मंगलबार ०७ चैत्र २०७९


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा सदस्यको १२ लाख रुपैयाँ कर्जा मिनाहा

प्रकाशित मिति । ५ चैत्र २०७९ ।

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो एक सदस्यको ऋण मिनाहा गरिदिएको छ ।संस्थाले सुनसरी, रामुधनी नगरपालिका वडा नं. ७ की रामकुमारी धामीको १२ लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको हो ।

धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा गरी उल्टै २० प्रतिशत रकम थपेर दिएको संस्थाले जनाएको छ । उनले जग्गा खरिद गर्न भनी २०७८ कार्तिक २८ गते फरवार्ड माइक्रोफाइनान्सबाट १२ लाख रुपैंया धितो कर्जा लिएकी थिइन् ।

धामीको गत पुस २५ गते असामयिक निधन भएको थियो । त्यसबेलासम्म उनले १० किस्ता वापतको रकम फरवार्डलाई बुझाएता पनि अरु किस्ता बाँकी थियो । संस्थाबाट कर्जा लिँदै रामकुमारीको कर्जा बीमा गरिएकोले उनलाई ठूलै राहत मिलेको संस्थाले जनाएको छ ।

संस्थाले मृतक धामीको घरमै पुगेर उनका श्रीमान फागुलाललाई १२ लाख कर्जाको ११ लाख १ हजार ५६१ रुपैंया मिनाहा गरी त्यसमा २० प्रतिशत बीमा रकम २ लाख १३ हजार २९६ रुपैंया तथा संस्थाबाट थप क्रिया खर्चवापत ६ हजार समेत गरी १३ लाख ७६ हजार ५१ रुपैंया हस्तान्तरण गरेको हो ।

स्ववियु निर्वाचन : मतदान सकियो, साँझबाटै गणना

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आइतबारको मतदान प्रक्रिया सकिएको छ । मतदान सकिएका क्याम्पसहरुले साँझबाटै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् ।

निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकेको थियो । ढिला सुरु भएका र बीचमा अवरुद्ध भएका केही क्याम्पसले ४ बजेपछि पनि मतदान जारी राखेका थिए । समितिका सदस्य सचिव पशुपति अधिकारीले देशभरका क्याम्पसमा शान्तिपूर्ण निर्वाचन भएको जानकारी दिए ।

काठमाडौं उपत्यकाका २२ मध्ये ७ क्याम्पसमा आइतबार निर्वाचन हुन सकेन । त्यस्तै पोखराका ४ र चितवनका ३ क्याम्पसमा पनि आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ ।

गुठी जग्गा संरक्षणको माग

जनकपुर — इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले गुठीका अधिनस्थ जग्गा सामाजिक उपभोगमा ल्याउनु पर्ने माग गरेको छ ।

केन्द्रीय अध्यक्ष बद्रीनारायण ठाकुरको नेतृत्वमा गएको टोलीले आइतबार जनकपुरधामस्थित गुठी संस्थान शाखा कार्यालयलाई गुठी जग्गा अतिक्रमणमुक्त गर्न ध्यानाकर्षण गराएको हो । गत भदौ १२ गते उक्त पार्टीले गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा सात बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा उठाइएका सवालहरु सम्बोधन नगरिएकोले आइतबार पुनर्ताजगीपत्र बुझाइएको अध्यक्ष ठाकुरले बताए ।

गुठी संस्थानको सम्पत्ति दिनदिनै बिक्री वितरण तथा अतिक्रमणमा पर्दै गए पनि सरोकारवाला निकाय मौन रहेको भन्दै इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले विरोध कार्यक्रमसमेत सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा ज्ञापनपत्र बुझाउने, रिले धर्ना, रिले अनसन, पूर्णकालीन अनसन तथा कार्यालयमा तालाबन्दी गर्नेलगायत छन् ।

भदौ १२ गते गुठी केन्द्रिय कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा गुठी संस्थानको जग्गा यकिन गरी समाजका गरिब, विपन्न, दलित, सुकुम्बासीलगायत घरबास नभएकाहरुलाई वितरण गर्नुपर्ने तथा जग्गा उपभोग गरेबापत कानुनअनुसार गुठी संस्थानलाई कूतबाली बुझाइने उल्लेख छ ।

राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक संसद्‍मा दर्ता

काठमाडौँ — सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरू मिलेर संघीय संसद्‍मा गैरसरकारी विधेयक दर्ता भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले संयुक्त रूपमा गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक आइतबार दर्ता भएको जानकारी दिएका छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहले संयुक्त रुपमा गैरसरकारी विधेयक दर्ता गरेका हुन् । अछामी माओवादी केन्द्र, दाहाल एमाले, पन्थ कांग्रेस, भुसाल एकीकृत समाजवादी, प्रमिला कुमारी जनता समाजवादी पार्टी र सिंह लोकतान्त्रिक समाजवादी पार्टीका सांसद हुन् ।

सहायक प्रवक्ता धमलाका अनुसार उक्त गैरसरकारी विधेयकमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समावेश भएका छन् ।

विधेयक प्रस्तुतकर्ता सांसदहरूको तर्फबाट प्रकाश पन्थले उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएका हुन् ।


Last Updated on: March 19th, 2023 at 6:16 pm


तपाईको प्रतिक्रिया