंसिर ४ गते भएको निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेको हिसाब सार्वजनिक गरेका छन् ।

केसीको निर्वाचन प्रतिनिधिको रुपमा स्थानीय नेता थानेश्वर सुवेदीले पत्रकार सम्मेलन गरेर खर्च सार्वजनिक गरेका हुन् । उनले सोही जानकारी निर्वाचन कार्यालयमा पनि बुझाएको बताए ।

केसीले यसअघिका कार्यक्रममा चुनाव महँगो भएको भन्दै अघिल्ला निर्वाचनको तुलनामा तीन गुणा खर्च भएको बताउने गर्थे । सुवेदीले दिएको जानकारी अनुसार मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, सवारी साधन भाडा तथा इन्धन खर्च ८ लाख ६० हजार र प्रचार सामग्रीमा २ लाख १० हजार खर्च भएको जानकारी दिए ।

त्यस्तै सामग्री ढुवानीमा २० हजार, कार्यालय संचालन गर्दा २ लाख ५० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार, विद्युतीय छापा खर्च ४० हजार र सामाजिक संजाल खर्च १० हजार देखाइएको छ । विविध खर्चमा १ लाख ३४ हजार खर्च भएको पत्रकार सम्मेलनमा सुवेदीले जानकारी गराए ।

जिल्लास्थित निर्वाचन कार्यालयमा बुझाइएको खर्च सार्वजनिकीकरण गर्नुपर्ने कानुनी प्रावधान छ । समयमा खर्च सार्वजनिक नभए उमेदवारलाई थप जरिवाना लाग्ने कानुनी व्यवस्था छ । केसी गत मंसिरको निर्वाचनमा बागलुङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।


Last Updated on: April 23rd, 2023 at 11:30 pm


२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया