
१० चैत २०८०
चितवन-२ आज भइरहेको उपनिर्वाचनमा एक केन्द्रको मतदान स्थगित भएको छ।
भरतपुर-११ को नयाँ किरण माविमा मतदान स्थगित भएको हो।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए।
लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए।
सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो। रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ। उनी भिडिओ खिचिरहेका थिए।
स्थगित भएको मदान सुचारू गर्न छलफल भइरहेको छ।
अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन्।
सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरू गर्ने तयारी भइरहेको उनले बताए। ‘बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरू हुन्छ,’ उनले भने।
काठमाडौँ — एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले सिंगापुरलाई जितका लागि ४ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार गरेको हो । मुहम्मद वासिम र वृत्य अरविन्दले दोस्रो विकेटका लागि उत्कृष्ट पार्टनरसिप गर्दै २४६ रन जोड्न सफल भएसँगै यूएई विशाल स्कोर खडा गर्न सफल भएको हो ।
वासिमले ८२ बलको सामना गर्दै १६ छक्का र ९ चौका प्रहार गर्दै कुल १६० रन बनाएका थिए । यस्तै अरविन्दले १३३ बल खेल्दै कूल १७४ रन बनाएका थिए ।
यसका साथै सातौं नम्बरमा ब्याटिङ गर्न आएका आयन अफ्जल खानले ५० बल खेलेर ७४ रनको योगदान दिएका थिए । यो त्रिवि मैदानमा कुनै पनि टिमले खडा गरेको सबैभन्दा ठूलो योगफल हो ।
बलिङतर्फ सिंगापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए ।