
आइतबार चितवन–२ मा अत्यावश्यक बाहेकका सवारी साधनमा रोक
९ चैत २०७९
काठमाडौं–पोखरा आउजाउ गर्ने बस, ट्रक पनि बन्द
चितवन — आइतबार हुने चितवन–२ को उपनिर्वाचनको मतदानका दिन अनुमति लिन नपर्ने एम्बुलेन्स र दमकल तथा निर्वाचन प्रयोजनका लागि अनुमति लिएका निश्चित सवारी साधन बाहेक अन्य सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रोक लगाइने भएको छ ।
यसअघि शुक्रबार दिउँसो चितवन जिल्ला प्रशासन कार्यालयले लामा दुरीका यात्रु बस समय मिलाएर सुरक्षा निगरानीका साथ समूहमा चलाउने जानकारी गराएको थियो । पछि अर्को सूचना निकालेर यो सुविधा हटाएको छ ।
चितवा–२ मा महत्त्वपूर्ण राजमार्गहरू पूर्व–पश्चिम महेन्द्र राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग पर्दछन् । पोखराबाट सुरू भएको पृथ्वीराजमार्ग मुग्लिन हुँदै चितवनको सिमाना मौवाखोला कटेर धादिङ छिर्छ । पृथ्वीराजमार्गको पूरै चितवन खण्ड मतदान हुने चितवन–२ मै पर्दछ ।
त्यसैगरि नारायणगढ–मुग्लिन सडकको पनि पूरै खण्ड चितवन–२ मा पर्छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन–२ मा नारायणगढ पुलचोकदेखि भरतपुर गोन्द्राङसम्मको भाग पर्दछ । मतदानका दिन गाडी चल्न नदिने निर्णयले देशको विभिन्न भागबाट चितवन हुँदै काठमाडौं पोखरा आउजाउ गर्ने सवारी साधन पनि दिनभर ठप्प हुने भएका छन् ।
गृह मन्त्रालयको निर्णय कार्यन्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम यस्तो निर्णय भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
हिउँको खोंचका ३ दिन, ४ घण्टा सीपीआरले चमत्कार
शेर्पा गाइडको टोलीले अनुरागलाई खोज्यो, भेटेन । मौसमको खराबीले हेलिकोप्टर पनि पुग्न सकेन । भोलिपल्ट स्की गरेर खोजीको तयारी भइरहँदा हिमपहिरो आएर उद्धार टोलीको भागाभाग भयो ।
अस्पतालमा चार घण्टाको सीपीआरपछि मुटुको धड्कन र श्वास दुवै फर्कियो । अहिले उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । यसरी चार घण्टासम्म सीपीआर गरेर अनुरागले पुनर्जीवन पाउनुलाई चिकित्सक र शेर्पा उद्धारकर्ताले ‘चमत्कार’ भनेका छन् ।
पोखरा — चुचुरोमा पुग्न स्वास्थ्यले साथ नदिएपछि ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालु अन्नपूर्ण प्रथमको ‘क्याम्प फोर’ बाट सोमबार आधार शिविर झर्दै थिए । क्याम्प थ्रीबाट तल झर्दै गर्दा उनी अघिअघि थिए, शेर्पा गाइड पछिपछि । बाटोमा रहेको हिम दरार पार गर्ने क्रममा उनी त्यसैभित्र पसे । तीन सय मिटर गहिरो दरारबाट बिहीबार बिहान उनको उद्धार भयो । उद्धार गरेर मणिपाल अस्पताल लैजाँदा न उनको मुटुको धड्कन चलेको थियो, न श्वास ।
अस्पतालमा चार घण्टाको सीपीआरपछि मुटुको धड्कन र श्वास दुवै फर्कियो । अहिले उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । यसरी चार घण्टासम्म सीपीआर गरेर अनुरागले पुनर्जीवन पाउनुलाई चिकित्सक र शेर्पा उद्धारकर्ताले ‘चमत्कार’ भनेका छन् ।
८ हजार ९१ मिटर अग्लो यो हिमाल चढ्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नर्थ बेसक्याम्पबाट आरोही चुचुरोतिर लाग्छन् । सोमबार बिहान ११ बजेको हुँदो हो । एकाबिहानै विश्वको १० औं अग्लो हिमालको चुचुरो नापेर फर्कंदै गरेका आरोहीको लस्कर थियो । त्यतिबेला सेभेन समिट ट्रेक प्रालिका पर्वतारोहण गाइड छेपाल शेर्पा क्याम्प २ मा झरेर आरोहीका लागि सुप तयार गर्दै थिए । माथिबाट अर्का गाइड दावा दार्जिलिङ चिच्याए ।
दावाले अनुराग मालु हिम दरारमा खसेको बताए । छेपाल बन्दोबस्तीका सामान लिएर हिम दरार भएतिर उक्लिए । ‘अन्नपूर्णमा यो ठाउँलाई एकदमै जोखिमपूर्ण मानिन्छ, कसरी हुन्छ छिटो पार गर्नुपर्छ,’ उनले भने, ‘त्यस दिन अनुरागले लामो डोरी समातेर दरार पार गर्नुपर्थ्यो । दुर्भाग्यवश छोटो डोरी समात्न पुगेछन् । हिम दरार पार गर्न सकेनन् ।’
उनका अनुसार क्याम्प ३ बाट झरेर क्याम्प २ आउनै लाग्दा हिम दरार आइपुग्छ । हिम दरारको मुख सानो छ । गहिराइ झन्डै ३ सय मिटर । शेर्पा गाइडको टोलीले तत्कालै डोरीको सहायताले २० मिटर तलसम्म पुगेर अनुरागलाई खोजे । तर दरार निकै गहिरो र तल फराकिलो हुँदै गएको देखेपछि त्यहाँभन्दा तल पुग्न सकेनन् । त्यस दिन मौसमको खराबीले सिम्रिक एयरको हेलिकोप्टर पुग्न सकेन । भोलिपल्ट स्की गरेर अनुरागको खोजी गर्ने तयारी भइरहेको थियो, त्यतिबेलै हिम पहिरो आएर उद्धार टोलीको भागाभाग भयो ।
सेभेट समिटबाटै अन्नपूर्ण आरोहण गरेर क्याम्प ४ मा फर्किएका आयरल्यान्डका पर्वतारोही ५६ वर्षीय नायल हान्ना सोमबार टेन्टभित्रै मृत भेटिएका थिए । उनी सगरमाथा १० पल्ट आरोहण गरिसकका पर्वतारोही हुन् । सोमबार नै पायोनियर एड्भेन्चरबाट अन्नपूर्ण आरोहण गरी क्याम्प ४ बाट फर्कने क्रममा चिप्लिएर भारतीय पर्वतारोही बलजित कौर हराएकी थिइन् । अक्सिजनबिना आरोहण गरेकी उनको मंगलबार ७ हजार ६ सय मिटरमा उद्धार भएको थियो ।
बुधबार खराब मौसम भएकाले अन्य पर्वतारोहीको उद्धारमा खटिएको छेपालले बताए । ‘घटना भइसकेपछि जिउँदो वा मरेको जस्तो अवस्थामा भए पनि उद्धार गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो,’ उनले भने, ‘एकजनाको उद्धारमा धेरैजनाको क्षति हुन सक्ने अवस्थामा हामीले बाचेकाहरूलाई प्राथमिकतामा दिनुपर्छ ।’ बिहीबार भने सेभेन समिटका निर्देशक छाङ दावा शेर्पाको नेतृत्वमा उद्धारका लागि आवश्यक सामग्री जोहो गरियो । उद्धारको नेतृत्व छेपालले लिए । ५ शेर्पा र २ पोल्यान्डका आरोही अनुरागको उद्धारमा खटिए । साँघुरो दरार भित्र पस्नु उत्तिकै जोखिमपूर्ण थियो ।
‘दन्दनी बलेको आगोभित्र फसेकोलाई बचाउन आगोभित्र छिरेजस्तै खतरा थियो हिम दरारभित्र छिर्न,’ छेपालले फोनमा भने, ‘एक घण्टाभित्र अनुरागलाई भेटे पनि नभेटे पनि माथि फर्किने सल्लाह थियो ।’ बिहान ७ः५० बजे उद्धारकर्ता दरारभित्र छिरे । सातमध्ये २ जना तलसम्मै पुगे । केही बीचमा र केही माथि बसे । तापक्रम झन्डै माइनस ३५ डिग्री सेल्सियस थियो । मुखमा साँघुरो र तल फुक्दै गएको दरारमा ३ सय मिटर तल अनुरागको शरीर घोप्टो परेको अवस्थामा भेटे ।
बिहीबार नै उनलाई प्रभु हेलिकोप्टरबाट पोखराको मणिपाल अस्पताल ल्याइयो । बिहान ११ बजे मणिपालको आकस्मिक कक्षमा उनको उपचार थालियो । आकस्मिक कक्षका इन्चार्ज कन्सल्ट्यान्ट फिजिसियन डा.असिम सुवेदी र कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्टसहितको टिम अनुरागको उपचारमा खटियो । त्यतिञ्जेल अनुरागका भाइ सुधीर मालु अस्पताल पुगिसकेका थिए । चिकित्सकले मुटुको चाल गइसकेको, श्वासप्रश्वास नभएको र मस्तिष्कसमेत सक्रिय नभएकोले आशा मारिसकेका थिए । तर सुधीरले हिम्मत हारेनन् । दाइको उपचार जारी राख्न चिकित्सकलाई दबाब दिए ।
चिकित्सक सुवेदीका अनुसार मानिसको शरीर मर्दै जाँदा अम्लीयपना बढ्दै जान्छ । साधारण मानिसको शरीरमा अम्लीयपना ७.४ सम्म हुन्छ तर अनुरागको ६.७ पुगिसकेको थियो । यो भनको धेरै हो । शरीरमा अक्सिजन कम हुँदा कोशिका मर्दै गएर ल्याक्टेट बढ्दै जान्छ । साधारण मानिसको शरीरमा ल्याक्टेट २ सम्म हुन्छ । अनुरागको शरीरमा ल्याक्टेट बढेर ५.३ पुगेको थियो । यस्तो अवस्थामा मुटु र मस्तिष्क नचल्दा, स्वास नफेर्दा मानिसको मृत्यु नै हुन्छ ।
***
भाइको दबाबपछि भने चिकित्सकले छातीमा हत्केलाले थिचेर मुटुको चाल फर्काउने प्रक्रिया अर्थात कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) सुरु गरे । अम्लीयपना घटाउन सोडियम बाइकार्बोनेट लगायत अन्य आवश्यक औषधि दिँदै गए । अक्सिजनका लागि भेन्टिलेटर लगाइयो । ‘दुई–तीन घण्टासम्म पनि केही प्रतिक्रिया नभएपछि छोडौं भन्ने भएको थियो,’ डा.सुवेदीले भने, ‘उहाँ भाइले निरन्तरता दिन जोड गरिरहनुभयो ।’
सीपीआर गर्दै रोक्दै गर्ने प्रक्रिया इन्टमिटेन्ट सीपीआर चिकित्सकले गरे । टाउकोको नसाबाट अक्सिजन पठाउने उपचार विधि इक्मो गर्ने सल्लाह चिकित्सकबीच भयो । तर त्यसका लागि पोखरामा प्रविधि थिएन । काठमाडौंको मेडिसिटी अस्पतालसँग मणिपालले सम्पर्क गर्यो । इक्मोको लागि पनि मुटुको चाल भने आउनुपर्थ्यो । मेडिसिटीका चिकित्सकसँग सम्पर्कमा रहँदै मणिपालका चिकित्सकले सीपीआर जारी राखे । अन्ततः चार घण्टापछि अनुरागको धड्कन फर्कियो । आँखा र खुटटा चलाए ।
डा.सुवेदीका अनुसार अत्यधिक चिसोले मुटु नचल्ने समस्यालाई हाइपोथर्मिक कार्डियाक अरेस्ट भनिन्छ । चिसोमा मुटुनै बन्द भए पनि बाँच्ने सम्भावना भने हुन्छ । ‘हाम्रो घरको फ्रिजले खानेकुरा जोगाएर राखेजस्तै अत्यधिक चिसोले हाम्रो शरीरलाई जोगाएर राखेको हुन्छ,’ उनी भन्छन्, ‘अन्य समस्याले मुटु नचलेको भए ज्यान बच्ने सम्भावना नै थिएन । विज्ञानको हिसाबले भन्ने हो भने उहाँको मृत्यु भइसकेको हो । पुनर्जीवन पाउनुलाई चमत्कार नै भएको मान्नुपर्छ ।’
अनुरागको मुटुको धड्कन चलेपछि डा.सुवेदी र अर्का इन्टर्न अनिल भुसालले हेलिकप्टरमा मेडिसिटी पुर्याए । अहिले मेडिसिटीको आईसीयूमा राखेर अनुरागको उपचार भइरहेको छ । रक्तचापमा सुधार हुँदै गएको छ । राजस्थान किसनगढका अनुराग ८ हजार मिटर उचाइका १४ हिमाल र सात महादीपका सात अग्ला पर्वत चढ्ने अभियानमा थिए । त्यही क्रममा अन्नपूर्ण प्रथम आरोहणका लागि आएका थिए ।
उनी भारतमा दिगो विकासका क्षेत्रमा काम गर्छन् । विभिन्न गैरसरकारी संस्थासँग मिलेर समाजसेवामा समेत सक्रिय छन् । अन्नपूर्ण प्रथम आरोहणका क्रममा तीन दिनसम्म हिम दरारमा फसेका भारतीय पर्वतारोहीको उद्धारमा खटिएका पर्वतारोहण गाइड ।