
राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सन
११५ दिनमा २७८४ मिटर सुरुङ खनियो
प्रकाशित मिति । २ फाल्गुन, २०७९ ।
मरिण‚ सिन्धुली — सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने कामको प्रगति लक्षभन्दा बढी भएको छ । बहुउद्देश्यीय उक्त आयोजनाको दुई हजार ७८४ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । तीन महिना २५ दिनमा दुई हजार सात सय ८४ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको सुनकोसी मरिण डाइभर्सन आयोजनाले जनाएको छ ।
गएको असोज २८ गतेबाट सुरुङ खन्न सुरु गरिएको थियो । टनेल बोरिङ मेसिन (टीबीएमा) बाट सुरुङ खन्न सुरु गरिएको करिब चार महिनाको अवधिमा लक्ष्यभन्दा बढी खनेर प्रगति भएको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।
आयोजना प्रमुख बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका २ कुसुमटारबाट खन्न सुरु गरिएको छ । सुरुङ निर्माणमा हालसम्म कुनै समस्या नआएको भन्दै प्रमुख बरालले अहिले चुरेमुनिको भूभागमा खनिरहेको र महाभारत क्षेत्र लागेपछि कडा चट्टान हुने भएकाले समस्या आउन सक्ने बताए ।
यही रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुने उनको दाबी छ । सुरुङ निर्माणमा खटिएका प्राविधिक कर्मचारी तथा कामदारहरूलाई सहज होस् भनेर ठूलो पाइपमा अक्सिजनसहित हावा पास गर्ने क्षेत्र बनाइएको छ ।
सुरुङ निर्माण क्षेत्रमा ठाउँ-ठाउँबाट पानी निस्किए पनि ठूलो मूल भेटिएर कामै रोक्नुपर्ने अवस्था आएको छैन । अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकोमा यो ६ महिनाको अवधिमा १ दशमलव ५ प्रतिशत बढेर १० दशमलव ५ प्रतिशत पुगेको प्रमुख बरालले जानकारी दिए ।
सुरुङ निर्माणले गति लिएसँगै भौतिक प्रगति बढ्दै जाने भन्दै प्रमुख बरालले सुनकोसीमा हेडवर्क्स निर्माणको ठेक्का सम्झौता भएको बताए । उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङ मार्गमा सेगमेन्ट प्रयोग भइरहेको समेत उनले जनाए ।
ल्याब परीक्षणबाट स्वीकृत भएका सेगमेन्ट मात्र सुरुङ निर्माणमा प्रयोग भएको उनको दाबी छ । उनी भन्छन्, ‘ल्याब परीक्षण गरी स्वीकृत सेगमेन्ट मात्र प्रयोगमा आएका छन् । गुणस्तरमा कमी आउन नदिन राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञहरू फिल्डमै खटिएका छन् ।’ टीबीएमा मेसिनले खन्न सुरु गर्नु अगावै तीन महिनाका लागि सुरुङ निर्माणमा प्रयोग हुने सेगमेन्ट तयार गरेकाले खुट्टामा अलिक साइज ठूलो भएकोमा पुनः निर्माण गरी विज्ञबाट स्वीकृत गराई प्रयोगमा ल्याएको आयोजना सिनिएर डिभिजन इन्जिनियर अशोकराज गौतमले बताए ।
सेगमेन्टको खुट्टाको भागमा नमिलेको केही कटिङ गरी परीक्षण गरेर मात्र प्रयोगमा आएको छ,’ उनले भने, ‘अहिले भने टीबीएम मेसिनको खन्ने काम र सेगमेन्ट निर्माणको तालमेलपछि कुनै समस्या छैन । सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट एक महिनामा ५ सय मिटर सुरुङ खन्ने लक्ष्य राखेकोमा प्रगति बढेको उनको भनाइ छ ।
‘एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो,’ आयोजना प्रमुख बरालले भने, ‘अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौं । ढिलो वा चाँडो भन्ने भौगर्भिक समस्यामा निर्भर हुन्छ । चुरे पहाड र महाभारतको संगमस्थलमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ ।’ यहि रफ्तारमा काम भए महिनामा ७ सय मिटरसम्म खन्न सक्ने भएकाले लक्ष्य राखिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुने उनको आकलन छ ।
अहिले दैनिक सरदर २५ मिटर र कुनै दिन ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । सुनकोसी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा ७ सय मिटर तल पर्छ ।
पानी बग्ने क्षेत्र ५ दशमलव ५ डायमिटर रहने गरी अहिले ६ दशमलव ६ डायमिटरको सुरुङ मेसिनले खनिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपयाँमा ठेक्का पाएको छ ।
टीबीएमले ८/८ घण्टाका दरले तीन सिफ्ट गरी चौबिसै घण्टा सुरुङ खनिरहेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिणखोलामा खसालिने बताइएको छ ।
त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ ।
आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाईं सुविधा पुर्याउने रहेको छ । बाह्रै महिना सिंचाईं सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजनाअन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड रुपैयाँ आम्दानी हुनेछ ।
राष्ट्रियतालाई लत्याएर एमाले सत्ता स्वार्थमा लाग्दैन : ओली
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने बताएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले लिएको त्यो नीतिलाई अनेरास्ववियुले काँध थाप्न सक्नुपर्ने बताए ।
‘हामी यो देशका सन्तति हौं, हामीले नै मातृभूमिको रक्षा गर्ने हो । मातृभूमिको स्वाधीनता बचाएर राख्ने हो र त्यस्तो भूमिका निभाउने राष्ट्रिय गौरव र स्वाभिमानको संक्षिप्त नाम नै एमाले हो, एमालेमात्रै त्यसको प्रतिनिधि हो,’ उनले भने, ‘हामी सत्ता स्वार्थका लागि राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रताजस्ता महत्वपूर्ण विषयहरूलाई लत्याएर कुनै स्वार्थमा लाग्न सक्दैनौं ।’
‘यहाँ कोही अध्यक्ष भएका, कोही अध्यक्ष हुन नपाएका साथीहरू देख्दैछु । तर सबैलाई अध्यक्ष हुन मिल्दो रहेनछ । २३ औं अधिवेशन हुँदासम्म हामीसँग अलिकतिमात्रै अध्यक्ष हुनुहुन्छ । म पनि अध्यक्ष बनेको थिइनँ, मैले पदाधिकारी बन्न पनि पाइनँ,’ ओलीले अनेरास्ववियुमा पदाधिकारीका आकांक्षीहरूप्रति व्यंग्य गर्दै भने, ‘अनेरास्ववियु उद्देश्य बोक्ने संस्था हो, महत्वाकांक्षा बोक्ने संस्था होइन । देशको समृद्धिको उद्देश्य बोक्ने हो ।’
अध्यक्ष ओलीले विद्यार्थी आन्दोलन विद्रोहीमात्रै नभएर सचेत आन्दोलनकारी हुनुपर्ने बताए ।