सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


पत्रकारहरू बिक्रीमा छन्: सभामुख घिमिरे (भिडिओ)

प्रकाशित मिति । ४ चैत्र २०७९ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे।

मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ।

उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।

सभामुख घिमिरेले सरकार र पत्रकारबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए।

उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेरमात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।

सभामुख घिमिरेले भने, ‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो। अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन। पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ। जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन्। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू।

अब पत्रकारहरू बिक्रीमा छन्। संघ विक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन। र, त्यो भन्नु पनि हुँदैन तपाईंहरूले। किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि। त्यसको प्रभाव चाहिँ कुनै न कुनै रूपमा परिरहेको छ। बिग हाउसहरूले प्रभावित पारेको छ। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ।’

सभामुख जस्तो जिम्मेवार व्यक्तिले यस्तो अभिव्यक्ति दिएपछि अहिले चौतर्फी बिरोध भैरहेको छ र राजिनामा माग गर्दै सामाजिक संजाल भरिएको छ । केही पत्रकार नराम्रो भए भन्दैमा पत्रकार क्षेत्रलाई नै बदनाम गर्ने उनको अभिव्यक्ति प्रती धेरैको आक्रोश छ ।

रास्वपा अध्यक्ष रबी लामिछानेका समर्थकलाई भने यसले राहत प्रदान गरेको छ । रबीले १२ भाइको नामै तोकेर टिप्पणी गरेको पुष्टि भयो भन्दै खुसीयाली व्यक्त गरेका छन ।

जसले जेसुकै प्रतिक्रिया दिएपनी सभामुखको पदमा बसेर यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत नै भएको बिश्लेषकहरुको तर्क रहेको छ । सभामुखले बोली फिर्ता लिनु पर्ने यदि नलिए राजिनामा दिनुपर्ने भन्दै ठाउँ ठाउँमा बिरोध भैरहेको छ ।

वात्स्यायनका ती ‘चील–आँखा’

दुर्गा बरालका कलामाथि बालकृष्ण समको टिप्पणी थियो, ‘उनी नेपालका साल्भाडोर डाली हुन् ।’

कलादृष्टि

कला के हो ? सायद हेर्ने दृष्टि ! जीवन र जगत्लाई हेर्ने दृष्टिको प्रतिविम्बन हो कला । हेर्दा जेम्स बेव टेलिस्कोपबाट जति ब्रह्माण्ड देखिन्छ, त्यो प्रकृतिको कला हो, जति देखिँदैन, त्यो अज्ञात अविदितको कला हो । स्थानिक रूपले ब्रह्माण्डको कुनै अस्तित्व छैन भन्नेहरूका स्थानिक वा भौतिक अस्तित्व छन् कि छैनन् ? प्रश्न आमन्त्रित छ ।

कला चेतनाले स्पर्श गर्दा अयथार्थ ब्रह्माण्ड (लोकल्ली अनरियल युनिभर्स) एक कला कल्पनाजस्तो लाग्छ । ब्रह्माण्डीय सृष्टि कला, विनाशका प्रक्रम कला, जीवन कला, मृत्यु कला, ईश्वर कला, अनिश्वर कला ! विशाल–सूक्ष्म र भरिएको–रिक्त ब्रह्माण्डका कला सत्य कि भ्रम ? प्रश्न आफैंमा कला । उत्तर अनन्त छन् ।

मानिसले आकस्मिकतामा जीवन प्राप्त गर्छ, ज्ञान–विज्ञान आर्जन गर्छ, कला साधना गर्छ । सायद ब्रह्माण्डीय कला अनुभूत गर्दागर्दै मानिस अन्तरचेतनाले त्यस्तै कला रचना गर्ने नैसर्गिकताले अनुप्रेरित हुन्छ । कलाकारले प्रकृतिलाई हेर्छ र आफ्नै प्रकृतिको रचना गर्छ, संसारलाई हेर्छ र आफ्नै संसारको रचना गर्छ । जब कलाकार मौन सम्भाषण गर्दै बाटोमा हिँड्छ, धरतीको प्रत्येक अणु, परमाणुबाट कलाको फूल टिप्छ । धरतीमा कला फूलझैं फुलेका हुन्छन् ।

मसल म्यान

प्रसंग हिँडिरहेको छ । किशोरकालीन स्मृतिका बाकस खोलेर म एक मसल म्यानको इस्टम्यान कलर छायाछवि अनुभूत गरिरहेको छु । पोखराको पुरानो बजार बगरको पुरानो बाटोमा आर्नोल्ड स्वार्जेनेगरजस्ता हट्टाकट्टा र आकर्षक व्यक्तित्व हिँड्थे टिसर्ट–पाइन्ट लगाएर, हातका बाइसेप्स मसल प्रदर्शन गर्दै । पेटमा फोर–प्याक मसल्स पनि थिए होलान्, जसको दबाब टिमिक्क परेको टिसर्टमा देखिन्थ्यो । भर्खर विद्यालयबाट क्याम्पस पुगेको किशोर–मन मसल म्यानलाई बाटोमा ओझेल नपरेसम्म हेरिरहन्थें ।

मसल म्यान क्याम्पसतिरबाट आउँथे, तर न ती विद्यार्थीजस्ता थिए, न प्राध्यापकजस्ता ! को थिए ती ? प्रश्न उत्पन्न हुन्थ्यो, हावामा बिलाउँथ्यो ।

बगर सँगसँगैको टोल–मोहरिया टोल । बाल्यकालीन साथी विजय वजिमयको घर । उनी कवि बन्दै रहेछन् । म पनि त्यही प्रक्रियामा । एक दिन विजय वजिमयको घरको कोठे कवि गोष्ठीमा मसल म्यान देखा परे । अनपेक्षित रूपमा । उनले कविताहरू सुने, सुनाएनन् । उनले ध्यानस्थ भई कविताको रसास्वादन गरे मात्रै । संकोचले मैले उनको बाइसेप्स र फोर–प्याक मसलतर्फ आँखा गाडिनँ ।

कोठे कविगोष्ठीमा उनी पछि पनि देखा परिरहे । विजय उनलाई ससम्मान दाइ भन्थे, यसर्थ उनी बन्दै गरेका सबै कविका दाइ भए । नाम रहेछ– दुर्गा बराल, एक चित्रकार ।

अर्थात् चीलको आँखा

विजयको घरको सोझै पारी अर्की साथी उषा भट्टचनको ठूलोबुबा चिन्तकमान शेरचनको घर थियो, बीच तलामा दुर्गा बरालको ‘इगल आई स्टुडियो’ । स्टुडियो कोठा ठूलो, फराकिलो, भित्ताहरूमा सुन्दर चित्रकलाकृतिहरू टाँगिएका । भुइँमा इजेल, ब्रसहरू, थरीथरीका रङका ट्युबहरू अनि क्यानभासहरू । कवि मन लिएर स्टुडियोमा प्रवेश गर्दा अनेक विम्बका पहाड चढ्न पुगेजस्तो । जीवनमा देखेको एक मात्रै स्टुडियो यति व्यवस्थित र रंगीन नलाग्ने कुरै भएन । किताब पढ्ने भएर हामी बन्दै गरेका कविहरूले चन्द्रमानसिंह मास्केलगायत केही स्वनामधन्य चित्रकारका नाम सुनेका थियौं, देखेको त एकै जना– दुर्गा बराल ।

हामी उनीसित झ्याम्मिँदै गयौं । हामी स्टुडियोमा छिर्दा उनी खुसी हुन्थे, आत्मीयता दर्साउँथे, जिज्ञासाहरूको जवाफ दिन्थे । शरीरले उनी मसल म्यान भए पनि सानो, मसिनो, केही ढिलो धैर्यशील बोलीमा बोल्थे । ब्रस हातमा लिएर क्यानभासमा व्यस्त हुँदा उनका आँखा चीलका आँखाझैं तिखा र चम्किला हुन्थे ।

उनको संगतले रङ र चित्रहरूप्रति आर्कषण बढेपछि म विरल रूपले प्राप्य विश्व–चित्रकलाका इतिहासका सचित्र पानाहरू पल्टाउँथे । लियोनार्दो दा भिन्ची, माइकेल एञ्जेलो, भ्यानगग, रेब्रान्ट, पिकासो, साल्भाडोर डाली आदिका नाम याद राख्थें । हामी बन्दै गरेका कविहरू चित्रकलाबाट विश्वसाहित्य र नेपाली साहित्यमा परेका प्रत्यक्ष–अप्रत्यक्ष प्रभावबारे चर्चा गर्थ्यौं ।

वात्स्यायन । क्यारिकेचर : अविन

दुर्गा बराल रङहरूले चित्रात्मक कविता रच्थे । हामी शब्द र सन्नाटाले । कहिलेकाहीँ उनी पोखरा वरपरका भीरपाखा, खेतबारी, खोला बगर, गाउँघर, हिमाल–पहाड परिवेष्टित स्थानहरूमा दृश्यचित्र कोर्न निस्कन्थे । उनले कान्ला, आली, चउरमा बसी चित्रहरू कोर्दा जिज्ञासाले छेउछाउ उभिएर मानिसहरू घाँटी तान्थे ।

आजकल स्टार भनिएकाहरू पछाडि तानिएझैं उनको हस्त–लगाव पछाडि तानिन्थे मान्छेहरू । उनी मान्छेहरूबीच ध्यानस्थ भई रेखाहरू कोरिरहन्थे । उनी प्रत्येक रेखा कोर्दा पर्याप्त समय लिन्थे, सोचविचार गर्थे, क्यानभासलाई इगल आई अर्थात् चीलको आँखाले हेर्थे । अधीरता उनको शब्दकोशमै थिएन । खरायो–सापेक्ष हतार उनको स्वभावमै थिएन । उनले एउटा रेखा कोरेपछि अर्को रेखा कहिले कोर्लान् भनी चञ्चले मनहरू आत्तिसक्थे । धेरैपछि उनी ‘कान्तिपुर’ दैनिकसित सम्बद्घ भएपछि एउटा

व्यङ्ग्य–चित्र रचना गर्न पूरै दिन लगाइदिन्थे । थाहा छैन, कति दिन सोची बस्थे । व्यङ्ग्यचित्र रचना गर्ने दिन उनी पूरै साधनामा व्यस्त हुन्थे । कतै जाँदैनथे । हामी पनि ‘आज दाइको कार्टुन बनाउने दिन’ भनी उनलाई कार्यक्रमको निम्ता दिएर कार्टुन बन्ने थिएनौं । एउटा अलिखित समझदारी र आत्मीयता हामीबीच थियो ।

नेतृत्व–विविध

तीसको दशक । पोखरामा सांगठनिक रूपले सांस्कृतिक शून्यताको अवस्था । चेतन कार्की, भूपि शेरचनका समूह विगठित । यस अवस्थामा ‘ज्यानलाई पर्नु पीर पर्‍यो’ गीत गाएर प्रसिद्घि प्राप्त गरेका गायक सरोज गोपालको अध्यक्षतामा विसं २०३४ मा ‘पोखरेली युवा सांस्कृतिक परिवार’ को स्थापना । भव्य रूपले विविध सांस्कृतिक कार्यक्रम, टिकटमा मुक्तक कार्यक्रम, सामूहिक साहित्यिक जयन्ती, आदिको आयोजना ।

त्यसपछि संस्थामा अनपेक्षित गतिरोध । मैले दुर्गा बराल, तीर्थ श्रेष्ठ, उषा भट्टचन, विजय वजिमय, प्रकट पँगेनी शिवलाई संस्थामा आमन्त्रण गरें । दुर्गा बरालको नेतृत्वमा २०३६ सालमा नयाँ कार्यसमितिको गठन भयो । उनको नेतृत्वको कारण ‘साहित्य, संगीत र कलाको उत्थानः हाम्रो प्रण’ भन्ने उद्घोषका साथ त्रिआयामिक स्वरूपमा संस्था गतिवान् भएको थियो ।

विसं २०३५ मा युनाप, पोखरा (युवा नाटक परिवार) को गठन भएपछि क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको उपलक्ष्यमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । त्यसमा नाटक प्रदर्शन गर्ने जिम्मेवारी युनापलाई दिइयो । हामीले ‘सराप परेको घर’ नामको एकांगी मञ्चन गर्‍यौं । मुख्य कलाकार उषा भट्टचन, मिलन भट्टचन र म ।

रंगमञ्चलाई कोठाको रूपमा कसरी सजाउने ? मैले दुर्गा बरालसित सहयोग मागें । उनले साँच्चैको झ्यालजस्तो लाग्ने कागजको दुइटा झ्याल बनाइदिए । ती झ्याललाई पृष्ठभागमा टाँसेर हामीले नाटक मञ्चन गर्‍यौं । अर्को वर्ष हामीले पूर्णांकी नाटक ‘एउटा घरको कथा होइन’ लाई पोखरा, तानसेन र काठमाडौंमा मञ्चन गर्‍यौं । दुर्गा बरालले एक ग्रामीण घर र परिवेशको सुन्दर कागजी मोडल बनाइदिए । त्यही मोडेलअनुसार हामीले रंगमञ्चमा घर परिवेशको निमार्ण गर्‍यौं ।

लामो नाटक, बूढाबूढी, ठिटाठिटी चरित्रहरू धेरै । मेकअप कसले गरिदिने ? बजारमा मेकअप सामान पाइन्थेन । पाइए पनि तिनलाई प्रयोग गर्न जानिन्थेन । विकल्पमा रङ चलाउन जान्ने परिचयको क्षेत्रफलभित्र एकै व्यक्ति थिए– दुर्गा बराल । उनले कलाकारहरूको मेकअप गरी तिनलाई नाटकका चरित्रमा रूपान्तरण गरिदिए । उनी रंगमञ्च परिकल्पनाकारदेखि मेकअप म्यानसम्म सबै भइदिए ।

उनी हाम्रा लागि ‘मिदासको ढुकुटी’ जस्ता थिए, जसलाई हामी आफ्नो सम्झेर प्रयोग गर्न स्वतन्त्र थियौं । नाटकको भीडभाड र हल्लीखल्लीबीच उमेरले हामीभन्दा धेरै पाका दाइलाई हामीले कति सम्मानजनक व्यवहार गर्न सक्यौं वा सकेनौं– उनी त्यसको हिसाब राख्दैनथे । उनी निष्काम, निस्पृहजस्ता थिए ।

जीवनगाथा

विसं १९९९, चैत ५ मा पोखराको पूर्वी डाँडागाउँ आर्वामा जन्म । बुबा हरिवंश, आमा कलावती । तीन वर्षको नाबालक छँदा आमाको असामयिक निधन भएपछि जीवन उनले मायाले कोमल स्पर्श गरी कोर्ने रेखाहरूझैं कसरी हुन सक्थ्यो र ? गाउँका प्रभावशाली मुखिया हजुरबा, तीन हजुरआमा, ठूलो परिवार, बाबुले कान्छीआमा ल्याइदिएपछि जन्मेका अरू सन्तानबीच नाबालक टुहुरोको भागमा कति माया पर्छ र ? त्यसमाथि बाबु आसामतर्फ लागेपछि आमा नभएको बालकको अवस्था कस्तो हुन्छ ? तर, नियतिले उनीमाथि माइत बस्दै आएकी हजुरबाकी एक ‘विधवा’ बहिनी–फुपूको माया प्रवाह गरिदिएको थियो । फुपू उनलाई माया गर्थिन् र अरूका अन्यथा व्यवहारबाट जोगाइरहन्थिन् ।

गाउँको अनियमित पाठशाला । लघु–कौमुदी र अमरकोशका घोकाइ । गाउँमा बेलाबेला सप्ताह पुराण लाग्थे, जसमा उनी हात्तीको चित्र कोरिएको देख्थे । गाउँको प्रकृति र माथि बादलमा पनि उनी अनेक चित्रहरू देख्थे । उनलाई त्यस्तै चित्र कोर्ने रहर लाग्थ्यो । गाउँमा अक्षर लेख्दा वा चित्र कोर्दा निगालोको कलमले बाँसको सुप्लामा कटुसको बोक्रा पकाएर बनाएको कालो मसी प्रयोग गरिन्थ्यो । सिलोटमा खरीढुंगाले वा बडेमानका चट्टानहरूमा कति चित्र कोरिए, के हिसाबकिताब !

माया गर्ने फुपूले उनी ९ वर्ष पुग्दा माइतघरको परिस्थिति विचार गरी उनलाई नदीपुर, पोखरास्थित मामाघरमा सुम्पिदिइन् । मामामाइजू निःसन्तान थिए । नियतिले उनी ‘सन्तान’ हुन आइपुगे । त्यस समयको चलनअनुसार, भोलानाथ पराजुली गुरुको सिफारिसमा उनी एकैपल्ट ६ कक्षामा भर्ना भए ।

२०१८ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । चित्रकलामा रुचि राख्ने उनी अचम्मैसित विज्ञान संकायमा भर्ना भए । जीवविज्ञान अध्ययन गर्न थाले । एक दिन जीवविज्ञान पढाउने गुरुआमा एलियामा जोन्सले उनले बनाएका प्राणी र तिनका अंगप्रत्यंगका चित्रहरू हेरी प्रभावित भएर भनिन्, ‘दुर्गा, तिमी त चित्रकार हुनुपर्ने मानिस रहेछौ !’

विज्ञान पढेर कोलम्बो प्लान ताक्ने जमाना थियो । गुरुआमाको प्रशंसा र आफ्नै अन्तरचेतनाले अभिप्रेरित भएर उनले विज्ञानको पढाई छोडे अनि ‘फाइन आर्ट’ पढ्ने उद्देश्य लिई २०२० सालमा एक परिचित सुचीकारको पछि लागि काठमाडौं प्रस्थान गरे । फाइन आर्ट काठमाडौंमा कहाँ पढ्ने ? कुन रकमले पढ्ने ? सिमित खर्च बोकेर हिँडेको ठिटो समस्याग्रस्त भए । सूचीकारले उनलाई कति दिनसम्म घरका परिवारजनका मुहारचित्र (पोट्रेट) बनाउन प्रयोग गरे । यसबीच उनले सुने– त्रिपुरेश्वरस्थित घरेलु शिल्पकलामा प्रशिक्षार्थीको रूपमा भर्ना भए छात्रवृत्ति पाइन्छ । छात्रवृत्ति महिनाको पचास रुपैयाँबाट सुरु हुन्थ्यो । उनी भर्ना भए ।

केही महिनाबीच खल्तीमा डेढ सय रुपैयाँ जम्मा भयो । उनले दिल्लीमा गएर चित्रकला अध्ययन गर्ने सपना देखे । संजोगले उनको चिनाजान काठमाडौंमा कार्यरत दिल्लीका एक सुचीकारसित भयो । सुचीकारले उनलाई आफ्नी जहानसित दिल्ली पठाइदिए । केही दिन उनी सपना बोकेर दिल्लीका सडकमा भौंतारिए । अप्रत्याशित रूपले एक दिन दिल्लीका प्रकाश पेन्टरसित भेट भयो ।

‘तिमी के गर्न चाहन्छौ ?’, प्रकाश पेन्टरले सोधे ।

‘म चित्रकला अध्ययन गर्न चाहन्छु’, उनले भने ।

प्रकाश पेन्टर सिनेमाका पोस्टर बनाउँदा रहेछन् । उनी प्रकाश पेन्टरका सहयोगी भई सिनेमाका पोस्टरहरू बनाउने रोजगारीमा लागे । प्रकाश पेन्टरले उनलाई ठगेनन् । एक दिन पोस्टर बनाइदिएको पारिश्रमिक हातमा राखिदिँदै भने, ‘तिमी आफ्नै घर फर्क । यहाँ गाह्रो छ ।’

गाह्रो त परेकै थियो । उनले प्रकाश पेन्टरको सल्लाह माने अनि घरतर्फ प्रस्थान गरे । सुनौली नाकाबाट देशभित्र प्रवेश गरेपछि उनको मन बदलियो । उनी घर नगई काठमाडौंतर्फ सोझिए ।

फेरि काठमाडौंमा सडक नाप्ने काम । काम खोज्ने काम । मनको सपना फुस्केर कतै नखसोस् भनी मनैमा गाँठो पारेर हिँडिरहे । एक दिन किलागलका साथी रामकुमार श्रेष्ठले एक सुसमाचार दिए– ‘म तिमीलाई जनक शिक्षाको अफिसको ड्राइभर रामप्रसादसित परिचय गराइदिन्छु । तिमी उसित जनक शिक्षामा जाऊ बबरमहल । त्यहाँ तिमीलाई मिल्ने काम हुन सक्छ ।’

परिचय भयो । ड्राइभरले उनलाई हाकिमकहाँ पुर्‍याइदिए । चित्रकला विभागका हाकिम रहेछन् केशव दुवाडी । उनी दिनको पाँच रुपैयाँ पाउने ज्यालादारीमा चित्रकार भए । तीन महिनापछि नासुसरहको अस्थायी नियुक्ति पाए । मासिक तलब दुई सय पचास । २०२१ सालमा स्थायी भए ।

काठमाडौंदेखि दिल्लीसम्म अनेक हन्डर र ठक्कर खाएपछि अन्ततः जिन्दगीको बिग्रेको मौसममा सुधार भयो । उनी काठमाडौंमा जमे । सहकर्मी चित्रकारहरू– शारदा चित्रकार, मदन चित्रकार, दिलबहादुर चित्रकार । परिचयको क्षेत्र विस्तार हुँदै गयो । बालकृष्ण सम, लैनसिंह बाङ्देल, तेजमान चित्रकार, अमर चित्रकारजस्ता हस्तीहरूसित संगत गर्ने मौका पाए ।

२०२२ सालमा ललितकला संस्था नाफाले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा प्रथम भए । नाफामा आबद्घ भएपछि अब काठमाडौंमा नचिनेका चित्रकार कोही रहेनन् । यसबीच उनले कतै हठयोगको किताब भेट्टाए । उनी योगाभ्यास गर्न थाले । पछि उनी सैनिकहरूका लागि टुँडिखेलमा बनाइएका प्यारेलर बारहरूमा झुन्डिन थाले । स्वास्थ्यप्रति सजक उनले पछि पोखरा फर्केपछि जिमका सामानहरू जुटाएर इगल आई स्टुडियोमै व्यायामलाई निरन्तरता दिए ।

पोखरामा चित्रकला अध्ययन गर्ने धुनमा कलेजको अध्ययन छोडेका उनले काठमाडौंमा नेसनल कलेजबाट प्राइभेट आईए उत्तीर्ण गरे । जनक शिक्षामा कार्यरत रहँदा २०२५ सालमा उनलाई पुस्तक सज्जासम्बन्धी तीनमहिने ग्राफिक आर्ट तालिम लिन जापानको राजधानी टोकियो पुग्ने अवसर प्राप्त भयो । जनक शिक्षामा उनका लागि सुब्बासरहको पद सिर्जना गरियो ।

दुर्गा बराल मूल रूपले फाइन आर्टका सिर्जनशील कलाकार थिए, तर उनले ०२१, ०२२ सालदेखि नै व्यङ्ग्यचित्रहरू (कार्टुनहरू) रचना गर्न थाले । राष्ट्रिय सामाजिक जीवनका महत्त्वपूर्ण र संवेदनशील विषयहरूलाई उनी मार्मिक रूपले व्यङ्ग्यचित्रमा प्रस्तुत गर्थे । उनको व्यङ्ग्यचित्र र त्यसमा प्रयोग गरिएका थोरै, तर जोखिएर राखिएका शब्दहरूले सामान्य होइन, गम्भीर र विचारणीय हाँसोको सिर्जना गर्थ्यो ।

सुरुमा उनका व्यङ्ग्यचित्रहरू ‘नयाँ सन्देश’ मा प्रकाशित भए । उनको लोकप्रिय स्तम्भ थियो– ‘नयाँ सन्देशको दृष्टिकोण बरालबाट’ । पछि उनका व्यङ्ग्यचित्रहरू ‘राष्ट्रपुकार’, ‘प्राङ्गण’, ‘देशान्तर’, ‘सुरुचि’, ‘गोरखापत्र’ आदि तत्कालीन समयका चर्चित पत्रपत्रिकामा प्रकाशित भए । विसं २०५६ बाट उनी ‘कान्तिपुर’ राष्ट्रिय दैनिकमा आबद्घ भए । ‘कान्तिपुर’ मा प्रमुखताका साथ प्रकाशित हुने उनका व्यङ्ग्यचित्रहरूले उनलाई चर्चाको शिखरमा मात्रै पुर्‍याएन, व्यङ्ग्यचित्रलाई गम्भीर अभिव्यक्तिको माध्यमको रूपमा पनि स्थापित गर्‍यो ।

उनका कति व्यङ्ग्यचित्रले राष्ट्रिय राजनीतिलाई तरंगित पारिदिए । पहिलो जनआन्दोलनपछि ‘गोरखापत्र’ मा प्रकाशित उनको ‘अविश्वास प्रस्ताव’ सम्बन्धी एक व्यङ्ग्यचित्रले सदन हल्लाइदियो । तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ताले सदनमा स्पष्टीकरण दिनुपर्‍यो । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि ‘कान्तिपुर’ मा प्रकाशित ‘संवैधानिक राजतन्त्र’ लक्षित एक व्यङ्ग्यचित्रले दरबार हल्लाइदियो । ‘कान्तिपुर’ कार्यालयमा सेनाको निगरानी भयो । सम्पादक नारायण वाग्ले र उनी कुनै पनि बेला पक्राउ पर्ने वा अवाञ्छित घटना घट्नेसम्मका वातावरण सिर्जना भए ।

नेपाली व्यङ्ग्यचित्रको इतिहासमा व्यङ्ग्यचित्र र वात्स्यायन पर्यायवाची शब्दजस्ता भए । उनले पञ्चायती व्यवस्थाको आँखाबाट बच्न व्यङ्ग्यचित्रमा नाम परिवर्तन गरेर वात्स्यायन राखेका थिए । वात्सायन प्राचीन समयमा कामसूत्रका रचनाकार, न्यायसूत्रका भाष्यकार महर्षि थिए । समकालीन नेपाली कला जगत्मा दुर्गा बरालाई कतिले फाइन आर्टिस्टको रूपमा चिन्छन् , कतिले कार्टुनिस्ट वात्स्यायनको रूपमा चिन्छन् ।

कार्टुनिष्ट वात्स्यायनलाई कतिले दुर्गा बराल हुन् भनी नचिनेका प्रसंगहरू पनि छन् । खासमा उनी उच्च हिमालजस्ता छन् । आँखाको कोणले हिमालको विमुग्धकारी एक छेउ देख्नेले अर्को छेउ देखिरहेको हुँदैन । हिमालको सबै छेउ देख्न हिमालको परिक्रमा गर्नुपर्छ ।

विक्रमाब्द २०२६ सालमा उनले जनक शिक्षाको जागिर छाडे । पोखरा फर्केर केही समय खेमनाराण श्रेष्ठको फोटोग्राफीको दोकानमा काम गरे, सुशील गोशलीको साइकल दोकानमा काम गरे । २०२८ सालमा नाफाको पोखरा शाखामा सचिव भई काम गरे । २०३० सालमा उनले ‘इगल आई स्टुडियो’ खोले । यसको अर्को वर्ष याने २०३१ सालमा उनी कलेजमा कला प्रशिक्षक नियुक्त भए । उनले २५ वर्षसम्म लगातार कला प्रशिक्षक भएर सेवा गरे ।

उत्तरगाथा

दुर्गा बराल किशोरवयमै वालिङकी पार्वतीसित विवाह बन्धनमा बाँधिएका थिए । तीन छोरा र एक छोरीका बुबा उनी । जेठो छोरा अनुप बराल देशका चर्चित नाट्य–फिल्म निर्देशक । माहिलो छोरा अनिल बराल पर्यावरण विज्ञानमा विधावारिधि गरी अमेरिकामा कार्यरत छन् । कान्छो छोरा अजित बराल निजी क्षेत्रको चर्चित पुस्तक प्रकाशन संस्था ‘फाइन प्रिन्ट’ का सह–सञ्चालक एवं साहित्य अनुवादक ।

छोरी अनिता आफ्नै घरगृहस्थीमा व्यस्त । सन्तानहरू सँगै होऊन् वा टाढा– दुर्गा बराल आफैंभित्र भुलिबस्ने सिर्जनात्मक मौनताका साधक हुन् । पोखराका पुराना, नयाँ सबै कला संस्थाहरूमा आबद्घ उनी आवश्यक पर्दा सबैतिर उपलब्ध भइदिन्छन् । उमेरले ८० वसन्त पूर्ण गर्दै गरेका उनलाई देख्दा मेरो अन्तस्करणमा सधैं एक ऋषिमुनिको विम्ब उपस्थित हुन्छ ।

उनी ८० वर्ष पार गरेर ८१ लाग्दै छन् । साँच्चै नै उनी चित्रकलामा ऋषित्व अर्जित गरेका कलाऋषि हुन् । उनको चित्र, कलाकृति देखेर महान साहित्यकार–कलाकार बालकृष्ण समले उनलाई नेपालका साल्भाडोर डाली भनेका थिए । उनको ‘चोक र तमसुक’ कला–शृंखला अवलोकन पछि वरिष्ठ कला समीक्षक नारायणबहादुर सिंहले भनेका थिए– दुर्गा बरालले नेपाली चित्रकलालाई दस वर्षअगाडि पुर्‍याइदिएका छन् ।

हिमालबाट रसाएर बग्ने नदी पहाडी द्रुत प्रवाहमा गड्गडाउँदै, समथर भूमिमा शान्त हुँदै, अन्ततोगत्वा महासागरमा लीन भएझैं उनी कलासागरमा लीन छन् । कला अनुरागीहरूका लागि दुर्गा बराल वात्स्यायन उर्फ वात्स्यायन दुर्गा बराल प्रेरणाका अप्रतिम विम्ब हुन् ।


Last Updated on: March 18th, 2023 at 10:27 am


१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया