मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


साइबर अपराध सम्बन्धी उजुरीपछि बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ !

प्रकाशित मिति । ४ चैत्र २०७९ ।

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो। उनी विदेशबाट फर्कँदै थिए।

ब्युरोका एसएसपी नविन्द अर्यालले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको बताए । केही गायक गायिकासँग उनको विवाद रहेको बुझिएको छ ।

उनको फेसबुकमा अहिले पनि केही गायक-गायिकाको हस्ताक्षर रहेको कागज राखिएको छ । तर, उक्त कागज के प्रसंगको थियो भने खुल्न सकेको छैन ।

सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो। रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको बुझिएको छ।

रमन्ता पत्रकारको भूगोल बुझाइ

डुलघुममै रमाउने उनलाई पूर्वी पहाडको सेरोफेरोले मात्रै आँत भरिएन सायद र लागे चिवाभञ्याङ–झुलाघाट यात्रामा । यही लामो यात्रासमेत समेटिएको ‘कञ्चनजंघाको काखबाट’ पुस्तकमार्फत उनी अब नियात्राकार बनेका छन् ।

‘पहाडैपहाड पूर्व–पश्चिम’ बाहेक उनका सबैजसो नियात्रा कञ्जनजंघा पेरिफेरीकै हुन् । हतारको यात्रा वा रिपोर्टिङ सिलसिलामा छन् उनका अनुभूति । जसले स्थानीय जनजीवन, संस्कृति, समाज अनि विकासको अवस्था बुझाउँछ । प्रायः गाउँ विकासोन्मुख छन् । आन्तरिक पर्यटनले गति लिएको छ । आफ्नै गाउँमा उपलब्ध पर्यटन प्रोडक्टलार्ई उजागर गर्ने प्रयास भएका छन् । होमस्टे, पदमार्ग, मेला–महोत्सवको लहर छाएको देखिन्छ ।

मध्यपुसको जाडोमा ६ मोटरसाइकलमा ११ जनाको टोलीले पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म गरेको यात्रा लोभलाग्दो छ । १ हजार ८७९ किलोमाटिर यात्रामा २६ जिल्ला पार गर्दै २१५ भन्दा बढी बस्ती छिचोल्दाका सांगोपांग दृश्यलाई समेट्ने प्रयास गरेका छन् । लोकमार्गको प्रगति, यसले छोएका गाउँबस्तीको विकास र त्यहाँका बान्सिदाको अपेक्षाले धेरै कुरा बताउँछ ।

ठाउँठाउँमा बनाइएका कंक्रिट स्तम्भको प्रसंग पनि जोडेका छन् । तेह्रथुमको लसुनेमा लसुन, म्याङलुङ बसपार्क नजिकै बिरालो, धनकुटाको सिधुवामा कोभी, हिलेमा तोङ्बा, वसन्तपुरमा गुराँस… । यति मात्रै होइन प्राकृतिक सौन्दर्य बिगार्ने गरी ठाउँका नाम चिनाउन ठड्याइने कंक्रिटका अक्षरमा अब स्थानीय सरकारले रोक लगाउनैपर्छ ।

यात्राका क्रममा उनी कतै गोठस्टेमा बस्न पुगेका छन् त कतै मौलिक स्वाद नपाइने गाउँमा पनि भोक मेटाउन बाध्य छन् । युवाहरू सहर र विदेश हान्निएपछि खेतबारी बाँझिए । विषादीयुक्त लसुनप्याज किन्नुपर्ने बाध्यता गाउँसम्म पुग्यो । यही तीतो यथार्थ उनले अनेक ठाउँमा भोगेका छन् ।

मध्यपहाडमा मुहान सुक्दै गएपछि पानीको संकट सिर्जना भएको प्रसंग पनि उठाएका छन् । गाउँगाउँमा विकासको होडले वातावरणीय असरको ख्याल नगरी डोजर चलाइहाल्ने प्रवृत्तिले प्राकृतिक स्रोत मृत बनिरहेको यथार्थ छर्लंगै छ । यो यात्रामा उनी कतै बसाइँसराइले खाली भएका बूढा घर देख्छन् भने कतै द्वन्द्वकालमा रित्तिएका बस्तीले फेरि जीवन पाएको भेट्छन् ।

कञ्चनजंघा फेदीको जनजीवनले अर्को संसार देखाउँछ । चौंरी गोठालाको दिनचर्या, त्यसभित्रका कहर, तर अनुहारमा देखिने खुसीले भन्छ– गाउँमा दुःख छ, आनन्द पनि । ओलाङचुङ हुँदै नेपाल–चीन सीमा टिप्तलासम्म पनि लेखक पुगेका छन् । त्यो यात्रामा स्थानीय सरकारको केन्द्रले बढाएको चहलपहल देखिन्छ ।

विभिन्न ठाउँमा रहेका यहीँका बासिन्दाले रकम संकलन गरेर टिप्तलादेखि ओलाङचुङगोलासम्म आफ्नै पहलमा गरेको सडक निर्माण उदाहरणीय छ । ‘मौमस छ्याङ्गै खुलेको थियो । अग्ला डाँडामा हिउँ देखिन्थ्यो । ओलाङचुङगोला निकै सुन्दर रहेछ । ढुंगा, माटो काठले बनाएका काठकै छाना भएका झुरुप्प घर । घरैपिच्छे झन्डा थिए, धार्मिक आस्थाका । परम्परागत पोसाकमा यहाँका बासिन्दा आवतजावत गरिरहेका देखिन्थे ।’ यस्तो चित्रात्मक वर्णनले त्यहीँ पुगेको आभास हुन्छ ।

इँवा खोलाको तीतेमाछाको कथा भने फरक छ । पञ्चायतकालदेखि नै तीतेमाछा मार्नका लागि ठेक्का लगाउने चलन रहेछ । माछा मासिँदै गरेपछि यो चलन छुट्यो । तर, तीतेमाछाको खोजीमा रातभर खट्नेहरू अझै छँदै छन् । पहाडका पहरा र नागीमा फुल्ने केन्जोको औषधीय गुणबारे पनि उनी चर्चा गर्छन् ।

‘चौंरी डुलाउनेको कथा’ मा लेखकले पाँचथरको फालेलुङस्थित चाररातेको बखान गरेका छन् । चौंरीलाई पर्यटनसँग जोड्न ल्याइएको गोठस्टे अवधारणा प्रभावकारी बन्दै गएको छ । गुराँसको राजधानी टीएमजे (तीनजुरे–मिल्के–जलजले) पुगेका उनले गुराँसका अनेक प्रजातिको विवरण नै राखिदिएका छन् ।

इलामको पानीटार हुँदै श्रीअन्तुको यात्रा वृत्तान्त उनी सुनाउँछन् । पानीटार पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै छ । फिल्म, म्युजिक भिडियो सुटिङको गन्तव्य बनिरहेको पानीटार ससाना थुम्कामा हरियो गलैंचा बिछ्याएझैं देखिन्छ । स्थानीय सरकारले पहिचान गर्ने यस्ता अनेक ठाउँ छन् । सडक, पूर्वाधार, होटल–होमस्टेको अभावले यस्ता कतिपय ठाउँको प्रवर्द्धन हुन सकेको छैन ।

रेडपान्डामा भइरहेका संरक्षण कार्यक्रमले खुबै चर्चा पाउने गर्छ । साथसाथै चोरीसिकारका समाचार आइरहन्छन् । रेडपान्डा पछ्याउँदै फोटो खिच्न गरेको प्रतीक्षामा उनी सफल हुन्छन् । गोरुवाले क्षेत्रमा उनले कैद गरेका रेडपान्डा पुस्तकमा हेर्न पाइन्छ ।

बर्मे गाउँलाई उनले नयाँ गन्तव्यका रूपमा पहिचान गरेका छन् । यहाँका स्थानीयले भोगको दुःख र अपेक्षालाई सुनाइदिएका छन् । पाँचथरको याङ्वरक–२ मा पर्ने यो गाउँमा मकै, आलु फल्छ, तर चामल किन्नुपर्ने बाध्यता छ । उनीहरूको सपना भनेकै सडकबाहेक अरू छैन ।

इलामको माइपोखरी, ताप्लेजुङको पाथीभरा हुँदै खोटाङको हलेसी, दैलेखको पञ्चदेवल, अछामको बैजनाथलगायत धार्मिकस्थलबारे सुनाउँछन् । साधुटारको सांस्कृतिक सम्मिश्रण, फक्ताङलुङ हिमालको सौन्दर्य, यसको धार्मिक महत्त्व र भौगोलिक विष्टिताबारे बयान गर्छन् । पहाडको शिरबाट झर्दै उनी सप्तकोसीको काखमा रहेको तीर्थस्थल बराहक्षेत्रसम्म पनि पुग्छन् । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि सिलौटी–लब्रेकुटीको भूगोलसँगै समाज सुधारमा उनका कामबारे चर्चा गर्न छुटाउँदैनन् ।

२० नियात्रामा सहरोन्मुख हुँदै गएका गाउँका दृश्य छन् । स्थानीय तहबाट भएका पर्यटन जागरण कुरा छन् । हातमा सीप र पौरख भएका इलमीको कथाले लोभ्याउँछ । यात्राको सरसर्ती टिपोट मात्रै छैन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्षलाई पनि सकेसम्म जोड्ने प्रयास गरिएको छ ।

नियात्राको सबल पक्ष यही हो । तथापि लेन्डओभर, थाकथालो, धुलाम्बे, पार्खिबास जस्ता अशुद्धि धेरै भेटिन्छन् । रुकुमको चौरजहारीलाई त उनले चउरजाहारी, चौहरजहारी, चउरजहारी लेखेका छन् । लामो समय खर्चिएर गरेको यात्रालाई पुस्तकाकार दिन जति मिहिनेत लाग्यो, त्यतिको मिहिनेत सम्पादनमा खट्किन्छ ।


Last Updated on: March 19th, 2023 at 12:39 am


१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया