सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


PahiloPost

आत्महत्या गर्नुअघि शालिकरामको ‘त्यो १२ घन्टा’

सविन ढकाल

26th August 2019, 05:52 pm | ९ भदौ २०७६

आत्महत्या गर्नुअघि शालिकरामको ‘त्यो १२ घन्टा’
काठमाडौं : गत साउन २० गते मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको विषय अझै पेचिलै छ। मृत फेला परेका पुडासैनीको संचारकर्मी रवि लामिछानेसँगको सम्बन्धले घटनालाई फरक मोड दियो। त्यो सँगै पुडासैनीको घटना आत्महत्या नभएर हत्या भएको समाचारले झनै मानिसमा भ्रम पैदा गरिदिएको छ। घटना भएको दिन पत्रकार पुडासैनी काठमाडौंबाट चितवन कसरी पुगे?

उनी सिधै चितवन आत्महत्या नै गर्ने गएका थिए? अनगिन्ती प्रश्नहरु जन्मिएका छन्।

प्रहरीले अनुसन्धानबाट पुडासैनीको मृत्यु हत्या नभएर आत्महत्या भएको पुष्टि गरिसकेको छ। पहिलोपोस्टले मृतक पुडासैनीको घटना भएको त्यो दिनको गतिविधिबारे प्रहरीले गरेको अनुसन्धाका तथ्यहरु फेला परेको छ।

शालिकराम साउन २० गते बिहान ८ बजेर १५ मिनेटमा गोंगबु बसपार्क पुग्छन्। यसबीचमा उनले आफ्नी श्रीमती सम्झना र प्रेमिका अस्मितालाई पालैपालो फोन सम्पर्क गरेको देखिन्छ।

उनी त्यहाँबाट चितवन लागे। ९ बजेर ४५ मिनेटमा उनी कलंकीमा पुगेका थिए। प्रहरीको अनुसन्धानमा पुडासैनीले बोकेको मोबाइल लोकेसनले यस्तै देखाउँछ। करिब ३ घन्टापछि उनी चितवनको मलेखु पुग्छन्। यस समयमा उनले श्रीमती सम्झनालाई पुन: फोन सम्पर्क गर्छन्। त्यसपछि सिधै चितवनको पोखरा बसपार्क पुग्छन्।

त्यस दिन कंगारु होटलमा पुग्नुअघि नजिकै एक अर्को होटलमा रुम खोज्दै पुगेका थिए सालिकराम।

‘पंखा छैन रुममा?’

‘एसी नै छ त।’

‘होइन, मलाई सिलिङ पंखावाला रुम चाहिएको हो।’

सिलिङ पंखा भएको कोठा नपाएपछि उनी लमजुङ होटलबाट फर्किए। लमजुङ होटल पुग्दा दिउँसोको ३ बजेर १० मिनेट गएको थियो। त्यसपछि उनी सिधै होटल कंगारु होटल पुग्छन्। उनी त्यहाँ पुग्दा ३ बजेर १५ मिनेट भएको हुन्छ। उनी होटलमाथि गएर कोठा हेर्छन्।

‘ल कोठा ठीक लाग्यो। हुन्छ।’

साउन २० गते दिउँसो ३:३० बजेतिर होटेल कंगारु पुगेका सालिकरामले भनेका थिए। होटलको २०२ नम्बर कोठा हेरेपछि काउन्टरमा फर्केर उनले बुक गरे। बुक गरेलगत्तै एक बोतल पानी लिएर कोठातिर गएको कुरा होटेल सञ्चालक यज्ञबहादुर कार्कीले भने।

उनी कोठामा पुगेपछि केही समयमा नै बाहिर निस्किन्छन्। ३ बजेर ३२ मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म उनी डोरी किन्न नजिकैको पोखरा बसपार्कस्थित श्रेष्ठ ब्रदर्स पसलमा पुग्छन्। उक्त कुरा प्रहरीले सो पसलबाट बरामद गरेको सिसिटिभी फुटेजबाट समेत देखिएको पसलका कामदार योगेन्द्रबहादुर सुर्यवंशीले प्रहरीलाई बयान दिएका छन्।

त्यसपछि उनी कोठामा फर्किन्छन्। ३ बजेर ४५ मिनेटमा उनी होटेल कंगारुको रुम नम्बर २०२ मा पुग्छन्। त्यसपछि पत्रकार पुडासैनीले आफ्नो भिडियो बनाउँछन्। जुन भिडियोमा उनले संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की आफ्नो आत्महत्याको कारण भएको आरोप लगाएका हुन्छन्। पहिलो भिडियो ४ मिनेट ५८ सेकेन्डको थियो।

त्यसपछि उनी दोस्रो भिडियो बनाउन लाग्छन्। ४ बजेर १ मिनेट १७ सेकेन्डमा दोस्रो भिडियो बनाएको प्रहरीको अनुसन्धानमा देखिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियो ८ मिनेट २७ सेकेन्डको छ। काठमाडौंमा रहेकी आफ्नो श्रीमती सम्झनालाई उनले फोन गर्छन्। त्यतिखेर दिउँसोको ४ बजेर २२ मिनेट भएको हुन्छ।

सोही दिन राति ९ बजेर ४५ मिनेटमा प्रहरीले पुडासैनी रहेको कोठा खोलेर हेर्दा मृत अवस्थामा फेला परेका थिए।

यो पढ्नुहोस्

मृतक प्रेमी, पीडित चाहिँ प्रेमिका, बीचमा भने रवि : यस्तो छ अस्मिताको बयान
नसुल्झेको रुम नम्बर २०२ को गुत्थी


Last Updated on: April 22nd, 2023 at 10:27 pm


३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया