
प्रकाशित मिति । ९ चैत २०७९
काठमाडौँ — निर्वाचन आयोगले आइतबार बारा-२, चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनलाई सहज, स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्देशन दिएको छ ।
आयोगले शनिबार विज्ञप्ति जारी गर्दै मतदानलाई प्रचलित कानुन र आचारसंहिताबमोजिम सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधिहरुलाई आव्हान गरेको हो ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले आयोगले मतदानलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सम्बद्ध सबैलाई निर्देशन गरेको जानकारी दिए ।
यी हुन् आयोगका १० निर्देशन
१. मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निषेध गर्ने ।
२. निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराइ सोको पूर्ण पालना गर्ने/गराउने ।
३. अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउने ।
४. मतदान अधिकृतले दृष्टिविहीन वा शारीरिक रूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैं मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफैं मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउने ।
५. दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्ने ।
६. बुँदा नं. ४ र ५ मा उल्लेख भएदेखि बाहेक कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूणर्रुपमा निधेष गर्ने ।
७. कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तबरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिइ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने ।
८. निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँकतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्ने ।
९. मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कुल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने ।
१०. मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउने ।
डढेलोको चपेटामा चुरे क्षेत्र
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रस्थित बबई उपत्यका डढेलोको चपेटामा परेको छ । यस क्षेत्र भौगोलिक विकटताका कारण डढेलो नियन्त्रणमा आउन नसकेको निकुञ्जले जनाएको छ ।
बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले बर्सेनि डढेलो लाग्ने चुरे क्षेत्रमा नियन्त्रणको प्रयास भइरहेको बताए । यातायातको असुविधा, पहाडी भूभाग लगायतका क्षेत्रमा डढेलो नियन्त्रणका लागि दमकल लगायत सवारी साधन पुग्न नसक्ने भएकाले समस्या हुने गरेको उनले जनाए ।
‘यहाँ निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना, कर्मचारी लगायतले डढेलो नियन्त्रण लिने प्रयास गरिरहेका छन् । डढेलो निकुञ्जको समथर भूभागमा सल्केको छ,’ उनले भने, ‘डढेलोले अम्रेनी आसपासका क्षेत्रमा लगाइएको तारबार जलेको छ । निकुञ्जको बगौराफाटामा डढेलो नियन्त्रणको प्रयास जारी रहेको छ ।’
बर्दिया राष्ट्रिय निकुञ्जको लम्कौली फाटामा सुक्रवार देखि डढेलो लागेको आगो र धुवाले ढाकेको छ । तस्बिर : कमल पन्थी/कान्तिपुर
केही दिन अघिदेखि चलेको हावाले लौकली फाटालगायत आसपासमा डढेलो लागेको छ । यस क्षेत्रमा धूँवाले ढपक्कै ढाकेको छ । यहाँ पनि डढेलो निभाउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ ।