
निसीखोलाकी महिला बलहियामा रंगेहात पक्राउ
प्रकाशित मिति । २६ फाल्गुन २०७९ ।
काठमाडौं । प्रहरीले बेलहिया बसपार्कबाट ३६ वर्षीया लालसरा घर्ती मगरलाई चरेससहित पक्राउ गरेको छ ।
प्रहरीले फागुन २४ राति ८ बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट मगरलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ती महिला उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बाग्लुङको निसीखोला गाउँपालिका वडा नं. ६ स्थायी घर भएकी मगरलाई ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
मगरलाई लागुऔषध (चरेस) जस्तो देखिने गाँजाको गन्ध आउने गिलो पदार्थ २ किलो ५०० ग्रामसहित पक्राउ गरेको छ ।
निर्वाचन आयोगले तोक्यो उपराष्ट्रपति उम्मेदवारको योग्यता, खस-आर्य पुरुषबाहेकका हुनुपर्ने
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिमा खस-आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगको शुक्रबारको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै निर्वाचत अधिकृतहरुलाई निर्देशन दिएको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ‘यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ‚’ भन्ने व्यवस्था छ ।
‘२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस-आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ‚’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति रनिङ सिल्डको उपाधि फुङलिङ नगरपालिकालाई
ताप्लेजुङ — राष्ट्रपति रनिङ सिल्ड अन्तरपालिका जिल्लास्तरीय प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ । प्रतियोगितामा नगरपालिकाले २० स्वर्ण ४ रजत र ४ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
सिरिजंगा गाउॅपालिकाको केन्द्र तेल्लोकमा फागुन २३ देखि सुरु भएको प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । उसले १७ स्वर्ण, १५ रजत र ५ कास्य पदक जित्यो । यो वर्षको प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका भने पदकविहीन बन्यो । एक नगरपालिका र आठ गाउँपालिकासहित नौ स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
मेरिङदेनले ३ स्वर्ण २ रजत र २ कास्य, पाथीभरा याङवरकले २ स्वर्ण २ रजत र २ कास्य पदक जित्दा सिदिङवा र सिरिजंगा गाउॅपालिकाले १‐१ स्वर्ण पदकमा चित्त बुझाए । सिदिङवाले रजत र कास्य ७‐७ वटा जित्ता सिरिजंगाले ४ रजत र २ कांस्य जितेको खेलकुद विकास समितिले जनाएको छ । मैवाखोलाले ५ रजत र ६ कास्य तथा मिक्वाखोलाले ३ रजत र २ कास्य पदक जिते ।
खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलका अनुसार नगरपालिकाले मार्सल आर्टतर्फको सितेरियो करातेमा मात्रै ८ वटा स्वर्ण जित्यो भने तेक्वान्दोको ४ स्वर्ण पनि उसैले हात पार्यो । करातेमा ४८ केजी छात्रबाहेकका सबै उमेर समूहको पदक नगरपालिकाले हात परेको हो । प्रतियोगिताको सबैभन्दा आकर्षण र धेरै खेलाडी सहभागी हुने कबड्डी र भलिबलतर्फका छात्रछात्रा दुवैको स्वर्ण जितेको नगरपालिकाले एथ्लेटिक्समा भने एक सय मिटरको दौडमा मात्रै स्वर्ण जित्न सक्यो ।
यो वर्ष पहिलो पटक सदरमुकाम फुङलिङबाहिर सिरिजंगा गाउँपालिकामा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको थियो । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीले प्रदेश प्रतियोगितामा खेल्न पाउनेछन् ।