शनिबार ११ चैत्र २०७९


प्रकाशित मिति । २५ फाल्गुन २०७९ ।

पार्सल लिन आएका ३ जना पक्राउ

काठमाडौँ — अमेरिकाबाट पठाइएको छुट्टाछुट्टै पार्सल (हुलाकमार्फत पठाइएका सामान)मा करिब ७ किलो लागूऔषध गाँजा फेला परेको छ । लागूऔषध नियन्त्रण ब्युरोले हवाइमार्ग हुँदै विदेशी मुलुकबाट त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलहरुको निगरानी तथा जाँच गर्ने क्रममा अमेरिकाबाट दुबई हुँदै नेपाल आएको पार्सलहरुबाट गाँजा फेला पारेको हो ।

प्रहरीले पार्सल लिन आएका ३ जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । प्रहरीले ६६ दशमलव ९ किलो गाँजा बरामद गरेको उनले बताए ।

ब्युरोले फागुन २१ (आइतबार)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा अमेरिका क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै ‘चक्लेट एण्ड चाइल्ड गेम आइटम’ उल्लेख गरिएको पार्सल शंकास्पद देखिएकाले जाँचका क्रममा गाँजा भेटिएको जनाएको छ । ‘चक्लेट’को बट्टाभित्र ४ दशमलब ५ किलो गाँजा बरामद भएको र उक्त पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोक भाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको एसपी जोशीले बताए ।

उनीहरूबाट एक थान भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ पनि बरामद गरेको छ । उनीहरू बस्ने ठमेलको होटल कोठाबाट प्रहरीले अशोक भाइको राहदानी र एक लाख ४० हजार भारूसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सोही दिन क्यालिफोर्नियाबाटै अर्को पार्सल पनि आएको थियो । ‘होम डेकोर वाटर एन्डचाइल्ड गेम आइटम’ उल्लेख गरिएको पार्सल जाँच गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ । पार्सलबाट भने २ दशमलव ४ किलो गाँजा बरामद भएको हो ।

पार्सल लिन आएका गोरखागण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याललाई काठमाडौं नागार्जुन–१ खरीबोटबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई पनि पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु पार्सल रिसिभका लागि आएका थिए । पार्सल उनीहरुले रिसिभ गरेपछि अर्कै व्यक्तिलाई बुझाउने तयारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी जोशीले बताए ।

गाँजा भारतमा लैजान लागेको समेत खुलेको छ । तर, नेपालमै प्रशस्त पाइने गाँजा अमेरिकाबाटै किन ल्याइयो भन्ने विषयमा भने ब्युरोले अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरु विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको ब्युरोले जनाएको छ ।

विश्व खाद्यको चामलको गुणस्तरमा सम्झौता नहोस्

काठमाडौँ — कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन विश्व खाद्य कार्यक्रमले ल्याएको ५४ हजार किलोग्राम चामल गुणस्तरहीन फेला पर्नु विडम्बनापूर्ण छ ।

दुर्गम भूगोलका विपन्न बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने एउटा उपायस्वरूप राष्ट्रसंघीय संस्थाले प्रदान गरेको चामल नै अखाद्य पर्नु सबैलाई खिन्न तुल्याउने विषय हो । विश्व खाद्यको मुख्यालय इटलीबाट भारतीय बन्दरगाह हुँदै नेपाल ल्याइएको चामल आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा भिजेर टुक्रिएको, गन्ध आएको र खान अयोग्य भएको पाइएपछि नेपालगन्जस्थित सीमानाकामै रोकिएको छ । लक्षित वर्ग र सहयोग प्राप्त गर्ने मुलुक नेपाललाई दुःखी तुल्याउने यस घटनाबाट विश्व खाद्यले पनि ग्लानि महसुस गर्नुपर्छ, र आफ्नो प्रणालीमा रहेको गल्ती सच्याउन जोड दिनुपर्छ ।

यसअघि २०६६ जेठ, असार र साउनमा पनि विश्व खाद्यले जाजरकोटसहितका पहाडी जिल्लामा कुहिएको चामल वितरण गरेको भन्दै त्यति बेला एक दर्जनभन्दा बढी अधिकारवादी संघसंस्थाले सरकारसँग छानबिनको माग गरेका थिए । डेढ दशकभित्रै फेरि ठूलो परिमाणमा यसरी गुणस्तरहीन चामल भित्र्याउन लागेको पाइनु चिन्ताको विषय हो । यसले उक्त संस्थाका काम–कारबाहीमै प्रश्न उठाएको छ ।

विश्व खाद्यको मनसुबा नै अखाद्य चामल भिडाउने त पक्कै नहोला, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप चल्ने संस्थाले यसो गर्छ भनेर विश्वास गर्न पनि सकिन्न । परन्तु कैफियत देखिएकै कारण भन्सारमा चामल रोकिएपछि स्वाभाविक रूपमा उसले जस्तो कदम चाल्नुपर्थ्यो, त्यसो गरेको भने पाइएन ।

परीक्षणमा अखाद्य पाइएपछि त्यसलाई बरु पुनर्पुष्टि गराउने, गल्तीप्रति क्षमा माग्ने, यसबारे अनुसन्धान गरेर कसैलाई दोषी पाइएमा कारबाही गर्ने/गराउनेमा विश्वस्त तुल्याउने, उक्त चामल नष्ट गरी नयाँ गुणस्तीय खाद्यान्न अविलम्ब ल्याउन पहल गर्ने र यस्ता घटना पुनः दोहोरिन नदिन प्रतिबद्धता जनाउने कार्यमा विश्व खाद्य अग्रसर हुनुपर्थ्यो । तर त्यसो नगरी सोही चामललाई छाडिदिन दबाब दिएबाट सन्देह पैदा भएको छ ।

विश्व खाद्यका अधिकारीहरूले बिनारोकटोक चामल ल्याउन पाउनुपर्ने अडान लिनु र नेपाली पक्षले गरेको गुणस्तर परीक्षणप्रति समेत असन्तुष्टि जनाउनु अस्वाभाविक छ । यस्तो अनुचित अडानले संयुक्त राष्ट्रसंघीय संस्थालाई शोभा दिँदैन । सांगठनिक रूपमै उसले यस्तो गैरजिम्मेवार अडान राखेको नहुन सक्छ, त्यसैले विश्व खाद्यले चामल बिग्रनुको कारणबारे मात्र होइन, गुणस्तर प्रमाणीकरण कार्यालयले कैफियत देखाइसकेपछि गरिएको गलत जिद्दीबारे पनि अनुसन्धान गर्नुपर्छ । र, आगामी दिनहरूमा आफ्ना अधिकारीहरूलाई थप जिम्मेवार बनाउन पहल गर्नुपर्छ ।

अझ डरलाग्दो त, भन्सारले रोकेको चामल छाड्नुपर्ने विश्व खाद्यको अडानबाट त यसअघि पनि कतै खान योग्य नभएको चामल बाँडिएको त थिएन भन्ने आशंका उब्जिएको छ । विश्व खाद्यले अनलाइन भन्सार स्वघोषणा गरेर परीक्षणबिनै भन्सार जाँचपास गराउँदा विगतमा पनि गुणस्तरहीन चामल विद्यालयसम्म पुगेको हुन सक्ने देखिएको छ ।

शंका लागेर परीक्षण नगरिएको भए यस पालि पनि यो चामल विद्यालयसम्मै पुग्ने निश्चित थियो, त्यसैले विश्व खाद्य यसप्रति गम्भीर हुन जरुरी छ । गन्ध आएको चामल खाँदा बालबालिका रोगको सिकार हुन सक्ने जोखिम त छँदै छ, स्वयं विश्व खाद्यको भूमिका र विश्वसनीयतामा पनि गम्भीर प्रश्न उठ्न सक्ने तथ्यप्रति उसका जिम्मेवार अधिकारीहरूले आँखा चिम्लिन मिल्दैन ।

निश्चय पनि लामो दूरीबाट खाद्यान्न ल्याउँदा त्यसको गुणवत्ता कायम गर्न मुस्किल हुन सक्छ, ढुवानीका क्रममा कहीँ भिज्न गएको हुन पनि सक्छ । यो भूल विश्व खाद्यको नभएर ढुवानीमा संलग्न अरू पक्षहरूको पनि हुन सक्छ । यी सबै विषयहरू आफैंमा मननीय भए पनि सत्य के हो भने, चामल गुणस्तरहीन पाइएपछि त्यसलाई वितरण गर्न पाइँदैन, हुँदैन ।

बरु यसबाट पाठ लिएर आगामी दिनमा कसरी यस्ता समस्या उत्पन्न नहुने गरी लक्षित वर्गमा खाद्यान्न पुर्‍याउने भन्ने विषयमा मन्थन गर्न जरुरी छ । उक्त चामल नेपालकै बढी धान फल्ने जिल्ला वा छिमेकी मुलुकबाटै खरिद गर्दा जोखिम कम हुन्छ कि ?

अथवा बालबालिकालाई चामलको साटो अरू स्थानीय पोषिलो खाजा नै वितरण गर्न पो सकिन्छ कि ? यी प्रश्नहरूमा विश्व खाद्य घोत्लिनैपर्छ । अखाद्य वस्तुको जोखिम नेपालीहरूले बेहोर्नुपर्ने भएकाले नेपाल सरकार पनि यस विषयमा पर्याप्त मात्रामा सतर्क रहनुपर्छ ।

आफैं सदस्य रहेको राष्ट्रसंघसितको सुसम्बन्ध आफ्नो ठाउँमा छ, निःसन्देह त्यसलाई मजबुत तुल्याउँदै जानुपर्छ, तर आफ्ना नागरिकलाई मार पर्ने विषयमा भने उसका गल्ती ढाकछोप गर्ने विगतको जस्तो भूल सरकारले फेरि दोहोर्‍याउनु हुन्न । मुख्य रूपमा भने विश्व खाद्य नै बढी जवाफदेह हुनुपर्छ, वितरण गर्ने खाद्यान्नको गुणस्तरको प्रश्न नै असोच्य हुने गरी उसले आफूलाई सुधार्नुपर्छ ।

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

काठमाडौँ — भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् । कौशिकको निधनको कारणबारे आधिकारिक विवरणहरू भने आइसकेका छैनन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

‘रूप के रानी चोरोंका राजा (१९९३)का फिल्मबाट निर्देशनमा आएका कौशिकले ‘हम आपके दिलमे रहेते है(१९९९),’तेरे नाम (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

कौशिकका पत्नी र एक छोरी रहेका छन् ।


Last Updated on: March 9th, 2023 at 8:36 am


तपाईको प्रतिक्रिया