
पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद, निलम्बित सांसद गुरुङलाई जरिवानामात्रै
प्रकाशित मिति। २५ फाल्गुन २०७९ ।
बद्रीप्रसाद न्यौपानेलाई दोषी ठहर गर्दै ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ जरिवाना हुने सजाय
निलम्बित सांसद गुरुङलाई १ करोड २१ लाख जरिवाना र त्यति नै बिगो
काठमाडौँ — भृकुटीमण्डपस्थित समाज कल्याण परिषद् को ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतले पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलाई दोषी ठहर गर्दै ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ ।
साथै, सोही अभियोगमा विशेष अदालतले अर्का पूर्वमन्त्री तथा कांग्रेस सांसद (निलम्बित) टेकबहादुर गुरुङलाई १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुल हुने सजाय सुनाएको छ ।
भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा अनियमितता गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ मा पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहित १४ जनाविरुद्ध बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको फैसला गर्दै विशेषले गत फागुन १६ मा पूर्वमन्त्री न्यौपाने र गुरुङसहित नौ जनालाई दोषी ठहर र ५ जनालाई सफाइ दिएको थियो । दोषी ठहरको हकमा सजाय निर्धारण बिहीबार भएको विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले बताए ।
दोषी ठहर भएका समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहतालाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३, त्यति नै बिगो र ८ वर्ष ६ महिना कैद, परिषद्का तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरीको हकमा २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ बिगो असुल गर्न भनिएको छ ।
चौधरीको मृत्यु भइसकेको कारण कैद र जरिवाना नभएको उपरजिस्ट्रार भट्टराईले बताए । परिषद्का तत्कालीन सदस्यसचिव रवीन्द्रकुमार यादवविरुद्ध ९ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुलउपर गर्ने फैसला भएको हो ।
त्यसैगरी परिषदका तत्कालीन सदस्यत्रय हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमार लाल कर्णविरुद्ध समान ८ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ जरिवाना तथा त्यति नै बिगो असुलको सजाय भएको छ ।
भृकुटीमण्डपस्थित तत्कालीन फनपार्क सञ्चालक रबीन्द्र गुरुङविरुद्ध १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र त्यति नै बिगो भराउने सजाय भएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले फागुन १६ गते फैसला गर्दै उनीहरुलाई दोषी ठहर गरेको थियो । उनीहरुविरुद्ध अख्तियारले प्रत्येकलाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो, जरिवाना र कैदसजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो
यस्तै अख्तियारले प्रतिवादी बनाएका परिषद्का तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरी, तत्कालीन कोषाध्यक्ष रत्न गाहामगर, तत्कालीन उपनिर्देशक बलबहादुर स्वाँर र तत्कालीन निर्देशक मदनप्रसाद रिमाललाई भने विशेषबाट सफाइ पाएका छन् ।
फनपार्क मेला क्षेत्रमा रहेको ६० रोपनी जग्गा भाडा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरित गरी अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।
तत्कालीन मन्त्री न्यौपानेको अध्यक्षतामा समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, सदस्य हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, सदस्यसचिव रवीन्द्रकुमार यादवसहितको बैठकले गुरुङलाई बिना प्रतिस्पर्धा १५ वर्षका लागि जग्गा भाडामा दिने निर्णय गरेको थियो ।
२०६९ भदौ २० मा कार्यसञ्चालन समिति बैठकले रबीन्द्र गुरुङ (टेकबहादुर गुरुङको वारेसकर्ता)लाई मासिक ५ लाख ५५ हजार र समय अवधि १५ वर्षका लागि मेला सञ्चालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियो । समय थप्ने र रकम बढाउने सम्बन्धी विषय नै बदनियतपूर्ण निर्णयबाट भएको अख्तियारको अनुसन्धानमा भेटिएको तियो । ठेक्का लगाउँदा सार्वजनिक बोलपत्रबाट हुनुपर्नेमा त्यसो नै गरिएन । मिलेमतोमै गुरुङलाई दिने गरी निर्णय गराइयो ।
लेखा परीक्षण प्रतिवेदनमा पनि बिना प्रतिस्पर्धा एउटै व्यक्तिलाई दिने निर्णय नगर्न भनेकोमा त्यसको वेवास्ता गरिएको थियो । त्यसपछि २०६९ वैशाख १२ मा भएको निर्णय पनि संकास्पद रुपमा २०६९ जेठ ३ मा निर्णय परिषदको दर्ता कितावमा उल्लेख गराइयो ।
त्यसको २ महिना पछि साउन १५ मा पदाधिकारी तथा सदस्यको उपस्थितिमा बसेको बैठकले जिल्ला प्राविधिक कार्यालय काठमाडौंबाट प्राविधिक मूल्यांकन माग्ने भन्ने वैशाख १२ अघिको निर्णयलाई वदनियतपूर्ण रुपमा खारेज गरिएको थियो । यी सबै शंकास्पद निर्णय तथा बिना प्रतिस्पर्धा गुरुङलाई ठेक्का जिम्मा लगाउनका लागि भएको अख्तियारको अनुसन्धानमा खुलेको थियो ।
भाडामा लिएपछि गुरुङले फनपार्क परिसरकै इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैयाँ ४२ पैसामा भाडामा दिएको पनि फेला पर्यो । जुन भाडा रकम अनुसार हिसाब गर्ने हो भने ६० रोपनीको प्रति मासिक भाडा नै ४७ लाख भन्दा बढी हुन आउँछ ।
तर, परिषदले भने प्रति रोपनी ९ हजार २ सय ५० रुपैयाँले दिने निर्णय २०६९ भदौ २० मा भएको थियो । यसलाई अख्तियारले ‘निजहरुको बदनियतपूर्ण रुपले गरेको गलत कामकारबाहीबाट परिषदलाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा हानीनोक्सानी भएको देखिन आएको’ आरोपपत्रमा उल्लेख थियो ।
राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबारदेखि पद सम्हाल्दै
काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ठूलो मतान्तरले मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । नौदलीय गठबन्धनको साथ पाएका पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पछि पार्दै राष्ट्रपति चुनिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय १४ तथा प्रदेशसभाका ३ सय ५२ सांसदले मत दिएका थिए । संघ र प्रदेशका ५ सय ६६ सांसदको ३३ हजार ८ सय २ मतभार पौडेलले पाएका हुन् । राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६ सय २८ कायम गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाए पुग्नेमा पौडेलका पक्षमा ६४.२२ प्रतिशत मत खसेको थियो ।
निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङलाई संघीय संसद्का ९८ र प्रदेशसभाका १ सय ६२ सांसदले मत दिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका हुन् । प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । संघीय संसद्का ३ सय ३१ सांसदमध्ये ३ सय १२ र प्रदेशसभाका ५ सय ५० मध्ये ५ सय १८ जनाले भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार ४ बजे निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ ।
राप्रपा र नेमकिपाले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन् । राप्रपाका संघीय संसद्मा १४ र प्रदेशसभामा २८ सांसद छन् । नेमकिपाका संघीय संसद्मा १ र प्रदेशमा ३ सांसद छन् । कांग्रेसका चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन उपचारमा रहेकाले मतदानमा सहभागी भएनन् । एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ मधेश प्रदेशकी जसपा सांसद बिन्दु यादव भारतमा उपचारमा रहेकीले अनुपस्थित भइन् ।
निर्वाचनमा सहभागी एमालेबाहेक सबै दलको साथ पाएर पौडेल विजयी भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । नेम्वाङले राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत दुईसहित एमालेका ९७ सांसद र एक स्वतन्त्र सांसदको मत पाएका हुन् । प्रदेशमा एमालेका १ सय ६१ सांसद रहेकामा नेम्वाङलाई १ सय ६२ जनाले मत दिएका थिए ।
बिहीबार १० बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । राष्ट्रपति निर्वाचनको पहिलो मत पौडेलले हालेका थिए । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले राष्ट्रपति बनेपछि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको उनले बताएका थिए । उनले भनेका थिए, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारीपूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’
निर्वाचन पहिल्यै उम्मेदवारका रूपमा पौडेलले हात जोड्दै मतदातासँग भोट मागेका थिए । संघीय र प्रदेशसभाका सदस्यहरूका लागि मतदान गर्न जाने छुट्टाछुट्टै बाटो बनाइएको थियो । उनले हात जोडेर दुवैतिर लाइनमा रहेका सांसदलाई मत मागेका थिए ।
एमाले उम्मेदवार नेम्वाङ भने ढिलो गरी मात्रै मतदानस्थल पुगेका थिए । उनी सोझै मतदानस्थल रहेको ल्होत्से भवन प्रवेश गरेका थिए । त्यहाँ लाइनमा लागेका सांसदहरूसँग सामान्य कुराकानी गर्दै उनले मतदान गरेका थिए । त्यसपछि संघीय सांसदका लागि स्थापना गरिएको विश्राम स्थलमा उनी केहीबेर बसे । भोट माग्दै हिँडेका पौडेल आफ्ना प्रतिस्पर्धी नेम्वाङले विश्राम गरिरहेको ठाउँमा पुगेपछि दुवै जनाले शुभकामना आदानप्रदान गरे ।
त्यहाँ फोटो सेसन र आफ्नो धारणा राखेपछि पौडेल भोट माग्दै हिँडे । नेम्वाङ भने त्यहाँ थप केहीबेर बसेर सिंहदरबारस्थित संसदीय दलको कार्यालयतिर लागे । एमालेका अधिकांश नेता मतदानस्थलमा धेरैबेर बसेनन् । उनीहरू मत हाल्दै बानेश्वरबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली मत हाल्नेबित्तिकै बाहिरिए ।
मत परिणाम अपराह्न ५ बजे आएको थियो । पौडेल विजयी भएको घोषणा कार्यक्रममा नेम्वाङ उपस्थित भएनन् । एमालेको प्रतिनिधित्व सांसद महेश बर्तौलाले गरे । नेम्वाङका तर्फबाट उनैले टीका र माला लगाइदिएर पौडेललाई बधाई दिए । निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रममा पौडेलको दायाँतर्फ उनकी श्रीमती पनि थिइन् ।
बायाँतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । पौडेललाई बधाई दिन कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याललगायतका नेता पुगेका थिए । मत हालेर बाहिरिएका सांसदहरू पनि पौडेल विजयी भएपछि संसद् भवनको ल्होत्से हलमा पुगेका थिए ।
साढे ५ बजे प्रमाणपत्र दिने भनिए पनि कांग्रेस सभापति देउवा बेलैमा नआउँदा केही ढिला भएको थियो । देउवा ६ बजे मात्रै ल्होत्से हलमा प्रवेश गरेका थिए । उनले मञ्चमा पौडेललाई बधाई दिएर अंकमाल गरे । छेउमा रहेका प्रधानमन्त्री दाहाल र पौडेल पत्नीसँग पनि उनले अंकमाल गरे । देउवा आएपछि मात्रै निर्वाचन अधिकृतको कार्यालयले पौडेल विजयी भएको घोषणा गरेको थियो । ल्होत्से हलमा पौडेललाई बधाई दिने क्रम साढे ६ बजेसम्म चलेको थियो ।
प्रमाणपत्र बुझेपछि नेता, कार्यकर्ता र शुभचिन्तकको बधाई लिएर पौडेल साढे ६ बजे बानेश्वरबाट हिँडेका थिए । मतदान सकिएलगत्तै उनलाई सुरक्षा दिनका लागि नेपाली सेनाका अधिकारी सवारीसहित संसद् भवन पुगेका थिए । पौडेल यसअघि प्रयोग गरिरहेको सरकारी गाडी चढेर बाहिरिए । त्यतिबेला सुरक्षाकर्मीले साइरन बजाएर बाटो खाली गराएका थिए । साइरन नबजाउन पौडेलले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । बिनासाइरन नै उनी चढेको गाडी प्रधानमन्त्री निवास बालुवाटार र कांग्रेस सभापति निवास धुम्बाराही पुगेको थियो ।
बालुवाटारमा पौडेलले राष्ट्रपतिमा निर्वाचित गराउन भूमिका खेलेका प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै संविधान र लोकतन्त्र रक्षाका लागि काम गर्न बताएको स्रोतले जनाएको छ । ‘राष्ट्रपति र पहिलेका राजा फरक विषय हो । जनताको राष्ट्रपति कस्तो हुन्छ भन्ने गरी काम गर्नेछु,’ पौडेलको भनाइ थियो, ‘राष्ट्रपतिलाई राजाजस्तो हुन म दिन्नँ ।’ दाहालले नवनिर्वाचित राष्ट्रपति पौडेलसँग काम गर्ने शैली मिल्ने उल्लेख गर्दै मुलुकको संरक्षकको भूमिका निभाउन शुभकामना दिएका थिए । ‘मैले चुनावी सभामा प्रधानमन्त्री बनाउँछु भनेको थिएँ, अहिले राष्ट्रपति पो बनाइयो,’ दाहालले ठट्टा गर्दै भनेका थिए ।
दाहालले सरकार र राष्ट्रपतिबीच आपसी विश्वासका आधारमा काम गरे मुलुकको हित हुने भएको बताएका थिए । ‘मुलुकको हित नै सर्वोपरि दायित्व हो,’ उनको भनाइ थियो ।
पौडेल राष्ट्रपतिमा विजयी भएपछि प्रतिस्पर्धी नेम्वाङले निर्वाचनको परिणामलाई आफूले हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । ‘संविधान कार्यान्वयन गर्ने क्रममा आज तेस्रो राष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा अत्यन्त खुसी छु । जनताको सन्तान तेस्रो पटक राष्ट्रपति भएको छ ।
यो ठूलो उपलब्धि हो,’ उनले कान्तिपुरसित भने, ‘निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । निर्वाचित हुनुभएका नवराष्ट्रपति पौडेललाई हार्दिक बधाई र शुभकामना छ ।’ नयाँ राष्ट्रपतिले जनतालाई सहज महसुस हुने गरी काम गर्नुपर्ने उनले बताए । ‘राष्ट्रपति भेट्दा जनताले आफ्नो परिवारको सदस्यसरह महसुस गर्ने काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ नेम्वाङले भने, ‘उहाँको कार्यकालको सफलताका लागि शुभकामना दिन चाहन्छु ।’