सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


‘नो ह्यान्डसेक’

प्रकाशित मिति । ६ फाल्गुन २०७९ ।

क्रिकेट स्कटल्यान्डले बलात्कार जस्तो गम्भीर फौजदारी अभियोग लागेका खेलाडीसँग आफूहरुले हात नमिलाउनेबारे क्यानलाई पहिल्यै इमेल लेखेर अवगत गराइसकेको थियो

काठमाडौँ — क्रिकेट स्कटल्यान्डले जे संकेत गरेको थियो, कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार त्यही भयो । नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीमा समावेश गरिएपछि क्रिकेट स्कटल्यान्ड र क्रिकेट नामिबियाले आफूहरू ‘सचेत रहेको’ यसअघि नै जनाएका थिए । संकेत गरेजस्तै शुक्रबार स्कटिस खेलाडीले लामिछानेसँग हात मिलाएनन् ।

नेपालले विश्वकप लिग २ मा शुक्रबार स्कटल्यान्डमाथि विजय हात पार्‍यो । ३ खेल खेल्नुअघि नै विजेता बनेको स्कटल्यान्डसँग प्राप्त नेपालको विजयभन्दा बढी चर्चा ‘नो ह्यान्डसेक’ को भयो । अन्तर्राष्ट्रिय संचारमाध्यमले यो घटनालाई संवेदनशील रुपमा लिएका छन् ।

क्रिकेटकै ठूलो अनलाइन ‘क्रिकइन्फो’ले सन्दीपसँग हात मिलाउन अस्वीकार गरिएको घटना प्राथमिकतासाथ उठाएको छ । खेलाडीसँग हात मिलाउन अस्विकार गर्नु राष्ट्रिय टिममाथि नै प्रतिष्ठाको विषय हो ।

खेल सकिएपछि दुवै टोलीले हात मिलाउने क्रिकेटको अन्तर्राष्ट्रिय परम्परा हो । स्कटिस टोलीले नेपाली ड्रेसिङ रुममा गएर बधाई दिने क्रममा अरू सबैसँग हात मिलाएका थिए । तर अग्रपंक्तिमा रहेका पूर्वकप्तान केयल कोएट्जरसहित प्रशिक्षक सिन बर्गरले पंक्तिबद्ध हिसाबमा अन्तिममा रहेका सन्दीपसँग हात मिलाएनन् ।

लगत्तै मैदानमा गएर ‘अन फिल्ड’ खेलाडीसँग हात मिलाउने क्रममा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले सन्दीपतर्फ हात अगाडि बढाए पनि ड्रेसिङ रुममै ह्यान्डसेक अस्वीकार गरिएकाले सन्दीपले हात बढाएनन् । स्कटल्यान्डका अन्य खेलाडीले भने सन्दीपतर्फ हातै अघि बढाएनन् । नेपाल र स्कटल्यान्ड टोलीका अन्य सबैले भने एकअर्कासँग हात मिलाएका थिए ।

स्रोतका अनुसार क्रिकेट स्कटल्यान्डले बलात्कार जस्तो गम्भीर फौजदारी अभियोग लागेका खेलाडीसँग आफूहरूले हात नमिलाउनेबारे नेपाल क्रिकेट संघ (क्यान) लाई पहिल्यै इमेल लेखेर अवगत गराइसकेको थियो । जवाफमा क्यानले आफ्नो मौलिक परम्परा भन्दै स्कटल्यान्डसँग ‘नमस्तेको प्रस्ताव’ राखेको थियो ।

क्यानले अघिल्लो शुक्रबार सन्दीपलाई समेट्दै १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको थियो । त्यसको दुई दिनअघि क्रिकेट स्कटल्यान्ड र क्रिकेट नामिबियाले सन्दीप लामिछानेको कानुनी अवस्थाका बारेमा आफूहरू ‘सचेत रहेको’ जनाएका थिए ।

‘आधुनिक समाजमा सबै खाले दुर्व्यवहारको कुनै स्थान छैन र क्रिकेट स्कटल्यान्ड त्यसविरुद्ध दृढताका साथ उभिन्छ, सन्दीपको निर्णय लिने कुरा सबै आईसीसी र क्यानको हो,’ क्रिकेट स्टकल्यान्डले विज्ञप्तिमा भनेको थियो । त्यस्तै क्रिकेट नामिबियाले आफूहरू कुनै पनि लैंगिक हिंसा, विभेद र दुर्व्यवहारको विपक्षमा रहेको विज्ञप्तिमार्फत जनाएको थियो ।

लामिछानेविरुद्ध भदौ २१ मा गौशाला प्रहरीमा नाबालिग बलात्कारको जाहेरी परेको थियो । जमैकामा सीपीएल खेलिरहेका लामिछाने नेपाल फर्कनेक्रममा असोज २० मा विमानस्थलबाटै पक्राउ परेका थिए । त्यसपछि काठमाडौं जिल्ला अदालतले उनलाई कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

केन्द्रीय कारागारमा थुनामा रहेका लामिछानेलाई पाटन उच्च अदालतले २० लाख धरौटीमा तारिखमा छाड्न आदेश दिएपछि उनी पुस २९ मा थुनामुक्त भएका थिए । उच्च अदालतको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ । सर्वोच्चले आगामी फागुन १२ मा उक्त निवेदनमा अन्तिम सुनुवाइ गर्दै छ ।

अदालतमा नाबालिग बलात्कारको मुद्दा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय टिममा समावेश गर्न नहुने व्यापाक सार्वजनिक आवाजलाई निस्तेज पार्दै क्यानले लामिछानेलाई लिएपछि त्यसको आलोचना भएको थियो । क्यानको निर्णयले महिला र बालबालिकाविरुद्ध हुने हिंसालाई प्रोत्साहन गर्ने र त्यसले पीडितलाई थप आहात बनाउने भनी चिन्ता व्यक्त गरिएको थियो । शुक्रबार त्रिवि क्रिकेट मैदानमा स्कटिस टोलीले आफूहरू कुनै पनि प्रकारका हिंसा र दुर्व्यवहारविरुद्ध दृढताका साथ उभिने भनी यसअघि नै गरेको प्रतिबद्धतामा अडिग रहेको देखाएको छ ।

याद आइरहने आफन्तको खोजी

कानुनले १८ वर्ष पुगेपछि बालगृहमा राख्न हुँदैन भनेको छ, तर जसको कोही छैन तिनलाई कहाँ राख्ने ? संरक्षकबिना बाहिर पठाउँदा त्यसबाट हुने जोखिमको जिम्मा कसले लिने ?

काठमाडौँ — ठेगानाबेगरका आफ्नाहरूको खोजीमा भौंतारिनुजति अर्को पीडा के हुन्छ र ? ठ्याक्कै हुलिया खुट्याउन नसके पनि आमा र भाइको अनुभूति गराउने दुई आफन्त सधैं यादमा आइबस्छन् । उनीहरूलाई खोज्न भनेर अन्दाजी १८ वर्षका धीरज राई नपुगेको ठाउँ सायदै छैन ।

उनले किरात राई समुदायका थुप्रै कार्यक्रम भ्याए । स्कुलमा पढ्दा चिनजान भएका साथीको घर धरान गए, बजार र गल्ली चहारे । उनी संरक्षणमा रहेको बालगृहले भृकुटीमण्डपस्थित बालबालिका खोजतलास केन्द्र १०४, नेपाल प्रहरी, सशस्त्र तथा क्याम्पसका प्राध्यापकहरूसँग सम्पर्क गर्‍यो । तर कोही पनि आफन्त दाबी गर्न आएनन् ।

चार वर्षअघि काठमाडौंकै एक बालगृह हुँदै आश्रय दिन पुर्‍याइएको नुवाकोटको सनराइज अनाथालयले समेत उनको तस्बिरसहित ‘कसैले यी बालक अथवा यिनका आफन्तलाई चिन्नुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला’ भन्ने विवरण राखेर पोस्टर सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा राख्यो । उनको सपनामा आउने अभिभावक, आफन्तहरू फेला परेनन् ।

अन्दाजी १८ वर्षका धीरज राई ।

आफ्नो घर, ठेगाना कहाँ हो ? घर छाड्दाको उनको बाल मस्तिष्कले ख्यान राखेन । सानैमा गाउँदेखि काठमाडौंसम्म कहालीलाग्दा धुमिल सम्झना छन् । १३ वर्षअघि अन्दाजी ५ वर्षको हुँदा एक जना गाउँले दाइले काठमाडौं ल्याएर कोही व्यक्तिको घरमा बाल श्रमिक राखेर छाडे ।

