सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


व्यवसायी दुर्गा प्रसाईंपीडित बैंकको सहवित्तीयकरण बैठक सोमबार

दुर्गा प्रसाईं अहिले राजतन्त्र फर्काउन पुर्वराजासहित मैदानमा छन

प्रकाशित मिति । १२ फाल्गुन २०७९ ।

काठमाडौं। अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित तथा ‘अराजक’ व्यवसायी दुर्गा प्रसाईंपीडित बैंकले आगामी सोमबार (फागुन १५ गते) सहवित्तीयकरण बैठक डाकेको छ।

ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईंको झापास्थित बिएन्डसी मेडिकल कलेजमा ऋण लगानी भएको थियो।

कुमारी बैंक (तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स), नबिल (तत्कालीन नेपाल बंगलादेश बैंक), राष्ट्रिय वाणिज्य, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले साढे ५ अर्बभन्दा बढी लगानी गरेका छन्।

प्रसाईंले गत असारदेखि बैंकहरूलाई बुझाउनुपर्ने ब्याज बुझाएका छैनन्, त्यो पनि अदातलबाट अन्तरकालीन आदेश लिएर। सर्वसाधारणको निक्षेप जोखिममा पर्ने त्रासपछि ग्लोबल आईएमई बैंकले सबै ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आगामी सोमबार छलफलका लागि डाकेको हो।

गत असारदेखि पुससम्म बैंकले ९ करोड ९५ लाख रुपैयाँ ब्याजवापत पाउनुपर्ने थियो। तर, प्रसाईंले तिर्नुको सट्टा उल्टै बैंक कर्मचारीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेपछि के गर्ने भनेर ग्लोबल आईएमई बैंकले सबै बैंकलाई छलफलका लागि बोलाएको हो।

अदालतले प्रसार्इंबाट बैंकले लिनुपर्ने ब्याज केन्द्रीय बैंकको स्वीकृतिमा ब्याज पुँजीकरण गर्न भनेको थियो। तर, केन्द्रीय बैंकले पुँजीकरण गर्न अनुमति नदिएपछि ऋण असुली थप अन्यौल बनेको हो।

प्रसाईंले ‘लडाकु जत्था’ बनाएर बैंकविरुद्ध उतारेपछि बैंकरहरू ऋण असुलीमा निस्किनसमेत सकेका छैनन्। वित्तीय अनुशासन नै खल्बल्याउने गरी अभिव्यक्ति दिँदै हिँडेपछि बैंकरहरू थप सशंकित बनेका हुन्।

ऋणी र बैंकबीच भएको समझदारी उल्लंघन गरेर प्रसाईंको अभिव्यक्ति आउन थालेपछि आगामी सोमबारको बैठकले के गर्ने भन्ने निर्णय गर्ने छ।

प्रसाईंले बिएन्डसी मेडिकल कलेज नै धितो राखेर साढे ५ अर्बभन्दा बढी ऋण लिएका छन्। एक बैंकरका अनुसार बिएन्डसी पूरै बिक्री गर्दा पनि बैंकले गरेको लगानी उठ्न सक्दैन। ‘प्रोजेक्ट’ देखाएर प्रसाईंले ऋण लिएका थिए।

एकातिर धितोबिनै कर्जा प्रवाह गरिएको छ भने अर्कातिर असारदेखि प्रसार्इंले ऋणको ब्याज बुझाएका छैनन्। त्यही भएर आगामी सोमबार ‘लिड बैंक’ ग्लोबल आइएमईको नेतृत्वमा सबै बैंकर उपस्थित भएर छलफल गर्न लागिएको हो।

एपीएफ र ल्याब फाइनलमा

काठमाडौँ — सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबलमा नेपाल एपीएफ स्कुल कीर्तिपुरले नेपाल पुलिस स्कुल साँगालाई १–० ले पराजित गरी फाइनल पक्का गरेको छ ।

आयोजक स्कुलका विकास बोहराले विजयी गोल गरे । ल्याबोरेटरी मावि कीर्तिपुरले लिटिल एन्जल्स स्कुललाई ३–० ले हरायो । रविन बम्जन, इशान बुढाथोकी र हरिशजंग शाहीले गोल गरेका थिए । फाइनल आइतबार हुनेछ ।

कोही किन बलिदानी होओस् !

संस्कृत वाङ्मय एक से एक शास्त्र एवं साहित्यले भरिपूर्ण छ । शास्त्रहरू जीवन, मृत्यु र मुक्तिका कुरा गर्छन् । वैदिक साहित्यका वेद, आरण्यक एवं उपनिषद्जस्ता स्रोतव्य तथा पठनीय रचनाहरू सृष्टि, दृष्टि र मोक्षबारे गहन विमर्श एवं विवेचना गर्छन् । त्यस्ता ग्रन्थहरूको अर्थलाई सामान्य पाठक वा श्रोताले ठम्याउन सक्दैनन् ।

कुरा पितृभाषा संस्कृतको मात्रै होइन । विभिन्न मातृभाषा एवं कर्मभाषामा गरिएका अनुवाद एवं टीका प्रायशः मूल पाठभन्दा कम जटिल लाग्दैनन् । समस्या विचारको गहनतामा छ । सायद त्यसैले सामान्य व्यक्ति धर्म, कर्म र परमार्थका कुरा बुझ्न पनि रामायण, महाभारत तथा विभिन्न पुराणहरूको सहारा खोज्छन् ।

महागाथाहरू कथा र उपकथाहरूमार्फत जीवनका विसंगति, विडम्बना तथा विरोधाभासलाई देखाउँछन् । त्यसैले पुराण वाचकहरू वेद र उपनिषद् उद्धृत गर्नुको साटो रामायण, महाभारत वा स्वस्थानी व्रतकथाजस्ता पुस्तकहरूको उदाहरणमार्फत धर्मनिष्ठताको व्याख्या गर्ने गर्छन् ।

महागाथाहरूलाई पत्याउने हो भने पृथ्वीमा जन्म लिएका देउताका अवतारहरू पनि दोधारबाट सर्वथा मुक्त रहन नसक्ने रहेछन् । प्रजाप्रतिको कर्तव्यले अयोध्याका युवराजलाई वनवास जानबाट रोक्नुपर्ने हो । बुवाको वचन राख्ने धोकोले भने उनलाई राजकुमारहरूको सर्वोच्च जिम्मेवारीबाट विचलित तुल्याउँछ । जुनसुकै सन्तानको प्राथमिक कर्तव्य जन्म दिने माताप्रति हुन्छ ।

तर, पिता दशरथको मान जोगाउन भगवान् राम माता कौशल्याको पुत्र वियोगको वेदनालाई अनदेखा गरेर अयोध्या नगरीबाट बाहिरिन्छन् । राजा राम आफ्नो राज्यभित्र कुनै सामान्य दम्पतीबीचको खटपटले गर्दा अयोध्यामा फैलिएको अफवाहलाई पत्याउँछन्, तर महारानी सीताको भने अग्निपरीक्षा लिन्छन् । वाल्मीकिदेखि तुलसीदास र भानुभक्तसम्म रामायण कथाका सबैजसो रचयिताहरू विधिको विधानलाई दोष दिएर उम्किन्छन् । तिनले इंगित गर्ने गरेको विधि सायद संयोगहरूकै सँगालो हुन सक्छ ।

जसलाई तिनले विधान भन्छन्, त्यो पात्रहरूको कालचेतनामा आधारित संवेग हुन सक्छ । तुलसीदास त कथाका पाटाहरू व्याख्या गर्दागर्दै लत्तो छोड्छन्— ‘तुलसी भरोसे राम के निर्भय होके सोये । अनहोनी होनी नहीं, होनी होय सो होये ।’ नहुने कुरा हुने होइन र हुने कुरा नभई छाड्दैन भन्ने रचनाकारको ‘ढोल, गंवार, शूद्र, पशु, नारी सकल ताडना के अधिकारी’ अभिव्यक्तिमा के खोट खोज्नु ? तुलसीले आफ्नो समयको शक्ति संरचनालाई चित्रित गरेका न हुन् !

तुलसी मात्र होइन, जस्तोसुकै रचनाकारले आफ्नो कालचेतना एवं सांस्कृतिक यथार्थलाई नै स्वर दिने हो । समयको बन्धनभन्दा पर पुग्ने क्षमता असाध्यै थोरै सर्जकमा हुन्छ, जसले वैकल्पिक विश्वको परिकल्पना गर्न सक्छ । कालजयी भनिएका कृतिहरू भाव चित्रणमा रमाउँछन, जुन कुरा लगभग स्थायी रहन्छ । कथा एवं त्यसभित्रका उपकथाहरूले भने मानव हुनुको वेदनालाई उजागर गरेर सहनैपर्ने जीवनका भोक, रोग, शोक एवं छटपटीसँग बाँच्न सिकाउँछन् ।

भगवान्हरू यथास्थितिलाई बदल्नभन्दा पनि जित्न जन्म लिने रहेछन् । राज्य र समाज बदल्न त सामान्यजन नै जाग्नुपर्छ भन्ने कुरा धर्मग्रन्थहरूले सिकाउँदैनन् । महाभारतका पुरुष पात्र आमाका सन्तान कहलिन्छन्— गंगापुत्र भीष्म, कुन्तीपुत्र कर्ण, तर रामायणमा युवराज राम भने दशरथपुत्र छन् । उनको पराक्रमलाई संस्कृतको ‘एकश्लोकी रामायण’ ले चार पंक्तिमा सिध्याइदिएको छ— ‘आदौ राम तपोवनादि गमनं, हत्वा मृगं कांचनं/वैदेही हरणं, जटायु मरणं, सुग्रीव संभाषणं/बालि निर्दलं, समुन्द्र तरणं, लंकापुरी दाहनं/पश्चाद्रावण–कुम्भकरण हननं, एतद्धि रामायणं !’

कथा त साँच्चै त्यति नै हो । राम वनवास गए । त्यहाँ स्वर्ण मृगको सिकार गरे । वैदेहीको हरण भयो । जटायु मारिए । सुग्रीवसँग मित्रता भयो । बालिको वध गरे । समुद्र पार गरे । लंकापुरीको दहन भयो । त्यसपछि बाद रावण र कुम्भकर्णको वध गरे । रामायण त्यति हो । महाभारतलाई त्यति सहजतासँग संक्षेपीकरण गर्ने आँट संस्कृतका प्रकाण्ड विद्वान्हरूमा समेत भएको देखिँदैन । पाठ गर्नुको साटो महाभारतलाई आफ्नो समयाअनुसार अर्थ्याउन प्रत्येक पुस्तालाई छुट छ ।

हकका लागि गरिएका सबैखाले संघर्ष आ–आफ्ना कालखण्डका महाभारत हुन् । पात्रहरू बदलिइरहन्छन, तर जित्ने र हार्ने दुवैथरीको नियति अन्ततः समाप्त हुनु हो । गाथा भने बाँकी रहन्छन् । असत्यमाथि सत्यको अन्तिम विजयको अवधारणा जीवनको निरन्तर संघर्षमा सामान्यजनको मनोबल कायम राख्नका लागि रचिएको गहन भ्रमभन्दा बढी होइन रहेछ, त्यो किनभने अन्ततः विजेताले नै सत्यको अन्तिम परिभाषा गर्ने वा गराउने अधिकार पनि हत्याउँछ र हार्नेहरू असती भएर इतिहासमा दरिन्छन् ।

मल्ल राजाहरूको सत्य एवं गोर्खाली आक्रमणकारीहरूको सत्य पक्कै पनि फरक रहेको हुनुपर्छ । थापाहरूको राजभक्ति हारेर कुँवरहरू हावी हुने परिस्थिति बनेपछि मारिएका कोतपर्वका कर्तव्यनिष्ठ योद्धा के वीरगति पाएको ठहर्छ ? राजपाट दाउमा लगाएको भनिएका राजा त्रिभुवनसँग त खासमा दरबारको सुनौलो पिँजडा र राणाहरूको खान्गीबाहेक गुमाउनुपर्ने कुरा केही पनि थिएन । उनी शरणार्थी भएर भारतीय दूतावास पसेका थिए ।

कथंकदाचित एक शताब्दीदेखिको एकतन्त्रीय शासन सत्ता जोगाउन राणाहरूले गर्न लगाएको हत्या र हिंसाको शृंखला सफल भइदिएको भए अहिले सहिद भएर पुजिनेका नामहरू कतै सरकारी दस्तावेजमा दबिएको हुन्थ्यो । भनिन्छ, पुरातात्त्विक तथ्यहरू उपयोगिताका आधारमा अर्थ्याइन्छन् । ऐतिहासिक यथार्थ सत्ताले निर्माण गर्छ । दुवैथरी ‘सत्य’ आ–आफ्ना ठाउँमा सही छन् ।

सबभन्दा शक्तिशाली एवं दिगो विवरण आख्यानात्मक वास्तविकता हो । त्यस्तो कर्म प्रकाण्ड विद्वान् वा अतिशय बलवान् नभएर संवेदनशील साहित्यकारहरूको क्षेत्र हो । सात सालको क्रान्ति भनिने सन् १९५१ को राजनीतिक बन्दोबस्तलाई किंवदन्तीमा संस्थागत गरिसकिएको छ । मृत्युदण्डलाई मौन सहमति दिने शासक कालक्रममा सहिदहरूको टाउकामा विराजमान हुनु र रहिरहनुलाई इतिहासको विद्रूप विडम्बना भन्न मिल्छ । सन् १९९० को पहिलो जनआन्दोलन झन्डै–झन्डै विस्मृतिमा पुग्न लागिसकेको छ, किनभने त्यस संघर्षका पात्रहरू नै परिणामबाट सन्तुष्ट हुन सकेनन् ।

लगभग त्यही हालत नेपालको इतिहासमा सबभन्दा लामो समयसम्म चलेको सशस्त्र संघर्षको पनि हुन थालेको छ । माओवादी लडाकाहरूले आ–आफ्ना झोलामा बोक्ने डायरी, नोटबुक वा कापी भरिने गरी कविता कोरेका छन् । तिनमा मिलनको आनन्द, विछोडको पीडा, त्यागको सन्तुष्टि एवं अवश्यम्भावी मृत्युबोधपछिको भयमुक्त चरमोत्कर्षसम्म पढ्न सकिन्छ । उपकथाहरूको अभावमा राष्ट्रव्यापी ठहरिन सक्ने सशस्त्र संघर्ष बलिदानको साटो शृंखलाबद्ध बलि प्रदान गरिएका घटनाहरूको विभाजक व्यथा बन्न पुगेको छ । सायद त्यही भएर नेपालको इतिहासमा युगान्तकारी ठहरिन सक्ने सशस्त्र विद्रोह सुरु भएको स्मरणोत्सव समेत विवादरहित रहन सकेन । कथाहरू छैनन् भने फगत कथ्य कीर्तिगानको आधार हुन नसक्ने रहेछ ।

अकथित दास्तान

अपेक्षाकृत नयाँ, मर्मस्पर्शी एवं स्थानिक कथा तुरुन्तै स्मृतिमा आउने रहेछ । टिपोटबेगर सम्झनाको आधारमा ठ्याक्क तिथिमिति तोक्न कठिन हुन्छ, तर घटना सम्भवतः सन् २००३ तिरको हो । संकटसँग भिड्न सक्ने आधारभूत प्रशिक्षण एवं न्यूनतम उपकरणबाहेक नागर प्रहरीलाई लामो सशस्त्र संघर्षका लागि तयार गरिएको हुँदैन । सशस्त्र प्रहरी बल गठन भइसकेको भए तापनि सुसज्जित भने भइसकेको थिएन ।

तिनको आफ्नै ब्यारेक थिएन, बन्दोबस्तीका सामानहरूको अभाव थियो एवं तत्कालीन शाही नेपाली सेनाले चरणबद्ध तवरले छोड्न थालेको अस्त्र प्रयोग गर्नुको विकल्प पनि थिएन । परिचालित हुन संकटकाल लगाइनुपर्ने सेनाको सर्तले गर्दा माओवादीहरूलाई अन्तर्विष्ट (कन्टेन) गर्न असम्भवजस्तै भइसकेको थियो । अन्ततः सेना आफैं आक्रमणको तारो बन्न थालेपछि देशमा संकटकाल लगाइएको थियो ।

गुप्तचरहरूको पूर्वसूचना, प्रहरीको अग्रसरता एवं सशस्त्र प्रहरीको निगरानीमा सेना ब्यारेकबाट निस्केर शंकास्पद क्षेत्रतिर गस्ती गर्न भर्खर सुरु गरेको थियो । लडाकु नै भएको निश्चित गरेर हो वा फगत शंकाको आधारमा कारबाही गरियो, त्यो कुरा यकिनका साथ भन्न कठिन छ, तर यथार्थ के हो भने महोत्तरी जिल्लामा भर्भराउँदो उमेरका जयकिशोर झा मारिए । संयुक्त सुरक्षा बललाई आरोप लगाउनेहरू त उनलाई हिरासतमा लिएर हत्या गरिएको हुन सक्ने पनि भन्छन् । मधेसमा राज्यप्रतिको त्यस्तो शंका, उपशंका निराधार होइन ।

दुर्गानन्द झालाई मृत्युदण्ड दिन पूर्वप्रभावी व्यवस्थासहित मुलुकी ऐनमा संशोधन गरिएको इतिहास छ । हडबाडाका कामेश्वर मण्डल र मुरिवाका कुशेश्वर यादव मारिएकै हुन् । सबुत–प्रमाणबेगर सन्देहको भरमा जनकपुरबाट अवैधानिक तवरले प्रहरीद्वारा अपहरण गरिएका चिकित्सक लक्ष्मीनारायण झाको अहिलेसम्म अत्तोपत्तो छैन । यदुकुहाका जानकी देवी यादव, मुनेश्वरी देवी यादव, सोनावतीदेवी यादव, बालक उदयशंकर मण्डल एवं रामनारायण मण्डल त्यत्तिकै मारिएका थिए ।

कटैया चौरीबाट संयुक्त फौजद्वारा उठाइएका दुर्गेश लाभ, सञ्जीवकुमार लाभ दीपु एवं जीतेन्द्र झाको हाडखोर पत्ता लगाउन अधिवक्ता जयकिशोर लाभलाई आजीवन संघर्ष गर्नुपरेको थियो । मधेस विद्रोहका क्रममा त प्रहरी तारो हान्ने अभ्यास गरेजस्तो ताकीताकी प्रदर्शनकारीहरूको टाउकामा गोली हान्ने गर्थे । त्यसैले जयकिशोर झा मुठभेडमा नभएर नियोजित रूपमा मारिएका हुन सक्छन् । मृतकको पहिचानका क्रममा एक जना प्रहरीको मार्मिक टिप्पणी बिर्सन कठिन छ । सानो, तर स्पष्ट स्वरमा उनले भनेका थिए, ‘बन्दुकको घोडोमा औंलो हुनेहरू मान्छे चिन्दैनन् । आज एउटा देशभक्त सहिद भयो ।’

धेरै दिनसम्म लागिरह्यो, ‘आतंकवादी’ खोजी हिँड्ने त्यो प्रहरी अधिकृतले त्यसो किन भनेका होलान् ! उनले जयकिशोरमा भविष्यको चिन्तक, पथप्रदर्शक वा सर्जक हुन सक्ने सम्भावना देखेका थिए कि ? सुरक्षाफौजका लागि त ऊ फगत ‘आतंककारी’ थियो होला । उनको नाम औपचारिक सहिदहरूको सूचीमा चढेको छ वा छैन, थाहा भएन । कथा भने कहिल्यै नमेटिने गरी बसेको छ ।

अनुमानको आधारमा भन्ने हो भने त्यस प्रहरीको टिप्पणीको कम्तीमा तीनओटा पाटा हुन सक्छन् । पहिलो कुरो, आन्तरिक सुरक्षामा सेना परिचालित भयो भने धेरैजसो निर्दोष मारिन्छन् । दक्षिण एसियाका सबै देशहरूको अनुभव त्यस्तै छ । दोस्रो, राज्यका लागि जोखिम मानिने सम्भाव्य व्यक्तिबारे स्थानीय प्रहरी अन्य सुरक्षा निकायको तुलनामा बढी जानकार हुन्छन् । हुन त त्यस्तो जानकारीको फाइदा र बेफाइदा छुट्याउन गाह्रो छ । प्रभावशाली व्यक्तिसँग उठबस भएका प्रहरी अधिकृतहरू सामाजिक रूपले कमजोर परिवारका पीडक बन्न पुगेको उदाहरण जताततै सुन्न सकिन्छ ।

सबभन्दा हृदयविदारक जयकिशोर झाको भविष्यका सम्भावनाहरूसँग जोडिएको थियो । उनी आफ्नो कक्षामा सधैं प्रथम स्थान ल्याउने विद्यार्थी रहिसकेका थिए । नेपालमा बाबुराम भट्टराई जस्तो उचाइमा पुग्न त अझैसम्म पनि गोर्खाली थर–घरमध्ये नै पर्नुपर्ने हुन्छ, तर उनको योग्यता, सम्भावना एवं समर्पणलाई हेर्दा जयकिशोर पिछडिएको समाजलाई रूपान्तरित गर्ने कर्ता हुन सक्थे । त्यस्तो जिम्मेवारी ग्रहण गर्न चुनाव जित्न, सांसद हुन वा मन्त्री बन्न पर्दैन ।

आफू जे हो, त्यही भएर सक्रिय अग्रसरता लिन सक्नेहरू पनि समाज बदल्न सक्षम ठहरिन्छन् । तर, सशस्त्र संघर्षमा सबभन्दा पहिले त्यस्तै निष्ठावान् व्यक्तिहरू मारिने रहेछन् । त्यो कुरा विद्रोही पक्षजत्तिकै राज्य पक्षका योद्धाहरूमा पनि लागू हुन्छ । कर्तव्यनिष्ठ जवानले लप्पनछप्पन जानेको हुँदैन । ऊसँग लेनदेन गरेर ज्यान जोगाउने क्षमता पनि हुँदैन ।

हुन त क्रिमियन युद्धको आत्मघाती आक्रमणमा देखाइएको बहादुरी र बलिदान सम्मानमा लेखिएको हो, तर सशस्त्र द्वन्द्वका योद्धाहरूको हकमा पनि लर्ड अल्फ्रेड टेनिसनको कालजयी कविता ‘चार्ज अफ द लाई ब्रिगेड’ का केही पंक्तिहरूको मारक क्षमता सम्झनुपर्ने हुन्छ, ‘कसैले महाभूल गरेको थियो/जवाफ फर्काउन मिल्दैन/तर्क गर्न सकिँदैन/गर्ने हो वा मर्ने हो/लागे मृत्युको घाँटी तिर/छ सय ती घोडचढी !’

सशस्त्र क्रान्तिको आह्वानमा सबभन्दा सम्भावनायुक्त युवाहरू सबभन्दा पहिले मारिन थालेपछि बीपी कोइरालालाई पञ्चायतविरोधी आन्दोलनको रणनीति बदलेर शान्तिपूर्ण संघर्षको बाटो अख्तियार गर्नुपरेको कुरा उनले भोला चटर्जीसँगको अन्तर्वार्तामा कतै स्वीकार गरेका छन् । अन्ततः भैंसी पूजा गर्न, लबेदा–सुरुवालमा सज्जिन र राजसी तामझाममा रमाउन सिकेका पुष्पकमल दाहालमा ‘प्रचण्ड’ उपनाम ग्रहण गरेको बेलामै त्यस्तो आत्मबोध आइदिएको भए जयकिशोर झाजस्ता हजारौं युवाको ज्यान जोगिने रहेछ । युद्धमा झुठ, छल, प्रपञ्च एवं विवेकहीन हिंसा पनि जायज ठहरिन्छ । सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ घोषणा गरेर माओवादी केन्द्रका अध्यक्षले प्रकारान्तरले समाज रूपान्तरणका लागि सम्भाव्य मृत्युलाई सहर्ष स्वीकार्य गरेका जयकिशोर झाजस्ता अनेकौं बलिदानीहरूको त्यागलाई लडाइँको मोर्चामा वीरगति पाउने सिपाहीमा सीमित गरिदिएका छन् ।

शाब्दिक संकट

तथाकथित ‘वर्ग शत्रु’ सफाया गर्ने उद्देश्यका साथ व्यक्ति हत्याको राजनीतिमा लागेका झापाली नक्सलपन्थीहरू सन् १९७० दशकतिरका मौलिक ‘माओवादीहरू’ हुन् । साम्यवादका पञ्चदेवता मानिने मार्क्स, एन्जेल्स, लेनिन, स्टालिन र माओका तस्बिर तत्कालीन एमालेको भव्य बल्खु दरबारको बैठकबाट पोको पारीवरी तहखानामा थन्क्याइएको अमेरिकी राजदूत माइकल म्यालोनेस्कीको कार्यकालमा मात्रै हो । आफैं ‘जनयुद्ध’ सञ्चालन गर्न नसकेका भए तापनि त्यस शब्दावलीप्रतिको मोह केही एमालेका ‘कणहरू’ मा अद्यापि बाँकी छ । सन् १९९० पछिको चुनावी मोर्चामा अपेक्षित सफलता हासिल गर्न नसकेपछि अपेक्षाकृत सहज वातावरणको फाइदा लिँदै सशस्त्र द्वन्द्वको उठान गरेका राजनीतिक उद्यमीहरूले

आफ्ना सुविधाका लागि मात्रै ‘माओवादी’ नामपट अंगीकार गरेको कुरा अब स्पष्ट भइसकेको छ । तर, नामपटबाट सहजै भाग्न सकिँदैन । माओवादी कहलिने हो भने ‘जनविद्रोह’ लाई ‘जनयुद्ध’ भन्नैपर्ने हुन्छ । जनविद्रोह एवं जनयुद्धबीच आधारभूत फरक के हो भने तात्कालिक नाकामयाबीहरूका बावजुद विद्रोहीहरू कहिल्यै हार्दैनन् किनभने जनता रूपान्तरित हुन सक्छन्, हार स्वीकार गर्न सक्दैनन् ।

जनविद्रोहमा एउटा पुस्ता असफल भयो भने संघर्षको जिम्मेवारी अर्को पुस्तामा सर्छ । युद्ध भने प्रायशः एउटा पक्षको हार र जित वा दुवै पक्ष हार्ने सम्झौतामा टुङ्गिन सक्छ । पछिल्लो अवस्थामा युद्धका नायकहरू आफ्नो लाज छोप्न दुवै पक्ष जितेको भ्रामक शब्दजाल सृजना गर्छन् । दसवर्षे सशस्त्र संघर्षको दुवै पक्ष सामेल रहेका सत्तासीनहरूले आपसी सहमतिमै ‘जनयुद्ध दिवस’ घोषणा गरेका हुन सक्छन् । माओवादीहरूको थाकेको नेतृत्वले सामाजिक एवं सांस्कृतिक रूपान्तरणका मुद्दाहरूलाई अलपत्र छाडेर वर्चस्ववादी मूलधारमा निसर्त सामेल भएको कुरामा अब कुनै शंका रहेन ।

शब्दहरू सोचिएजति निरीह हुन्नन् । विद्रोहको साटो ‘युद्ध’ शब्दावली स्वीकार गरिसकेपछि एक दशकका मानवीय एवं भौतिक क्षतिहरूको पनि वस्तुपरक आकलन गर्नुपर्ने हुन्छ । राजनीतिक विद्रोह वा सामाजिक एवं सांस्कृतिक द्वन्द्वका क्रममा भएका हिंसात्मक गतिविधिहरूलाई सत्य निरूपण तथा मेलमिलापमार्फत सल्ट्याउन सकिन्छ । युद्ध हो भने त लडाका वा सिपाहीले आफ्नो कर्तव्यपालन गर्ने क्रममा ज्यान गुमाएको ठहर्छ । बहादुरीपूर्वक लडेकाहरू वीरगति प्राप्त गरेको मानिन्छ । सके ‘दुश्मन’ लाई मार्नु र नसके लडाइँमा मर्नु व्यावसायिक योद्धाहरूको पेसागत कर्म हो । सिपाहीलाई आदेश दिने अधिकारीका गतिविधिहरूको मूल्यांकन मानवाधिकारका अन्तर्राष्ट्रिय अभिसन्धि एवं मान्यताहरू अनुसार गर्नुपर्ने हुन्छ ।

सन् १९५१ को राणा शासनविरुद्धको जनक्रान्ति थियो । सन् १९९० को जनआन्दोलन संसदीय व्यवस्था पुनःस्थापनका लागि भएको थियो । सन् २००६ को ‘वसन्त विद्रोह’ व्यापक जनाधिकार सुनिश्चित गर्नका लागि भएको थियो । युद्ध त औपनिवेशिक सत्ता वा शत्रुसँग लडिन्छ । त्यसो हो भने ‘जनयुद्ध’ का क्रममा भएका हिंस्रक ज्यादतीहरूलाई रोम विधानको युद्ध अपराध, मानवताविरुद्धको अपराध, नरसंहार वा आपराधिक आक्रमणमध्ये कुन श्रेणीमा राख्ने भन्ने प्रश्न उठ्छ । आदेश दिनेको नृशंशतालाई न्यूरम्बर्ग सिद्धान्तअनुसार, निरूपण गर्ने अवस्था पनि आउन सक्छ । ‘जनयुद्ध’ नामकरणको एउटा मात्र फाइदा के हो भने एक दशकको सशस्त्र संघर्षका पीडक र पीडितबीचको अन्तर भने राजनीतिक रूपमा समाप्त भएको छ ।

समतामूलक समाज, प्रगतिशील अर्थराजनीति एवं जनपक्षीय शासन व्यवस्थाका लागि गरिने संघर्षहरूले स्वैच्छिक कार्यकर्ताहरूको जमात तयार गर्छ । उद्देश्य जतिसुकै पवित्र भए पनि युद्धको अर्थराजनीति जनसंघर्षभन्दा नितान्त फरक हुन्छ । पुष्पकमललाई ‘प्रचण्ड’ र बाबुरामलाई ‘लालध्वज’ मानेर संघर्षमा होमिएका सामान्यजनले के अब आफ्ना पूर्वसञ्चालकद्वयलाई आत्मसमर्पण गरिसकेका युद्ध सरदार मात्र ठहर्‍याउनुपर्ने हो ?

सन् १९५१ को जनक्रान्ति सत्तासीनसँग गरिएको सम्झौतामा समाप्त भएपछि नेपाली कांग्रेसका अगाडि सरकारमा सामेल हुने वा नहुने नैतिक द्विविधा उत्पन्न भएको थियो । एकातिर जुन सत्ताको विरुद्ध हतियार उठाइएको थियो, त्यसैमा मिसिने हिचकिचाहट र अर्कोतिर सीमित उपलब्धि संस्थागत गर्ने बाध्यताका बीच सशस्त्र संघर्षका कमान्डरबाहेकका राजनीतिकर्मी सरकारमा सामेल हुन सकिने बाटो खोजिएको थियो । संविधानसभाको निर्वाचन नहुँदै भारतीय सल्लाह एवं राजा त्रिभुवनको निगाहमा सशस्त्र क्रान्तिका कमान्डर मातृकाप्रसाद कोइरालाले प्रधानमन्त्री हुन स्वीकार गरेपछि सशस्त्र द्वन्द्वको सार्वजनिक नैतिकता समाप्त भयो । कम्तीमा संविधानसभा निर्वाचन एवं गणतन्त्र घोषणाको प्रतीक्षा गरेर मात्रै सन् २००८ मा कार्यपालिकाको नेतृत्व सम्हालेका माओवादी अध्यक्ष दाहालको राजनीति आधा शताब्दीको उपलब्धि त थियो, तर संविधान नबन्दै हतारिएको त्यो कदम अन्ततः ‘जनयुद्ध’ हारिएको स्वीकारोक्ति ठहरियो । शान्तिपूर्ण राजनीतिमा हार–जित चक्रीय प्रवृत्ति हो । शब्दहरूको हेराफेरीमा अहिले हारेको भने केही आधारभूत अर्थराजनीतिक एवं सांस्कृतिक रूपान्तरणका सर्वमान्य मान्यताहरूले पनि हो ।

चीनमा च्याङ काई शेक (१८८७ – १९७५) त्यहाँको राष्ट्रवादी पार्टी कुओमिताङका नेता थिए । सन् १९८० को दशकमा माओवाद, सन् १९९० को दशकमा लेनिनवाद र सन् २००० पछि मार्क्सवाद परित्याग गरिसकेका एमालेका राजनीतिकर्मीहरूको राष्ट्रवाद आजभोलि कुओमिताङसँग मिल्दोजुल्दो एकल नेतृत्वमा चल्ने अल्पतन्त्रमा परिणत भएको छ । एमालेले तीन दशक लगाएर सम्पन्न गरेको राजनीतिक सार र तत्त्वको परिवर्तन एकताकाका ‘प्रचण्डपथ’ का अनुयायीहरू एक दशकभित्र सम्पन्न गर्ने तरखरमा छन् । गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ‘माले, मण्डले, मसाले’ एकै हुन भने उपेक्षापूर्ण अभिलक्षणन (कैरेक्टराइजेसन) बिलकुल सही साबित भएको छ ।

तर, उनी बाँचेका भए सायद आफ्नो अन्तर्दृष्टि सटीक ठहरिएकामा खुसी हुने थिएनन् । वामपन्थ रहेन भने मध्यवर्ती राजनीति आफ्नै अस्तित्व जोगाउन पनि झन्झन् दक्षिण मोडिँदै जान्छ । दक्षिण एसियाका बंगलादेश, पाकिस्तान एवं श्रीलंकासँगसँगै भारतका गुजरात, महाराष्ट्र एवं गंगा मैदानका सबैजसो राज्यहरूमा भएको त्यही हो । त्यसपछि राष्ट्रियताको परिभाषालाई वर्चस्ववादी नृजातीयताभित्र समेटिन्छ । प्रजातन्त्र बहुसंख्यकवादमा सीमित हुन्छ । समावेशितालाई सक्षमतन्त्रविरुद्ध उभ्याइन्छ । संघीयतालाई विखण्डनको बीउको रूपमा चित्रित गरिन्छ । धर्मनिरपेक्षताको राजनीतिक सिद्धान्त विधर्मी संस्कृति बन्न पुग्छ । सामाजिक न्यायको क्रमबद्ध सुनिश्चिततातिर लाग्ने सबै ढोकाहरू बन्द हुन्छन् । राजनीति उत्कृष्ट कर्म नभएर फगत पेसा बन्न पुग्छ । परिवारले क्षतिपूर्ति थाप्ने ‘सहिदहरू’ को संख्या थपिँदै गए पनि स्वाधीनतालाई प्रेमिका मानेर मृत्यु आलिंगन गर्न तम्सिने ‘सहिदहरू’ इतिहासका पानामा सीमित हुन जान्छन् ।

आत्मत्याग गर्नेहरू हुतात्मा कहलिन्छन् । सार्वजनिक हितका लागि प्राण उत्सर्ग गर्ने बलिदानी हुन् । युद्धमा बहादुरीका साथ लड्दालड्दै मर्नेले वीरगति प्राप्त गर्छन् । अरबी भाषामा धर्मयुद्धमा मारिएकाहरूका लागि प्रयोग हुने शब्दबाट बनेको उर्दूको ‘शहादत’ त रोमान्टिक अवधारणा हो । सहिदको कोही शत्रु नै हुँदैन भने ऊ युद्ध कोसँग लड्न जान्छ ? सत्यसँग प्रेम गर्ने र साक्षी बस्ने ‘सहिद’ हुन्छन् ।

उर्दूमा त प्रेमिकाका लागि प्राण अर्पण गर्नेलाई ‘सहिद–ए–इश्क’ उपाधि पनि प्रयोग हुन्छ ! अहिलेलाई पतित र स्खलित ‘माओवादीहरू’ ले दक्षिणपन्थीहरूसँग मिलेर राजनीतिलाई लेनदेनको व्यवसायमा रूपान्तरित गरिदिएका छन् । प्रत्येक पुस्ताले आफ्नो संघर्ष आफ्नै ढंगले गर्नुपर्ने रहेछ भन्ने पाठ सन् १९५१ को जनक्रान्तिबाट सिक्ने हो । यसपटक जाडोमा पानी परेन र सन् १९५१, सन् १९९० एवं सन् २००६ जस्तो वसन्त पनि आएन ।

सक्रिय प्रतीक्षाको विकल्प भने छैन । निरन्तर निगरानी एवं सतत् संघर्ष मानव समाजको नियति हुने रहेछ । रामायणको जस्तो निश्चितता सम्भव छैन् । आ–आफ्नै ढंगको महाभारत हरेक युगको त्रासदी हो ।


Last Updated on: February 24th, 2023 at 6:53 am


२०२० पटक हेरिएको

तपाईको प्रतिक्रिया