मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


हात्तीको न्वारान : गणतन्‍त्र आएपछि फेरिए नाम

प्रकाशित मिति । ५ चैत्र २०७९ ।

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन् केन्द्रमा १२ दिनअघि जन्मिएको धुव्रे हात्तीको छावाको नाम आइतबार ‘विजयगज’ राखिएको छ । प्रजनन केन्द्रमा हुर्काइने हात्तीको पहिचानका लागि नामकरण गर्ने चलन छ । यस्तो नामकरण राजतन्त्र कालमा राजपरिवारका सदस्यका नामबाट गरिन्थ्यो । राजनीतिक व्यवस्था परिवर्तनसँगै नाम पनि बदलिएको छ ।

यसरी नामकरण गरिएका हात्तीका नाममा कुनै दिन विशेष, घटना विशेष वा आम सर्वसाधरणले राख्ने जस्तो नाम राख्न थालिएको छ । त्यसैले अचेल जन्मिने हात्तीहरुको वीरेन्द्रगज, ज्ञानेन्द्रगज, ऐश्वर्याकली, कोमलकली, श्रुतिकलीजस्ता नाम छैनन् । व्यवस्था बदलिएपछि जन्मिएका हात्तीका नाम लोकतन्त्रकली, शेषचन्द्रगज, रमेशगज, खोरसोरकली, सीमसारगजजस्ता छन् ।

आइतबार न्वारान गरिएको हात्तीको छावालाई विजयगज नाम राख्नुको पछाडिको कारण उसको जन्मको घटनासँग जोडिएको छ । १२ दिनअगाडि पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको टोलीले शल्यक्रिया गरेर निकालिएको यो छावाको नाम उनै डाक्टरका सम्मानका खातिर राखिएको हो ।

दुई दिनसम्म व्याथा लाग्दा पनि बच्चा जन्माउन नसकेपछि मृत्युको मुखमा पुगेको हात्ती र छावा शल्यक्रियामार्फत् सकुशल भएपछि हात्तीको नाम विजयगज राखिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आइतबार विजयगज नाम राखिएको छावा ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भन्छन्, ‘मृत्युसँग जुधेर नयाँ जीवन प्राप्त गरेको हात्ती पनि भयो । शल्यक्रिया गर्ने चिकित्सकको नाम पनि विजय भएकाले छावाको नाम विजयगज राखियो । ’

प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरी हात्तीसारमा जन्मिएका छावालाई न्वारान गर्ने चलन पहिल्यैदेखि रहेको बताउँछन् । उनी भन्छन्, ‘मानिसको बच्चा जन्मँदा ११ दिनमा न्वारान गरिन्छ । हात्ती अलिक ठूलो जीव भएकाले १२औं दिनमा न्वारान गर्ने चलन छ ।’

उनका अनुसार हात्तीको न्वारान गर्ने दिन निकुञ्जका प्रमुख संरक्षण अधिकृत, समामजका लब्ध प्रतिष्ठित व्यक्तिहरु, विभिन्न सरकारी निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लगायतको सहभागिता हुने गर्छ ।

पहिला हात्तीले बच्चा जन्माएपछि त्यसको जानकारी निकुञ्ज, विभाग, मन्त्रालय हुँदै दरबारमा पुग्थ्यो । दरबारले नै हात्तीको नाम आफ्नो परिवारका सदस्यको नाम राख्न भन्ने गर्‍थ्यो । चौधरी भन्छन्, ‘राजाको पालामा दरबारबाटै नाम यो राख्नू भनेर आउँथ्यो । अहिले त्यसो छैन ।’ अचेल ठाउँ,व्यक्ति, घटनासँग जोडिएको नाम राख्ने गरिएको उनले बताए ।

२०७७ सालमा गणेशकलीले जन्मदिएको छावाको न्वारान गरिदै । फाइल तस्बिरः चितवन राष्ट्रिय निकुञ्ज ।

हात्तीको न्वारान गर्ने दिनमा माउलाई बिहानै नुहाई धुवाई गराइन्छ । तोरीको तेलमा जुवानो, मेथी, लसुन, राखेर माउको पुरै शरीर मालिस गरेर हात्तीलाई रंग र फूलमाला लगाइन्छ ।

प्रजनन केन्द्रका प्रमुख चौधरी भन्छन्, ‘मालिस गरिदिने चलनपनि पहिल्यैदेखिको हो । सुत्केरी भएको १२ दिनसम्म हामी गर्छौं । ’ एकपटक शरीरमा मालिस गर्दा दुई लिटर तेल खर्च हुने उनले बताए । न्वारान गरेपछि हात्तीलाई तेल चाहिँ आवश्यकता अनुसार गर्ने गरिन्छ ।

न्वारानको दिन माउलाई फलफूल,खीर दिइने उनले बताए । त्यसदिन पण्डित बोलाउने र मिति,तिथीको आधारबाट नाम जुराइन्छ । कहिलेकाहिँ घटनाको आधारमा पनि नाम राखिने उनले बताए । ‘विजयगजको नाम चाही घटनासँग जोडिएकाले जुराइएको हो,’ चौधरीले कान्तिपुरसित भने ।

गणतन्त्रसँगै हात्तीको नामाकरण पनि परिवर्तन आएको छ । गणतन्त्र घोषणापछि प्रजनन केन्द्रमा जन्मिएका धेरै हात्तीको नाम घटना, ठाउँ विशेषमा राखिएको छ ।

‘ न्वारान पण्डितले नै गराउँछन् । नाम चाहिँ चिफ वार्डेनले दिने परम्परा छ,’ आचार्यले कान्तिपुरसित भने,‘ भाले छ भने गज, पोथी छ भने कली । ’

२०७८ सालमा प्रजनन केन्द्रमा रहेकी नारायणकलीले जन्माएको छावा ।

लोकतन्त्र घोषणा भएको बेला २०६३ सालमा जन्मिएको एउटा हात्तीको नाम लोकतन्त्रकली राखिएको छ । गत वैशाखमा हात्तीसारमा कार्यरत रमेशकुमार चौधरीको हात्ती चराउन गएको बेला बाघको आक्रमणमा परी मृत्यु भएपछि प्रजनन केन्द्रमै जन्मिएको एउटा छावाको नाम रमेशगज राखिएको थियो ।

यस्तै, २०७१ सालमा तस्करहरुको गोली लागेर ज्यान गुमाएका निकुञ्जका गेमस्काउट शेषचन्द्र चौधरीको नाममा पनि हात्तीको नामाकरण गरिएको छ । अघिल्लो वर्षको वैशाखमा जन्मिएको छावाको नाम शेषचन्द्रगज राखियो ।

वार्डेन आचार्यका अनुसार ठाउँ विशेषको नाममा पनि हात्तीको नामकरण गरिएको छ । सीमसार दिवसमा जन्मिएको एउटा हात्तीको नाम नै ‘सीमसारगज’ राखियो । ‘नामकरण कुनै भाव जनाउनका लागि हात्तीको नाम राख्ने गरिएको छ,’ उनले कान्तिपुरसँग भने । खोरसोरमा जन्मिएको हात्तीको नाम पनि ‘खोरसोरगज’ राखिएको छ ।

पूर्राराजाहरुको नाममा नामकरण राखिएका हात्तीहरु वीरेन्द्रगज, ज्ञानेन्द्रगज, दीपेन्द्रगजको मृत्यु भइसकेको छन् । धीरेन्द्रगजको पनि मृत्यु भएको प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिए ।

तत्कालीन रानी ऐश्वर्या, छोरी श्रुतिको नाममा नामकरण गरिएका हात्तीको उमेर अहिले ३० वर्ष छ । पूर्व राजा ज्ञानेन्द्रकी श्रीमती कोमलको नाममा राखिएको ‘कोमलकली’ हात्ती अहिले जीवत छ । उसको उमेर ५५ वर्ष रहेको चौधरीले बताए । ज्ञानेन्द्रका छोरा पारसको नाममा राखिएको ‘पारसगज’को उमेर १५/१६ वर्ष भएको उनले बताए ।

हात्ती प्रजनन केन्द्रमा राखिएको हात्ती । फाइल तस्बिरः चितवन राष्ट्रिय निकुञ्ज

जंगली हात्तीको भने नामकरण हुने गरेको छैन । तर केही घटनासँगै केन्द्रित भएर स्थानीयले नाम राखिदिएको वार्डेन आचार्य बताउँछन् । उनी भन्छन्, ‘धुव्र नाम गरेको व्यक्तिलाई मारेको भएर हात्तीको नाम ‘धुव्रे’ राखेको हुन सक्छ । गोविन्दे, रोनाल्डो पनि त्यस्तै कुनै घटनाबाट प्रभावित भएर स्थानीयले नाम राखिदिएको हुन सक्छ । ’

मापदण्ड बनाउने तयारी

प्रजनन केन्द्रमा जन्मिएका हात्तीको नाकरणका लागि मापदण्ड बनाउने तयारी भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक महेश्वर ढकालले हात्तीको नाकरणका सवालमा मन्त्रालयमा मापदण्ड बनाएर राख्ने विषयमा छलफल चलिरहेको बताए । उनले भने,‘मापदण्ड बनाएर नामाकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यसका लागि तिथी,मिति हेरेर, हात्तीको वंशको आधारमा पनि राख्न सकिन्छ भन्ने छ । ’

नाममा एकरुपता ल्याउनका लागि मापदण्ड बनाउनका लागिएको उनले जानकारी दिए । एउटा हात्तीको रेखदेखका लागि ३ जना खटिने र सरकारको दरबन्दी नै हुने भएकाले भालेलाई कसरी र पोथीलाई कसरी नाम राख्ने भन्ने विषयमा मापदण्ड बनाइने उनले बताए ।

प्रजनन केन्द्रमा हुर्काइएको वा घरमा पालिएका हात्तीको नाम भारत र केन्यामा पनि राख्ने गरिएको छ । केन्यामा न्वारान नै नगरिए पनि हात्तीको नाम राख्नका लागि विशेष कार्यक्रम नै आयोजना गर्ने गरिन्छ ।

२०४४ सालमा ६ वटा भाले र १४ वटा पोथी हात्ती राखेर औपचारिक रुपमा हात्ती प्रजनन केन्द्रको स्थापना गरिएको थियो । तीमध्ये १६ वटा भारतर २/२ वटा थाइल्याण्ड र म्यानमारबाट ल्याइएको थियो । प्रजनन केन्द्र स्थापना भएयता ६२ वटा बच्चा जन्मिएको चौधरीले जानकारी दिए । तीमध्ये विभिन्न रोगका कारणबाट ६ वटा छावा मरेको निकुञ्जका चिकित्सक विजयकुमार श्रेष्ठले बताए । हर्पिस भाइरसका कारण ती छावाहरु मरेका थिए ।

प्रजनन केन्द्रमा जन्मिएका हात्तीलाई तालिम दिने,हुर्काउने र अन्य निकुञ्जका हात्तीसारहरुमा दिने गरिन्छ । चालू आर्थिक वर्षमा वर्ष शुक्लाफाँटालाई दुई र अघिल्लो आर्थिक वर्षमा बाँकेलाई चारवटा हात्ती दिइएको थियो । त्यस्ता हात्तीलाई जंगल सफारी, गस्तीका लागि प्रयोग गर्ने गरिन्छ । यस्तै, बाघ गणनामा पनि हात्तीको प्रयोग गरिन्छ ।

चैत १२ गतेसम्म स्ववियु निर्वाचन सक्न उपकुलपतिको निर्देशन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरुमा चैत १२ गतेअगावै निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले विज्ञप्ति जारी गरेर स्ववियु चयन गर्न सफल क्याम्पसलगायत, पदाधिकारी, प्राध्यापक, विद्यार्थीलाई धन्यवाद दिएका छन् । १२ गतेदेखि परीक्षा संचालन गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै स्ववियु गठन गर्न आग्रह गरेका हुन् ।

काठमाडौंका ७ सहित देशभरका केही ठूला क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुन सकेको छैन । ‘स्ववियुलाई हारजित नसम्झी, आपसी समझदारी गरी विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । निर्वाचन निर्देशिकामा वैशाख ५ गतेसम्म निर्वाचन गराउन सकिने व्यवस्था गरिएको छ ।


Last Updated on: March 19th, 2023 at 10:49 pm


२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया