
प्रधानमन्त्री दाहालले चैत ६ मा विश्वासको मत लिने
प्रकाशित मिति । २ चैत्र २०७९ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ । खेल शुरु हुनुभन्दा पहिले नै प्रधानमन्त्री प्रचण्ड मैदानमै पुगेर हात मिलाई खेलाडीहरुलाई हौसला दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपालले खेल जितेकै दिन खुसीयालीमा बिश्वासको मत लिने मिति पनि तोकेका छन । देश र जनताको लागि केही गर्छु भनेर २ महिनामै लोकप्रिय हुँदै गएका प्रचण्ड आफै फिल्डमा पुगेपछि नेपाली खेलाडीको मनोबल बढेको थियो ।
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बिहीबार पत्र पठाएका हुन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ,’ प्रवक्ता गिरीले भने ।
प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा कांग्रेससँग गठबन्धन गरेका दाहालले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।
वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।
तिलोत्तमामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला
तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सूचना मेला हुने भएको छ । यही चैत्र ४ गते हुने मेलाको तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
नगरपालिकाको आयोजनामा हुने मेलामा रोजगार तथा रोजगारदाता कम्पनीको ४० स्टल रहने मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए । उक्त मेलालाई सफल बनाई युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्थाको अन्त्य गर्न आफूहरू लागिपरेको संयोजक पाठकको भनाइ छ ।
उक्त मेलामा नगरपालिकाभित्रका स्थायी र अस्थायी गरी झन्डै १ हजार ५ सय व्यक्ति सहभागी हुने लक्ष्य राखिएको छ । मेलामा सहभागी हुन इच्छुक युवायुवतीलेले नागरिकता, फोटो, शैक्षिक प्रमाणपत्रको प्रतिलिपीसमेत ल्याउनुपर्ने पाठकले बताए ।
मेलामा रहने स्टल नगरपालिकाले निर्माण गर्ने र मेलाका लागि कुनै शुल्क नलाग्ने संयोजक पाठकले बताए ।मेलाका उपसंयोजक रवि सेन्चुरीले मेलामा सीपमूलक तालिमको अवसरहरूको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरबारे जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने बताए । मेलाकै माध्यमबाट बेरोजगार युवायुवतीलाई रोजगारीमा जोड्नका लागि सहजीकरण गर्ने अपेक्षासमेत गरिएको उनले बताए ।
मेला तिलोत्तमाका युवालाई अवसरको रुपमा आयोजना हुने र यसको भरपुर सदुपयोग गर्न नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आग्रह गरे । उनले युवाको मागअनुसार विभिन्न क्षेत्रमा नगरपालिका अघि बढेको जानकारी गराउँदै रोजगारीको अवसर र तालिमका लागि यो मेलाले महत्त्वपुर्ण भूमिका खेल्ने जनाए ।
इन्स्योर परियोजनाको सहयोगमा हुने मेलामा रोजगारसम्बन्धी विज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनी, उद्योग कलकारखानाका सञ्चालक तथा प्रतिनिधिको उपस्थिति रहनेछ ।
रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेसिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकले बताए । संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका ४० भन्दा बढी स्टल रहने र मेलामै विभिन्न सीप भएका व्यक्तिलाई रोजगार दिलाइनेछ ।
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था जटिल
मकवानपुर — मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल बारीमा पुगेको थियो । घाइते यात्रुहरुको स्थानीयले उद्धार गरेका थिए ।
सातदोबाटो उक्लियो शीर्षमा
काठमाडौँ — सातदोबाटोले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा बिहीबार खुमलटारलाई २–१ ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि सरदोरवे मातमुराटोभ र दीपकराज सिंह ठकुरीले गोल गरे ।
खुमलटारका लागि राजीव लोप्चनले १ गोल फर्काए । यो जितपछि सातदोबाटोको १२ अंक भएको छ । चर्च ब्वाइज एक खेल कम खेलेर १० अंक छ । खुमलटार भने छ अंकमै सीमित रह्यो ।
बिहीबार नै सातदोबाटोमा भएको अर्को खेलमा हिमालयन शेर्पा र संकटाले गोलरहित बराबरी खेले । हिमालयनको ५ अंक भएको छ भने संकटाको ६ अंक भएको छ ।