
महानगरले सुरु गर्यो कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी
प्रकाशित मिति । ११ फाल्गुन २०७९ ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आजदेखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
आज टेकुमा १२ टन कुहिने फोहरबाट मल बनाउने काम सुरु गरिएको हो । कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि कामपाले काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि कामपाले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ ।
श्रेष्ठले भने, ‘सबै फोहर एकै स्थानमा जम्मा गर्ने र कामपाको केन्द्रिय कार्यलयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहरको जिम्मा लिएर कम्पोष्ट मल बनाउन थाल्नुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न विभाग तयार छ ।’
उनका अनुसार कामपाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोष्ट मल बनाउनका लागि तयारी गरिरहेको छ ।
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर स्रोतमा नै वर्गीकरण गरेर लैजानुपर्नेछ । त्यसका लागि कामपाले फोहर वर्गीकरणको प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्नेछ । आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहरबाट मल बनाउने कामको थालनी हुने भनाइ कामपाको छ ।
यो सँगै कामपाका ३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने कामपाको तयारी रहेको छ । त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा कामपाले नागरिकलाई वितरण गरिरहेको छ ।
कामपाले गत साउन एक गतेदेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्न भने पनि अहिले केही वडामा मात्रै फोहर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ । महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुनसकेको छैन ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ ।
ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । कामपाको कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन । पछिल्लो समय उत्पादन हुने फोहरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ ।
फोहरको वर्गीकरणबिनै सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थानको अभावका कारण समय समयमा समस्या आउने गर्दा वर्षाको समयमा महिनादिनसम्म काठमाडौँ उपत्यकाको फोहर सडकमा नै थुप्रिने समस्या सामान्य बनिसकेको छ । रासस
जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक : अध्यक्ष यादव
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति पद दिनका लागि माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले यसबारे जानकारी दिएका हुन् ।
बैठकमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको उनले बताए । यस क्रममा माओवादी केन्द्र जसपालाई उपराष्ट्रपति दिनका लागि सकारात्मक भएको उनको भनाइ थियो ।
नेता यादवले भनेका छन्, ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयहरुमा हामीले आफ्नो धारणा राख्ने काम गर्यौं । माओवादी अत्यन्त सकारात्मक हुनुहुन्छ । सरकारलाई गतिशील बनाउने कुराहरु फेरि अन्यत्र पनि जोडिएका छन् ।
अहिलेको सरकार त हामी बाहेकको सरकार न हो । एमाले र माओवादी लगायत पार्टीहरुको सहकार्यमा बनेको सरकार हो । त्यसको विषय के हो त ? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्यो । कि यता कि उता । त्यसका विषयमा पनि छलफल हुने आउने दिनमा । माओवादीहरु, प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’
आफूहरूको छलफल निरन्तर चल्ने र मन्त्रिपरिषद् बैठकपछि पुन: बैठक बस्ने उनले जानकारी दिए ।बिहीबार साँझ नै पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफलमा जुट्ने उनले जानकारी दिए ।
साइबर सुरक्षाका लागि नीति र पूर्वाधारको अभाव छ : सचिव अर्याल
काठमाडौँ — नेपालमा साइबर अपराध नियन्त्रणका लागि उचित नीतिगत व्यवस्था र पर्याप्त पूर्वाधारको अभाव रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बिहीबार काठमाडौंमा आयोजना गरेको साइबर सुरक्षा संवाद अन्तर्गतको दोस्रो सत्र बलियो पूर्वाधार र नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले नीतिगत व्यवस्था र पूर्वाधारको अभावले साइबर सुरक्षाप्रति ढुक्क हुने अवस्था नरहेको बताए ।
‘हामीसँग साइबर सुरक्षा सम्बन्धी एकीकृत नीति छैन । त्यो भन्न लाज मान्नु पर्ने कुनै कारण छैन,’ उनले भने, ‘नयाँ ऐनका लागि मस्यौदाको काम भइरहेकाले त्यसमा घनिभूत छलफल गर्न बाँकी छ । पछिल्ला केही घट्नाक्रमले केही विषयमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’
पछिल्ला वर्षहरुमा सूचना प्रविधिमा लगानी बढेपनि त्यो कम्प्यूटर लगायत उपकरण किन्न बढी खर्च भइरहेको भन्दै उनले बलिया सफ्टवेयर खरिदमा नभएको बताए । सूचना प्रविधिसँग सम्बन्धित जनशक्ति पनि पर्याप्त नभएको उनले बताए ।