शुक्रबार १० चैत्र २०७९


तीन अर्ब बढी खर्चेर यस्तो बन्दैछ लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र

प्रकाशित मिति । १९ फाल्गुन २०७९

काठमाडौ

करोडौं बजेट खर्च गरी अस्थायी संरचनामै राजधानी सारेको आरोप खेपिरहेको लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी प्रशासनिक भवन बनाउन सुरू गरेको छ।

मुख्यमन्त्री कार्यालयसहित नौ वटा मन्त्रालय रहने गरी निर्माण गरिने उक्त भवनको मुख्यमन्त्री लिला गिरीले शिलान्यास गरेका छन्। प्रदेशको स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको प्रशासनिक भवन मण्डला आकारमा निर्माण गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

दाङको राप्ती गाउँपालिका वडा नं. ३ लालमटियामा निर्माण गरिने प्रशासनिक भवनको लागत तीन अर्ब ९ करोड २९ लाख ३८ रुपैयाँ ७२ पैसा रहेको छ। खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले १७ बिघा १९ कट्ठा ४ धुर जग्गामा बन्ने प्रदेशको प्रशासनिक केन्द्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ वटा मन्त्रालयकै सुविधा सम्पन्न भवनहरू निर्माण गरिने जानकारी दिए।

६ तलामा निर्माण हुने मुख्यमन्त्री कार्यालय लिफ्टसहित अपांगमैत्री हुनेछ।

अलग-अलग निर्माण गरिने अन्य मन्त्रालयहरूका भवन पनि पाँच तलाका हुने छन्। त्यहाँ पनि अण्डरग्राउण्ड पार्किङ र लिफ्ट जडान गरिने छ। सबै भवनहरू एकैपटक निर्माण गर्ने गरि शिलान्यास गरिएको र आगामी तीन वर्षभित्र २०८२ साल पुस २८ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।

शंकर पोखरेल नेतृत्वको सरकारको पालोमा २०७७ साल असोज २० गते लुम्बिनी प्रदेश सभाको दुई तिहाइ बहुमतले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडानम्बर १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई राप्ती उपत्यका नामकरण गर्दै प्रदेशको राजधानी बनाउने घोषणा गरेको थियो।

प्रदेशको राजधानी घोषणा गरेको दुई वर्षसम्म पनि स्थायी संरचना नबनाई अस्थायी संरचनामै राजधानी सारिएपछि प्रदेश सरकार आलोचित बनेको थियो। गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन नहुँदै कुलप्रसाद केसी नेतृत्वकै सरकारले गत मंसिर २८ गते प्रशासनिक केन्द्र निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो।

खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईमार्फत् कार्यान्वयन हुने प्रशासनिक केन्द्र निर्माणका लागि शर्मा/सगुन जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ।

प्रशासनिक केन्द्रको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले निर्धारित समयमै निर्माण कार्य पूरा गर्न निर्माण कम्पनीलाई आग्रह गरे। उनले प्रदेश सरकारले राजधानीको गुरूयोजना अनुसार प्रशासनिक केन्द्रको निर्माण सुरू गरेको उल्लेख गर्दै अन्य पूर्वाधारहरू आगामी दिनमा बनाउँदै जाने बताए।

मुख्यमन्त्री गिरीले साढे दुई वर्ष पहिले प्रदेशको स्थायी राजधानी तोकिएको भए पनि राजधानी व्यवस्थापनको चरण प्रारम्भ भएको र यो कार्यलाई समयमै सम्पन्न गर्ने बताए। राजधानीको निर्णय कार्यान्वयनका क्रममा सरकारले थुप्रै समस्या व्यहोरेको बताउँदै मुख्यमन्त्री गिरीले शून्यबाट प्रारम्भ भएको राजधानी व्यवस्थापनको कामले ३ वर्षमा पूर्णता पाउने दाबी गरे।

आफ्नो कार्यकालमा संघीयता कार्यान्वयन र राजधानी व्यवस्थापन मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले राजधानी व्यवस्थापनको क्रममा भोगेका चुनौतीलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने बताए।

खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले प्रशासनिक केन्द्र निर्माणका लागि बजेटको कुनै अभाव नहुने बताए। ‘प्रशासनिक केन्द्रलाई समयमै सम्पन्न गर्न सरकारले बजेटको कुनै अभाव हुन दिने छैन, लुम्बिनीको राजधानीको संरचना मुलुककै नमूनाको रूपमा सम्पन्न हुनेछ,’ मन्त्री आचार्यले भने।

आँसुको कोसेली

पैंतीस वर्षपछि यो माघमा मैले आफ्नो जन्मगाउँ चुङ्खुरुङको यात्रा गरें । उनै खोलानाला, उनै धारापँधेरा, उही रनवन र चरन–खर्क । संखुवासभाको सुदूर गाउँ पुग्ने बहानामा मैले प्रदेश १ का सातवटा जिल्लामा पाइला राखें ।

तमोर नदीको गडतीरमा सुस्ताउँदै, अरुण उपत्यका र सभा खोलाका गल्छेडाहरू छिचोल्दा मलाई लाग्यो, माटाले आफ्नो प्रियजनलाई कहिल्यै बिर्संदैन । त्यही मेसोमा मैले पूर्वी पहाडका उराठ र उदास कथा मात्र सुनिनँ, मान्छेका मनमा जमेर बसेका प्रश्न, अन्योल र उथलपुथलहरू पनि अनुभव गरें । त्यहाँ थिए— बसाइँ सर्नेका सम्झना ।

अरबबाट बाकसमा फर्किने प्रिय सन्तानका कथा । घरको पिँडीमा एक्लै धुनमुन गर्ने वृद्ध आमाका उदासी । जीवन संघर्ष, भोक र भुक्तमानका संगिनी, श्लोक र सोरठीहरू ।

‘कता बस्छौ नानी ?’ गाउँमा मलाई हिँड्न सिकाउने पुरानो पुस्ताका बाआमाहरूले सोध्ने पहिलो प्रश्न यही हुन्थ्यो । ‘काठमाडौं’ भन्नासाथ राजनीति जोडिन्थ्यो । आँगनमा बसेर जब कुराको पोयो खोलिन्थ्यो, मान्छेहरू जम्मा हुन्थे र सरकारको हालखबर सोध्न थाल्थे ।

कुराकानीकै प्रसंगमा एक ठाउँमा भत्किँदै गरेको ढोकाबाट टाउको निकालेर वृद्ध आमाले सोधिन्, ‘बाबु, के तिमीले प्रधानमन्त्रीलाई देखेका छौ ? कस्तो छ सिंहदरबार ? पशुपतिका त चारवटै ढोकाहरू चाँदीका छन् रे, हो ?’ प्रसंगवश थाहा भयो, ती आमालाई अझै पनि केपी ओली नै प्रधानमन्त्री छन् भन्ने लागेको रहेछ । गाउँ र सहरबीच कत्रो दूरी ? राजधानीमा सत्ताको रडाको; गाउँमा भोक, रोग र उदासी । त्यही परित्यक्त र उदास गाउँको कथा हो आजको आलेख ।

चैनपुर संखुवासभाको पुरानो बजार । तर मधुरो छ । खाँदबारी, तुम्लिङटार र वाना भने पहिलेभन्दा गुलजार र चम्किला भएका छन् । यसै मेसोमा चैनपुरका पुराना हेडसर, दाइ गोपाल गौतमलाई मैले सोधें, ‘पहाडको परिवर्तनलाई कसरी हेर्दै हुनुहुन्छ ?’ उनले भने, ‘झट्ट हेर्दा सडक, बिजुली र पानीको सुविधा बढ्दो छ । खाजामा चाउचाउ र पिउन कोकाकोला पाइन्छ । घरघरमा टिनको छानो चम्कन्छ ।

तर गहिरिएर हेर्दा, पहाड अँध्यारोतिर जाँदै छ । युवाहरू गाउँमा छैनन् । नयाँ सीप भित्रिँदैन । पढेलेखेका सहर पस्छन्, श्रम गर्ने विदेश । बिजुलीको उज्यालो हेरेर के गर्नु, ज्ञानको उज्यालो खोजी मर्दा भेटिँदैन ! न गतिला स्कुल छन्, न त कलेज र पुस्तकालय । काठमाडौंमा छापिने ठूला पत्रिका पहाड चढ्न हप्तौं लाग्छ । मान्छेहरू सस्ता युट्युबे हल्ला र सामाजिक सञ्जालका कथाहरूबाट दुनियाँ चियाउँछन् । त्यसले देखाउने उडन्ते संसार कस्तो होला ?’

नभन्दै मैले देखें, खेतबारी बाँझिँदै छन् । खर्क चरनमा गाईबस्तु घट्दै छन् । न गोठाला पाइन्छन्, न त दूध र घिउको व्यापार छ । जिल्लामा कुनै गतिलो अस्पताल छैन, गाउँमा एक जना पनि डाक्टर भेटिँदैन । उपचारका लागि धरान, विराटनगर र काठमाडौं धाउँदा लाखौं सकिन्छ । गाउँमा न इन्जिनियर भेटिन्छन्, न वकिल, न त नर्स । एक भाइले सुनाए, ‘पछिल्ला पाँच वर्षमा हाम्रो गाउँबाट एक जना पनि निजामती सेवामा भर्ती भएन ।

लगभग ७० प्रतिशत केटाहरू या त विदेश जाने तरखरमा छन् अथवा सहर पस्ने सुरमा ।’ ‘खेती किन नगरेको ?’ वानामा भेटिएका एक युवालाई मैले सोधें । उनले भने, ‘बीउ, मल र प्रविधि छैन । सिँचाइको अभाव छ । मात्र बाँच्न माटो कोरेर कसरी भविष्य बन्छ ?’ त्यसो त गाउँमा गोरुहरू विस्थापित छन् ।

हाते ट्याक्टर पुगेको छ । तर उत्पादन छैन । प्रख्यात चैनपुरे करुवा अहिले चैनपुरमा बन्दैन । न खाँदबारीमा लेकबाट राडीपाखी आउँछन्, न त कुराउनी आउँछ । अम्लिसो र सक्खरको दाम छैन । अलैंचीको बोट सुकेको छ, मूल्य घटेको छ । रुद्राक्षले गाउँलाई धान्दैन ।

अल्लोको कुरै मात्र । चुङखुरुङमा गफिँदै बस्दा गाउँलेहरूले प्रश्न गरे, ‘गुन्द्रुक र सिन्की बेचेर मात्र कसरी जीवन चल्छ ?’ मलाई लाग्यो— गाउँ र सहरबीचको दूरी किलोमिटरले नापेर मात्र थाहा हुँदैन, यसलाई दुःखको तराजुले पनि नाप्नुपर्छ ।

खाँदबारी पुगेका बेला वरुण क्याम्पसका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने अवसर मिल्यो । कार्यक्रमको संयोजक थिए— कवि ताराबहादुर बुढाथोकी । विद्यार्थीसँग कुरा गर्न मैले रोजेको विषय थियो— ‘मान्छेका सपना’ । सपनाको सामर्थ्यबारे कुरा गरिरहँदा मैले जिल्लाकै सफल केही अगुवाका नाम लिएँ । डा. अर्जुन कार्की, दिनेश थपलिया, प्रेम राई, शारदाप्रसाद त्रिताल ।

विद्यार्थीहरूले उल्टो सोधे— केही मान्छे विशेष बन्नु र सबैका सपना पूरा हुनुमा फरक छैन ? अवश्य नै छ । उनीहरूको प्रतिप्रश्न थियो— के हाम्रो सरकारलाई गाउँका अधकल्चा सपनाहरूबारे थाहा होला ? सरकार धुरीमा बस्छ । जनता धूलोमा छन् । सायद, धुरीबाट धूलोमा हेर्दा मान्छेका सपनाहरू अमूर्त चित्रजस्ता देखिन्छन् । मलाई लाग्छ, त्यसलाई बुझ्ने सामर्थ्य आजको राजनीतिसँग छैन । समाजवादको राजमार्गमा दौडिँदै गरेको हाम्रो सत्तालाई भुइँमान्छेका सपनाहरू सुन्ने के फुर्सद ?

गाउँका कुरा सुनिबस्दा लाग्छ, हाम्रो देश साना (?) मान्छेहरूको देश हो । खुसीहरू पनि सानै छन् । जनता गाउँमा बिजुली बल्दा रातभर हर्षबढाइँ गर्छन् । हिलो छ्याप्दै पहिलो पटक गाउँमा मोटर आइपुग्दा गुरुजी र मोटर दुवैलाई फूलमाला लगाइन्छ । गाउँमा डाइजिन, सिटामोल र टिन्चर आयोडिन बोक्नेलाई डाक्टर भनिन्छ ।

आफ्नो शिशुलाई पखाला चल्दा स्वास्थ्यचौकीमा जीवनजल पाइयोस्, बस, त्योभन्दा ठूलो खुसी आमाहरूलाई चाहिएकै छैन । वडा कार्यालयमा सजिलै वडाध्यक्ष भेटियोस् । पासपोर्ट लिन हप्तौं लाइन बस्न नपरोस् । चिनी, साबुन र मसला सस्तै पाइयून् । चाडबाड मनाउन चामलको खाँचो नहोस् । लघुवित्तले नठगोस् । भनेजति पढ्न पाइयोस् । खोज्दा काम मिलोस् र छोराछारीहरू मरुभूमिबाट बाकसमा नफर्किऊन् ।

मान्छेका यति साना खुसीहरू पनि किन पूरा हुँदैनन् ? मेरो जन्मगाउँले सोधेको एउटा निम्छरो प्रश्न हो यो । यो प्रश्नमा म अर्को प्रश्न थप्छु— किन हाम्रो राजनीति गाउँका साधारण प्रश्नहरूभन्दा कोसौं टाढा छ ? यस्तो लाग्छ, आन्दोलनले स्थापना गरेका शीतलनिवास र सिंहदरबारमा राजनीतिको दलाली हुर्किंदै छ ।

चुनावका वाचाहरू एकातिर छन्, सत्ताको बाटो अन्तै जान्छ । के यस्तै असंगतिहरूलाई राजनीति भनिन्छ ? अन्यथा परिणाम किन छैन । सतहमा हेर्दा सबै कुरा ठीकठाक देखिन्छन् । संसद् छ । सरकार छ । लोकतन्त्र छ । समाजवाद छ । तर भित्र सबै गडबड । संरचना पुरानै छ ।

शासकीय संस्कृति पुरानै छ । उत्पादन सम्बन्ध पुरानै छ । वर्चस्व पुरानै छ । बिचौलियाहरूको रजगज पुरानै छ । व्यवस्था फेरिएर के भयो ? स्वार्थकेन्द्र पुरानै छ । सरकार फेरिएर के भयो ? चरित्र उस्तै छ । जानुपर्ने स्वर्गतिर, यात्रा छ नर्कको । पहाडी गाउँहरू सोध्छन्, हामीलाई नर्कमा छोडेर स्वर्गको रसरंगमा झुमिरहँदा नेताहरूलाई थोरै पनि आत्मग्लानि नहोला ? मुद्दा र गन्तव्यको यस्तो चरम विरोधाभासलाई बोकेर कसरी लक्ष्य भेटिन्छ ?

राजनीतिका दरबारहरूले सधैंसधैं सम्झिनुपर्ने सत्य के हो भने, हाम्रो देशमा अझै पनि मान्छेहरू भोकले मर्छन् । सत्य यस्तो छ कि आज पनि महिला र दलितहरूमाथि विभेद छ । सहरका छिँडी, गाउँका अनकन्टार कुनाहरूमा आज पनि मान्छेहरू अलपत्र छन् ।

बैंकको ब्याज, साहुको फन्दा र मालिकको दुर्व्यवहारको के हिसाब ? आज पनि हामी दाल, भात र तरकारी विदेशबाट किन्छौं र आफ्ना किसानहरूलाई उपहारमा आँसु दिन्छौं । आज पनि स्कुल जाने बच्चाहरू भैंसी र सुँगुर धपाउन बाध्य छन् । युवाहरूका लास विदेशबाट बाकसमा आउने अभागी मान्छेको देश हो यो ।

ओडार, कान्ला र परित्यक्त भूगोलमा बस्ने भोक, रोग र विभेदले थिलथिलो भएका चेपाङ, मुसहर र चमारहरूको देश हो यो । अपमानको थप्पड खाँदै, दिनदिनै मर्दै बाँचेका उखु किसान, लघुवित्त पीडित र दुःखी हलीगोठालाको देश हो यो । उनीहरूका लागि संविधानमा लेखिएको समाजवाद त्यो बेलासम्म जाली कुरा हो, जुन बेलासम्म नागरिक र नेताबीचको सीमारेखा मेटिँदैन ।

त्यो सीमारेखा मेट्ने कसरी ? यसका लागि संरचनाहरू बदल्नुपर्ला । प्रणालीहरू फेर्नुपर्ला । राज्यको चरित्र बदल्ने काम बाँकी नै छ, सडेगलेको संरचना भत्काउने काम अधुरै छ । त्यो काम कहिले हुन्छ ? पहाडको प्रश्न छ, पाखापखेरामा परिवर्तनको उज्यालो कहिले झुल्किन्छ सरकार ? भनिदिनुहोस् नेताज्यू, के दलालहरूले गाउने समाजवादको गीत तपाईंलाई कर्णप्रिय लाग्छ ?

सरकारी मान्छेहरू भन्छन्— देशमा पैसा छैन । थाहा छ, गर्नुपर्ने कामहरू धेरै छन् र स्रोतसाधनको कमी छ । अवश्य नै, त्यसैले त हामीलाई राजनीति चाहिएको हो । पार्टीहरू चाहिएका हुन् । नेता र नेतृत्व चाहिएका हुन् । सचिव, महानिर्देशक र निर्देशक चाहिएका हुन् । जसले चुनौतीहरूको सामना गरून् ।

जसले सबै कुरा ठीकठाक गरून् । सरकार पैसा छैन भन्छ, खर्च घटाउने जाँगर देखाउँदैन । सार्वजनिक खर्च पुनरवलोकन आयोग भन्छ— हाम्रा छवटा मन्त्रालय, तीन दर्जन आसपास महाशाखा, दर्जनौं विकास समिति र अनेक आयोगलाई खारेज गर्न वा मिलाउन सकिन्छ । त्यसो गर्दा अहिले नै हजारौं कर्मचारीहरूको खर्चबोझ कम हुन्छ । सरकारले एक वर्ष नयाँ गाडी खरिद नगर्ने हो भने करोडौं जोगिन्छ ।

खर्च घटाउन आर्थिक अनुशासन चाहिन्छ । जस्तो, विदेश भ्रमण नगरौं । सरकारी भोजभतेर नगरौं । चियापान र अतिथि सत्कार बन्द गरौं । बिदामा सरकारी साधनको दुरुपयोग रोकौं । मन्त्रिपरिषद्, संसद्, आयोग, समिति, सरकारी कार्यालयको भत्ता कटाऔं । र, यस्तो बचत मुख्यतः गाउँमा खर्च गरौं ।

निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी सृजना र कृषिमा लगाऔं । हिँड्नुपर्ने बाटो यो हो । अन्यथा उल्टो हिँडेर गन्तव्यमा कसरी पुगिन्छ ? कृपया, अब सही बाटो समातौं । अन्यथा इतिहासका गल्तीहरू पानीका फोका होइनन्, जो सजिलै उठ्छन् र बिलाउँछन् । ती ढुंगामा कुँदिएका अक्षरहरू हुन, जसको हिसाबकिताब आज नहोला, एक दिन अवश्य हुनेछ ।

अन्त्यमा एउटा सानो प्रसंग जोड्छु, बीपी कोइरालाका पिता कृष्णप्रसादको । उनले कुनै समय राणाहरूलाई रैतीको अवस्था देखाउन तराईतिर भेटिएका भरियाहरूले लगाउने च्यातिएका मैलाधैला कमेज, सुरुवाल र टोपी जम्मा गरेर श्री ३ का दरबारमा उपहार पठाएका थिए रे । त्यो स्वभावतः एउटा विद्रोह थियो ।

परिणामतः कोइराला सपरिवार देशबाट निकालिए । र, तिनै मैला मान्छेको न्यायका लागि लड्ने संकल्प गर्दै कांग्रेस र कम्युनिस्टहरू राजनीतिमा उदाए । त्यसयता झन्डै ८० वर्ष बिते, तर दुर्भाग्य, आज पनि गाउँमा मैला लुगा, भोको पेट र परित्यक्त जीवनबाट मान्छेले मुक्ति पाएको छैन । मान्छेलाई रैतीबाट नागरिक बनाउने कहिले ? सभा गडतीरमा भेटिएकी एक वृद्ध

आमाले दुःखको पोको फुकाउँदै मलाई भनिन्, ‘बाबु, यता गाउँमा मान्छेहरू रुँदै छन्; उता दरबारमा तिमीहरू कसरी हाँस्न सक्छौ भनेर नेतालाई सोधिदिनू है ।’ ती वृद्ध आमाको यही प्रश्न नै मैले मेरा गाउँबाट सहर ल्याएको पछिल्लो उपहार हो । नेताज्यू, कृपया भनिदिनुहोला, यो उपहार तपाईंलाई कस्तो लाग्यो ? आँसुको स्वाद गुलियो हुँदैन, त्यसैले आँसु पिउन सकिँदैन । नेताज्यू, कृपया आँसुलाई अनुभूति गर्नुहोला । अन्यथा, मान्छेको आँसुलाई नबुझ्ने तपाईंको राजनीति मात्र सत्ताको दलाली हो ।

धेरैको उपाधि जित्ने दाबी

काठमाडौँ — गत सिजन तीन खेल बाँकी छँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको मछिन्द्र क्लब केपी ओली कप जितेको भोलिपल्ट बिहीबार आयोजित लिगको पत्रकार सम्मेलनमा सहभागी भएन ।

प्रशिक्षक र कप्तानले पत्रकारसँग गर्नुपर्ने सवाल–जवाफबाट लगातार दुईपल्टको लिग च्याम्पियन मछिन्द्र टाढियो । हिमालयन शेर्पा क्लबका प्रशिक्षक र कप्तान पनि अनुपस्थित रहे । केही क्लबले झारो टार्ने हिसाबले सीईओ, सहायक व्यवस्थापक र सहायक प्रशिक्षकलाई उभ्याए, बोल्न लगााए ।

दुईपल्ट मिति तोकेर स्थगित गर्दै बल्ल सञ्चालनको संघारमा आइपुगेको ‘ए’ डिभिजन लिग शुक्रबार सुरु हुँदै छ, जहाँ काठमाडौं र ललितपुरका १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । गत सिजनजस्तै ४५ औं संस्करणमा पनि शीर्षस्थानमा रहने एक टिम च्याम्पियन बन्नेछ भने पुछारका दुई क्लब घटुवा भएर बी डिभिजनमा झर्नेछ ।

लिगमा २०६६–६७ यता सहभागी क्लबले एकअर्काविरुद्ध २–२ खेल खेल्दैछन्, यस्तो ‘डबल लिग’ नै यसपालिको विशेषता हो । दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको ‘आर्टिफिसियल टर्फ’ सँगै नवनिर्मित च्यासल रंगशाला पनि प्रयोगमा ल्याइँदैछ, जुन लिगमा नयाँ खेलस्थल हुनेछ । क्लबहरूलाई एक साताभित्र तीन खेल खेल्नुपर्ने परम्परागत समस्या यथावत् नै छ । राष्ट्रिय टिम, उमेर समूह र घरेलु प्रतियोगितामा चलेका फुटबलरहरूको अस्ट्रेलिया पलायनले उपाधि होडका केही टिमको संरचनामा पारेको असर मैदानमै देखिन सक्छ । नयाँ खेलाडी वा प्रतिभा उदाउने सम्भावना पनि उत्तिकै छ ।

‘खेलाडी स्थानान्तरण बजार’ र विदेशी खेलाडी अनुबन्धको प्रयासमा भएको चलखेलअनुसार मछिन्द्र ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्दै रानीपोखरी कर्नर टिम (आरसीटी), मनाङ मर्स्याङ्दी र पुलिस क्लबको कीर्तिमान बराबरी गर्ने योजनामा छ । घरेलु फुटबलका परम्परागत शक्ति मनाङ, थ्रीस्टार र आर्मीको फेरि झन्डै चार महिनासम्म परीक्षण हुनेछ । सुनील बल, मनीष डाँगीलाई भित्र्याएर बलियो बनेको संकटाको लक्ष्य पनि ट्रफी चुम्ने नै हो । गत सिजनमात्रै बी डिभिजनबाट उक्लिएका चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटारमा रूपान्तरण भएको खुमलटार युवा क्लब मनाङजस्तै शीर्ष लिगको ‘डेब्यु’ मै च्याम्पियन बन्न चाहन्छ ।

एन्फा कम्प्लेक्स भएको पत्रकार सम्मेलनमा प्रशिक्षक, सहायक प्रशिक्षक, कप्तान, व्यवस्थापक, सहायक व्यवस्थापक र सीईओको बोली सुन्दा लाग्छ कि लिगका सबै टिम च्याम्पियन बन्न योग्य छन् । त्यसका लागि उत्तिकै राम्रो तयारी गरेका छन्, मनग्गे लगानी गरेका छन् । कोही पनि आफ्नो क्लबको स्तर ठीकठाक छ भन्न तयार छैनन्, आफ्ना टिमलाई बलियै मान्छन्, खासमै उपाधि दाबेदार मान्छन् ।

गत वर्ष नाटकीय रूपमा अन्तिम ४ खेलबाट ६ अंक जोडेर रेलिगेसन टारेको फ्रेन्ड्स क्लबले शीर्ष ६ मा लिग टुंग्याउने लक्ष्य बनाएको नयाँ प्रशिक्षक उर्जन श्रेष्ठले बताए । फ्रेन्ड्स रेलिगेसन क्षेत्रभन्दा ३ अंक माथि थियो । २०६३ सालदेखि लगातार तीनपल्ट च्याम्पियन पुलिस ४ अंक अन्तरमा रहँदै ए डिभिजनमा कायम रह्यो । त्यसैले हुनसक्छ, पहिलोपल्ट पुरुषको लिगमा टिम सम्हाल्ने अवसर पाएका प्रशिक्षक चेतन घिमिरेले युवा खेलाडीले भरिएको टिमलाई यसपालि पनि ‘गाह्रै’ भएको बताए ।

सशस्त्र प्रहरीको एपीएफ क्लब गत सिजन विदेशी खेलाडीको बलबुतामा ए डिभिजनमा अडिएको थियो । कुमार थापाले छाडेपछि टिम सम्हालेका प्रशिक्षक रत्नकाजी महर्जन र कप्तान टोपबहादुर विष्टले पनि च्याम्पियन हुने तयारी गरेको बताए । डेब्यु सिजन उत्कृष्ट प्रदर्शनसहित चौथो भएको सातदोबाटो युवा क्लबले कम्तीमा त्यही नतिजा कायम राख्दै माथि उक्लने लक्ष्य बनाएको प्रशिक्षक सनोज श्रेष्ठ र कप्तान सुदीप गुरुङको भनाइ छ ।

केपी ओली कपको फाइनल खेलेकाले पनि सातदोबाटोको जोस बढेको हुनसक्छ । गत वर्ष नवौं स्थानमा लिग टुंग्याएको जावलाखेल युवा सम्हालेका प्रशिक्षक सुनील श्रेष्ठको भाष्य पनि उस्तै रह्यो, प्रतियोगितामा सहभागी भइसकेपछि सबैको लक्ष्य एउटै (उपाधि जित्ने) हुन्छ ।

पत्रकार सम्मेलनमा आएका १२ क्लबका प्रतिनिधिमध्ये आठ क्लबले च्याम्पियन बन्ने लक्ष्यसहित ए डिभिजन लिग २०७९ खेल्न लागेको बताए । उपाधि जित्ने दाबी गर्ने वा लक्ष्य राख्नेमा पछिल्ला दुई संस्करणको उपविजेता आर्मी, कीर्तिमान आठपल्टको च्याम्पियन मनाङसँगै थ्रीस्टार, संकटा, जावलाखेल, एपीएफ, खुमलटार र चर्च ब्वाइज रहे । गत सिजन १० औं स्थानमा रहेको हिमालयन शेर्पाले राम्रै तयारी गरिरहेको छ । लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र स्वभाविक रूपमै ह्याट्रिक उपाधिको दाबेदार हो । उसका प्रशिक्षक प्रवेश कटुवालको लक्ष्य पनि फेरि ट्रफी कब्जा गर्ने नै हुनसक्छ । तर, एक टिममात्रै च्याम्पियन हुनेछ ।


Last Updated on: March 3rd, 2023 at 8:58 am


तपाईको प्रतिक्रिया