बुधबार १५ चैत्र २०७९


माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव इमान्दार हो भने नेकपा ब्युँताऔं: घनश्याम भुसाल

प्रकाशित मिति । १२ फाल्गुन २०७९ ।

नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउनु पर्ने प्रस्ताव राखेका छन्।

बिहीबार दिउँसो सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै भुसालले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने इमान्दार प्रस्ताव हो भने नेकपासमेत ब्युँताउने प्रस्ताव आउनुपर्ने बताए।

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न इमान्दार तरिकाले प्रस्ताव गर्नुभएको हो भने नेकपालाई ब्युताउँ भन्ने हो,’ उनले भने।

अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न एमालेको प्रस्ताव आएको हो भन्ने प्रश्नमा उनले भने, ‘माधव नेपाललाई राष्ट्रपति बनाएर दुई अध्यक्ष सहितको नेकपा ब्युँताउन ओली तयार हुनुहुन्छ?’

२०७४ सालको चुनावपछि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो। २०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग गरिदिएपछि यी पार्टी पुन: अस्तित्वमा आएका थिए।

ओलीमा विश्वसनियताको कमी रहेको र आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने प्रवृत्ति रहेको भन्दै उनले सबैतिरबाट कमजोर भएपछि यस्तो प्रस्ताव आएको बताए।

४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

घोराही–तुलसीपुर सडकमा डेढ वर्षमा निर्माण सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप, सडक भत्काएर अलपत्र छाड्दा ४ वर्षमा २५ जनाको मृत्यु

‘काम गर्छौं भनेर प्रतिबद्धता गरेपछि केही हुन्छ कि भन्दै म्याद थप्यौं, एउटाले काम नगर्दा अर्कोले म गर्छु भन्दै आए, अर्कोव्यक्तिले केही गर्ला कि भन्ने भयो, यसरी व्यक्ति फेर्दैमा यत्रो वर्ष बित्यो, काम हुन सकेन’ – सडक आयोजना कार्यालय

दाङ — घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–७ पर्सेनीमा चार लेन बनाउन थालेको चार वर्ष पूरा भयो । यसबीच करिब १० प्रतिशत मात्रै काम भएको छ । डेढ वर्षमा काम सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप भइसकेको छ ।

चार लेन बनाउन भत्काउन थालेयता यस सडकमा भएका दुर्घटनामा २५ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण मल्लले बताए । हालसम्म ५९ वटा दुर्घटना भएको र त्यसमा ८१ सवारीसाधन परेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ९४ जना घाइते भएका छन् । सडक भत्काएर अलपत्र छोड्दा र बीचबीचमा खाल्डा हुँदा दुर्घटनाको जोखिम रहेको उनले बताए । ‘सडक साँघुरो भएका कारण सवारीसाधन सञ्चालनमा धेरै सावधानी अपनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यति छोटो दूरीको सडकमा धेरै मानवीय तथा भौतिक क्षति भइसक्यो ।’

सडकको दुवैतिर बाटो काटेर छोडिएको छ । गाडी सजिलै पास हुन सक्ने अवस्था छैन । छेउमा गए गाडी पल्टिने, सडकमै रहे अर्कोसँग ठोक्किने अवस्था छ । ठूल्ठूला खाल्डा खनेर छाडिएको छ । जोखिमपूर्ण सडकमा कति बेला कसको ज्यान जान्छ, भरै छैन ।

सरकार र भारतको एक्जिम बैंकको ऋण सहयोगमा २०७५ माघ १४ मा सम्झौता भई सडक निर्माण सुरु भएको हो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८.१९ किलोमिटर सडक फोर लेन तथा दुई लेन बन्दै छ । बबईदेखि घोराही बजारसम्म ६.५३ किमि दुई लेन, घोराहीदेखि थापाचोक सर्रा ४.०५ किमि फोर लेन, थापा चोकदेखि नारायणपुर ३.५ किमि दुई लेन, नारायणपुरदेखि खैरा २.१ किमि फोर लेन, खैरादेखि दुधराससम्म ३.७ किमि दुई लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किमि चार लेन निर्माण गर्ने योजना छ ।

सुरुमा २०७७ वैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने सर्त थियो । समयमा काम सम्पन्न नभएपछि २०७८ जेठ ६ सम्म, २०७८ साउन २७ सम्म, २०७८ पुस १९ सम्म, २०७९ वैशाख २९ सम्म र २०८० असार ३१ सम्म सक्ने गरी पटक–पटक म्याद थपिएको छ । म्याद थप भए पनि अहिले फिल्डमा कुनै काम भइरहेको छैन ।

सडक निर्माणको म्याद पाँच पटक थप्दा पनि भौतिक प्रगति ९.६९ र आर्थिक प्रगति १४.२३ प्रतिशत मात्रै भएको चार लेन सडक आयोजना कार्यालय लमहीका प्रमुख आशिष थापाले बताए । ‘निर्माण कम्पनीले ठूलो लापरबाही गरिरहेको छ । काम गर्ने प्रतिबद्धता गरेर म्याद थपाउने तर काम नगर्ने प्रवृत्तिले सडकको दुर्दशा भएको छ,’ उनले भने, ‘सडकमा हेर्दा नतिजा केही देखिएको छैन । सडकको अवस्था सुधार नभएपछि म्याद थपको पनि उपलब्धि भएको छैन ।’

सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकी डलर रहेको उनले बताए । सडक निर्माणको ठेक्का भारतको तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ । उक्त कम्पनीले नेपालमा आफैं आएर काम गरेको छैन ।

विभिन्न व्यक्तिलाई आधिकारिक प्रतिनिधि तोक्ने काम गरेको र अहिलेसम्म मानिसहरू फेर्नेबाहेक उल्लेख्य नतिजा देखाउन नसकेको थापाले बताए । ‘काम गर्छौं भनेर प्रतिबद्धता गरेपछि केही हुन्छ कि भन्दै म्याद थप्यौं, एउटाले काम नगर्दा अर्कोले म गर्छु भन्दै आए,’ उनले भने, ‘अर्को व्यक्तिले केही गर्ला कि भन्ने भयो । यसरी व्यक्ति फेर्दैमा यत्रो वर्ष बित्यो, काम हुन सकेन ।’

निर्माण सुरु भएयता आठ पटक ठेकेदार फेरिइसकेका छन् । मुख्य ठेकेदार तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डे एक पटक मात्रै सडक हेर्न पुगेका छन् । गत मंसिर ११ मा घोराही आएका पाण्डेले अब आफैं उपस्थित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि न उनी सडकमा देखिए, न त उनले खटाएका मानिसले काम गरे । जिम्मेवारी दिएका व्यक्तिहरू आठ पटक फेरिइसकेका छन् । सुवास श्रेष्ठ, अनुप पाण्डे, जनक डाँगी, फेरि अनुप पाण्डे, एकेन्द्र खड्का र विजय पाठकले सडकमा हात हाल्दै, छोड्दै गरे । अन्त्यमा २०७८ फागुन २६ देखि श्रेष्ठ कन्स्ट्रक्सनका रोशन श्रेष्ठले सडक निर्माणको काम गरे । फेरि पछिल्लो डेढ महिनादेखि सुशीलजंग रायमाझीले जिम्मेवारी लिएको चार लेन सडक आयोजना प्रमुख थापाले जानकारी दिए ।

‘जति ठेकेदार फेरिए पनि प्रगति केही छैन । हामी पनि के गर्ने भन्नेबारे पटक–पटक लेखेर सडक विभागमा पठाइरहेका छौं,’ उनले भने, ‘यसबारे पर्याप्त छलफल भएको छ तर निकास के हुने भन्ने यकिन छैन ।’ अब यसरी लामो समय बस्न नहुने र केही निकास निकाल्ने योजनामा विभाग र कार्यालय रहेको उनले बताए । ‘म्याद थप्ने तर फिल्डमा केही काम नहुने भएको धेरै समय भइसक्यो,’ उनले भने, ‘अब यसरी म्याद थपेर हुँदैन । केही विकल्प खोज्नुपर्छ भन्ने भएको छ । छिट्टै केही निकास निस्कन्छ ।’

सडकले साह्रै सास्ती भएपछि जिल्ला प्रशासन कार्यालयले माघ १७ मा चार लेन सडक आयोजनालाई ८ बुँदे प्रश्न गर्दै पत्र पठाएको थियो । काम नहुनुको कारण के हो ? कार्य योजना के छ ? सम्झौता अवधिमा काम सकिने आधार के ? अहिलेसम्म भएका प्रयास के छ भन्ने विषयमा प्रशासनले जवाफ मागेको थियो ।

चार लेन अयोजनाले सडकको अवस्थाबारे प्रशासन कार्यालयका साथै जिल्लास्तरमा भएका धेरै छलफलमा सबैलाई जानकारी दिँदै आएको थापाले बताए । सडकको विषयलाई दलहरूले निर्वाचनको एजेन्डासमेत बनाए । सबै दलले चार लेन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । निर्वाचन जितेका सांसदले पनि यसको निकास निकाल्ने आश्वासन दिएका थिए तर केही पनि थप प्रगति हुन सकेको छैन ।

सडकको सम्झौता प्रक्रिया र यसको काम गर्ने प्रक्रिया जटिल भएकाले तत्कालै उचित निकास निस्कन नसकेको दाङ–२ बाट निर्वाचित नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ‘हामीले यो सडकको विषयमा निरन्तर कुरा उठाइरहेका छौं, जिल्लावासीले पनि हामीलाई गर्ने प्रश्न यही नै हो,’ उनले भनिन्, ‘अब यो योजनाबाट निकास निस्कने अवस्था देखिएको छैन । नेपाल सरकारले नै बजेट सुनिश्चित गर्दा मात्रै काम अघि बढ्ने अवस्था छ ।’ यसबारे सम्बन्धित मन्त्रालयमा कुरा गरिरहेको उनले बताइन् । ‘हाम्रो आफ्नै बजेट सुनिश्चित नभई ठेक्का तोड्दा पनि काम हुने अवस्था नभएकाले ढिला भएको छ,’ शर्माले भनिन्, ‘बजेटसहित ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्नुपर्छ ।’

ठेक्का तोड्दा र कम्पनीलाई कालोसूचीमा राख्दा भारतीय निर्माण कम्पनीलाई केही फरक नपर्ने भएकाले झनै समस्या भइरहेको चार लेन आयोजनाको भनाइ छ । यो आयोजनाको सम्झौतामा मुख्य ठेकेदार भारतकै हुनुपर्ने उल्लेख छ । नेपालको कम्पनी सहयोगी मात्र बन्न सक्छ ।

ठेक्का तोडेर नयाँ ठेक्का लगाउन पनि भारतको नै अनुमति चाहिन्छ । नयाँ ठेक्का गर्न नयाँ खर्चको मूल्यांकन गर्नुपर्छ । नयाँ मूल्यांकनअनुसार भारतबाट बजेट सुनिश्चित हुने कुरा पक्का छैन । फेरि अर्को भारतीय कम्पनीले आएर काम गर्ने कुरा पनि भरपर्दो छैन । यो जटिलताका कारण सडकको अस्तव्यस्तता लम्बिँदै गएको मन्त्री शर्माले बताइन् । ‘अब यसको कुनै न कुनै निकास निस्कन्छ,’ उनले भनिन्, ‘हामी यसको उचित समाधान खोज्छौं ।’

सडकको अवस्था बिग्रिँदा दिनहुँ नागरिकले नेता, सरकारी अधिकारी र ठेकेदारलाई गाली गरिरहेका हुन्छन् । घोराही–तुलसीपुर यात्रा गर्नेहरू धुलाम्मे भएका हुन्छन् । दैनिक ५ सयभन्दा बढी गाडी चल्ने गरेको र सडकका कारण गाडीमा टुटफुट तथा दुर्घटनाले क्षति पुगिरहेको त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताए । ‘सडक साँघुरो भएर गाडी चलाउन कठिन छ, खाल्डाले गर्दा गाडी मर्मतमा बढी नै खर्च भइरहेको छ,’ उनले भने, ‘सडकको सिधा मार यातायात व्यवसायीमाथि परिरहेको छ । हामीले जति भन्दा पनि सडक सुधार्न कसैले ध्यान दिएको छैन ।’

कतिपय ठाउँमा स्थानीय युवाले खाल्डा पुर्ने काम गरिरहेका छन् । कतिपयले सडक निर्माण नभएको विरोधमा चक्काजाम र सडक कार्यालय घेराउका कार्यक्रम गरिरहेका छन् । ‘जति दबाब दिँदा पनि सरकारी निकाय गैरजिम्मेवार भइरहेका छन्,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायणप्रसाद भुसालले भने, ‘सडकको धूलोले नागरिकको स्वास्थ्यमा जोखिम भइरहेको छ । सडकमा दुर्घटना बढिरहेका छन् । सडकछेउमा व्यापार गर्ने अवस्था छैन ।’

सडक नबनेकामा निरन्तर आलोचना हुने गरेपछि गाली छल्न बेलाबेला घोराही र तुलसीपुर उपमहानगरले आ–आफ्नो क्षेत्रमा ढुंगा, माटो हालेर खाल्डा पुर्ने काम गरिरहेका छन् । दुर्घटनाको जोखिम भएपछि र नागरिक तहबाट धेरै गुनासो आएपछि सडकमा खाल्डा पुर्ने काम गरिरहेको घोराहीका प्रमुख नरुलाल चौधरीले बताए । ‘ठेक्का लागिसकेको सडक हाम्रो कार्यक्षेत्रमा पर्दैन, तैपनि जनतालाई सास्ती भएपछि हामीले खाल्डा पुर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘यसले हाम्रो आर्थिक भार बढेको छ । उता ठेक्का लागेको काम हुन सकेको छैन ।’

सडकले दुर्घटना बढाई नागरिकको जनजीवन नै अस्तव्यस्त हुन थालेपछि निर्माण कम्पनीलाई सरोकारवालासामु राखेर काम अघि बढाउन प्रतिबद्धता जाहेर गर्न लगाएको तैपनि उपलब्धि नभएको जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले बताए । ‘सडकले धेरै दुःख दिएपछि हामीले यसमा चासो राख्यौं, निर्माण कम्पनीलाई १५ दिनमा काम थाल्ने प्रतिबद्धता गरायौं तर पनि काम भएन,’ उनले भने, ‘निर्माण व्यवसायी जिम्मेवार नहुँदा सडकको अवस्था बिग्रिँदै गएको छ ।’

सडक निर्माणकर्ता परिवर्तन भइरहँदा आवश्यक समन्वय गर्न कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । ‘ठेकेदार कतिबेला फेरिन्छन्, थाहै हुँदैन । एउटा आउँछ गर्छु भन्छ, उसले काम गर्दैन, फेरि अर्कोले जिम्मा लिइसकेको हुन्छ,’ उनले भने, ‘हामीलाई ठेकेदार खोज्नै समस्या भएको छ । ठेकेदारलाई जिम्मेवार बनाउन हामी निरन्तर लागिरहेका छौं । यो समस्यालाई गम्भीर रूपमा लिएर पहलकदमी गरिरहेका छौं ।’


Last Updated on: February 24th, 2023 at 2:00 pm


तपाईको प्रतिक्रिया