त्यसपछि छोडिगएका दाइ भेट्न कहिल्यै फर्केनन् अथवा उनले चालै पाएनन् । ती गाउँले दाइ को थिए, उनी अड्कल काट्न पनि सक्दैनन् । अरू दुई/तीन घरमा बाल श्रमिक भएर काम गरिसकेपछि प्रहरीले उद्धार गरेर बालगृहको जिम्मा लगाएका थिए । प्रहरीबाट उद्धार हुँदा आफू अन्दाजी नौ वर्षको रहेको उनी सम्झन्छन् ।

आफ्नो परिवार छोडेर काठमाडौं आउँदा बाआमा र भाइ गाउँको एउटा नेपाली कागज उद्योगमा काम गर्थे । कागज उद्योगको नजिकै ठूलो ढुंगा थियो । जहाँ उनी भाइसित खेल्न जान्थे । कागज उद्योगमुन्तिर एउटा विद्यालय थियो । यसबाहेक बाआमाको नाम, गाउँको ठेगाना उनलाई याद छैन । काठमाडौंमा आएर बाल श्रमिक बसेको एक घरमा घरमूलीको नाम ईश्वर भण्डारी र उनका छोरालाई आयुष भनेर बोलाउने गरिन्थ्यो भन्ने याद गर्छन् । भण्डारीको घरछेउमा एउटा ठूलो विद्यालय थियो तर नाम के थियो थाहा पाउँदैनन् ।

काठमाडौं आउँदै गर्दा गाउँबाट ६/७ घण्टा हिँडेर धरान बजार हुँदै आएको बताएको आधारमा उनी आश्रित बालगृहहरूले धनकुटा, भोजपुर, ताप्लेजुङलगायत पूर्वी भेगमा आफन्तको खोजी गर्न प्रहरी, सशस्त्र तथा क्याम्पसका प्राध्यापक, बालबालिका खोजतलास केन्द्रमार्फत पहल गरे । आमाले सानैदेखि ‘आफ्नो कुल, थर बिर्सनुहुन्न, हामी राई हौं’ भन्ने गर्थिन् ।

यही आधारमा उनले आफू राई समुदायको नै भएको बताउने गरेकाले पूर्वी भेगमा खोजी गरेको सनराइज अनाथालयमा कार्यक्रम व्यवस्थापक राजेन्द्र लामाले सुनाए । ‘उनले धरान झरेको, आफूलाई आमाले राई हो भनेर भन्ने गरेको आधारमा खोज्यौं, तर भेट्न सकिरहेका छैनौं,’ उनले भने, ‘उनका बाले जहिल्यै आमालाई पिट्थे रे, त्यही भएर बुबालाई उति खोज्दैनन्, सपनामा आमा देखेँ, कहिले भाइ देखेँ भन्छन्, यो कुराले उनलाई धेरै मानसिक तनाव हुने गरेको छ ।’

कक्षा ८ मा अध्ययनरत उनलाई बसुन्धराको एक होस्टलमा राखेर बालगृहले पढाइरहेको छ । पारिवारिक माहौलको अनुभव गराउन स्कुल पढ्दै चिनजान भएका धरानका एक साथीसँग पनि चाडपर्वमा पठाउने गरिएको छ । ‘धरानतिर जाँदा आमा देखिहाल्छु कि, आफन्त भेटिहाल्लान् कि भनेर बजारबजार हेर्छन्, अनि निराश हुन्छन्,’ लामाले थपे, ‘राईहरूको कार्यक्रममा सहभागी हुन कहिल्यै छुटाउँदैनौं, कार्यक्रममा जाँदा जति उत्साहित भएर निस्केका हुन्छन्, फर्किंदा नरमाइलो मान्छन् ।’

सनराइज अनाथालय आइपुगेको चार वर्षदेखि नै उनीहरूले धीरजका आफन्त खोजिरहेका छन् । यस अनाथालयमा उनीजस्तै अरू तीन जनाको पनि परिवार खोज्दा पत्ता लागिरहेको छैन ।

राष्ट्रिय बाल अधिकार परिषद्को ‘बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन ०७९’ अनुसार देशभर ४३ जिल्लामा सञ्चालित ४१७ बालगृहमा १०,९०५ जना बालबालिका (बालक ५,०८१ र बालिका ५,८२४) संरक्षित छन् । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २३७ बालगृह छन्, तिनमा ५,८९७ बालबालिका छन् । यी सबैजसोले सनराइज अनाथालयकै जसरी कुनै न कुनै समस्या झेलिरहेका छन् । पारिवारिक पुनर्मिलन हुन नसकेका, आत्मनिर्भर नभइसकेका १८ वर्ष नाघेकाहरूको चाहना, भावना र सरकारको मापदण्डबमोजिम व्यवस्थापन गर्न बालगृहहरूलाई हम्मे परिरहेको छ ।

‘बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९’ अनुसार १८ वर्षभन्दा कम उमेरकालाई मात्रै बालगृहमा राख्न मिल्छ । उनीहरूलाई पारिवारिक वातावरणमा हेरचाह, खानपान, पढाइलेखाइलगायत संरक्षण गर्नुपर्छ । १८ वर्ष पूरा भएकाहरूलाई बालगृहले स्थानीय बालकल्याण अधिकारी र सम्बन्धित स्थानीय तहको रोहबरमा पारिवारिक पुनर्मिलन गर्नुपर्छ । पारिवारिक पुनर्मिलन गर्न नसकेका वा माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका बालबालिकाको सवालमा बालगृहले उनीहरूको अभिलेख राख्ने, सीपमूलक तालिम, पालनपोषण र जागिरमा लगाउने, आत्मनिर्भर बनाउँदै पुनःस्थापनामा सहयोग गर्ने गर्नुपर्छ ।

बालगृहहरूको महासंघ नेपालकी केन्द्रीय अध्यक्ष दुर्गादेवी मैनालीले बालगृहलाई हालै लागू भएको मापदण्डअनुसार १८ वर्ष पूरा गरेका बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेको बताइन् । ‘पहिले दया, मायाले हतारमा बालगृह खोलिए पनि अहिले नीति नियमले बाँधको छ, नीतिअनुसारका संरचनाहरू तयार गरुन्जेल केही समय समस्या हुन सक्छ,’ उनले भनिन् ।

बूढानीलकण्ठस्थित अनाथ तथा असहाय बालबालिकाको विकास संघका अध्यक्ष प्रकाशकुमार नेपालीले पनि मापदण्डहरू अक्षरशः पालना गर्न समस्या भइरहेको बताए । ‘उमेरअनुसारको पढाइ हुँदैन । हाम्रोमा एक जना १८ वर्ष पूरा भएका छन्, ७ कक्षामा पढ्दै छन्,’ उनले भने, ‘बालगृहमा राख्न मिल्दैन भनेर भएन, मानवीयताको हिसाबले हेर्नुपर्छ ।’ उनको बालगृहमा १८ बालबालिका छन् । जसमध्ये १८ वर्ष कटेका एक जना कक्षा ७ मा छन् । १७ वर्षका अर्का बालक कक्षा ११ पढ्दै छन् ।

ललितपुरमा २६ वर्षदेखि बालगृह सञ्चालन गर्दै आएकी रीता राईले पुनर्मिलन हुन नसकेकालाई आफ्नै घरमा राखेर स्वयंसेवामा लगाउने, ससाना बालबालिकालाई ट्युसन पढाउन लगाउने र कलेज पढाउने गरेको बताइन् । कतिपय अवस्थामा प्रमाण जुटाउन नसकेर जन्मदर्ता र नागरिकता बनाउन समस्या भइरहेको उनको भनाइ छ । ‘तन्नेरी भएका छन्, किन नागरिकता पाएनौं भनेर सोध्छन्,’ उनले भनिन्, ‘परिवार नभेटिएकालाई एसईई सकिनेबित्तिकै आफ्नै घरमा राख्छु, राज्यले घर बनाइदिएको छैन कहाँ राख्ने ? यतिन्जेल पालिहाले अन्तै जाओ भनेर भन्न मिलेन ।’

मापदण्डअनुसार बालगृह कम्तीमा २० जना बालबालिकालाई संरक्षण दिन सक्ने खालको हुनुपर्छ । जहाँ कम्तीमा १२ कक्षा पास गरेको एक जना बाल गृह प्रमुख वा व्यवस्थापक, दुई जना हेरचाहकर्ता, एक जना भान्से/सहयोगी, एक जना शिक्षक, एक जना मनोविमर्शकर्ता, स्वास्थ्यकर्मी र एक जना खेल मनोरञ्जन सहयोगी हुनुपर्छ ।

बालबालिकासम्बन्धी नियमावलीले भने बाल गृहले १८ वर्ष पुगेकालाई सोही बालगृहका रोजगारी दिएमा नियुक्ति र पारिश्रमिक, सेवा र सुविधासमेतको प्रत्याभूति हुने गरी व्यवस्था गर्नुपर्ने हुन्छ । बालगृहमा रहेका बालबालिका १८ वर्ष उमेर पूरा भइसकेपछि स्वतन्त्र रूपमा बस्न चाहेमा बालगृहले स्वतन्त्र सामूहिक बसोबासका लागि सहयोग गर्न सक्छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बुद्धिस्ष्ट बालगृहकी संस्थापक रहेकी महासंघकी अध्यक्ष मैनालीले पारिवारिक पुनर्मिलन हुन नसकेकालाई सामाजिक पुनःस्थापनाका लागि नागरिकता बनाइदिएपछि व्यापार, व्यवसायमा लगाइदिने र विदेश जान्छु भन्नेलाई पठाउने गरेकी छन् । छुट्टै बस्नेलाई चार/पाँच जनाको समूहमा क्षमताअनुसारको जागिर खोजिदिएर फ्लाट खोजेर राख्ने गर्छिन् ।

कतिपयलाई बालगृहको इन्चार्ज राख्ने, सहकारीको मार्केटिङमा काम लगाइदिने गर्छिन् । यति गर्दा पनि व्यवस्थापन गर्न चुनौती छ । १७ जना बालबालिका रहेको गृहमा १८ भन्दामाथि र २२ वर्षभन्दा मुनिका ३ जना छन् । सबैलाई एउटै कम्पाउन्डभित्र छुट्टाछुट्टै फ्लाटमा संरक्षण दिइरहेको उनले बताइन् । ‘राज्यले १८ वर्ष पुगेपछि बालगृहमा राख्न हुँदैन भनेको छ तर संरक्षक नभएकालाई कहाँ राख्ने ? बाहिर छोड्देर गलत काम गर्‍यो भने कसले जिम्मा लिने ? उनले भनिन्, ‘जन्मदर्ता र नागरिकता बनाइदिनै समस्या छ, बालगृहले त पहल गरिदिने हो ।’

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ जन्मदर्ता र नागरिकता बनाउने कुरामा कानुनी समस्या आइरहेको बताउँछन् । ‘महिनामा यस्ता समस्या १०/१५ वटा आउँछन्, अनुसन्धान गरेर सहजीकरण गर्छौं,’ उनले भने । १८ वर्षभन्दा माथिकाको व्यवस्थापनबारे आफूहरूलाई पनि गुनासो आउने गरेको उनले बताए । ‘मापदण्डअनुसार व्यवस्थापन गर्न सरकार र बालगृहबीच समन्वय र सहकार्य गर्नेछौं,’ उनले भने ।

सरकारको स्रोतसाधनमा सञ्चालन भइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) मा पनि यस्तै समस्या छ । बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेका अनुसार संरक्षणमा रहेका बालबालिकालाई एसईई पास गरिसकेपछि बिदाइ गर्ने चलन थियो । कतिपयलाई बाल मन्दिरमा र बाहिर काम लगाइन्थ्यो । अहिले कक्षा ११ र १२ समेत पढाउन थालेका छन् । यी कक्षामा अध्ययन गर्नेहरू नक्साल, सिफल, दोलखा, पाँचखालका गरेर १५ जना छन् । ‘जसका अभिभावक नै हुँदैनन्, उनीहरूलाई बिदा गरे के गरी ‘सर्भाइभ’ हुन्छन् भन्ने चिन्ता हुन्छ ।

यस्ता समस्यामा परेकालाई सरकारले घर बनाइदिनुपर्छ,’ उनी भन्छिन्, ‘बालगृहमा आइपुगेका बालबालिका हेर्ने सरकारको दायित्व हो, तर पर्याप्त बजेट नै दिँदैन ।’ बाल मन्दिरमा मानसिक असन्तुलन भएका, अपांगता भएका, आफन्त फेला नपरेका ५० वर्षभन्दा माथिका वयस्कलाई पनि एउटै कम्पाउन्डभित्र राखिएको छ ।

बालगृह महासंघ प्रदेश १ का सचिव जीवन घिमिरेले १८ वर्ष पूरा गरेका बालबालिकालाई सामूहिक रूपमा व्यवस्थापन गर्न राज्यले हरेक प्रदेशमा आवास गृह बनाइदिनुपर्ने बताए ।


Last Updated on: February 18th, 2023 at 12:22 pm


१८४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया