
एक वर्षपछि कर्जाको ब्याज घट्दै
प्रकाशित मिति । २९ फाल्गुन २०७९ ।
यसकारण घट्छ ब्याज
–गत माघमा निक्षेपको ब्याजदर घट्नु
–चैतमा साधारण र कल बचतको ब्याज घट्नु
–५ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने
–महँगो ब्याजको धेरै मुद्दती निक्षेपको अवधि सकिँदै, –तरलता अवस्था सहज, कर्जा मागमा कमी
काठमाडौँ — चैतदेखि कर्जाको ब्याजदर घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजसँगै ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम दर (आधार दरमा थप गर्ने दर) घटाउने निर्णय गरेपछि चैतदेखि कर्जाको ब्याजदर पनि घट्ने भएको हो ।
गत माघमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका थिए । निक्षेपको ब्याज घटेपछि बैंकहरूको आधार दर (बेस रेट) घट्छ । आधार दरमा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर पनि घटाउनुपर्छ ।
यही व्यवस्थाअनुसार वैशाखदेखि (तेस्रो त्रैमासमा आधार दरमा आएको परिवर्तनका अनुसार) कर्जाको ब्याजदर घट्ने अनुमान गरिएको थियो । तर, सोमबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले चैत १ देखि ५ प्रतिशतभन्दा प्रिमियम लिन नपाउने र यसअघि बढी लिएको भए त्यो पनि घटाउने निर्णय गर्यो ।
उक्त निर्णयकै कारण चैतदेखि नै धेरै प्रिमियम जोडेर कर्जा लिएका ऋणीको ब्याजदर पनि घट्ने भएको हो । आधार दरमा कमी आएपछि नयाँ ऋणीले भने चैतदेखि नै पहिलेभन्दा कम ब्याजदरमा ऋण पाउनेछन् ।
संघको निर्णयअनुसार चैतदेखि वाणिज्य बैंकहरूले आधार दरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न पाउँदैनन् । यसअघि ६ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने संघको निर्णय थियो । यसकारण हाल ५ प्रतिशतभन्दा बढी प्रिमियम जोडेर कर्जा लिएका ऋणीको ब्याजदर चैतदेखि कम्तीमा १ प्रतिशत बिन्दुले घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीको दाबी छ ।
बैंकले कति ऋणीलाई ५ प्रतिशतभन्दा बढी प्रिमियम जोडेका छन्, यकिन तथ्यांक छैन । तर बैंकहरूले साना र पहुँच नभएका ऋणीलाई धेरै र ठूला तथा पहुँचवाला ऋणीलाई कम प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । यसकारण प्रिमियम घटाउने निर्णयले साना ऋणी बढी लाभान्वित हुने बैंकर्स संघका अध्यक्ष केसीको दाबी छ ।
‘साना ऋणीको ब्याजदर घटाउनकै लागि ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम घटाउने निर्णय भएको हो,’ उनले भने, ‘यो निर्णयबाट सबैभन्दा धेरै लाभ साना ऋणीलाई हुन्छ ।’ यो निर्णय चैत १ देखि नै कार्यान्वयन हुने भएकाले ऋणीले तत्काल ब्याजदर घटेको अनुभूति गर्न सक्ने केसीको भनाइ छ ।
बैंकर्स संघले चैत १ देखि साधारण र कल बचतको ब्याजदर घटाउने निर्णय गरेको छ । यसअनुसार फागुनको तुलनामा चैतमा वाणिज्य बैंकहरूले साधारण बचतको ब्याजदर ०.४२ प्रतिशत बिन्दु र कल बचतको ०.२१ प्रतिशत बिन्दुले घटाएर प्रकाशित गर्नेछन् ।
हाल वाणिज्य बैंकहरूले साधारण बचतमा ६.४२ देखि ८.४२ प्रतिशतसम्म र कल बचतमा ३.२१ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका थिए । अब चैतका लागि बैंकहरूले साधरण बचतको ब्याजदर ६ देखि ८ प्रतिशत बिन्दु र कल बचतको ३ प्रतिशत मात्र प्रकाशन गर्नेछन् । हाल बैंकहरूमा रहेको कुल निक्षेपको करिब एक तिहाइ हिस्सा साधारण र कल बचतको छ ।
साधारण बचतकर्तालाई पनि मर्का नपर्ने र दीर्घकालीन बचतकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले चैतदेखि यी बचतको दर घटाउने निर्णय भएको नेपाल बैंकर्स संघको दाबी छ । बैंकहरूले मुद्दती निक्षेपमा भने चैतमा पनि हालकै बराबर ११ प्रतिशत ब्याज प्रदान गर्नेछन् ।
यसरी साधारण तथा कल बचतको ब्याजदर घटाएकाले फागुन र चैतमा बैंकहरूको आधार दरमा कमी आउने निश्चित छ । बैंकहरूले गत माघमा सबै निक्षेपको ब्याजदर घटाएका थिए । त्यसले पनि बैंकहरूको आधार दर घटाउन सहयोग गर्नेछ । यसकारण दोस्रो त्रैमास (असोज) को तुलनामा तेस्रो त्रैमास (चैतमा) मा बैंकको आधार दर घट्ने भएकाले वैशाखमा डेढदेखि पौने २ प्रतिशत विन्दुले कर्जाको ब्याज घट्ने बैंकहरूको दाबी छ । ‘तेस्रो त्रैमासमा आधार दर औसत कतिले घट्छ, त्यसका आधारमा कर्जाको ब्याजदरमा कमी आउने भएकाले अहिल्यै तोक्न सकिन्न,’ अध्यक्ष केसीले भने, ‘तर चैतदेखि घट्न थालेको ऋणको ब्याजदर वैशाखमा झन्डै २ प्रतिशत बिन्दुले घट्ने देखिन्छ ।’
गत पुसमा १०.९५ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर माघमा १०.७३ प्रतिशत कायम भएको छ । पुसको तुलनामा माघमा ०.२२ प्रतिशत बिन्दुले घटेको छ । अब फागुन र चैतमा आधार दर कतिले घट्छ, त्यसका आधारमा बैंकहरूले वैशाखमा पुराना कर्जाको ब्याज घटाउने भएका हुन् ।
गत वर्ष महँगो ब्याजदरमा संकलन गरेको केही मुद्दती निक्षेपको परिपक्वको अवधि माघ, फागुन र चैतमा सकिँदै छ । परिपक्व हुने अवधि सकिएको मुद्दती निक्षेप अब पहिलेभन्दा सस्तो ब्याजदरमा नवीकरण हुने भएकाले बैंकको लागत कम हुन्छ । लागत कम भएपछि बैंकको आधार दर घट्छ ।
यसले पनि कर्जाको ब्याजदर घटाउन सहयोग पुग्छ । हाल बैंकहरूको ब्याजदर औसतमा १४/१५ प्रतिशत छ । यद्यपि राष्ट्र बैंकको तथ्यांकअनुसार ०७८ पुसमा ८.४२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर गत पुससम्म १०.९१ प्रतिशत छ । गत पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दर क्रमशः ६.३७ र ९.४४ प्रतिशत थिए ।
वाणिज्य बैंकले ब्याजदर घटाएसँगै विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि चैतमा निक्षेपको ब्याजदर घटाउने बताइएको छ । ब्याजदर बढाएर मात्र निक्षेप नआउने तर लागत बढ्ने निष्कर्षका आधारमा विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाउने भएका हुन् । ‘बिहीबारसम्म औपचारिक निर्णय भइनसके पनि हामी ब्याजदर घटाउने कोसिसमै छौं,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेलले भने, ‘यस विषयमा संघमा छलफल गरी छिट्टै औपचारिक निर्णय गर्ने छौं ।’
लगानीयोग्य रकम अभावमा झन्डै २ वर्षदेखि सुस्त बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका थिएनन् । अहिले तरलता स्थिति सहज छ । तर, कर्जा प्रवाहको गति सुस्त छ । विगतमा बैंकमा पैसा नहुँदा ग्राहकले कर्जा पाउन सकेका थिएनन् ।
पछिल्ला महिनामा निक्षेप बढिरहेको छ । कर्जा प्रवाह भने अपेक्षित रूपमा बढ्न सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.२ र कर्जा ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा गत आर्थिक वर्षको पुसदेखि चालु आर्थिक वर्षको पुससम्म निक्षेप ९.४ र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ प्रतिशत छ । उल्लिखित तथ्यांकले पनि निक्षेपको भन्दा कर्जाको वृद्धिदर कम देखिन्छ ।
आर्थिक गतिविधि सुस्ताएका बेला महँगो ब्याजदरमा कर्जा लिएर व्यवसाय विस्तार गर्दा लागतसँगै नोक्सानको जोखिम पनि उच्च हुने भएकाले उद्योगी व्यवसायीले कर्जा माग नगरेको जानकारहरू बताउँछन् । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन र अपेक्षित रूपमा रोजगारी सिर्जना गर्न सरकारले खर्च बढाएर उत्पादन वृद्धि र रोजगारीका अवसर सिर्जना गर्न पहलकदमी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।
एमालेले डाक्यो सचिवालय बैठक
काठमाडौँ — नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ ।
भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।
साबिक विजेता सेमिफाइनलतिर
सेतो जर्सीमा धनकुटा र नीलो जर्सीमा सिराहाका खेलाडी बलका लागि संघर्ष गर्दै । तस्बिर : कान्तिपुर
फाल्गुन २९, २०७९कान्तिपुर संवाददाता
विराटनगर — द सेभेन युथ क्लब धनकुटालाई २–१ गोलले हराउँदै साबिक विजेता प्रतिभा फुटबल क्लब सिराहा आइतबार तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतिभाको जितमा सिद्धार्थ लामा र विश्वास राईले गोल गरेका थिए ।
धनकुटाका सन्दीप लिम्बूले एक गोल फर्काए । धनकुटाविरुद्ध सुरुदेखि नै प्रतिभाका खेलाडीले आक्रामक शैली अपनाए पनि गोल गर्न २७ मिनेट कुर्नुपर्यो । उद्धव घलेले निकालेको पासमा सिद्धार्थले गोल गरी टोलीलाई अग्रता दिलाए । ८० मिनेटको खेलमा दोस्रो हाफमा धनकुटाले सुधारिएको खेल पस्कँदै ४२ औं मिनेट सन्दीपले गोल गरी खेल बराबरीमा ल्याए ।
प्रतिभाका सिद्धार्थले ५८ औं मिनेटमा हानेको बल बारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो । ६० औं मिनेटमा विश्वासको वान भर्सेस वानको अवसर गुमाएका थिए । तर उनले इन्ज्युरी टाइमको दुई मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनी म्यान अफ द म्याच भए । सोमबार आयोजक साइनो स्पोर्टस क्लब रानी र सहलेस युवा क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ ।