सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


‘अधिकृतभन्दा कम योग्यताको केटाको कुरा मेरोसामु नल्याउनू!’

यमुना अर्याल (काफ्ले)

प्रकाशित मिति । ३ चैत्र २०७९ ।

गत मंसिरको कुरा हो, एक जना दाजुको बिहानै सामाजिक सञ्जालमा भाउजूसहितको सुन्दर तस्बिर देखेँ। ‘सहयात्राका सत्र वर्ष…..’ दाइले क्याप्सनमा लेख्नु भएको थियो।

दाइ भाउजूको तस्बिरसँगै हाम्रा दाइ भाउजूको सुन्दर तस्बिर, वैवाहिक वर्ष गाँठको लाखौंलाख शुभकामना! शुभेच्छाका शब्दहरू खर्चिएँ। मेरा जस्ता शुभेच्छाका कमेन्टको वर्षा भइरहेको थियो। दुवै जनाले शुभेच्छुकहरूलाई धन्यवाद दिइरहनु भएको थियो।

‘इन्जिनियरले एसएलसी पढेकी केटी भित्रायो, आफ्नै हैसियताका केटी जति पनि भेटिन्थे.. भन्दै खिल्ली उडाएका मेरा कैयौं साथीहरूलाई आजको यो पूनित दिनको अवसरमा भन्न चाहन्छु। यही एसएलसी पढेकी जीवन साथीले मलाई व्यवहारमा पिएचडीभन्दा माथिल्लो योग्यता दिलाएकी छन्। सत्र वर्षमा मेरो घर साँच्चिकै स्वर्ग भएको छ …स्वर्ग….’, दाइले सत्र वर्ष अघिको क्षण स्मरण गर्दै कटाक्ष गर्नुभएको थियो।

दाइलाई फोन गरेरै शुभकामना दिएँ। दाइ सामाजिक सञ्जालमा किन भाउजूको बारेमा लेख्नु भएको भनेर सोधें पनि।

‘हेर नानी मान्छेहरू अभ्यस्त हुने भनेकै सामाजिक संजालमा हो, समाजमा त को भिज्न सकेको छ र? बारीमा के फल्यो भन्ने कुरा त सासूले पोष्ट गरेपछि बुहारीले ए आज यो तरकारी पो भन्ने बेला आइसक्यो त्यही भएर मात्रै….. भोली या पर्सि म तिमीलाई फोन गर्छु केही काम छ है नानी….’ दाइले पूरै कुरा बताउनु भएन।

‘हस् दाइ’ भन्दै फोन राखेँ।

भोलिपल्ट दाइले फोन गर्नुभयो, ‘ए नानी तिमी कहाँ छौ?’

म अफिसमा भएको जानकारी गराएँ।

‘कति बेला निस्कन्छौ अफिसबाट?’ फेरि प्रश्न गर्नुभयो।

‘म ४ बजे निस्कन्छु दाइ’ भनें।

‘म बानेश्वरको बाटो आउँदै छु, सवा चारमा संसद भवन अगाडि उभिराख.है…. आज मेरै गाडीमा बहिनीलाई घरसम्मै पुराइदिउँला।’

दाइको कुरामा सहमति जनाएँ।

दाइले भनेकै समयमा मिनभवन आइपुग्नु भयो।

‘नमस्कार दाइ’, वरैबाट हात जोडेँ।

‘नमस्कार नमस्कार , ल बस’, पछाडिको सिटमा बसेँ।

‘बेलाबेलामा हाकिम दाइको अफिसको गाडी पनि चढ्न पाइन्छ है’ दाइ हाँस्नुभयो।

‘पाइहालिन्छ नि …..ल आज बालकुमारी हुँदै यो बहिनीलाई इमाडोलसम्म पुर्‍याइदिनपर्छ है’ चालकलाई इशारा गर्नुभयो। चालकले ‘हस् सर’ भन्दै गाडी अगाडि बढाए।

दाइले प्रश्न गर्नुभयो, ‘तिम्रो अफिस कस्तो चल्दै छ हँ?’

‘ठिकै छ दाइ’ भनेँ।

‘बिहान कति बजे हिँड्छौ नानी घरबाट? टाढा छ त घर र अफिस?’ दाइले फेरि प्रश्न गर्नुभयो।

‘हिँड्ने त सधैं एउटै समयमा हो दाइ, अफिस आउने समय चाहिँ बाटोको जाममा भर पर्छ। आठ बजे खाना खाने, नौ बजे गाडी चढिसक्ने ,आधा घण्टाको बाटोमा कहिलेकाहीँ दुइ घण्टा पो लाग्छ र गाह्रो छ नि।’

यस्तै, पारिवारिक, व्यवहारिक कुरा हुँदै थिए दाइले अर्को प्रंसंग निकाल्नु भयो।

‘हेर नानी तिमी त महिलाका मुद्दामा कलम चलाउँछौ, महिलाका अधिकारका बारेमा लेख्छौ कहिलेकाहीँ पुरूषका मर्का पनि लेख्ने हिम्मत गर न’ समानता र अधिकारका कुरा एक पक्षीय हुँदैनन्, बराबर हुन्छन्। भन्ने बेलामा तिमीहरू नारी पुरूष एक रथका दुई पांग्रा हुन् भन्छौ तर व्यवहारमा हेर त! रथका पांग्रामा कहाँ कतिबेला कसरी किन हावा फुस्किन्छ पतै नहुने!’

‘दाइको आशय अलि बुझिनँ। दाइ के भन्न खोज्नुभएको? मैले महिलाका एक पक्षीय विषयमा लेख्दिनँ दाइ, समाजमा जे भएको छ, जे भोगिएको छ त्यसकै आधारमा लेख्छु दाइ। म महिलाका विषयमा लेख्छु तर महिलावादी भएर लेख्दिनँ। म कसैबाट परिचालित भएर लेख्दिनँ, कोहीप्रति खनिएर पनि लेख्दिनँ। सामाजिक प्राणी हुँ, समाजका विषय नै मेरा लेखनका पात्र हुन्, भोगाइ हुन्।’

मेरो जवाफ सुनेर दाइ एकैछिन मौन बस्नुभयो।

‘लौ उसो भए ठिकै छ, तर एउटा कुरा भन त नानी, यदि कुनै महिला ल तिमीजस्तै कोही युवती अविवाहित छ रे…. मानौं एकैछिनलाई। त्यो युवती पढेलेखेकी छ, जागिरे पनि छ तर उसले म आत्मनिर्भर छु, म शिक्षित छु एउटा बेरोजगार अनपढ श्रीमानलाई आदरकासाथ स्वीकार गर्न सक्छु भन्ने हिम्मत किन राख्दैनन्? के जागिरे महिलाले बेरोजगार केटालाई स्वीकार गर्नै हुँदैन? केटीहरू पढेलेखे, आत्मनिर्भर भए भने हिजो गाँसिएको सम्बन्ध समेत धरापमा पर्ने अवस्था आउने आफ्नै आँखाले देखियो।’

दाइको कुरामा केही जवाफ फर्काउन सकिनँ।

‘त्यस्तो त नहोला दाइ, सम्बन्ध भन्ने कुरा के जागिर, पढाइ, धन दौलतमा तौलिने कुरा हो र? मलाइ त त्यस्तो लाग्दैन।’

मेरो कुरामा दाइ रोकिनु भएन।

‘मलाई सबै थाहा छ किनकि मैले यो सबै भोगेको छु मेरै घरमा। तिमीलाई थाहा छ नि मेरी बैनी अधिकृत भएको कुरा। ऊ पहिले खरदारमा नाम निकाली। क्याम्पस पढ्दै थिई, एकैचोटि लोक सेवा पास गरी। बहिनीका कारण नाक घिरौलाभन्दा ठूलो भयो।

स्नातक सकाई बहिनीले। खरदार थिई। राम्रा राम्रा घरका केटाहरूसँग बिहेको कुरा चल्यो। बहिनीले सुब्बाभन्दा कम योग्यताका केटाको कुरै सुन्न चाहिन। मेरै हैसियताका केटासँग बिहे गर्ने म? के सोच्नुभएको छ मलाई? मास्टर्स पढेको, कम्तीमा सुब्बा भएको केटा चाहिन्छ नत्र बिहेको कुरा नगर्नुस्!’ बुवाआमाले पनि मास्टर्स पढोस् अनि बिहे गरौंला भन्नुभयो। मैले पनि सहमति जनाएँ। बिहे उसको खुसी हो, गरे गरोस्, नगरे नगरोस्, जहिले मन लाग्छ उहिले गरोस् भन्ने विचार आयो।

मास्टर्स नपढी सुब्बाको तयारीमा लागि बहिनी। दैव संयोग उसको नाम निस्क्यो। फेरि पनि बिहेको कुरा आयो, ऊ फेरि कड्किन थाली। म आफैं सुब्बा हुँ, सुब्बासित बिहे गर्दिनँ, अधिकृतभन्दा कम योग्यताको केटाको कुरा मेरो सामु नल्याउनु। आफ्नै अफिसको सुब्बाको कुरा लिएर आएका माइला मामाको सात्तो खाइछ। अब यी भान्जीको लागि बिहेको कुरा ल्याउँदिनँ सचिवैसित बिहे गरे पनि गरून्’ मामा रिसाएर जानुभयो।

कोही आफन्तले बिहेको कुरा अघि बढाए भने घर परिवार कस्तो छ? केटो कस्तो चरित्रको हो? त्योभन्दा पहिले केटाको हैसियत के हो भन्न थाली बहिनी। अधिकृत नभएको र मास्टर्सभन्दा कम पढेको केटाको कुरै आउन छाड्यो।

एकचोटि आफ्नै फुपूले निकै विश्वास गरेर मेरी भदैनी हो, मैले भनेपछि दाइले नाइनास्ती गर्नुहुन्न, कुरा पक्का भन्दै एक जना निमाविको टिचरको कुरा ल्याउनु भएछ।

घरपरिवार सबैको राम्रै कुरा सुनेका केटाका परिवार लगभग ढुक्क रहेछन् तर बहिनीले फुपूको कुरा सुन्दै नसुनी सातो खाइहाली। फुपू अब म कसरी मुख देखाउने? त्यत्रो विश्वास दिलाएँ, मेरो माइत आउने बाटै रोकिने भयो भन्दै बिलौना गर्न थाल्नु भयो।

मेरी बहिनीभन्दा चार वर्ष कान्छी मामाकी छोरीलाई कुरो चलाएर अर्को महिना बिहे भयो। फुपूको इज्जत धान्न त्यतिसम्म गर्नुपर्‍यो। अहिले त्यो बहिनीले पार्लर चलाएर बस्छे, ज्वाइँ विद्यालय निरीक्षक भइसकेका छन्।

मेरो बहिनीभन्दा कान्छा सबै बहिनीहरूको बिहेवारी भइसक्यो। बालबच्चा लिएर माइतीमा आउँछन्, मेरी बहिनी त ठूलीआमा भई , ती अवोध बच्चाले साइनो लगाएर बोल्दा बहिनी कड्किन्छे। बुढी आमालाई जस्तो ठूली मम्मी भन्न नसिका है तेरा बच्चालाई बहिनीहरूलाई धम्काउने रहिछे।

बुवा आमाको एउटै पिर छ, छोरीले बिहे नगर्ने भई, यत्रो पढाएर, जागिर खुवाएर के गर्नु? घरजम गर्न सकिन ..मर्ने बेलामा यही पीडा बाँकी हुने भयो। … घरजम गरोस् या नगरोस् त्यो उसको अधिकारको कुरा हो, उसको निर्णयको कुरा हो तर महिला अधिकार यतिविधि झाँगिएको छ कि मेरो परिवारमा …. आफ्नै बहिनीको हैकम देखेर उदेक लाग्छ।

बहिनी मास्टर्स पढीसकी, अधिकृतमा नाम पनि निकाली। एकदिन बुवाले सोध्नुभयो, ‘ए कान्छी अब त तँ अधिकृत भइहालिस्। खरदार सुब्बालाई नहेर्ने तँ आफैं अधिकृत भएपछि उपसचिवभन्दा कम हैसियतका केटा हेर्ने कुरा भएन क्यारे….. के गर्छेस्? उपसचिव त दुइटा बच्चाका बाउ बनिसकेका हुन्छन्, तेरो जिन्दगी हैसियत नमिलेरै जाने भयो बाबै!

बुवाको कुरामा बहिनी आगो भई। एउटी छोरी पनि यतिविधि घाँडो भयो हैन त बुवा? मलाई कसैले पाल्न पर्दैन त। आफू आफैं पालिन सक्छु। मलाई तपाईंको अंश चाहिँदैन। कसैको एकसुका सहयोग चाहिँदैन। जति दिन बसिन्छ सानले बसिन्छ, जति बाँचिन्छ आफ्नै कमाइमा बाँचिन्छ। बहिनीको यो व्यवहार बाआमाको लागि रोगको पासो भएको छ।

‘मैले यसो किन भनेको नानी तिमीलाई थाहा भयो?’ दाइले फेरि सोध्नुभयो।

मलाई केही बोल्न मन लागेन।

‘दाइ तपाईं पनि एउटा कार्यालयको प्रमुख हुनुहुन्छ तर भाउजू त घर गृहस्थीमै हुनुहुन्छ। तपाईंले आफ्नो हैसियत किन मिलाउनु भएन त ..त्यसो भए..? तपाईं इन्जिनियरिङ पढेको, आफ्नै हैसियतको केटी भेटिन्थे होला नि बहिनीको जस्तै…… फरक त दाजु बहिनीकै सोचाइमा देखियो नि दाइ।’

‘मान्छेको इमान्दारिता, उसको व्यवहार र नैतिकता पदीय हैसियतभन्दा धेरै माथि हुनुपर्छ होइन र दाइ? भाउजूले घर व्यवहार सबै कुशलतापूर्वक सम्हाल्नु भएको छ र पो तपाईं हाकिम साब बन्न पाउनु भएको छ नि। भाउजूले घर व्यवहार, बालबच्चा, बुढा बाआमाको ख्याल नगर्ने हो भने हाकिम साब बन्न धेरै गाह्रो छ नि दाइ होइन र?’

बल्ल दाइ ‘हो’ भन्नेमा आउनु भयो।

‘कुनै जागिरे, पढेलेखेको केटाले बेरोजगार, आफुभन्दा कम हैसियतको केटीलाई श्रीमती बनाउन सक्छन् भने त्यतिकै पढेलेखेका केटीले किन बेरोजगार, कम पढेको, कम पदमा जागिर खाएको केटालाई जीवनसाथी बनाउने हिम्मत किन राख्दैनन्? मेरो एउटा साथी डाक्टर छ, उसकी श्रीमती गृहिणी हुन्। तर एउटी डाक्टर पढेकी महिलाले बेरोजगार केटालाई आजको युगमा अपनाउन सक्छन् ? सक्दैनन्, नपढेका केटीलाई पनि आफूभन्दा माथिल्लो हैसियतको जीवनसाथी चाहिन्छ।

मेरी बहिनीले कतिपटक भन्छे, हैसियत मिलेन भने हेपाइमा परिन्छ भनेर तर उसको दाइले एसएलसी पढेकी भाउजू भित्राएर पनि बिएसम्म पढायो भन्ने कुरा उसलाई थाहा छैन। इन्जिनियरले एसएलसी पढेकी केटी भित्राउँदा इज्जत नजाने तर त्यही इन्जिनियर पढेकी केटीले एसएलसी पढेको केटासँग बिहे गर्दा हैसियतको कुरा आउँछ ?

यस्ता विषयमा कलम चलाउन नानी। समानता नारा र भाषणमा होइन व्यवहार खै त देखिएको? मेरै अफिसका कति महिला कर्मचारीहरू आफ्ना श्रीमानको उनीहरूको भन्दा तल्लो स्तरको पद छ भने अरूलाई सुनाउँदैनन् तर माथिल्लो, अलि चिनिएको पद छ भने ठूलै स्वरले चिनाउँछन्। मेरा बुवाआमा नपढेका छन्, के म हाकिम भएँ भन्दैमा बुवाआमालाई हैसियत नमिलेको भनेर व्यवहार गर्न मिल्छ?

दाइको कुराले धेरैबेर सोचमग्न बनायो।

सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौँ — संघीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघको १४६औँ महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मिडिया कक्षमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘महासभाको उद्घाटनको अर्को दिन मैले नेपालका तर्फबाट सम्बोधन गर्ने क्रममा हाम्रो देशको संसद्को भूमिका, संघीय संसद्को दोस्रो निर्वाचनपछि गर्ने काम र संविधानलगायतका बारेमा आफ्ना कुरा राखेँ ।’

फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा आयोजना भएको उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फागुन २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज : फाइटिङ इनटलरेन्स’ विषयमा जनरल डिबेटमा संघीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिएको थियो ।

महासभामा सभामुख घिमिरेले अस्ट्रेलिया र अजरबैजानका सभामुखसँग शिष्टाचार भेट गरेका थिए । उनले बहराइनमा रहेका नेपाली कामदारसँग पनि भेटघाट गरेका थिए ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, संघीय संसद्का महासचिव भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे थिए ।

महासभाको १४७औँ सभा अफ्रिकाको अंगोलाको लुवाण्डामा सम्पन्न गर्ने निर्णय भएको छ ।


Last Updated on: March 17th, 2023 at 10:23 am


१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया