
आचारसंहिता उल्लंघन गरेकोमा लामिछानेविरुद्ध कांग्रेसको उजुरी
वैशाख १०, २०८०
काठमाडौँ — चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । लामिछानेले आचारसंहिताविपरीत कार्यहरु गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।
चितवन कांग्रेसका सभापति राजेश्वर खनालले लामिछानेले खुलेआम आचारसंहिता उल्लंघन गरेपछि बाध्य भएर आयोगमा उजुरी गर्नुपरेको बताए ।
‘उहाँबाट आचारसंहिताको धज्जी उडाउने काम भएको छ । यहाँ सबैले देखेका छन् । सर्वदलीय बैठकमा उम्मेदवारले दुई वटामात्रै गाडी प्रयोग गर्ने सहमति भएको थियो ।
तर उहाँले १२/१४ वटासम्म गाडी प्रयोग गर्नुभयो,’ खनालले इकान्तिपुरसँग भने, ‘त्यतिमात्रै होइन, सडकमा पेन्टिङदेखि मतदानका बेला घन्टी बजाउँदै, नारा लगाउँदै मतदान केन्द्रमा घुम्ने र मतदातालाई प्रभावित पार्ने काम भयो । यस्तो खुलेआम आचारसंहिताविपरीत गरेपछि बाध्य भएर हामीले उजुरी दिएका हौं ।’
आइतबार मतदान भइरहेका बेला लामिछाने भोजाडको नयाँकिरण माध्यमिक विद्यालय मतदान केन्द्रमा पुग्दा आचारसंहिता उल्लंघन भएको भन्दै विवाद भएपछि दुई घन्टासम्म मतदान स्थगित भएको थियो । सो केन्द्रमा भएको सर्वदलीय बैठकमा रास्वपाका प्रतिनिधिले आचारसंहिता उल्लंघन भएको स्वीकार गरेका थिए । रास्वपालाई कारबाहीका लागि सिफारिस गर्ने सहमतिपछि मात्रै मतदान पुन: सञ्चालन भएको थियो ।
पार्ले एग्रोले बजारमा फेरि ल्यायो आँपको फ्रुटी र स्याउको एप्पी फिज
काठमाडौँ — भारतको पेय पदार्थ कम्पनी पार्ले एग्रोले ३ वर्षको अन्तरालपछि आँपको पेय पदार्थ फ्रुटी नेपाली बजारमा ल्याएको छ । त्यस्तै सो कम्पनीले स्याउको पेय पदार्थ एप्पी फिज पनि बजारमा ल्याएको छ ।
फ्रुटी १२५ र २०० मिलिलिटरको कार्टन प्याक तथा १५०, २५० र ५०० मिलिलिटरको पेट बोत्तलमा उपलब्ध रहेको पार्ले एग्रोले जनाएको छ । त्यस्तै एप्पी फिज १६०, २५० तथा ५०० मिलिलिटरको पेट बोत्तलमा उपलब्ध छ । पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेस्डरका रुपमा अभिनेत्री उपासना सिंह ठकुरीलाई तोकेको भने एप्पी फिजको ब्रान्ड एम्बेस्डरमा प्रियंका कार्की तोकिएकी छन् ।
फ्रुटी र एप्पी फिजलाई नेपालको हरेक कुनासम्म पुर्याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको जनाएको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पी फिज देशभर वितरण गरिरहेको छ ।
पार्ले एग्रोकी सहप्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहानले बिजेसका लागि नेपाल अपार सम्भावना बोकेको बजार रहेको भन्दै फ्रुटीसँग पहिले नै देशमा बलियो ब्रान्ड सम्बन्ध बनिसकेको बताइन् ।