
त्रिभुवन विमानस्थलका यी ९ पसलमा छापा, प्रदीप अधिकारीको सातोपुत्लो उड्यो
प्रकाशित मिति । ७ फाल्गुन २०७९
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पसलहरूको अनुगमन गरेर जरिवाना भराएको छ ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका पसलहरूले यात्रु र उपभोक्तालाई ठगी गरेको पाइएपछि फागुन ४ गते विभागले ती ठग पसलहरूमा अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेका एयरपोर्ट टि कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, ए.वी.पी.मार्ट (प्रा)लि., ओम नवदुर्गा इन्टरप्राइजेज (प्रा)लि.मा अनुगमन गरेर विभागले जरिवाना भराएको हो ।
विभागले आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टि कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफी एण्ड कन्फेक्सनरी), पी.डी. इन्टरप्राइजेज (प्रा)लि. तथा होटेल स्वानिङ गरि जम्मा ९ वटा पसलमा अनुमगन गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
‘अनुगमनका क्रममा ती पसलहरूले उपभोक्ता खुद्रा मूल्यभन्दा बढि रकम असुल गरि बस्तु बिक्री गरिरहेका व्यवसायिक फर्महरूलाई उनीहरूले गरेको कसूरको मात्रा र गाम्भीर्यता समेतका आधारमा बजार अनुगमन टोलीले जम्मा १५ लाख जरिवाना गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
विभागले उक्त फर्महरूलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरि कुनै पनि कामकारबाही नगर्नु/नगराउनु हुन निर्देशन दिएको छ ।
‘उपभोक्ताले कुनैपनि वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो वस्तु तथा सेवाको अधिकतम खुद्रा बिक्री मूल्य, नापतौल, उत्पादन तथा उपभोग गर्ने अवधि जस्ता विषयलाई ख्याल गर्दै खरिद गरेको वस्तुको विल विजक लिएर मात्र रकम भुक्तानी गर्नुहुन अनुरोध छ’, विभागका निर्देशक तथा प्रवक्ता होमनाथ भट्टराईले भनेका छन् ।
त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रतिक्षालयमा रहेका टि एण्डक कफी सप तथा कन्फेक्सनरीहरू धेरै नै अवैध कारोबार र गतिविधि हुने गरेको छ । स्रोतका अनुसार ती पसलहरूबाट डलर, सुन, मोबाइल लगायतका सामग्रीहरू अबैध तस्करी हुने गरेका छन् ।
डलर तस्करीको अभियोगमा केही वर्ष अगाडि विवादास्पद व्यापारी सुवास श्रेष्ठ पक्राउ परेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर केही दिन थुनामा राखेको थियो । पछि श्रेष्ठ छुटेका थिए । श्रेष्ठले अन्तर्राष्ट्रिय टर्मिनलतर्फको अध्यागमन चेकजाँचमा रहेको प्रतिक्षालयमा पसल राखेका छन् । त्यो पसल निकै विवादित छ ।
कारबाहीमा परेका पसलहरूबाट नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अबैध रुपमा असुली धन्दा चलाउने गरेको आरोप छ । अधिकारीलाई मोटो रकम बुझाएर पसल सञ्चालन गरेकाहरू कारबाहीमा परेपछि ती व्यापारीहरू रिसाएका छन् । अधिकारीविरुद्ध व्यापारीहरूले जेहाद छेड्ने तयारी गरेको बुझिएको छ ।
विभागले विमानस्थलका पसलहरूमा अनुगमन र छापामारेर १५ लाख जरिवाना गराउनु भनेको कति बेथिति र लुटपाट रहेछ भन्ने तथ्य खुलेको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले कति बेथिति बनाएका रहेछन् भन्ने यो ठूलो प्रमाण पनि हो ।
दुर्घटनाको रिपोर्ट नआउँदै अधिकारीले मन्त्रीलाई यतीको जहाज चढाए, आफू भीआईपी सिटमा बसे
उता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यती एयरलाइन्सलाई चेख्याउने विभिन्न गतिविधिहरू गर्दै आएका छन् । प्राधिकरणको महानिर्देशक पदमा बसेर सरकारी सेवासुविधा लिएर अधिकारीले यती एयरलाइन्सको विजनेश बढाउन तथा प्रचार प्रसारमा खुब इमान्दारिताका साथ मेहनत गरेर लागेका छन् ।
पोखरामा माघ १ गते यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको थियो । दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनको प्रतिवेदन नआउँदै महानिर्देशक अधिकारीले केही दिन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई यती एयरको एटीआर जहाजमा चढाएर काठमाडौं–विराटनगरको यात्रा गराएका छन् । यती एयरलाइन्समा मन्त्री किराँतीलाई चढाएको तस्वीरहरू पनि अधिकारीले सरकारी अकाउन्टको समाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् । ती तस्वीरहरूमा यती एयरलाइन्सको लोगो देखिने गरेर तस्वीर खिचिएका छन् ।
यती एयरलाइन्सप्रति महानिर्देशक अधिकारीको रुचि निकै बढेर गएको छ । नेपालमा धेरै एयरलाइन्सहरू छन् । अधिकारीको रुचि यती एयरलाइन्समा हुनको रहस्यको खोजी हुन थालेको छ ।
हुन त आरोप लगाउनेहरूले यती एयरलाइन्समा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पनि सेयर छ भन्ने गर्छन् । यती समूहलाई तत्कालीन समयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले निकै संरक्षण गरेका थिए । राज्यका सम्पत्ति र जग्गाहरू कौडीको भाउमा ओलीले दिएर सबैलाई चकित बनाएका थिए ।
अहिले आएर ओलीको बाटो प्राधिकरणका महानिर्देशक अधिकारीले पछ्याइरहेका छन् । पोखरामा भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनाको जिम्मेवारी लिएर अधिकारीले महानिर्देशक पदबाट राजीनामा दिनुपर्ने थियो । नभए सरकारले अधिकारीलाई निलम्बन गरेर छानविन र अनुसन्धान गर्नुपर्ने थियो । तर, अधिकारीले राजीनामा दिएनन् । बरु आफूलाई बचाउन ठूलो कसरत गरे ।
अधिकारीले यती एयरलाइन्सलाई बचाउन र संरक्षण गर्न मन्त्रीलाई चाढाएर यात्रा गराउनेदेखि विभिन्नखालका सहुलियतहरू दिइरहेको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ ।
महानिर्देशक अधिकारीले केही दिन अगाडि काठमाडौंबाट विराटनगरसम्म मन्त्रीलाई यती एयरलाइन्सको जहाजमा राखेर यात्रा गराएका छन् । यात्रा गराउँदा आफू भीआईपी सिटमा बसेर महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई अगाडिको सिटमा लगेर राखिदिएका छन् । अधिकारीले भीआईपी सिटमा बसेको तस्वीर खिचेर सार्वजनिक पनि गरेका छन् । मन्त्रीलाई सामान्य यात्रु बस्ने स्थानमा लगेर राखेका छन् ।
जहाजमा यात्रा गर्दा प्रधानमन्त्री, मन्त्री, भीभीआईपी वा भीआईपीलाई जहाजको ढोका नजिकको सिटमा राख्ने गरिन्छ । किन भने यात्रु र भीआईपीलाई समस्या नहोस् भनेर त्यसो गरिएको हो । तर, मन्त्रीलाई अगाडि राखेर महानिर्देशक अधिकारीले ‘मन्त्रीभन्दा म ठूलो हुँ र भीआईपी म नै हुँ’ भन्ने सन्देश दिन भीआईपी बस्ने सिटमा आफू बसेर त्यो हदसम्मको निच कार्य गरेको रिपब्लिका दैनिकलाई प्राप्त मेलमा उल्लेख छ ।
प्राधिकरणका एकजना उच्च तहका कर्मचारीले भने, ‘म भएको भए पोखरा दुर्घटनाको रिपोर्ट नआउँदासम्म त्यो यती एयरलाइन्सको जहाजमा चढ्ने थिइन् । रिपोर्ट नआउँदै मन्त्री जस्तो व्यक्ति यतीको जहाजमा चढ्नु हुँदैन थियो । आफू भीआईपी सिटमा बसेर अधिकारीले मन्त्रीलाई साधारण यात्रु बस्ने सिटमा बसाल्नु उचित होइन । पदीय गरिमाको अपमान भएको छ ।’
प्राधिकरणका महानिर्देशक अधिकारीले यती एयरलाइन्सलाई धेरै माया गर्नुको अर्थ आर्थिक लाभ वा अन्य त्यस्तै खालका लाभ लिएका कारण हुन सक्ने चर्चा प्राधिकरणभित्र छ ।
यती एयरलाइन्ससँग निकट हुनुभन्दा अगाडि महानिर्देशक अधिकारी बुद्ध एयरलाइन्ससँग निकट थिए । बुद्धसँग उनको अहिले आएर सम्बन्ध बिग्रिएको छ । बुद्धलाई छाडेर यतीको प्रचार प्रसारमा अधिकारी लागेका छन् । हिमालयन एयरलाइन्सलाई पनि अधिकारीले निकै च्याप्ने गरेका छन् ।
महानिर्देशक अधिकारीले यती एयरलाइन्समा थुप्रै युवती र एयर होस्टेजहरूलाई जागिर पनि खुवाएको चर्चा प्राधिकरणभित्र छ । राम्रो सम्बन्ध भएका बेला अधिकारीले बुद्ध एयरमा पनि युवती र एयर होस्टेजहरूलाई जागिर खुवाएको आरोप छ ।
राष्ट्रपति चयनबारे छलफल गर्न माओवादीले डाक्यो पदाधिकारी बैठक
काठमाडौँ — राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।
माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमति अनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो ।
यद्यपि पछिल्लो समय माओवादी केन्द्र र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।