
महेन्द्र राजमार्गको कावासोती खण्डमा कालोपत्र सुरु
प्रकाशित मिति । ३ चैत्र २०७९ ।
पूर्वीनवलपरासी — निर्माणाधीन महेन्द्र राजमार्गअन्तर्गत कावासोतीको जंगलक्षेत्रमा कालोपत्र सुरु भएको छ । बुधबार कावासोती र लोकाहा बीचको जंगल क्षेत्रमा ५ सय मिटर पक्की सडक निर्माण भएको हो । हाल पक्की बनाइएको सडक साढे ७ मिटर फराकिलो छ ।
जंगलक्षेत्रमा कावासोतीवाट पूर्वलोकाहा तर्फको ५ सय मिटर पक्की सडक निर्माण भएको हो । सडकका कन्सल्ट्यान्ट इन्जिनियर राकेश झाले लगातार पक्की सडक निर्माणको काम जारी रहने र एक साताभित्र करिब ४ किलोमिटर सडक कालोपत्र गरिसक्ने जानकारी दिए ।
राजमार्गको उत्तर तर्फको साढे ७ मिटर फराकिलो सडकमात्र पहिलो चरणमा पिच गरिएको हो । सदरमुकाम कावासोती क्षेत्रमा चाँडै पिच गर्ने लक्ष्यअनुसार धमाधम काम भइरहेको छ ।बुधबार गरिएको पिच ६ सेन्टिमिटर बाक्लो छ ।
दोस्रो चरणमा (आगामी तीन साताभित्र) त्यसमाथि थप ४ सेन्टिमिटर बाक्लो पिच थपिने इन्जिनियर झा बताउँछन् । यसअघि ठेकेदार कम्पनीले हर्कपुरदेखि पूर्व भेडाबारीसम्मको क्षेत्रमा करिब एक किलोमिटर खण्ड परीक्षण पिच गरेको थियो ।
बुधबार चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच थप ३४ हजार घनमिटर ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको छ । लोकाहादेखि पश्चिम केरुंगेखोलासम्मको क्षेत्र पिच गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्छ ।
नगरपालिकाले प्रतिक्युफिट ८ रुपैयाँका दरले चिनियाँ ठेकेदार कम्पनीलाई ग्राभल बेचेको हो । बजार क्षेत्रमा ६ लेनको सडक निर्माण हुने छ । ६ लेनको सडक निर्माण सम्पन्न हुँदा राजमार्ग साढे ३३ मिटर फराकिलो हुने छ । दोहोरो लेनको बीचमा ३ मिटर भाग (क्षेत्र) हरियाली हुने छ ।
बजार बाहेकको जंगल क्षेत्रमा ४ लेनको सडक निर्माण हुने छ । दाउन्नेमा ३ लेनको सडक निर्माण हुने छ । गाडी दगुर्ने लेन (मेन क्यारेज वे) र घर नजिक (दुवै किनार) को सडकको गुणस्तर फरक-फरक हुने छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ सडक खण्डको एक सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्ब रुपैयाँमा ठेक्का सकारेको हो । गत साउन २२ गते सडक निर्माण पुरै सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने सुरु सम्झौता थियो । त्यस अवधिमा सडक निर्माण जम्मा १९ प्रतिशतमात्र सम्पन्न भएका कारण सडक विस्तार गर्ने काम (समयावधि) एक वर्ष थपिएको छ ।
फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशत मात्र छ ।
उपराष्ट्रपति निर्वाचनको मतदान सकियो
संघीय संसदका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ मत खस्यो
काठमाडौँ — उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए ।
राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे ।
यसैबीच जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । शुक्रबार साँझ नै मतगणना सम्पन्न गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
अर्घाखाँचीको पाणिनी क्याम्पसमा तालाबन्दी
चार वर्षदेखि सञ्चालक समिति गठन नहुँदा स्ववियु निर्वाचन अनिश्चित
अर्घाखाँची — सन्धीखर्कको पाणिनी बहुमुखी क्याम्पसमा सञ्चालक समिति नेतृत्वविहीन हुँदा उत्पन्न विवादका कारण नेविसंघसहितका संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।
पाणिनी बहुमुखी क्याम्पस चार वर्षदेखि सञ्चालक समितिविहीन हुँदा स्ववियु निर्वाचन पनि अनिश्चित बनेको छ । यसअघि जिल्लाका दलहरूले सहमतिका आधारमा स्ववियुमा पद भागबण्डा गरिए पनि सञ्चालक समिति नै नहुँदा क्याम्पसमा तालाबन्दी गरिएको नेविसंघका प्रतिनिधि विशाल आचार्यले बताए ।
सञ्चालक समितिको कार्यकाल सकिएको चार वर्षसम्म पनि दलका प्रतिनिधिहरूबीच कुरा नमिल्दा सञ्चालक समिति गठन हुन सकेको छैन ।
नेविसंघका प्रतिनिधि विशाल आचार्य, अनेरास्ववियुका प्रतिनिधि विक्रम नेपाली, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुदिप खनाल, अनेरास्ववियूका प्रतिनिधि नवीन विक, अखिल (छैठौं)का जिल्ला अध्यक्ष जीवन नेपाली, बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष पदम नेपाली, नेत्रविक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरी सी लगायत विद्यार्थी नेताले क्याम्पसमा तालाबन्दी गरेका हुन् । सञ्चालक समिति गठन नहुँदासम्म ताला नखोल्ने उनीहरूको अडान छ ।