सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि…

प्रकाशित मिति । २३ माघ २०७९ ।

रौतहट — रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुख्यो । त्यसपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए ।

त्यसले ठीक भएन । निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो ।

अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा भने पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । ‘आखिर पेटमा यति ठूलो बोतल कसरी पस्यो ?’ स्वास्थ्यकर्मीहरू कानेखुसी गर्न थाले ।

पेटभित्र ठूलै बोतल देखेपछि आन्द्रा फुटेको हुनसक्ने भन्दै नुर्सादलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले नुर्सादलाई पेट दुखेको निको नभएपछि झण्डै आधा घण्टा उपचारका लागि राखेर एक्सरे गराएका थिए । त्यस क्रममा उनको पेटमा बोतल देखेपछि बाहिर रिफर गरेको डा. अधिकारीले बताए ।

‘एक्सरे गर्दा सिंगो बोतल नै पेटभित्र देखेपछि हामी आश्चर्यमा पर्यौं,’ उनले भने, ‘स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले बाहिर रिफर गरेका हौं ।’ अवस्था गम्भीर बन्दै गएपछि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ । त्यहाँ थप एक्सरे गरेपछि डा. नारायण बेलबासेले पेटको शल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालेका थिए ।

तर डा. बेलबासेका अनुसार अझै नुर्सादको स्वास्थ्य खतरामुक्त भइसकेको छैन । ‘झण्डै २ घण्टा लगाएर शल्यक्रिया गरेर बोतल निकालें,’ उनले भने, ‘४८ घण्टासम्म निगरानीमा राखेपछि मात्र अवस्था भन्न सकिन्छ । अहिले बिरामी बोल्नसक्ने अवस्थामा छैनन् ।’ शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

साथीले पेटमा छिराएका थिए बोतल

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको खुलेको छ । चार दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित समीरको अटो ग्यारेजमा नुर्साद र उनका साथी मोहम्मद समीरसँगै बसेर मादक पदार्थ सेवन गर्न थालेका थिए ।

नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएका रहेछन् । यो कुरा समीरले थाहा पाई नुर्सादलाई यही शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खवाई बेहोस बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

त्यसपछि उनले रक्सीको हाफ बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिएका थिए । उनी होसमा आएपछि बेस्सरी पेट दुख्न थालेका थिए । औषधिले पनि ठीक नभएपछि अस्पताल ल्याएर एक्सरे गर्दा घटनाको रहस्य बाहिरिएको प्रहरीले जनाएको छ ।

घटनापछि समीर फरार रहेको इलाका प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको डीएसपी एकनारायण कोइरालाले बताए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

नारीका मुद्दालाई दिवस नकुरौं

हामीले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउँदै आएका छौं । त्यस दिन महिलाको अधिकार, स्वतन्त्रता र समानताका कुरा जोडतोडले गर्छौं । तर त्यसपछि ? हरेक दिन महिला हिंसा भइरहेकै छन् । महिलाले न राजनीतिक क्षेत्रमा समान अधिकार पाएका छन् न त सामाजिक विभेद हटेको छ ।

अझै पनि महिला आर्थिक रूपले आफ्नो खुट्टामा उभिन सक्ने भएका छैनन् । आज नारी दिवसका रूपमा संयुक्त राष्ट्र संघको आह्वानमा मनाइए पनि जुन उद्देश्य लिइएको थियो, त्यो अझै प्राप्त हुन सकेको छैन ।

नेपालको संविधान र कानुनमा महिला अधिकारका धेरै कुरा छन्, तर कार्यान्वयन हुन सकिरहेको छैन । संविधानको प्रस्तावनामै लैंगिक विभेदको अन्त्य भनिएको छ, तर अहिले लैंगिक विभेद एकदमै चरम छ । घरदेखि सुरु भएको विभेद हरेक क्षेत्रमा पुगेको छ ।

पितृसत्तात्मक सोच नेपालमा मात्रै होइन, विकसित देशहरूमा पनि पाइन्छ तर नेपालमा यसको जरो धेरै गडेको छ । पितृसत्ता हरेक क्षेत्रमा छ, यो हटाउनका लागि पहिलो कुरा सोचमै परिवर्तन आउनुपर्छ । संविधानले बाध्यकारी बनायो । संविधानलाई पल्टाउने हो भने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, स्थानीय तहका अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला हुने व्यवस्था गरिएको छ ।

त्यही व्यवस्था अनुसार थोरै पालिकामा प्रमुख महिला बन्दा अधिकांशमा महिला उपाध्यक्ष र उपमेयर बनेका छन् । सभामुखमा अहिलेसम्म एकचोटि मात्र महिलाको भागमा परेको छ, नत्र सधैं उपसभामुख । राजनीतिक दलहरूका प्रमुखमा, केही अपवादबाहेक, पुरुषहरू नै छन् । महिलाहरू योग्य र सक्षम हुँदाहुँदै पनि हाम्रो सामाजिक सोचका कारण पनि अवसर पाउने सकिरहेका छैनन् ।

नेपाली महिलाले हासिल गरेको उपलब्धि भनौं, प्रतिनिधिसभा र राष्ट्रिय सभामा महिलाको उपस्थिति ३३ प्रतिशत पुगेको छ । प्रदेशसभामा ३४ प्रतिशत महिला पुगेका छन् भने स्थानीय तहमा ४१ प्रतिशत । नीति र विधि बनाउने थलोमा महिला पुग्नुलाई एउटा उपलब्धिका रूपमा लिनैपर्छ । मुलुक संघीयतामा गएपछि, ३३ प्रतिशतको बाध्यकारी व्यवस्था आइसकेपछि हरेक दलले आफ्नो विधान परिमार्जन गरेर यो पनि लागू गरेका छन् । तर पदाधिकारी तहभन्दा पनि सदस्यहरूमा यो लागू भएको देखिन्छ ।

सामाजिक अभियानको मुद्दामा हामीले केही फड्को मारेका छौं । महिलाहरू सबैभन्दा पछि परेको कारण नै आर्थिक परनिर्भरता हो । अहिले पनि आर्थिक रूपले महिला सम्पन्न छैनन् । तर अहिले छोरीलाई पढाउनुपर्छ, आफ्ना खुट्टामा उभिएर आत्मनिर्भर हुनुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ । महिलाले आफ्नो क्षमता र योग्यताका आधारमा आय–आर्जनको पाटो र आत्मनिर्भर बन्ने बाटामा जानुपर्छ भन्ने सोच बढेको छ । आर्थिक–सामाजिक जागरण र रूपान्तरण केही मात्रामा भएको छ ।

महिला सशक्तीकरण भनेको महिलामा आत्मबल र आत्मविश्वास बढाउनु हो । महिला र पुरुषमा जैविकबाहेक कुनै भिन्नता छैन । महिलाले गर्न नसक्ने कुनै काम छैन । महिलामा त्यस्तो आत्मबल बढाउन राजनीतिक दलहरूले कार्यक्रमहरू गर्नुपर्छ । सरकारले महिलाका लागि बजेट त छुट्याउँछ, तर त्यो लक्षित समूहसँग पुग्दैन । त्यसैले अबको बजेटलाई महिलाको आर्थिक–सामाजिक सशक्तीकरणतर्फ केन्द्रित गर्नुपर्छ ।

महिलाप्रति अहिलेको मानसिकतामा परिवर्तन आउनका लागि राजनीतिक दलहरूका पदाधिकारी तहमा महिला नै आउनुपर्छ । हरेक पार्टीको पदाधिकारी तहमा महिलाको उपस्थिति भयो भने चुनावमा टिकट दिने कामलाई जनतासँग जोड्न सकिन्छ । अहिलेको अवस्थामा उपसभापति, सहमहामन्त्री जस्तो ठाउँमा एक महिला पुगेर मात्रै प्रभावकारी भूमिका गर्न सम्भव हुन्न ।

पछिल्लो समय अर्थतन्त्र विश्वव्यापी रूपमै सुस्ताएको छ । कोभिडको समयमा महिलाहरू आर्थिक अभाव मात्रै होइन, हिंसाका घटनाहरूमा पनि परे । कोभिडपछिको आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव महिलामा परेको छ । थुप्रै महिलाले रोजगारी गुमाएका छन् ।

त्यसैले महिलालाई आयआर्जनमा जोड्नका लागि हामीले कृषिलाई बढी प्राथमिकता दिनुपर्छ । घरेलु र साना उद्योगको विकासमा जोड दिनुपर्छ । त्यसैले सरकारले महिलाहरूका लागि प्याकेज ल्याउँदा कृषि र घरेलु उद्योगमा जोड्न सक्यो भने नेपाली महिलाको जीवनस्तर माथि उठाउन पक्कै सहयोग पुग्नेछ । साथै उद्योगधन्दा र कलकारखानामा महिलालाई रोजगारीमा प्राथमिकता दिनुपर्छ ।

अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने खालको छ । महिलालाई आत्मनिर्भर बनाउनका लागि व्यावसायिक र प्राविधिक शिक्षासँग जोड्नुपर्छ । घरमै बसीबसी पनि महिलाले आफ्नो काम गरेर आय आर्जन गर्न सक्छन् भन्नेतर्फ ध्यान दिनुपर्छ । महिलालाई उद्यमसँग जोड्नुपर्छ । महिलाले उत्पादन गरेका वस्तु बेच्न सहज हुने गरी सरकारले कार्यक्रम ल्याउनुपर्छ ।

अर्कातिर, देशभित्र रोजगारी नपाउँदा धेरै महिला आत्मनिर्भर बन्न र परिवार पाल्नका लागि अवैधानिक बाटोबाट विदेश जान बाध्य छन् । सरकारले असुरक्षित बाटोबाट विदेश जानमा कडाइ गर्नुपर्छ । देशभित्रै रोजगारी सृजनाको पहल पनि हुनुपर्छ ।

अघिल्लो निर्वाचनमा महिलाहरू थोरै प्रतिशत मात्रै मेयर र अध्यक्ष बने, धेरैजसो ‘उप’ मा थन्किए । ‘उप’ लाई न्यायिक अधिकार मात्रै हुने, कार्यकारी अधिकार नहुने । यस्तो व्यवस्थाले धेरै ठाउँमा द्वन्द्व निम्त्यायो । धेरै महिलाले अब उपमेयर र उपाध्यक्ष होइन, मेयर र अध्यक्ष चाहिन्छ भनेर आवाज पनि उठाए । अहिलेको चुनावमा गठबन्धनका कारण दुइटै पदमा पुरुष चुनिए ।

तर यति हुँदा पनि जति महिला पुगेका छन्, उनीहरूको कार्यदक्षता बढेको पाइएको छ । संघ र प्रदेश चुनावमा आफूहरूले टिकट किन नपाउने भनेर पार्टीहरूभित्र महिलाले आवाज उठाएकै हुन् । तर, कार्यान्वयन तहमा यसले अझै सार्थकता नपाएको तीतो अनुभव हामीसँग छ । महिलालाई समानुपातिकमा राखियो । समानुपातिक भनेको एक पटकका लागि हो ।

त्यसपछि प्रत्यक्षमा टिकट नदिइएपछि महिला राजनीतिबाट पलायन हुने अवस्था छ । यो परिस्थिति हरेक दलमा देखिन्छ । संविधानले महिलालाई समानुपातिक मात्र दिनू भनेको छैन । तर जनताबीच महिला लोकप्रिय हुन्नन् भन्ने सोच अहिले पनि राजनीतिक दलहरू र नेतृत्वमा व्याप्त छ । राजनीतिक दलहरूले थोरै महिलालाई प्रत्यक्षमा टिकट दिन्छन् अनि सबैले चुनावमा हारे भनेर ट्याग लगाउँछन् । यो एकदमै गलत भइरहेको छ ।

अन्त्यमा, ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस महिला सशक्तीकरणका लागि राज्यका सबै तहमा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा मनाउनुपर्छ । अन्यथा एक दिन नारी दिवस मनाउँदैमा नेपाली महिलाको स्थितिमा कुनै परिवर्तन आउनेछैन ।

संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।


Last Updated on: March 7th, 2023 at 6:15 am


३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया