शनिबार ११ चैत्र २०७९


१०२ मेगावाटको मध्यभोटेकोशी आयोजना असारभित्र सक्न निर्देशन

प्रकाशित मिति । २६ फाल्गुन २०७९ ।

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्‌को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समयभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ । आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष सुभाष कुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी प्रगतिको जानकारी लिएको छ ।

आयोजनाको बाँध, बालुवा थिग्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवर्क्स )को निर्माण सम्पन्न भएको छ । हाल हेडवर्क्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ ।

विद्युत्‌गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरु जडान भइरहेको छ । विद्युत्‌गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । तार तान्न बाँकी छ ।

कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए । कम्पनीका सीईओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताए ।ठेकेदार कम्पनीका प्रतिनिधिले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने बताएका थिए ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकल इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ पुगेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरुमध्ये प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर छ ।

४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ ।

कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

उपराष्ट्रपति उम्मेदवार बन्न रञ्जिता श्रेष्ठको उमेर नपुग्ने

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर भने नपुग्ने देखिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले बताएका थिए ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो । ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ । उक्त दफाको उपदफा ‘ख’ मा ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ ।

त्यस्तै नेपालको संविधानको धारा ६५ मा राष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि ‘राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने’ उल्लेख छ ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले बाराका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ ।


Last Updated on: March 10th, 2023 at 3:45 pm


तपाईको प्रतिक्रिया