
तीन नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड
प्रकाशित मिति । ९ फाल्गुन २०७९ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय सुभांगी सुवेदी दाहाल र सुप्रिया शर्मा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड–२०२२’ र सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्सेस (सीईएनएएस) की अनुसन्धानकर्ता बबिता पौडेल भट्टराईले ‘हम्बोल्ड रिसर्च अवार्ड’ प्राप्त गरेका हुन् ।
काठमाडौँ — तीनजना नेपाली महिला वैज्ञानिकले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय सुभांगी सुवेदी दाहाल र सुप्रिया शर्मा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड–२०२२’ बाट सम्मानित भएका हुन् । अवार्डको राशि ५०/५० हजार अमेरिकी डलर (करिब १ करोड ३१ लाख रुपैया) छ ।
सुवेदी त्रिचन्द्र क्याम्पस र शर्मा त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका उपप्राध्यापक हुन् । त्यस्तै, सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्सेस (सीईएनएएस) की अनुसन्धानकर्ता बबिता पौडेल भट्टराईले ३० हजार युरो बराबरको ‘हम्बोल्ड रिसर्च अवार्ड’ पाएकी हुन् ।
दाहालले प्राप्त रकम पानी, खाद्य सुरक्षा, कृषि र माइक्रो प्लास्टिकको अध्ययनमा खर्च गर्ने बताइन् । ‘मेरो यो रकम नानो पार्टिकल्स बनाएर पानीको स्वच्छता मापन, खाद्य सुरक्षा, रसायनिक मल र माइक्रो प्लास्टिकको अध्ययनमा खर्च हुने छ,’ उनले भनिन् ।
आफूले प्राप्त गरेको रकमबाट स्नातक र स्नाताकोत्तर अध्ययन गर्ने करिब एक दर्जन विद्यार्थीलाई अनुसन्धान वृत्तिसमेत उपलब्ध गराउने उनको भनाइ छ । अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै उनले जिम्मेवारी थपिएको प्रतिक्रिया दिइन् । यस्तै, शर्माले एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी अनुसन्धानका लागि अवार्ड पाएकी हुन् ।
सन् १९८७ मा स्थापना भएको अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभ्लोपिङ वर्ल्ड (ओडब्लूएसडी) वर्ल्ड एकेडेमी अफ साइन्सेस अन्तर्गतको संस्था हो । युनेस्केको एउटा प्रोगाम युनिटको रुपमा रहेको संस्थाले विज्ञान तथा प्रविधिको क्षेत्रमा बिद्याबारिधीपछि अनुसन्धान गरिरहेका विकासोन्मुक मुलुकका २५ जना महिला अनुसन्धानकर्तालाई अवार्ड प्रदान गर्दै आएको छ ।
स्वेदशमै अन्तर्राष्ट्रियस्तरको अनुसन्धानका लागि अवार्ड दिने गरिएको ओडब्लूएसडीको भनाइ छ । ५० हजार डलर राशीको यो अवार्ड पाएपछि अनुसन्धानकर्ताहरुले आफ्नो प्रस्तावित परियोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने हुन्छ ।
यसअघि उक्त अवार्ड शोभा पौडेल, हेमु काफ्ले, टिस्टा प्रसाईं, प्रतिभा पाण्डे र ज्योति भण्डारीले पाएका थिए । भट्टराईले हेम्बोल्ड रिसर्च अवार्ड पाउने पहिलो नेपाली महिला हुन् । जर्मनीको हम्बोल्ड फाउन्डेशनले हरेक वर्ष संसारका ५ जना अनुसन्धानकर्तालाई यो अवार्ड दिने गर्छ ।
यसवर्ष यो अवार्ड नेपालसहित, ग्रिस, इटाली, नाइजेरिया र चीनका महिला अनुसन्धानकर्ताले पाएका हुन् । अवार्ड रकम उनले नेपाली महिला अनुसन्धानकर्ताको क्षमता अभिवृद्धिका क्षेत्रमा दुई वर्षभित्रमा खर्च गर्ने छन् । ‘मलाई प्राउड फिल भएको छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरूको क्षमता विकास गर्ने किसिमको अवार्ड पाउदा गर्व महसुस गरेकी छु,’ उनले भनिन् । उनी सूक्ष्म जीव र नेपालमा पाइने जडिबुटीको औषधीय गुणको अध्ययन र अनुसन्धानमा पनि संलग्न छिन् ।
नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव
ओलीकै आग्रहमा नेपालसँग चार घण्टा लामो वार्ता, एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नुपर्ने ओलीको सर्त
काठमाडौँ — माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने धारणा बनाउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । महाराजगन्जस्थित एक घरमा आइतबार साँझ भएको ४ घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्नसमेत प्रस्ताव गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएको छ । यसले राष्ट्रपतिमा एमालेसँग सहकार्यको ढोका लगभग बन्द गरेको छ ।
तर कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नुअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्याउने लिखित सहमति खोजेका छन् । कांग्रेस नेताहरूले कम्तीमा तीन वर्ष दिन सकिने प्रस्ताव दाहाललाई गरिसकेका छन् । माओवादीको सोमबार भएको पदाधिकारी बैठकले भावी राष्ट्रपतिका लागि नयाँ समीकरणको ढोका खुला गर्दै आवश्यकताअनुसार निर्णय लिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको छ ।
माओवादीबाट साथ नपाइने बुझेपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो पक्षबाट राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन् । ओलीकै प्रस्तावमा आइतबार साँझ नेपालसँग वार्ता भएको थियो । त्यसपछि नेपालले आफू राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न दाहाललगायत कांग्रेस नेताहरूसँग भेटघाट गरेका छन् । उनले ओलीसँगको भेटबारे दाहाललाई सोमबार बताएका थिए ।
‘एमालेले समर्थन गर्छ भने तपाईंहरूले पनि गर्नुस्, संस्थागत निर्णय गराउनुस्,’ नेपालले दाहाललाई भनेका थिए । राष्ट्रपतिको उम्मेदवारमा जतिसक्दो छिटो स्पष्ट निर्णय लिन पनि उनले आग्रह गरेका थिए । नेपालसँगको वार्तापछि दाहाल पार्टी पदाधिकारी बैठकमा पुगेका थिए ।
माओवादी बैठकमा दाहालले पछिल्ला दिनमा एमाले, कांग्रेस र एकीकृत समाजवादीका नेतासँग भएका छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए । ओलीले सुरुका छलफलमा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र एमाले स्थायी कमिटी सदस्य गुरुराज बरालको नाम प्रस्ताव गरेको तर माओवादीका पदाधिकारीहरूले अस्वीकार गरेको ब्रिफिङ दाहालको थियो ।
‘उहाँको मुख्य चाहना डोरमणि पौडेल र गुरु बराल हो । तर मैले ती नाम हुँदैनन्, राष्ट्रिय सहमति हुने खालका नाम प्रस्ताव गर्नुस् भनें,’ दाहालको भनाइ उद्धृत गर्दै माओवादीका एक पदाधिकारीले भने, ‘पछिल्ला भेटमा उहाँले अरूको नाम त लिनुभएको छैन तर उहाँले माधव नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाललाई छुट्टाछुट्टै भेटेर तपाईं नै राष्ट्रपतिको उम्मेदवार हो भन्नुभएछ ।
त्यसकारण परिस्थिति जटिल छ । एक/दुई दिन हेरौं ।’ दाहालले कांग्रेस, एकीकृत समाजवादीलगायत दललाई मिलाएर राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने परिस्थिति रहेको बताएका थिए ।
कांग्रेसले राष्ट्रपति चाहेको छ । माधव नेपालले राष्ट्रपति चाहेका छन् । एमालेको त हुने नै भयो । त्यसकारण के गर्ने भन्ने अझै दुई दिन पर्खिनुपर्ने भयो । परिस्थिति जटिल छ । यसबीचमा सोचौं, १२ गते निर्णय गरौंला । एकातिर एमालेलाई दिँदा सबै उसकोमा जान्छ ।
अर्कोतर्फ राप्रपा र स्वतन्त्र पार्टीलगायतका शक्तिहरूसँग मिलेर हामीमाथि घेराबन्दी गरिराखेको छ, परिस्थिति ठीक छैन । कांग्रेसलगायत माधव नेपालहरूलाई मिलाउनुपर्यो । कांग्रेसलाई विश्वासमा लिनुपर्छ । तर अझै दुई/तीन दिन सोचौं ।
बैठकपछि माओवादीका एक पदाधिकारीले राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्ने निश्चित भएको बताए । राष्ट्रपतिका लागि विभिन्न दलबाट धेरै आकांक्षी रहे पनि ठूलो दल कांग्रेसबाट नै राष्ट्रपति चयन हुने गरी राजनीतिक घटनाक्रम विकसित भएको उनको भनाइ छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले भने स्वार्थ जोसँग मिल्छ, त्यससँग सहकार्य गर्ने निष्कर्ष पार्टीले निकालेको बताए ।
‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ । गणतन्त्र, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ,’ उनले भने, ‘हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’
प्रधानमन्त्री दाहालले सोमबार दिउँसो मात्र बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला सँगै रहेका शक्तिहरू फेरि पनि एकै ठाउँमा उभिन आवश्यक रहेको बताएका थिए । माओवादीको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नॅपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’
दाहालको भनाइलाई कांग्रेसबाट राष्ट्रपति हुने संकेतका रूपमा धेरैले बुझेका छन् । गत पुस १० मा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले पुस २६ मा कांग्रेससहित प्रतिपक्ष दलबाट पनि विश्वासको मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
त्यसपछि नै दाहालले कांग्रेससहित तत्कालीन पाँचदलीय गठबन्धनमा आबद्ध नेताहरूसँग संवाद बढाएका थिए । संवादको अन्तर्यमा एमालेबाहिरबाट राष्ट्रपति खोज्ने रणनीति थियो । राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्न केही दिन मात्र बाँकी रहँदा माओवादीको पदाधिकारी बैठकले राष्ट्रिय सहमति जुटाएर पार्टीका तर्फबाट निर्णय लिने अधिकार दाहाललाई दिएको छ ।