शनिबार ११ चैत्र २०७९


आरआर क्याम्पसमा खुकुरी हानाहान

प्रकाशित मिति । २८ फाल्गुन २०७९ ।

काठमाडौँ — रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।

एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ ।

अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको जनाए । राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका हुन् । उनले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको जनाए ।

‘सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं भरका गुण्डाहरु बोलाएर आक्रमण गर्न खोजियो, निर्वाचन बिथोल्न खोजियो,’ खड्काले भने ।

पराजुलीले भने उक्त आरोप अस्वीकार गरेका छन् । ‘क्याम्पस प्रमुख र निर्वाचन अधिकृत मिलेर फर्जी विद्यार्थी भर्ना गरे । त्यसका लागि सर्वदलीय बैठक डाक्न माग गरेका छौं ।’

झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ । आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । झडपपछि प्रदर्शनीमार्ग क्षेत्रमा यातायात आजजाउमा रोक लगाइएको छ ।

विद्यार्थीहरु क्याम्पस बाहिर भेला भएका छन् भने भित्र क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीच वार्ता भइरहेको छ । नेविसंघका इकाई सभापति सञ्जिव ढकालले फर्जी विद्यार्थीको विषयमा विवाद हुँदा झडप भएको जनाए ।

क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दवाव र प्रभावमा निर्वाचन निर्देशिका विपरीत विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् । मतदाता नामवली प्रकाशनअघि नै फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो ।

समितिको प्रतिवेदन सार्वजनिक नगरी मतदाता कायम गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद बढेको थियो । विवादका कारण नेविसंघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । त्यसका लागि काठमाडौं उपत्यका २२ आंगिक क्याम्पसमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरआर क्याम्पसमा भने शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्मको समय थपेको छ ।

मिसन मसला : पृथ्वीलाई एक फन्को

पूर्वको रैथाने मसलाले मध्यकालीन युरोपको भान्सा मोहित भयो । मसला फल्ने भूगोलसम्म पुग्न थुप्रै साहसी/दुस्साहसी यात्रा भए । तर, भूगोलबारे तथ्य कम र मिथक ज्यादा प्रचलनमा रहेको त्यस युगमा पृथ्वीलाई एक फन्को लगाउने फर्डिनान्ड मेगलनको यात्रा अभूतपूर्व थियो । विश्व आर्थिक, राजनीतिक र सांस्कृतिक इतिहासमा त्यो यात्रा एक महत्त्वपूर्ण मोड थियो ।

एक मुट्ठी ल्वाङ

युफ्रेटस नदीतटको सानो सहरमा आगलागी भयो इसापूर्व १७२१ तिर । पुजुरुम भनिने एक व्यक्तिको घर जल्यो (पहिलो पटक मान्छेले यही भूगोलमा क्युनिफर्म/स्फान लिपिमा लिखित अभिलेख राख्न आरम्भ गरेको समय थियो त्यो) । घर जलेपछिको खरानीको थुप्रोमा पुरातत्त्वविद्हरूले माटाको भाँडामा दुरुस्तै जोगिएको एक मुट्ठी ल्वाङ फेला पारे ।

त्यो एक आश्चर्य थियो । इन्डोनेसियाको मोलुका द्वीप समूहमा मात्रै पाइने रैथाने ल्वाङलाई सिरियाको मरुभूमिमा कसले र कसरी पुर्‍यायो ? यो झनै आश्चर्य थियो । पुजुरुमको भान्सामा पुगेको ल्वाङको कथा त इतिहासको गर्तमा बिलायो । तर, करिब ३२ सय वर्षपछि स्पेनबाट मसलाको खोजमा विश्व–यात्रामा निस्केका फर्डिनान्ड मेगलन र उनको टोलीले फर्किंदा ल्याएको २६ टन ल्वाङको अभूतपूर्व यात्रा–कथा रोचक र सम्झनलायक छ । यो कथाले मसलाको इतिहासको परिभ्रमण गराउँछ ।

सेप्टेम्बर ६, १५२२ । स्पेनको सानलुकार दे बारमादा बन्दरगाहको क्षितिजमा एक जीर्ण पानीजहाज देखापर्‍यो । जहाजको पाल झुत्रो भएको थियो । पाटपुर्जा खियाले खाएर खङ्ग्रङ्ग देखिन्थ्यो । वास्तवमा जहाजको नाममा त्यो अस्थिपञ्जर थियो ।

जहाजभित्रको दृश्य झन् कारुणिक थियो । त्यहाँ थिए कुपोषणले हाड–छाला मात्रै बाँकी भएका नाविकदलका १८ जना सदस्य । तिनीहरूसँग बोल्ने सामर्थ्य पनि बाँकी थिएन, जिब्रो सुन्निएको थियो, ठेउला र पानीफोकाले जिलजिल भएको थियो शरीर । जहाजका कप्तान र अधिकांश सदस्य बाटैमा मरिसकेका थिए ।

तीन वर्षमा ६० हजार माइल दूरी यात्रा गरेको जहाजले सर्वस्व गुमाएर पनि अति जतनले बोकी ल्याएको एक मात्रै त्यो वस्तु थियो– ल्वाङ । र, इतिहासमै पहिलोपटक पृथ्वीको एक फन्को परिक्रमा गरेको थियो त्यस जहाजले ।

हिउँदे ठिहीमा ज्यानको परवाह नगरी आफ्नो लुगाफाटोसमेत बेचेर इन्डोनेसियाको मोलुका द्वीपमा किनिएको थियो त्यो ल्वाङ । यात्राका कप्तान जनरल थिए– फर्डिनान्ड मेगलन । ‘अन्वेषण युग’ को त्यो अभूतपूर्व यात्रालाई मसलाको महकले नै ऊर्जा दिएको थियो (ओभर द एज अफ द वर्ल्ड, लरेन्स बरग्रिन) ।

मसलाको महक

त्यसबेला ल्वाङ, दालचिनी, मरिच, जाइफल, अदुवाजस्ता मरमसलाको महकले युरोपको भान्सा मोहित भइसकेको थियो । १३ औं शताब्दीको एउटा रेसिपीले बंगुरको मासुमा पर्याप्त अदुवा, दालचिनी, मरिच, ल्वाङ र जाईफल हाल्न सुझाएको छ । सन् १४२४ मा एक मध्यमवर्गीय परिवारले औसत १७ पाउण्ड मरिच, १४ पाउण्ड अदुवा र १७ पाउण्ड ल्वाङ–दालचिनि उपभोग गर्थ्यो ।

पाहुना सत्कारमा समेत यी मसला प्रयोग हुन्थे । सन् ११९४ मा रिचार्ड प्रथमको पाहुना बनेर बेलायत पुगेका स्कटल्याण्डका महाराजलाई प्रत्येक दिन दुइ पाउण्ड मरिच र चार पाउण्ड दालचिनी टक्र्याइएको थियो (टेस्ट अफ प्याराडाईज, वुल्फग्याङ्ग चिभेलबुस) ।

अमेरिकी महादेशको पूर्वीतटीय क्षेत्र मात्रै युरोपको सामान्य जानकारीमा आएको समय थियो त्यो । त्यसैले त्यहाँको रैथाने आलु, टमाटर तथा मकै युरोपको भान्सामा पुगिसकेको थिएन । त्यहाँ अमिलो कागती, गुलियो चिनी, तातो चिया र कफी थिएन । यस्तोमा युरोपेली परिकारमा स्वादको विविधताका लागि ल्वाङ, मरीच, जाइफल, दालचिनी र अदुवा बिस्तारै अनिवार्य बन्यो ।

सबैलाई थाहा थियो– यी मरमसला पूर्वका रहस्यमयी भूगोलबाट आउँथे । इडेनको बगैंचा यही धरतीमा कतै रहेको बुझाइ थियो इसाईहरूको । उनीहरूको विश्वास थियो– जेरुसेलमभन्दा पूर्वपट्टि छ त्यो बगैंचा । इसाई मानचित्रकारले पनि सुदूरपूर्वतिर स्थापित गरेका थिए– स्वर्गको ठेगाना ।

कट्टर इसाई समाजका लागि स्वर्ग र मसला दुवै पूर्वमा हुनु एक संयोग मात्रै थिएन । र, मसलाको महक सिधै स्वर्गको महक हो भन्ने ठानियो । त्यसबेला यही मान्यता निकै गहिरोसँग स्थापित भयो । आम जिब्रो अनि मनोविज्ञानमा मसला स्वाद, सुवास, ओखती र प्रसाद बनेर छाएपछि युरोपमा यसको मागले आकाश छोयो ।

साहुहरूले मसलाको व्यापारमा अथाह पैसा देखे । नदेखून् कसरी ? मेगलनको त्यो जीर्ण जहाजमा आइपुगेको ल्वाङले मात्रै यात्राको सबै खर्च कटाएर नाफा कमाएको थियो । मसलाको व्यापारमा अथाह पैसा थियो, अर्थात् तिनका लागि पनि पूर्वको भूगोल एक स्वर्ग थियो । तर ‘स्वर्ग’ पुग्ने बाटो सहज थिएन (आउट अफ द इस्ट, पाउल फ्रिडम्यान) ।

अड्चन

रोमन साम्राज्यको पतनसँगै युरोप र भारतबीच स्थापित प्राचीन सोझो व्यापारिक सम्पर्क टुटेको थियो । इजिप्टमा मुसलमान र भूमध्यसागर क्षेत्रमा अरबीहरूले युरोपलाई भारततर्फ ढिम्किनै दिएका थिएनन् । युरोपेली जहाज लालसागर पार गरेर हिन्द महासागरमा छिर्न पनि पाउँदैनथ्यो भने स्थलमार्ग हुँदै भारत पुग्न अरबीहरूको चर्को अड्चन थियो ।

भारतको मालबार तटको मरीच, श्रीलंकाको दालचिनी, अम्बोनियाको ल्वाङदेखि बान्दाद्वीपको जाइफलले लुटपाट, आँधीहुरी र घामपानी छल्दै युरोपसम्म आइपुग्न महिनौं लामो यात्रा गर्नुपर्थ्यो । दर्जनौं बिचौलियाको हात फेर्दै युरोपको भान्सासम्म पुग्दा मरमसालाको भाउ हजार गुणा बढिसकेको हुन्थ्यो । सबैभन्दा सस्तो मानिने एक पाउन्ड मरीच किन्ने पैसाले एउटा सग्लो सुंगुर नै किन्न पाइन्थ्यो । इस्लाम र अरबी अवरोध तोड्न सम्भव नभएपछि भारतलगायत पूर्वी क्षेत्र पुग्ने नयाँ बाटाको खोजीमा व्यापक बेचैनी थियो स्पेनमा ।

मेगलन सूत्र

त्यसै बेला जन्म/कर्मभूमि पोर्चुगलमा नपत्याइएका मेगलन मसला द्वीपसम्म पुग्ने छोटो बाटाको योजना लिएर स्पेन आइपुगे । मेगलनको प्रस्ताव ‘र्‍याडिकल’ थियो– ‘पूर्वको मालवस्तु पूर्वी दिशाबाटै आउनुपर्छ भन्ने जरुरी छैन । यदि पृथ्वी गोलो छ भने पश्चिम हुँदै पनि पूर्व पुग्न सकिन्छ ।’ मेगलनको त्यो प्रस्ताव नवीन भने थिएन ।

सन् १४९८ मा कोलम्बसले यस्तै असफल प्रयास गरिसकेका थिए । दक्षिण अमेरिकाको क्यारेबियन तट टेकेका उनले भारत पुगेको प्रमाणस्वरूप ‘दालचिनी’ ल्याएका थिए । तर, त्यो रुखको बोक्रा दालचिनी भन्ने पुष्टि भएन । मरीच भेटिने कुरै थिएन । बरु साथै ल्याएको ‘अजी’ भनिने अत्यन्तै पिरो फल केही दशकमै खुर्सानीका नाममा दुनियाँभरि तीव्र गतिमा फैलियो ।

मेगलनको सामुद्रिक यात्रापछि युरोपको मेनुमा थपिए नयाँ मसला । त्यो यात्रापछि फोरियो मान्छेको रुचि र स्वाद । मेगलनको टोलीले पृथ्वीलाई एक फन्को घुमेपछि दुनियाँ फेरि उस्तै रहेन ।

मेगलनलाई थाहा थियो– प्रशान्त महासागर र आन्ध्र महासागरको बीचमा अमेरिकी भूगोलको अवरोध छ । साथै दक्षिण अमेरिकी महादेशको दक्षिणी पुछारतिर कतै न कतै प्रशान्त र आन्ध्र महासागरलाई जोड्ने गल्छी वा कोरिडोर छ भन्ने दृढ विश्वास थियो उनमा । त्यही कोरिडोरबाट प्रशान्त महासागर प्रवेश गरी उनी एसिया पुग्न चाहन्थे । पृथ्वीको फैलावट र भूगोलबारे मेगलनको अज्ञानता नै उनको विश्वासको आधार थियो ।

अधुरो/अपुरो ज्ञान

पृथ्वीको फैलावट र यसको भूगोलबारे विज्ञहरू कुहिरोको कागझैं थिए । ग्रीक खगोलविद् तथा गणितज्ञ टोलेमीले बनाएको पृथ्वीको मानचित्रमा प्रशान्त महासागरै थिएन । पछिल्ला मानिचत्र पनि तथ्य र मिथकको मिश्रण थिए । त्यसबेलाको सबैभन्दा चर्चित मार्टिन बाहिमको ‘नरेम्बर्ग ग्लोब’ ले समेत दक्षिण–अमेरिकी भूगोललाई समेटेको थिएन ।

कोलम्बसले युरोपको क्यानरी द्वीपबाट जापानसम्मको दूरी कुल २४ सय माइल भएको अनुमान गरेका थिए । यसलाई नकार्ने तथ्य भेला भइरहँदा पनि मेगलनले कोलम्बसलाई नै सही ठानिरहे । यिनै प्रमाणका आधारमा मेगलनले स्पेनका राजा चार्ल्ससामु एसिया पुग्ने नयाँ मार्गको प्रस्ताव गरे ।

अन्ततः सन् १५१८, मार्च २२ मा मेगलनले यात्राको अनुमति पाए । राजा चार्ल्सले यात्राका लागि पाँच पानीजहाज, २६० नाविक–दल र रसदपानी उपलब्ध गराए । ऋणमा डुबेका चार्ल्सले ‘हाउस अफ फ्युजर’ बैंकका बैंकरमार्फत १४ प्रतिशत ब्याजमा ऋण काढेर त्यो खर्च जोहो गरेका थिए ।

थप १० गिद्धलाई खुला आकाश

कसराबाट छाडिएका गिद्धको संख्या ६९ पुग्यो, प्राकृतिक वातावरणमा घुलमिल हुने बानी अध्ययन गरिँदै

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध छाड्ने ठाउँ हो जटायु रेस्टुरेन्ट । कावासोती–७ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा उक्त रेस्टुरेन्ट छ । प्रजनन केन्द्रमा हुर्काइएका १० वटा गिद्ध शनिबार यहाँको जंगलमा छाडिएको छ ।

ती सबै गिद्धमा सेटेलाइट ट्याग लगाइएको छ । ट्यागले गिद्ध कहाँ र कति टाढा पुगेका छन् भन्ने जानकारी दिन्छ ।

संरक्षणकर्मी र स्थानीयको रोहबरमा शनिबार गिद्ध छोडिएको हो । यसरी गिद्धलाई प्राकृतिक वातावरणमा छाडेको यहाँ सातौं पटक भएको छ । शनिबार छाडिएका सबै गिद्ध डंगर प्रजातिका हुन् । प्रजनन केन्द्रमा हुर्काइएका र त्यही जन्मेकासमेत गरेर हालसम्म छाडिएका गिद्धको संख्या ६९ पुगेको छ ।

मरेका चौपाया ल्याएर गिद्धको आहाराका लागि जटायु रेस्टुरेन्टमा छाडिन्छ । आहारा पाउने भएका कारण रेस्टुरेन्टमा गिद्धका बथान आउँछन् । गत माघ १९ मा रेस्टुरेन्टमा एकैपटक ४ सय ६५ गिद्ध आहाराका लागि आएका थिए । यहाँको गिद्ध संरक्षण योजना हेर्न पर्यटक समेत आउने गरेका छन् ।

रेस्टुरेन्टको जाली भित्र–बाहिर सिनो र पानी व्यवस्था गरिएको छ । रेस्टुरेन्ट बाहिर गोठमा चौपाया पालन छ । यहाँ ल्याइएका बूढा चौपाया मरेपछि गिद्धलाई आहाराका लागि दिने गरिएको छ । गाउँघरमा मरेका चौपाया पनि गिद्धलाई दिन ल्याउने गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्या बढाउन सरकारले दातृ निकायको सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीय सहभागितामा सञ्चालित जटायु रेस्टुरेन्टले गिद्धको संख्या बढाउन ठूलो मद्दत गरेको बताए । स्थानीयको सहयोगमा हुने संरक्षण टिकाउ र जीविकोपार्जनमा सहयोगी हुने देखिएको उनको भनाइ छ ।

नियन्त्रित अवस्थामा हुर्काएर प्राकृतिक वातावरणमा बाँच्न छाडिने गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटेलाइट ट्याग लगाइने संरक्षणकर्मी डीबी चौधरी बताउँछन् । ‘खुट्टामा नम्बर र ढाडमा सेटलाइट ट्याग लगाइएको छ,’ उनले भने, ‘यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक निगरानी गरिन्छ ।’

लोपोन्मुख गिद्धको संरक्षण गरेर संख्या बढाउन भन्दै २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा स्थानीय सहभागितामा गिद्ध रेस्टुरेन्ट सुरु गरिएको हो । यहाँ २०६५ देखि रेस्टुरेन्टको प्रयोग सफल मानिएको छ । संरक्षणकर्मीहरूका अनुसार नेपालमा हालसम्म नौ प्रजातिका गिद्ध पाइएको रेकर्ड छ, संख्या १५ हजार हाराहारी रहेको अनुमान छ ।

कावासोती आसपासमा ८ प्रकारका गिद्ध देखिएका छन् । सुनसरी, कास्की, लुम्बिनी, दाङका दुई स्थानसँगै कैलालीमा जटायु रेस्टुरेन्ट छन् ।


Last Updated on: March 12th, 2023 at 9:11 am


तपाईको प्रतिक्रिया