
अटेर गरेपछि एनआइसी एसियालाई वीरगन्ज महानगरले तिरायो जरिवाना
प्रकाशित मिति । ९ फाल्गुन २०७९ ।
पर्सा । वीरगन्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगन्ज शाखा जरिवानामा परेको छ ।
महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।
महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरी सकेको अवस्थामा पुनः एन आई सी एसिया बैकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगन्ज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।
फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगन्ज महानगरपालिकाले जनाएको छ । महानगरले विगत एक साता यता नगर क्षेत्र भित्र जथाभाबी फोहोर फाल्ने झन्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।
कटुसका अरू दुई प्रजाति
केही दशकअघिसम्म बजारमा अहिलेजस्तो फलफूल बेचिँदैनथ्यो । बरु सिजनमा जंगली फल किन्न पाइन्थ्यो । पहाडतिरबाट आउनेहरूले कटुस ल्याइदिन्थे । बाल्यकालमा कटुसको बियाँ खाएको अझै सम्झना छ ।
स्नातकोत्तर तहको शोधका लागि मैले कोसी अञ्चलमा पाइने खान हुने जंगली फलको सर्वेक्षण गरेको थिएँ । त्यस क्रममा १० प्रजाति जंगली फलको पोषकतत्त्व निकालेको थिएँ । ढाल्ने कटुसको बियाँमा प्रोटिन, चिल्लो पदार्थ र खनिज क्रमशः ५.८, ०.५० र १.४८ प्रतिशत थियो ।
कटुसको बियाँमा यतिका रासायनिक पदार्थ रहनु खानका निम्ति लाभदायक छ । सन् २०२२ मा प्रकाशित ‘प्लान्ट्स अफ नेपाल’ पुस्तकमा कटुसका पाँच प्रजाति नेपालमा पाइएको जानकारी छ । ‘हिमाल’ को गत माघ अंकमा सो पुस्तकमा समावेशबाहेक थप एक प्रजाति पूर्वी नेपालबाट संकलन भई बेलायतमा संग्रह गरिएको उल्लेख छ । यसबाहेक पनि थप दुई प्रजातिको चर्चा यहाँ गरिँदै छ ।
लीलानाथ शर्मा र देवेन खरेलले केही महिनाअघि इलाममा नेपालका निम्ति दुई नयाँ कटुस प्रजाति फेला पारेको सुनेपछि तस्बिर र विवरणका निम्ति अनुरोध गरें । उपलब्ध दुईमध्ये एक सन् १८०२ मा काठमाडौं उपत्यकामा संकलन भई त्यसबारे जानकारी १८२५ मै प्रकाशित भएको थियो ।
त्यसउप्रान्त प्रकाशित सामग्रीहरूमा सो प्रजाति समावेश छैन । कुनै दुर्लभ प्रजाति सामान्यतः १ सय वर्षपछि वा ठाउँविशेषमा लोप भैसकेको ठानिएर पुनः भेटिए त्यसलाई ‘रिडिस्कभरी’ भन्ने चलन छ । यस कारण, यो कटुस प्रजाति रिडिस्कभरी हो ।
क्वर्कस र क्यास्टानोप्सिस
बेलायतको इस्ट इन्डिया कम्पनीको प्रतिनिधिका रूपमा बुखानन ह्यामिल्टन काठमाडौं उपत्यका आएका थिए । उनले स्वयम्भू र नारायणहिटी दरबार परिसरमा संकलन गरेको एक कटुस प्रजातिलाई क्वर्कस केटुंगिया नाम दिए ।
उता भारतमा विलियम रक्सबर्घले त्यही प्रजातिको नमुना संकलन गरी क्वर्कस अर्माटा नामकरण गरेर सन् १८१९ मा जानकारी प्रकाशित गरेका थिए । डेभिड डनले नेपालबाट संकलन गरेका वनस्पतिका नमुनाहरू समेटेर ‘प्रोडोमस फ्लोरा नेपालेन्सिस’ पुस्तक सन् १८२५ मा प्रकाशित गरे ।
पुस्तक लेख्दा डनले क्वर्कस केटुंगिया र क्वर्कस अर्माटाका नमुना अध्ययन गरेका थिए । उनले दुवै नमुना एकै प्रजाति रहेको ठहर गरी नेपालको नमुनालाई पनि रक्सबर्घबाट नामकरण गरिएको क्वर्कस अर्माटा लेखे । किनभने ह्यामिल्टनले नामकरण गरेको क्वर्कस केटुंगिया उक्त नमुना टाँसिएको हर्बेरियम सिटमा मात्र लेखिएको थियो (प्रोडोमस फ्लोरा नेपालेन्सिस, पृ. ५६) ।
सन् १८०२ मा संकलन गरिएको कटुस प्रजातिबारे १८२५ यता चर्चा नहुनुको एउटा कारण त्यसको वैज्ञानिक नाममा परिवर्तन भएर पनि हुन सक्छ । हिजोआज बाँझ र कटुस क्रमशः क्वर्कस र क्यास्टानोप्सिस जातिमा समावेश छन् । सन् १७५३ मा नामकरण भएको क्वर्कस अर्थात् बाँझलाई संसारभरि ‘ओक ट्री’ भनेर चिनिन्छ । खस्रु र फ्लाँट भन्ने रूख पनि क्वर्कस जाति अन्तर्गतकै हुन् ।
यिनको काठ कफी रंगको हुन्छ । कटुस पनि पहिले क्वर्कस जातिमै थियो । सन् १८४२ मा मात्र कटुसलाई अलग गरी क्यास्टानोप्सिस नामकरण गरियो । यसकारण ह्यामिल्टन र रक्सबर्घले जे–जे नाम राखेका भए पनि सन् १८४२ पछि यसको नाम क्यास्टानोप्सिस अर्माटा भयो ।
क्यास्टानोप्सिस् अर्माटा अर्थात् दोराङ्गे कटुस । रेखाचित्र : विलियम रक्सबर्घ
पहिले बाँझ र कटुस दुवैलाई क्वर्कस जाति मानिनुको कारण अध्ययनको कमी थियो । हुन त बाँझ र कटुसका फूल, पात र फल मिल्दाजुल्दा देखिन्छन् । नियालेर हेर्दा मात्र फरक छुट्टिन्छ । यी दुवै जातिको फूल मसिनो र झुन्डमा हुन्छ । बाँझको फूल झुन्ड तलतिर झुन्डिएको हुन्छ भने कटुस जातिको ठडिएको ।
फूल सधैं रहन्न । सधैंभरि रहने पातबाट भने सजिलै चिन्न सकिन्न । केहीबाहेक अधिकांशको पातको वरिपरि घेरामा करौंतीको दाँतजस्ता आकृति हुन्छन् । क्वर्कस जातिका केही प्रजातिको पात चिरिएको, किम्बुको जस्तो हुन्छ । तर, एउटै बोटमा रहेको पातको आकृति केही फरक पर्ने भएका कारण यसलाई मात्रै पहिचानको कडी बनाउन सकिन्न ।
फलको आकारमा फरकपन छ । बाँझको फलको आधा वा त्योभन्दा केही कम भाग उदाङ्गै हुन्छ । फलको मुनिको केही भाग हरियो वा खैरो रंगको कप आकृतिबाट ढाकिएको हुन्छ । जबकि कटुसको फल अर्थात् नट हरियो ससाना काँडादार झुसले ढाकिएको हुन्छ । तर औले कटुसको फलमा यस्तो संरचना हुँदैन ।
यसको फल झन्डै बाँझकै हो भन्ने हुन्छ । कटुस जातिको वनस्पतिलाई चिन्कापिन भनिन्छ । सामान्यतः, कटुसको काठ कामलाग्दो मानिन्न । हिजोआज भने फर्निचरका लागि प्रयोग हुने गरेको छ । बाँझ र कटुस पाउने भौगोलिक उचाइ उस्ताउस्तै हो । बाँझको रूख अग्लो र काण्डको गोलाइ निकै ठूलो हुन्छ । कुनै भने झाडीदार मात्र हुन्छ ।
क्यास्टानोप्सिस अर्माटा
शर्मा र खरेलले फेला पारेको क्यास्टानोप्सिस अर्माटालाई दोराङ्गे कटुस भनिँदो रहेछ ।
‘फ्लोरा अफ भुटान’ (भोलम १ पार्ट १, पृ. ८२) मा क्यास्टानोप्सिस अर्माटा र मसुरे कटुस (क्यास्टानोप्सिस ट्राइबुलोइड्स) निकै मिल्दोजुल्दो हुन्छ भनिएको छ । क्यास्टानोप्सिस अर्माटा अर्थात् दोराङ्गे कटुसको फलको काँडा कडा, छोटो र चौडा हुन्छ । विलियम रक्सबर्घले बनाएको तस्बिरमा यसको आकृति गज्जब देखिन्छ । यस्तो काँडा नेपालमा पाइने अन्य कटुस प्रजातिमा छैन । सोही पुस्तकमा लेखिएको छ, ‘क्यास्टानोप्सिस अर्माटाको फलको सबै हिस्सा काँडाबाट ढाकिएको हुँदैन ।’ इलाममा भेटिएको दोराङ्गे कटुसको फल पनि त्यस्तै छ ।
काठमाडौं उपत्यकामा यो वनस्पति सम्भवतः मासियो । समग्र कटुस जातिका वनस्पति दक्षिणपूर्वी एसियामा उद्विकास भएका हुन्, यहीबाट फैलँदै नेपाल प्रवेश भएको हो । नेपालमा पाइने अर्को कटुस क्यास्टानोप्सिस इकिनोकार्पा पनि अन्यत्र विरलै पाइन्छ । मानिसको बढ्दो चापसँगै मासिएको हुनुपर्छ । तर, यसको अभिलेख नै वनस्पति विज्ञले बिर्सनुचाहिँ शोभनीय होइन ।
कटुस र बाँझ फागासी परिवारको हो र एसियन फागासी डटकममा क्यास्टानोप्सिस अर्माटा नेपालमा ह्यामिल्टनले संकलन गरेका थियो भनिएको छ । उनले त्यस बेला यसको नाम क्वर्कस केटुंगिया राखेका थिए भन्ने प्रस्टै जनाइएको छ । तर, नेपाल सन्दर्भमा लेखिएका पुस्तकमा कतै चर्चा नगरिनुलाई के भन्ने ?
यसको नमुना कुन संग्रहालयमा छ भन्ने थाहा नभएर पनि यस्तो भएको हुन सक्छ । पुस्तकहरूमा यो प्रजाति भारत, बंगलादेश, म्यान्मार, थाइल्यान्ड र भियतनाममा मात्र पाइन्छ भन्ने लेखिएका छन् । ‘फ्लोरा अफ भुटान’ मा भने दार्जिलिङमा पाइने उल्लेख छ । त्यसैले पनि दार्जिलिङसँग जोडिएको इलाममा यो वनस्पति फेला परेको हो ।
क्यास्टानोप्सिस क्लार्की
शर्मा र खरेलले फेला पारेको अर्को नयाँ प्रजाति क्यास्टानोप्सिस क्लार्की हो । घुँघुस कटुस भनिने यसको बोट सुरिलो हुँदो रहेछ र काठ पनि निकै राम्रो मानिँदो रहेछ । यसको नमुना दार्जिलिङ नजिक कालिम्पोङबाट संकलन भएको जानकारी ‘एनल्स अफ द रोयल बोटानिक गार्डेन कलकत्ता–१८८९’ (भोलम २, पृ. ९५) मा छ । घुँघुस कटुसको पातको आकृति औले कटुससँग केही हदसम्म मिल्छ ।
घुँघुस र औले कटुस हुने भौगोलिक उचाइ भने फरक छ । नेपालमा औले कटुस समुद्री सतहबाट १००–३०० मिटर उचाइसम्म मात्र पाइएको अभिलेख छ । झापास्थित जलथल जंगलमा यो पाइन्छ । घुँघुस कटुस भने समुद्री सतहबाट करिब १ हजार मिटर उचाइमा पाइँदो रहेछ । नेपालको जैविक स्रोतको सूचीमा थप दुई रूख प्रजाति, त्यसमा पनि कटुस थपिनु सुखद जानकारी हो । यी वनस्पतिको थप स्थलगत अध्ययन आवश्यक छ ।