सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


नेपालकै लागि जीवनका ३३ वर्ष
९ चैत २०७९

‘नेपालमै अन्तिम श्वास फेर्छु भनेर २ साताअघि काठमाडौं आएकी ८१ वर्षीया क्यान्सरग्रस्त एन्टोनिया न्यूवरको अमेरिका घर फिर्ने क्रममा यूएईको दुबईमा निधन भएको छ’

काठमाडौँ — आजभन्दा ३२ वर्षअघि नेपालमा पदयात्री बनेर आएकी अमेरिकी हितैषीले भित्री गाउँको आवश्यकता र जनसाधारणको इच्छा सुनेकै भरमा सोलुखुम्बुको जुनबेसीमा एक पुस्तकालय स्थापना गरिदिएकी थिइन् ।

आफूलाई गाउँठाउँ डुलाउने आङ्दोमी शेर्पाको इच्छामा जुनबेसीमा पुस्तकालय खोलिदिने तिनै हितैषी एन्टोनिया न्यूवर(टोनी)को यो सत्कर्म अहिले देशका ४७ जिल्लामा फैलिएको छ । उनैको अभियानअन्तर्गत ७०औं पुस्तकालय बनेको छ प्यूठानको लुपलुङ पुस्तकालय ।

नेपाली गाउँघर र किताबप्रेमी जनसाधारणसँगको लगाव कस्तो भइदियो भने टोनीले सुरु गरेको ग्रामीण शिक्षा तथा विकास(रिड)ले अभियानको रूप मात्र लिएन, यसले देश–विदेशमैं आत्मनिर्भर पुस्तकालयको सञ्जाल फैलाउनमा मद्धत गर्‍यो । तिनै नेपालप्रेमी टोनीको यो साता यूएईको दुबईमा निधन भएको छ, त्यो पनि आफ्नो अन्तिम इच्छाअनुसार नेपालमा पाइला राखेर घर फर्कने क्रममा बाटैमा उनको निधन भएको छ ।

जुनबेंसी सम्झँदै ताकुकोटमा

‘नेपालमै अन्तिम श्वास फेर्ने टोनीको इच्छा रहेछ, मैले पनि उहाँको सम्मानमा गत अप्रिल ८ मा भक्तपुरको नमुना घरमा सानो समारोह आयोजना गरेको थिएँ,’रिड नेपालका सदस्य एवं टोनीका पुराना चिनारु रवीन्द्र पुरी भन्छन्, ‘क्यान्सरको अन्तिम स्टेजमा पुगेकी एक हितैषीले अन्तिम घडीसम्म पनि शिक्षा, चेतना र पुस्तकालयका बारेमा कुराकानी गरिरहेको सुन्दा जोकोही आश्चर्यमा परेका थिए ।’ रिड ग्लोबलकी कार्यकारी निर्देशक सञ्जना श्रेष्ठले अस्ट्रेलियाबाट दिएको जानकारीमा, नेपालबाट एयर एम्बुलेन्समा घर फर्कने क्रममा यूएईको दुबईमा गत अप्रिल १६ मा टोनीको निधन भएको हो ।

गत अप्रिल ८ मा भक्तपुरस्थित रवीन्द्र पुरीको नमुना घरमा एन्टोनिया ।

‘मेरो जीवनको अन्तिम इच्छा भनेकै नेपाली गाउँघर र त्यहाँका निश्छल, सहयोगीका माझ किताबकापी र लेखपढका कुरा गर्दै बस्ने हो,’अप्रिल ८ को साँझमा टोनीले भनेकी थिइन्,‘तर, म अब उमेर र रोगले थलिएकी छु । अबको नयाँ पुस्ता र रिड नेपाल तथा ग्लोबलको भरोसामा म उभिएकी छु ।’

गत वर्ष चैतको तेस्रो साता गोर्खाको ताकुकोटमा ६९औं रिड पुस्तकालय उद्घाटन गर्न आएका बेला पनि टोनी उस्तै अस्वस्थ अवस्थामा एम्बुलेन्स भरमा गाउँ आइपुगेकी थिइन् । पुस्तकालय पनि एक पटक बनाएर स्थानीय समुदायलाई जिम्मा दिएपछि फेरि नियमित सञ्चालन वा प्रबर्द्धनका कुरामा कुनै प्रकारको आर्थिक सहयोग दिनुनपर्ने आत्मनिर्भर उपायका पुस्तकालय ।

पनौतीको ज्ञानविकास पुस्तकालय हुँदै गोर्खा, ताकुकोटको पुस्तकालय पनि यही आत्मर्भिरताका नमुना बनिसकेका छन् । स्थानीयको प्रत्यक्ष सहभागितामा आत्मनिभर्एर पुस्तकालय सञ्चालन हुँदै आएको यो मोडेललाई सन् २००६ मा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० लाख डलरको पुरस्कार(रेप्लिकेसन अवार्ड)) प्रदान गरिसकेको छ । यही रेप्लिकेसन अवार्डको बलमा रिड नेपालले भारतको हरियाणा, मणिपुर, राजस्थान, कोलकातासहित ४५ स्थान र भुटानमा थिम्पूसहित ९ स्थानमा रिड पुस्तकालय सञ्चालनमा ल्याइसकेको छ ।

नेपालमा पुर्‍याएको योगदान तथा शिक्षा–चेतनाको प्रबर्द्धनका निम्ति टोनीलाई नेपाल पर्यटन बोर्डले सम्मान तथा डिल्लीरमण रेग्मी इन्टरनेसनल पिस अवार्ड प्रदान गरिसकेको छ ।

‘रिडका संस्थापक डा.एन्टोनियाले एउटा पुस्तकालय खोल्ने र छाडिदिने खालको चलनमा नयाँपन दिनुभएको छ । फोटोकपी पसल राखेर हुन्छ वा सटर भाडामा लगाएर, ती पुस्तकालयहरु आत्मनिर्भर हुनैपर्छ भन्ने उदाहरणका कारण उहाँको यो शैलीलाई आज बाहिरी विश्वले प्र्रशंसा गरेको छ,’रिड ग्लोबलकी सञ्जनाले भनिन्, ‘माछा मारेर होइन, माछा मार्ने बल्छी दिएर टोनी दिदीले शैक्षिक र बौद्धिक जगतमा पुर्याएको प्रभावकारी योगदानको सधैं स्तुत्य रहनेछ, नेपाली गाउँघरका निम्ति टोनीको उज्यालो नाम सधैंसधैं प्रेरणास्वरूप रहिरहनेछ ।’


Last Updated on: April 22nd, 2023 at 2:59 pm


३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया