
बहराइनका राजाबाट डा.रुइतलाई १४ करोड रुपैयाँबराबरको प्रतिष्ठित ‘इशा अवार्ड’
प्रकाशित मिति । ९ फाल्गुन २०७९ ।
यो सम्मान सिंगो राष्ट्र र आम नागरिकका निम्ति- डा.रुइत
बहराइन — झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।
मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि(झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरेका हुन् ।
राजा हमाद बिन इशा अल खालिफाले ‘लोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम’ गर्दै आएको बताए ! इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।
आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति/संस्थालाई प्रदान गरिँदै आएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरुको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु ।
यो काममा जुटेका मेरा अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई यो क्षणमा म सम्झन चाहन्छु । र, आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा म यो सम्मान अर्पण गर्न चाहन्छु’,डा.रुइतले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन् ।
डा.रुइतले आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताए । उनले बहराइन अधिराज्यले यो सम्मानबाट सम्मानित गरेकोमा कृतज्ञता जाहेर गर्दै भविष्यमा आफ्नो कामलाई अझ प्रतिबद्धताका साथ निरन्तरता दिने जनाएका छन् । नेत्र चिकित्सक डा. रुइतले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्ष/परोक्ष सेवा दिइसकेका छन् ।
इशा अवार्ड पहिलोपटक मलेशियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाएकी थिइन् । दोस्रो अवार्ड(२०१५) भारतका शिक्षाविद् अच्युता सामन्तले र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो । चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो ।
यसअघि, बहराइन सरकारका तर्फबाट सञ्चारमन्त्री डा.रमजान बिन अब्दुल्ला अल नुवायमीले सोमबार अपरान्ह पत्रकार सम्मेलन गर्दै ‘कुनै मुलुक वा राष्ट्रियता हेरेर इशा अवार्ड प्रदान नगरिने बताउँदे मानवीयताको उच्चतम सेवा–कदरका लागि डा.रुइतको कामलाई छनौट गरिएको’ बताएका थिए । ‘बरु यही मानवीयताका नाममा जोडिएको संस्कृति, महत्त्व र दयालुपनको नेपाली पहिचानलाई इशा अवार्डले सम्मानित गरेको छ, यो पहिचान डा.रुइतले स्थापित गराएका छन्,’मन्त्री अल नुवायमीले भने ।
डा.रुइतले पैसा कमाउनेभन्दा आम मानिसलाई सहज हुने गरी आँखा उपचारमा सस्तो मूल्यको इन्ट्राअक्युलर लेन्स सिंगो विश्वलाई उपहार दिएको आधारलाई इशा अवार्डले ‘उल्लेख्य उपलब्धि’ ठानेको उनले बताए । रुइतको प्रयासले इन्ट्राअक्युलर लेन्स(प्रति)को मूल्य ३ डलरमै उत्पादन सम्भव भएको छ ।
एक दशकअघि सम्म यो लेन्सको मूल्य १५० डलरसम्म पर्ने गर्थ्यो । नेपालमै उत्पादित करीब ६० लाख इन्ट्राअक्युलर लेन्स आज विश्वभर वितरण भइसकेको छ ।
इशा सांस्कृतिक केन्द्रको समारोहमा बहराइन सरकारका मन्त्रीहरु तथा र विशिष्ट आगन्तुकगणको उपस्थिति थियो । समारोहमा बहराइनस्थित राजदूत तिर्थराज वाग्ले र मानमास्थित कूटनीतिक समुदायको उपस्थिति रहेको थियो ।
समारोहमा तेज कोहली-रूइत फाउन्डेसनका सहअध्यक्ष तेज कोहलीसमेत बेलायतबाट बहराइन आइपुगेका छन् ।
पूर्वराजाको भनाइलाई कामले खण्डन गर्नुपर्छ : नेता कोइराला
सिन्धुली — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइलाई दलहरुले कामले खण्डन गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्यको जरुरी भइसकेको बताएका थिए ।
सिन्धुलीमाडीमा मंगलबार प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले लोकतन्त्रमा आफ्नो धारणा राख्न पाइने र काम गरेर देखाएपछि त्यस्ता बोली स्वत: हराउँदै जाने कोइरालाको भनाइ थियो ।
‘जनतामा वितृष्णा पैदा नहुने गरी लोकतन्त्रलाई उन्नत बनाएर काम गर्न सके झिनामसिना कुरा आफैं सेलाएर जान्छन्,’ उनले भने, ‘बेरोजगारीलाई रोजगारी, उद्यमशील, समृद्ध बनाउन छाडेर खाली कुर्सीको पछि दगुरेपछि विभिन्न किसिमका आवाज त आउने नै भयो । नागरिकलाई खुसी कसरी बनाउने त्यता लाग्नुपर्यो । अनि फुर्सद नभएपछि त्यता कोही लाग्दै लाग्दैन ।’
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको एक दिनअघि फागुन ६ गते प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरेका थिए । त्यस लगत्तै शाहको भनाइप्रति नेताहरूले टिप्पणी गरेका थिए । नेता कोइरालाले पनि उनको भनाइलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
मंगलबार भने नेता कोइरालाले राष्ट्रपति निर्वाचनको प्रसंगमा नेपाली कांग्रेसले उम्मेदवारी दिने र त्यो उम्मेदवारले जित्ने दाबी गरेका थिए । ‘सबैभन्दा ठूलो पार्टी भएकाले राष्ट्रपति कांग्रेसले लिनुपर्छ हैन, जित्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘अब माधव नेपालजी या अरु जीहरुको कुरा, ओलीजीले भेट्नु भयो भन्दैमा कांग्रेसले उम्मेदवार नदिने भन्ने सोच राखेको पनि छैन । राख्दा पनि राख्दैन ।’
यस्तै राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति नहुने भन्दै नेता कोइरालाले राजनीतिक दल बाहिरको सर्वस्वीकार्य मानिस चाहिने बताए । तर राजनीतिक दल बाहिर त्यस्तो व्यक्ति नदेखिएको भन्दै उनले राष्ट्रिय सहमति सम्भव नभएको बताए ।
साथै कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतको नाम राष्ट्रपति उम्मेदवारका लागि आएको तर आफ्नो कुनै चर्चा नभएकाले त्यसतर्फ नसोचेको उनले बताए ।