
उमेर बढाएर भत्ता, अख्तियारले थाल्यो छानबिन
प्रकाशित मिति । १० चैत २०८०
उपभोक्ता समितिमा विदेशमा रहेकाको नाम सडक बत्ती खरिदमा अस्वाभाविक मूल्य
काठमाडौँ — सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष र कार्यालय सहयोगीले जन्ममिति बढाएर आफन्तलाई वृद्धभत्ता दिलाएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।
उनीहरूले विदेशमा भएका व्यक्तिलाई राखेर भवन निर्माण उपभोक्ता समिति बनाएको र बजारभन्दा बढी मूल्य राखेर बत्तीको बल्ब खरिद गरेर भ्रष्टाचार गरेको पनि उजुरीमा छ ।
स्थानीयले ८ जनाको वृद्धभत्तासम्बन्धी विवरणसहित उजुरी गरेपछि अख्तियारले छानबिन सुरु गरेको छ । वडाले विवरण उपलब्ध नगराएपछि स्थानीय युवाले सूचनाको हक प्रयोग गरेर विवरण नगरपालिकाबाट लिएका थिए । अख्तियारले स्थानीय वडा कार्यालयमा पत्राचार गरेर विवरण माग गरेको छ ।
वडाध्यक्ष विनेशकुमार झाकी आमा सुनैनादेवीको मतदाता नामावली र नागरिकतामा जन्ममिति २०२३ साल छ । तर, वडाध्यक्षले त्यसलाई सच्याएर २००७ साल बनाई भत्ता खुवाएको उजुरीमा उल्लेख छ । उनकी काकी सुनैनादेवी कथबनियाँको नागरिकता र पुरानो नामावलीअनुसार जन्ममिति २०१५ साल छ । उक्त जन्ममितिअनुसार सुनैनादेवीलाई ६५ वर्षमा वृद्धभत्ता प्रदान गरिएको उजुरीमा उल्लेख छ ।
भत्ता खुवाउन जन्ममिति २००७ मंसिर ८ राखेको उजुरीमा उल्लेख छ । ज्येष्ठ नागरिक भत्ता नामावली क्रमसंख्या १७९ रहेको उजुरीमा उल्लेख छ । वडाका कार्यालय सहयोगी रवीन्द्र दासले आफ्ना बाबु दिनेशदास कथबनियाँको जन्ममिति परिवर्तन गरेर वृद्धभत्ता खुवाएको उजुरी छ
२०१५ सालका दिनेशको जन्ममिति २००४ चैत ३० बनाएर भत्ता खुवाएको भनाइ स्थानीय उजुरीकर्ताको दाबी छ । उनको नाम ज्येष्ठ नागरिकको भत्ता पाउने सूचीमा ५० औं नम्बरमा छ । त्यस्तै, स्थानीय रामलोचन दासको जन्ममिति बढाएर वृद्धभत्ता लिइरहेका छन् । २०१९ असोज १५ का उनको जन्ममिति २००८ असोज ९ बनाएर भत्ता सूचीको क्रमसंख्या १०८ नाम दर्ता गराएर भत्ता बुझिरहेको उजुरीमा उल्लेख छ ।
यी त केही उदाहरण मात्र हन् । नातागोता आफन्त र सहयोगीहरू एक दर्जनभन्दा बढी स्थानीयको उमेर बढाएर भत्ता खुवाएको उजुरीमा उल्लेख छ । उजुरीकर्ताहरूले नाम नलेख्ने सर्तमा सबै प्रमाण जुटाएर उजुरी दिएको बताए । स्थानीय एक युवकले भने, ‘वडाध्यक्षले नै नागरिकताको मिति बढाएर भत्ता खुवाएका छन् । कि त दुईवटा नागरिकता हुनुपर्यो होइन भने किर्ते गरेर भत्ता खुलाएको प्रमाणित भएको छ ।’
दुईवटा नागरिकता बनाएको भए झन् कानुन लाग्ने उनीहरू बताउँछन् । आफूहरूलाई विवरण उपलब्ध नगराएकाले सूचनाको हक प्रयोग गरेको उजुरीकर्ताहरू बताउँछन् । यसैबीच सोही वडा कार्यालय भवन निर्माणका क्रममा विदेशमा रहेकाहरूलाई उपभोक्ता समितिमा राखेको भन्दै छानबिन गर्न उजुरी दिइएको छ । उजुरी विवरणअनुसार भारतको हैदराबादमा रहेका ब्रजेशकुमार झाको नाम उपभोक्ता समितिमा राखेर नक्कली हस्ताक्षर गरेको स्थानीय बताउँछन् ।
त्यस्तै देवकृष्ण झा, आनन्द झा, अजित झाको नाम उपभोक्ता समितिमा राखे पनि उनीहरू एक पटक पनि बैठकमा गएका छैनन् । समिति गठन गर्दा वा योजना पूरा हुँदा हामीले कहिल्यै कुनै ठाउँमा हस्ताक्षर नगरेको दाबी रहेको र उपभोक्ता समितिमा राखेर नक्कली हस्ताक्षर गरेर भवन बनाउने योजना पूरा गरेको उजुरीमा उल्लेख छ ।
त्यस्तै, वडाले २० लाखको सडक बत्ती जडानमा अनियमितता गरेको उजुरी दर्ता गरिएको छ । वडाले ६८ वटा सडक बत्ती जडान गरेकोमा बजारको चलनचल्तीभन्दा अस्वाभाविक मूल्य राखेर खरिद गरेको भनिएको छ । उजुरीकर्तामध्ये एकले भने, ‘भारतमा बनेको एनबीटी, एलइडी लाइटको प्रतिवटा मूल्य २१ हजार ५ सय राखिएको छ । तर बजारमा एउटा लाइटको बजार मूल्य बढीमा २९ सय मात्र पर्छ ।’ बिजुलीको बल्ब राख्ने संरचना निर्माणमा जडान गरिएको फलामको मूल्य प्रतिकेजी चारदेखि पाँच सय पर्नेमा दुई हजार राखिएको दाबी स्थानीयले गरेका छन् ।
वडाध्यक्ष विनेशले भने उजुरीमा उल्लेख भएका विषय झूटो भएको दाबी गरे । नागरिकता दिने काम आफ्नो नभई जिल्ला प्रशासनको भएको भन्दै उनले आफू अख्तियारलाई सबै विषयको जवाफ दिन तयार रहेको बताए । वडावासी धेरैको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक पर्ने गरेको भन्दै उनले उजुरीकर्ताले दुःख दिन खोजेको दाबी गरे । सडक बत्ती राख्ने काम टेन्डरबाट भएकाले त्यसमा आफ्नो भूमिका नहुने उनले बताए । वडाले बजेट र काम नदिएकाले कतिपय मान्छे रिसाएर आफूविरुद्ध लागेको उनको भनाइ छ ।