
मोटरसाइकलको कर तिर्न बाँकी छ ? फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट
प्रकाशित मिति । ५ फाल्गुन २०७९ ।
काठमाडौं । लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले पाँच वर्षको जरिवाना छुट दिने भएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५–७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने भएको हो । बिहीबार एक सूचना प्रकाशित गरि यस्तो जानकारी दिएको हो ।
कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ ।
पितृसत्ताले खोसेको पहिचान
नेपाली महिलाको देश छैन; उनीहरूलाई नेपाली राज्यले चिन्दैन । समाजले चिथोर्छ अनि बजारले नंग्याउँछ पनि । घरपरिवार, बजार, समाज, राज्य र तिनका हाँगाबिँगा मर्दाना प्रकृतिका छन् र तिनले पुरुषत्व संस्थागत गर्नतिर सम्पूर्ण शक्ति खर्चिन्छन् ।
मधेश प्रदेशकी सीमा (परिवर्तित नाम) बाह्र वर्षकी हुँदा आफ्नै विद्यालयका गुरुद्वारा सीमापारिको सहरको सर्कसमा बेचिइन् । उनी केही वर्षपछि नेपाल त फर्किइन् तर घरमा पस्न स्वीकृति पाइनन् किनकि उनका बाबुले आफ्नो अनुमतिबेगर घरबाट हिँडेको र परिवारको इज्जत फालेको भन्दै आफ्नो व्यवस्था आफैं गरी बाहिरै बस्नू भने ।
नेपाल फर्कंदा उनी बालिग भइसकेकी भए पनि नेपाली नागरिकताको वर्तमान प्रावधान अनुसार नागरिक भइसकेकी थिइनन् । अनि नागरिक हुने सम्भावना पनि पातलिँदै थियो किनकि घर फर्कन नदिने मनसायका साथ बाबुले जारी गरेको ‘घरमुली उर्दी’ सँग उनी न लड्न सक्थिन् न त जबर्जस्ती घरमा प्रवेश गर्न नै । आमा, दिदीहरू र भाइ त उनलाई घरमै बसेको देख्नै चाहन्थे तर यो कुरा उनीहरूको निर्णयबाहिरको हुन्थ्यो किनकि परिवारका सबैजसो निर्णय बाबुले गर्थे । र त्यो बाबुको ‘पारिवारिक इजलास’ लाई चुनौती दिनु भनेको छोराछोरी र श्रीमतीको औकातभन्दा परको विषय थियो ।
यस्तो परिपाटी अद्यापि हाम्रो समाजमा छँदै छ । सब चुपचाप बस्नुको विकल्प थिएन । निर्णयकर्ता त बाबु, श्रीमान् लगायतको भूमिकामा रहेका पुरुषहरू नै हुन्, केही अपवादबाहेक, यो नेपाली समाजको नबदलिएको चरित्र हो । अझ कतिपय सांस्कृतिक समूह र वर्गका लागि त महिला भनेको परिवारका लागि घरेलु श्रमिक हो भने अधिकांशका लागि सौन्दर्य हो, इज्जत हो, शोभा हो, गृहलक्ष्मी हो; तर कसैका लागि पनि सार्वभौम नागरिक होइन ।
अनि जापानकी प्रसिद्ध लेखिका मातासु योयोरीले भनेझैं महिला पुँजीवादी बजारका लागि एउटा वस्तु हो जसलाई यौन र गैरयौन श्रमका साथै उत्पादन प्रबर्धनका लागि मनलाग्दी प्रयोग गर्न सकिन्छ ! यही होइन त हाम्रो समाजले समग्र रूपमा निर्माण गरेको महिलाको पहिचान ?
बाबुको आदेश सुनेपछि सीमा घरको दलिनमा राखेको आफ्नो झोला लिएर निस्किन् । तर जाने कहाँ, उनीसँग उत्तर थिएन । त्यति मात्र होइन, एउटी युवती आफ्नो ‘घर’ भनिएको चौघेराबाट साँझपख एकाएक निकालिएकी थिइन् र लैंगिक दृष्टिकोणबाट जहिल्यै विषालु नंग्रा ठड्याएर बसिरहेको समाजको दोबाटामा पुगेकी थिइन्, भय, डर, निराशा, आक्रोश र त्रासले भरिएको मनोविज्ञानसहित ।
उनीसँग हिँड्ने बेला आमाले रुमालमा पोको पारेर थमाएका गहुँका दुइटा सुक्खा रोटी थिए र भाइले आफ्ना खुट्टाबाट निकालेर दिएका प्वाल परेका एक जोर चप्पल ! उनकै शब्दमा, ‘जन्मघरको चिनो’ थिए भाइले दिएका खिइएका चप्पल । अलिक पर दिदीको घर थियो, उनले त्यहीँ रात बिताइन् । र, भोलिपल्ट लागिन् जनकपुरतिर, बाँच्ने उपायको खोजीमा !
कैयौं हन्डर र हिंसाका पर्खालसँग जुध्दै सीमा अनेक प्रकारका श्रम गरेर जीविका चलाउँदै थिइन्, होटलमा काम गर्ने स्थानीय एक युवाले बिहे गर्छु भनी महिनौं यौन शोषण गर्यो । अलिक पछि ‘सिलिगुडीतिर राम्रो काम पाइन्छ, उतै बिहे गरी बसौंला’ भनी जान कर गरेपछि उनी मन नलागे पनि सहमत भइछन् । किनकि उनीसँग जीवनमा केही रोज्ने होइन, बाँच्ने झिनो त्यान्द्रोको मात्र आवश्यकता थियो त्यति बेला ।
अनि यौनिकताको तातो फलामले डामिएको उनको पहिचानको सन्दर्भमा समाजमा बुझिएको, भनिएको र व्यवहारमा उतारिएको सामाजिक सम्बन्धका नातागोता, आफ्ना–पराईको कुनै अर्थ थिएन । आशंकाबीच अर्को जोखिम उठाइन् र लागिन् त्यो युवाको पछिपछि भारततिर ! तर सिमाना काट्ने बेला उनी भागेर दोस्रो पटक बेचबिखनमा पर्ने सम्भावनाबाट जोगिन सकिछन् । यस्तै उतारचढावका चरण पार गर्दै उनी एक स्थानीय महिलाको सहयोगमा एउटा गैससको आश्रयमा पुगिन् र आफूलाई सुरक्षित महसुस गरिन् ।
दाताको अनुदानमा सञ्चालित गैससका अल्पकालीन कार्यक्रमहरूद्वारा मनोविमर्श लगायतका जीवनोपयोगी सरसल्लाहले उनमा जीवनप्रति अलि आशा जाग्यो । केही सीपमूलक तालिम पनि लिइन् जसले उनमा आफ्नै व्यवसाय गर्ने ऊर्जा थपिदियो । उसै त लैंगिक रूपमा विषाक्त नेपाली समाज, त्यसमाथि झन् उनी जन्मेहुर्केको मधेश प्रदेशको साँघुरो समाज !
तैपनि उनले केही मनकारी हातहरू र आफ्नै दिदीभिनाजुबाट थोरै सहयोग जम्मा पारी आफूले जानेको सीप बमोजिम महिला सैलुन खोल्ने विचार गरी तयारी थालिन् । सैलुन दर्ता लगायतका काममा दिदीभिनाजुले सहयोग गर्ने भए तर प्रक्रियामा गाँठो पर्यो नागरिकताको एउटा कागजको खोस्टोले गर्दा ।
अब सीमालाई भावनात्मक रूपमा नाता सम्बन्ध नरहे पनि रगतको नाताले तय हुने आफ्नो कानुनी पहिचानको भीख माग्न उनै उर्दीवाला बाबुको शरणमा जानुको विकल्प रहेन, जसले पितृसत्ताका पर्खालहरूले घेरिएको घररूपी स्थानबाट छोरीलाई निकालेका थिए । तर सीमालाई बाबुको सामना गर्ने आँट अझै आइसकेको थिएन ।
उनले त्यो पर्खालभित्र पसी आफ्नो पहिचान खोज्नका लागि समन्वय गरिदिन दिदीभिनाजुसँग सहयोग मागिन् । र दिदीभिनाजुहरूले सक्दो प्रयास पनि गरे ! निकै प्रयासका बावजुद उनले बाबुबाट न नागरिकताका लागि सहयोग पाइन् न त आफ्नो जीविकोपार्जनको आधार ठानिएको सैलुन नै खोल्न सकिन् ।
त्यसो त नागरिकता व्यक्तिविशेषको राज्यसँगको औपचारिक सम्बन्धलाई स्थापित गर्ने कानुनी धारा मात्र नभई सामाजिक न्यायप्राप्तिको जग र व्यक्तिको राज्यप्रतिको दायित्व निर्धारण गर्ने आधार पनि हो, तर नेपालको नागरिकता प्राप्तिको प्रावधान सामाजिक न्याय स्थापित गर्ने होइन बरु असमानताका छिद्रहरूलाई झन् गहिर्याउने खालको छ भन्नेमा सायदै द्विविधा होला । किनकि जतिसुकै व्याख्या तन्काए पनि, तर्क–वितर्क गरे पनि र जतिसुकै दीपावली मनाए पनि कानुनी भाषामा नेपाली महिलाको देश छैन; उनीहरूलाई नेपाली राज्यले चिन्दैन ! त्यति मात्र होइन, समाजले चिथोर्छ अनि बजारले नंग्याउँछ पनि ।
त्यसैले त हाम्रो घरपरिवार, बजार, समाज, राज्य र तिनका हाँगाबिँगा मर्दाना (मास्कुलाइन) प्रकृतिका छन् र तिनले पुरुषत्व संस्थागत गर्नतिर सम्पूर्ण शक्ति खर्चिन्छन् । अनि त्यो पुरुषत्व पनि नेपाली समाजमा विशिष्ट प्रकृतिको पाइन्छ जसले सबै सांस्कृतिक समुदायका पुरुषभन्दा पनि निश्चित जाति, वर्ग, समुदाय र पारिवारिक पृष्ठभूमिबाट आएकाहरूको सोच र विचारलाई राज्यका स्थानीयदेखि शीर्ष तहसम्मका सबैजसो निकायमा संस्थागत गर्न वातावरण बनाउनेतिर जोड दिन्छ ।
यसलाई पुष्टि गर्नका लागि नागरिकताको प्रावधान एउटा उत्कृष्ट उदाहरण हो । संघीय लोकतन्त्रको खोलमा परिवर्तनको नेतृव गरेका हाम्रा पुराना–नयाँ सबै खाले राजनीतिक पार्टीहरूले व्यवहारमा प्रयोग गरेको लैंगिक समावेशीको खाका यसैको अर्को उदाहरण हो ।
यस्ता थुप्रै उदाहरण हामी सम्झन सक्छौं । तर सीमाहरू बेचिएकै आधारमा सामाजिक रूपले घरपरिवारबाटै निकालिनुपर्ने, आर्थिक रूपले कहिले गैससको शरण त कहिले यौन बजारमा लिलामी हुनुपर्ने अवस्थाले हाम्रा राजनीतिक नाराहरू; सामाजिक न्यायका अन्तर्रास्ट्रीय, क्षेत्रीय र राष्ट्रिय प्रतिबद्धताहरू; नवउदारवादका धरातलमा तय गरिएका आधारभूत मानव अधिकारका मापदण्ड र तिनलाई संस्थागत गर्न भनेर लिपिबद्ध गरिएका समानताका हरफहरू सबै एकै पटक बेकामे हुन्छन् ।
इज्जतको खोलले ढाकिएको लैंगिक यौनिकता र त्यो यौनिकताको धारमा रेटिएको महिला पहिचान नंग्याउन पुरुषमैत्री राज्यले जेजति हर्कत गर्छ, त्यो बेलाबेला सतहमा आइरहने तर राज्यले ढाकछोप गर्ने किशोरी बलात्कारका घटनाहरूले पनि कैयौं पटक प्रस्ट पारिसकेका छन् ! राज्यलाई र उसको उत्तरदायित्वबिनाको नाफाखोर पुँजीवादी बजारलाई पल शाह र सन्दीप लामिछानेहरू चाहिन्छन् न कि तिनले प्रताडित गरेका किशोरीहरू । हो, त्यसै भयो सीमाको जीवनमा पनि ।
किशोरी अवस्थामै आफ्नै गुरुको भूमिकामा रहेको मानव तस्कर र भविष्यको जीवनसाथी बन्ने भनेर दृश्यमा आएको युवाका बारेमा उनले आफूले आश्रय लिएको गैससमार्फत उजुरी गर्दा न प्रशासनले उजुरी सुन्यो न त उनका बाबुको भूमिकामा रहेका ‘घरमुली’ ले साथ दिए । र त उनले जीविकोपार्जनका उपायहरू मौसम अनुसार फेर्नुपर्छ किनकि व्यक्तिका अनुभूतिहरू, प्रसिद्ध महिलावादी लेखिका इस्टिफी ज्याक्सनले आफ्नो अनुसन्धानमा भनेझैं, ऊ बाँचेको समाजले निर्देश गर्छ न कि उसको राज्यले लिपिबद्ध गरेका समानताका विभेदी हरफहरूले । यो तर्क राज्यविहीन महिलाको सन्दर्भमा अझ बढी लागू हुन्छजस्तो लाग्छ ।
वर्षौं भइसक्दा आज पनि सीमा औपचारिक रूपमा नेपाली नागरिक हुन सकेकी छैनन् तर उनलाई नंग्याएको नेपालको यौन बजारले एउटी अनागरिक आमा बनाइसक्यो र हालसम्म सहयोग गरेका मनकारीहरूबाट टाढा पुर्यायो । किनकि पहिलेको कठिन अवस्थामा उनलाई साथ दिने दिदीभिनाजु पनि अहिले नजिक छैनन्, न त उनलाई सुरुआती समयमा आश्रय दिने गैससहरू नै ।
उनले सहयोग माग्न जाँदा, गैससका पदाधिकारीहरू सीमाजस्ता एकल आमाहरूलाई सहयोग गर्न दाताको अनुदान छैन भन्छन् अनि दिदीभिनाजुलाई अब इज्जतको डर लाग्न थालेको छ । किनकि सीमा अब किशोरी बहिनी, अनागरिक महिलाबाट बाबुको ठेगान नलागेको बच्चाको अनागरिक आमा बनिसकेकी छन् ! यही होइन त हामीले भन्ने गरेको सामाजिक न्यायको मर्म ?
सामाजिक अपहेलना, प्रशासनिक अर्घेल्याइँ, पारिवारिक हेला, गैससको पनि असमर्थता र राज्यको बहिष्करणका बीच आफूजस्तै अन्य एक–दुई युवतीसँगै बाँच्ने उपायको खोजीमा काठमाडौं उक्लेकी सीमा सिंहदरबारको नाकैमुनि ठेलामा कहिले तरकारी त कहिले चटपटे बेची बिहान–बेलुका आमा–छोराका लागि जाउलो जुटाउँदै थिइन् । तर नेपाली समाजको वर्गीय चारित्रिक विभेद नबुझेका सम्भ्रान्त जमातको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरका सनकी प्रमुखले सीमाको ठेलागाडा पनि हुत्त्याइदिए ।
यो लामो शृंखला पार गर्दैगर्दा अब सीमा नेपाली समाजले भन्ने गरेको र चाहेको सौन्दर्य, घरको इज्जत, समाजको शोभा, उनको बच्चाको पत्तो नलागेको बाबुको घरकी गृहलक्ष्मी र आफ्नो प्रदेशका नगरहरूबाट लखेटिएर रोजीरोटीका लागि सम्भावना देखेको बालेनहरूको सहरकी श्रमिक पनि होइनन् । आखिर सीमा अब को हुन् त ? नेपाली राज्य संरचनालाई सोध्नुपर्ने सम्भवतः यो नै आजको प्रमुख प्रश्न होला, यदि महिलाको सार्वभौम पहिचानलाई पितृसत्ताको विषाक्त जन्जिरबाट फुत्काउने हो भने ।
मुलुकको प्रत्येक प्रदेश र गाउँमा, सबै सांस्कृतिक समुदायमा, सबै राजनीतिक विश्वासमा हजारौं होइन, लाखौं सीमा छन् । ती सबै आफ्नै समुदाय, संस्कृति र राजनीतिक आस्थाहरूबाट पनि अपरिचित छन् । तिनको पहिचानको मुद्दा कहीँकतै पनि कहिल्यै चुनावी र सामाजिक न्यायको मुद्दा हुँदैन, किनकि ती अपरिचितहरू नागरिक होइनन्, केवल यौन बजारमा मनलाग्दी लिलाम गर्न सकिने वस्तु हुन् जुन लिलामीमा सहरिया धनाढ्य, पुरुष–नियन्त्रित समाजले गण्यमान्य भनिएका मात्र होइन, सुरक्षा र अन्य प्रशासनिक मुखियाहरू, राजनीति गर्ने नेतासमेत सामेल हुन्छन् र तिनै अनागरिकहरूको यौन र गैरयौन श्रमको दोहन गर्छन् । यही होइन हाम्रो राज्यले भन्ने गरेको सामाजिक न्यायको चरित्र ?