
६४ वर्षपछि विराटनगर विमानस्थलको रूप फेरिँदै
सवा तीन अर्ब लगानीमा देशकै दोस्रो ठूलो टर्मिनल भवन र धावनमार्ग लम्ब्याएर १७ सय ७० मिटर पुर्याइँदै
प्रकाशित मिति । ५ फाल्गुन २०७९ ।
आन्तरिक हवाई यात्रुको चाप बढ्दै गएपछि विराटनगर विमानस्थलको स्तरोन्नति सुरु भएको छ । करिब तीन अर्ब ३० करोड लगानीमा विमानस्थलमा नयाँ सुविधासम्पन्न टर्मिनल भवन निर्माणका साथै धावनमार्ग पनि विस्तार गर्न लागिएको हो ।
नयाँ टर्मिनल भवनको सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिलान्यास गरेका छन् । ०२५ सालमा बनेको आधा शताब्दी पुरानो टर्मिनल भवनको उत्तरतर्फ नयाँ आधुनिक भवन निर्माण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
यस्तै, विमानस्थलको धावनमार्ग पनि थप दुई सय ७० मिटर लम्ब्याएर १७ सय ७० मिटर पुर्याइने भएको छ । हाल १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग सञ्चालनमा छ । धावनमार्ग विस्तार भएपछि हवाई उडान थप सुरक्षित हुने उनले बताए ।
२२ असार ०१५ मा सञ्चालनमा आएको विराटनगर विमानस्थलको ६४ वर्षपछि रूप फेरिने भएको हो । विमानस्थलमा टर्मिनल भवन, जहाज पार्किङ, एक्सेस रोड, ल्यान्डस्केपिङ, धावनमार्ग विस्तारलगायत काम सम्पन्न गर्न भ्याट र पिएससहित करिब तीन अर्ब ३० करोड लगानी लाग्ने अनुमान क्यानको छ ।
विराटनगर विमानस्थल पूर्वी नेपालको ‘हब’ विमानस्थल हो । यहाँबाट काठमाडौंसहित तुम्लिङटार, भोजपुर, पोखरा, माउन्टेन फ्लाइटलगायत विभिन्न गन्तव्यमा नियमित उडान हुन्छ । नयाँ टर्मिनल भवन निर्माण, पार्किङ, एक्सेस रोड, ल्यान्डस्केपिङका लागि भ्याट र पिएसबाहेक दुई अर्ब ४२ करोडमा निर्माण गर्ने केसी–डाँफे जेभीसँग ठेक्का सम्झौता भइसकेको छ ।
आगामी तीन वर्षभित्र निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लिखित सबै कामहरू सम्पन्न गरिसक्नुपर्ने क्यानका महानिर्देशक अधिकारीले बताए । तर, धावनमार्ग विस्तारका लागि भने अझै ठेक्का सम्झौता भइसकेको छैन । ‘छिट्टै धावनमार्ग विस्तारका लागि पनि ठेक्का आह्वान हुँदै छ,’ क्यान स्रोतले भन्यो, ‘धावनमार्ग विस्तारका लागि करिब २० करोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।
पुरानो टर्मिनल भवनलाई यथावत् अवस्थामै राखेर अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अहिले भइरहेको टर्मिनल भवन पुरानो, साँघुरो र सुविधाविहीन भएपछि क्यान नयाँ टर्मिनल बनाउन कस्सिएको हो । क्यानले विराटनगरसहित भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्ला विमानस्थलको पनि स्तरोन्नति गर्दै छ ।
दोस्रो ठूलो टर्मिनल भवन
११ मंसिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले टर्मिनल भवनको निर्माण सुरु गरिसकेको क्यानका प्रबन्धक नलविक्रम थापाले बताए । ‘पुरानो भवनलाई स्तरोन्नति गर्ने होइन, अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउने हो,’उनले भने, ‘अब कम्तीमा २०–२५ वर्षलाई यात्रुको चाप थेग्ने गरी टर्मिनल बनाउँछौँ ।’
नयाँ टर्मिनल भवन आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि भविष्यमा क्रस बोर्डर उडान–अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुलाई सोही टर्मिनल भवनबाट सुविधा दिन सकिने व्यवस्था मिलाइएको महानिर्देशक अधिकारीको भनाइ छ । तर, धावनमार्ग विस्तार भने तत्काल अन्तर्राष्ट्रिय मापदण्डअनुसार २५ सय मिटर लामो नहुने भएको हो ।
यसअघि संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको साझेदारीमा विराटनगरमा एयरबस ३२० वा सोसरहका जहाज उडान–अवतरण गर्न सक्ने गरी २५ सय मिटरको धावनमार्ग बनाउने गुरुयोजना तयार भएको थियो । तर, बजेटको अभावमा जग्गा अधिग्रहण प्रक्रिया नै रोकिएपछि अन्तर्राष्ट्रिय मापदण्डको धावनमार्ग बनाउने काम पनि रोकिएको छ ।
नयाँ टर्मिनल भवन १६ हजार दुई सय ७७ वर्गमिटर क्षेत्रफलको हुनेछ, जहाँ पिक आवरमा १८ सय हवाई यात्रुलाई सेवा दिन सकिनेछ । यो टर्मिनल भवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो हुने महानिर्देशक अधिकारीले बताए ।
उनका अनुसार भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १५ हजार वर्गमिटर र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ हजार वर्गमिटरको टर्मिनल भवन छ । आन्तरिक विमानस्थलतर्फ भने देशकै ठूलो टर्मिनल भवन हुनेछ । देशमा अहिले तीनवटा अन्तर्राष्ट्रियसहित ५३ वटा विमानस्थल निर्माण भएका छन् ।
टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भिआइपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायत आधुनिक सुविधा रहनेछन् । यस्तै, पुरानो टर्मिनल भवन भएको ठाउँमा पार्किङस्थल बनाउने योजना छ ।
टर्मिनल भवनमा एभिएसी, सिसिटिभी, स्मोक डेस्टिनेसन सिस्टम, फायर आर्लाम, हाइड्रेन्ट, स्प्रिंक्लर सिस्टम, पिए सिस्टम, आइटी सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिष्टम, वाटर ट्रिटमेन्ट, ढल ट्रिटमेन्ट प्लान्टजस्ता सुविधाहरू पनि रहनेछन् । यस भवनमा पर्याप्त कमर्सियल स्पेसको व्यवस्था हुने अधिकारीले बताए ।
हाल विराटनगरमा काठमाडौंबाट बुद्ध एयरका सात, यती एयरलाइन्सका चार, सौर्यका दुई र श्री एयरलाइसन्का तीन गरी दैनिक १६ उडान भइरहेका छन् । त्यहाँ एटिआर–७२, एटिआर–४२ सिआरजे २००, डिएचसी–८, डिएचसी–६, बी१९० जस्ता मझौला विमानहरूले सेवा सञ्चालन गर्दै आइरहेका छन् ।
समयमै काम सम्पन्न हुनुपर्छ सुदन किराँती, पर्यटनमन्त्री
विराटनगर विमानस्थलमा बनाइने नयाँ टर्मिनल भवन प्रदेश १ को विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुनेछ । बढ्दो हवाई यात्रुलाई सहज र स्तरीय सेवा दिन सकिने गरी टर्मिनल भवन बनाइँदै छ । यो टर्मिनल भवन निर्माणको ठेक्का पाएको कम्पनीले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्नुपर्छ । समयमै गुणस्तरीय काम हुनुपर्छ । दायाँ–बायाँ भन्ने हुँदैन ।
सुविधासम्पन्न टर्मिनल बन्नेछ । प्रदीप अधिकारी, महानिर्देशक, क्यान
हामीले नयाँ सुविधासम्पन्न टर्मिनल भवन बनाउँदै छौँ । यस्तै, धावनमार्ग थप दुई सय ७० मिटर लम्ब्याउने योजना छ । सन् २०२५ भित्र टर्मिनल भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि हवाई यात्रुले स्तरीय सेवा पाउनेछन् भने धावनमार्ग विस्तार भएपछि हवाई उडान थप सुरक्षित हुने विश्वास गरेका छौँ । यात्रुको चाप धेरै भएका अन्य अन्तरिक विमानस्थलका टर्मिनल भवन पनि स्तरोन्नति गर्ने योजना छ ।
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रधानमन्त्री लिङ्देन
काठमाडौँ — उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले बागमती सभ्यता जोगाउने कार्यमा नयाँ आयाम थपिएको बताएका छन् । बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ स्थित धाप ड्यामको उद्घाटन गर्दै उपप्रधानमन्त्री लिङ्देनले बागमती सभ्यताको संरक्षण एवं बागमती सफाईका लागि उदाहरणीय काम भएको बताए ।
उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र बिहीबार धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग पुग्ने बताए । धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको मन्त्रिपरिषद् बैठकले जग्गा व्यवस्थापनको निर्णय गरेको जानकारी पनि उपप्रधानमन्त्री लिङ्देनले दिए ।
आजदेखि प्रतिसेकेण्ड चार सय लिटर पानी वाग्मतीमा पठाइएको छ । महाशिवरात्रिको अवसर पारेर वाग्मतीमा स्वच्छ पानी बगाउन धाप बाँधबाट पानी छाडिएको हो । आजै बाँधस्थलमा शिलालेख पनि अनावरण गरिएको छ ।
नागमती बाँध बनेपछि भने वाग्मती नदीमा सोचेअनुरुपको सुधार हुने विश्वास गरिएको छ । नेपाल विश्वमै जाति, भाषा, धर्म, संस्कृतिमा विविधताबीचको एकता भएको देशका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले जैविक विविधता उत्तिकै रहेको जानकारी गराए ।
सहरी विकासमन्त्री विक्रम पाण्डेले निकुञ्ज भएकै कारण आफ्नै गाउँमा जाँदा पनि शुल्क तिर्नुपर्ने अवस्था चितवनको माडीमा पनि रहेको उल्लेख गर्दै आफू वनमन्त्री हुँदा त्यो समस्या समाधान गरेकाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यो समस्या समाधान गर्न लागिपर्ने बताए ।
धाप बाँधको वरिपरि वायो इञ्जीनियरिङ नगरे समयअघि नै यसको दुर्गति हुने भएकाले पनि यसतर्फ बेलैमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । नागमती बाँधलाई एसियाली विकास बैंकले पनि विश्वकै आठौँ नम्बरको परामर्शदाता खटाएर सहयोग गरेको उनले बताए । ‘डिजाइनिङ’ र ‘सुपरभिजन’ गलत गर्ने इञ्जीनियरलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी मन्त्री पाण्डेले दिए ।
काठमाडौँ क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले सुक्खा रहने हिउँदमा वाग्मतीलाई सफा राख्न धाप बाँधले सहयोग गर्ने बताए । करिब आधा दर्जन स्थानमा वाग्मती ढल हालिएको बताउँदै उनले त्यसलाई व्यवस्थापन गर्न अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ध्यानाकर्षण गराए ।
सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार हुँदै
काठमाडौँ — ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार सुरु गरिएको छ । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार सुरु भएको हो । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।
चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए । स्रोतका अनुसार सांसद भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनली समेत असर पुर्याएको छ ।
जसका कारण उनलाई श्वासप्रस्वासमा अप्ठेरो नहोस् भनेर ‘इन्ट्युबेसन’ गरी मेकानिकल भेन्टिलेटरको सहायतामा श्वासप्रस्वास कायम गरिएको छ । ‘फेसिएल बर्न’ भएका कारण श्वासनलीमा पनि असर गरेको छ । त्यसले गर्दा कुनैपनि बेला श्वास नलीमा सुन्निएर श्वासप्रस्वास बन्द हुने अवस्था आउन सक्छ,’ स्रोतले भने, ‘यात्राको क्रममा कुनैपनि जोखिम नहोस् भनेर उहाँलाई भेन्टिलेटरको सहायता दिइएको हो ।’
सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।