सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मिडियाप्रति आक्रोशित हुँदै रविले भने ‘उकेरा.. जसरी प्रमाणसहित लेखे केही छैन, प्रमाण नभई लेखे मिडिया घेर्न आउँछु’

प्रकाशित मिति । २ फाल्गुन २०७९ ।

काठमाडौँ : सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिए। उनले पार्टीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै भने ‘सरकारलाई दिएको समर्थन कायम राख्ने तर सरकारबाट फिर्ता हुने।’

पार्टीको निर्णय सार्वजनिक गरेपछि उनी आफूबारे उठेका प्रश्नहरू प्रकाशित समाचारबारे केन्द्रित भएका थिए। उनले नागरिकता र राहदानीमा प्रक्रियागत त्रुटि भएको हुनसक्छ भन्दै अदालतको आदेश र कानुनी कारबाही स्वीकार्य हुने बताए।

उनले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै अहिले मिडियामा धेरै बेथिति रहेको भन्दै तीव्र आलोचना गरे। ‘प्रमाणसहित समाचार छाप्नुस्, त्यो उकेरा कि सुकेराले लेखेकोमा मेरो भन्नु केही छैन। तर गर्दै नगरेको, प्रमाणै नभएको विषयमा जे पायो त्यही लेखे मिडिया घेर्न आउँछु।’

जनमत अनुसार एउटा समझदारीमा अगाडि बढेको र सोही अनुसार सरकारमा सहभागी भएको भन्दै उनले चार वर्ष अगाडि आफूले सार्वजनिक रूपमा जानकारी गराएको अनि गृह मन्त्रालयलाई बुझाएको विषय उठाएर चरित्र हत्या गरेको दाबी गरे।

‘केही बाध्यता र केही रहर बोकेर विदेश गएको थिए। नेपाल फर्कन के-के आवश्यक पर्ला भनेर कागजपत्र जोहो गर्न नेपाल आएको थिए। म मात्र हैन लाखौँले गर्छन्। प्रक्रियागत रूपमा आम मान्छेले जे गरिरहेका थिए मैले त्यही गरे,’ उनले भने’ कानुनी रूपमा मेरा केही त्रुटि भएको हुनसक्छ। तर त्यही आधारमा सक्काउन खोजेर म सकिन्न।’

उनले आफू अहिले उपप्रधान तथा गृहमन्त्री केही नभएको भन्दै अबको पाँच वर्षमा प्रधानमन्त्री हुने गरी संसद्मा फर्किएर आउने दाबी गरे। उनले अहिलेको व्यवस्थाप्रति आफू प्रतिबद्ध रहेको दाबी गरे। उनले आफू राजावादी बन्न नहिँडेको तर जनतालाई राजा बनाउन हिँडेको बताए।

‘लखेट्दा लखेट्दा उपप्रधामन्त्री बनाए अब प्रधानमन्त्री बनाउने त होला,’ उनले भने ‘लोकतन्त्र थिएन भने म जस्ता व्यक्ति सांसद जितेर उपप्रधानमन्त्री बन्न सक्ने ल्याकत यही व्यवस्थामा रहेको छ। निरङ्कुश व्यवस्था भएको भए यो सम्भव थिएन,’ उनले भने। उनले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्याग्नु नपर्ने कानुनको उपयोग गरेको भन्दै आम नेपाली जस्तै नेपाल फर्किएको र पासपोर्ट, आफूलाई चाहिने प्यान नम्बर सबै लिने काम गरेको र त्यसको आधारमा नेपाली पासपोर्ट लिएको स्वीकार गरे।

उनले राहदानी बनाए पनि अमेरिकी नागरिकता नत्यागेसम्म नेपाली राहदानी प्रयोग नगरेको बताए। उनले सोझो चिताएर राहदानी लिएको दाबी गरे। अन्य गैर आवासिय नेपालीले जस्तै नेपाल आएर राहदानी लिएकै हो। तर वेचेर खाएको त छैन नि।’

‘कुनै पनि काम गर्दा,अपराध गर्दा त्यसको असर र प्रभाव हुन्छ। मैले के बिराए ? मैले कानुनी झमेला झेल्नुपर्छ। मलाई केही समस्या छैन। मैले सार्वजनिक रूपमा बताएको छु। मैले प्रयोग र दुरुपयोग गरेको छैन’ उनले भने।

उनले प्रक्रियागत त्रुटि गरेको र त्यसको सजाय भोगिसकेको बताउँदै उनले आफूमाथि भएको प्रहार अदालतलाई प्रभावित गर्न गलत समाचार लेखेको दाबी गरे।

‘राहदानीको मुद्दा म आफैँ लड्छु। चार वर्ष अगाडि मैले भनेकै कुरा १२ भाइ पत्रकार जम्मा पारेर कहिले यताबाट अनि कहिले उताबाट पेलेको पेल्यै गरे,’ उनले भने।

कन्फ्लिक्ट अफ इन्ट्रेस्टको व्याख्या गरौँ भन्दै उनले अधिकांश ठुला मिडिया र त्यसका सञ्चालकहरूले पत्रकारिताको दुरुपयोग गरेको दाबी गरेका थिए।

‘नेपालको मिडियालाई रिझाएर मात्र पावर गेन गर्नुपर्ने ! देश चलाउने हो भने चितवन २ मा चुनाव लड्न आउनुस् को आउने हो,’ उनले भने।

उनले आफूलाई पूर्व गृहमन्त्रीको रूपमा कुनै सुरक्षा नचाहिने बताए। उनले अब मिडियासँग नडराउने भन्दै उनले भने’ केपी ओली डराउलान् बट नट मि।’

२०७९ माघ २२ गते १७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई [email protected] मा इमेल गर्न अनुरोध गर्दछौ ।

रबीले प्रशंसा गरेको मिडिया उकेरा डट कमले प्रमाणसहित यस्तो समाचार लेखेको थियो

रविको अर्को ‘अपराध’को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट

केपी ढुंगाना

काठमाडौं : रवि लामिछानेले अध्यागमन विभागमा बुझाएको निवेदनमा लेखेका थिए’ उपरोक्त सम्बन्धमा म मे १७, २०१८ सम्म अमेरिकी राहदानी बाहक रहेको तर मे १८ शुक्रवारका दिनबाट सम्पूर्ण प्रक्रिया पुरा गरी काठमाडौँस्थित अमेरिकी दूतावासमा रु २ लाख ५८ हजार दस्तुर समेत तिरी मसँग रहेको अमेरिकी पासपोर्ट र अमेरिकी नागरिकता बुझाइसकेको ब्यहोरा सगर्व जानकारी गराउँदछु।’

उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको विवरणले पनि त्यही देखाउँछ।

उकेराले प्राप्त गरेको उनको राहदानीको जारी मितिले उनी अमेरिकी नागरिक रहेकै बेलामा नेपाली राहदानी समेत लिएको पुष्टि भएको छ।

उनको नाममा परराष्ट्र मन्त्रालयले जारी गरेको नेपाली राहदानीको जारी मिति रहेको छ २०१५ मे २७ अर्थात् २०७२ जेठ १३।

यो मिति उनले अमेरिकी राहदानी र नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको मितिभन्दा तीन वर्ष अगाडि हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविले २०१८ मा अमेरिकी नागरिकता र नागरिकको कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु गरेको उनले नै स्वीकार गरिसकेको तथ्य हो।

उनले न्युज २४ टेलिभिजनमा सन् २०१८ जुन २१( २०७५ असार ७) मा प्रसारित सिधा कुरा जनतासँग कार्यक्रममा आफ्नो विवादबारे देखाएको प्रमाणमा पनि उनी सन् २०१८ मे १७ अर्थात् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी बाहक रहेको स्वीकार गरेका छन्।

उनले कार्यक्रममा अमेरिकी नागरिकता र राहदानी त्याग्नु विश्वमा हुने दुर्लभ घटना हुने व्याख्या गर्दै ‘त्यो दुर्लभ काम आफूले २०१८ मे १८ मा गरेको सगर्व स्वीकार’ गरेका छन्।

उकेराले पाएको दस्ताबेजले पनि मिति त्यही देखाएको छ। नेपालको अध्यागमन र श्रम ऐन उलङ्घन गरेको उजुरीबारे प्रेस काउन्सिल नेपालले गरेको अनुसन्धानमा गृह मन्त्रालयले पठाएको पत्रमा लामिछानेले अध्यागमन विभागमा २०७५ असार ६ मा अमेरिकी नागरिकता त्यागेकोबारे निवेदन दिएको उल्लेख छ।

यसले उनले अमेरिकी राहदानी र नागरिकको कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु हुनुभन्दा तीन वर्ष अगाडि नै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर नेपाली राहदानी निकालेको पुष्टि हुन्छ।

जानाजान कि अनजान?

नेपालको कानुनले द्वैध नागरिकतालाई स्वीकार गर्दैन। नेपालको नागरिकता ऐन अनुसार कुनै नेपाली विदेशी नागरिक भएमा नेपाली नागरिकता स्वतः निष्क्रिय हुने उल्लेख छ। यसका लागि न मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्छ न गृहले नै।

रविले अमेरिकी नागरिक बने लगत्तै नेपाली दूतावासमा जानकारी गराएर नेपाली नागरिकता निष्क्रिय गराउनुपर्ने कानुनी दायित्व पुरा गरेको देखिएन।

उनले जानकारी नदिए पनि उनी अमेरिकी नागरिक भएको सरकारी निकायले जानकारी पाए लगत्तै उनी अमेरिकी नागरिक बनेको सन् २०१४ बाटै उनको नेपाली नागरिकता भने निष्क्रिय हुन्छ।

उनी अमेरिकी नागरिकको हैसियतमा नातेदार भिसामा नेपाल फर्किएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रमाण पत्रको निरन्तर दुरुपयोग गरिरहे।

उनले नेपाली कानुन उलङ्घन गरेको शृङ्खलाले अनजानमा भएको देखिँदैन। अमेरिकी राहदानी वैध हुँदाहुँदै नेपाली राहदानी निकाल्नुले उनको कानुन उलङ्घनका गतिविधि योजनाबद्ध देखिन्छ।

अमेरिकी राहदानी भएकै बेलामा उनले नेपाली राहदानी निकाल्नुमा कुनै बाध्यता देखिन्छ कानुनमाथिको खेलबाड मात्र देखिन्छ।

त्यो बेला उनी राहदानीहीन थिएनन्। उकेराले प्राप्त गरेको रविको अमेरिकी राहदानीमा जारी मिति सन् २०१४ मार्च ५ मा छ।

अमेरिकी राहदानीको म्याद २०२४ मार्च ४ सम्मै रहेको छ। यसले उनले नेपाली राहदानी निकाल्दा उनले अमेरिकी राहदानी लिएको एक वर्ष मात्रै भएको पुष्टि हुन्छ।

उनकै भाषामा उनीसँग ‘विश्वको शक्तिशाली पासपोर्ट र नागरिकता’ थियो।’ तर विश्वकै शक्तिशाली नागरिक र राहदानी बाहक हुँदाहुँदै उनले किन कानुन मिच्दै विश्वकै कमजोर सूचीमा रहेको नेपाली राहदानी लिए कतै खुलाएका छैनन्।

यसबारे उनीसँग प्रतिक्रिया लिने उकेराको प्रयास पनि सफल भएन। शनिवार बिहान उनको एनसेल नम्बरमा पटक-पटक सम्पर्क गर्ने प्रयास गर्दा सफल भएन।

उनलाई सम्पर्क गर्न खोजेको विषय खुलाएर गरेको एसएमएसबारे पाँच घण्टा कुर्दा पनि प्रतिक्रिया आएन।

अपराधै अपराध, तर भनिरहन्छन्’ मलाई फसाइयो’

विवाहेत्तर सम्बन्ध सार्वजनिक भएसँगै परिवारमा बढेको किचलोले दिक्क भएर उनी नेपाल फर्किए। नेपाल आएर उनले सबैभन्दा लामो समयसम्म टक शो चलाएको गिनिस वर्ल्डको रेकर्ड राखे।

आफू अमेरिकी नागरिक रहेको तथ्य लुकाएर सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा नेपालका प्रधानमन्त्रीलाई राखेर कार्यक्रम चलाए।

केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई कार्यक्रम सञ्चालकबाट हटाएर बबिन शर्माले चलाए। तर धेरै समय चल्न सकेन कार्यक्रम।

त्यही बेला उनले न्युज २४ टेलिभिजनमा प्रधानमन्त्रीको साटो जनता केन्द्रित’ सिधा कुरा जनतासँग’ चलाए।

यहीबाट उनको अपराध यात्रा सुरु भयो।

अध्यागमन कानुनको उलङ्घन

अध्यागमन विभागबाट उनी गैर पर्यटक नातेदार भिसामा नेपालमा सन् २०१८ अक्टोबर ४ अर्थात् २०७९ असोज १८ सम्म बस्न पाउने अनुमति पाएका थिए।

अध्यागमन नियमावली २०५१ अनुसार नेपाली मूलका विदेशी वा नेपाली बाबु वा आमाको विदेशी राहदानी वाहक सन्तान नेपालमा कुनै नातेदार भेट्न आउने भएमा वा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशीका बाबु, आमा, दाजु, भाइ, दिदी वा बहिनी सम्बन्धित दूतावासको नाता खुलेको सिफारिस सहित भेट्न आउन नातेदार भिसा पाउन सकिन्छ।

उनले पाएको भिसा यही हो।

अनि नियमावली को नियम २० अनुसार पर्यटक र नातेदारको भिसामा नेपालमा बस्ने व्यक्तिले पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन’ उल्लेख छ।

नियमावलीमा’ यस नियमावली अनुसार भिसा प्राप्त गर्ने व्यक्तिले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न नपाइने उल्लेख छ।

उनी नातेदार भिसामा नेपाल आएकोमा कुनै शङ्का रहेन। तर उनले नियमावलीको उलङ्घन गर्दै सरकारी टेलिभिजनदेखि निजी टेलिभिजनसम्ममा काम गरे। यसलाई बाध्यताको लेपन लगाए।

राज्य संयन्त्र उनले उलङ्घन गरेको कानुन अनुसारको दण्ड सजायमा जान हच्किए। प्रभावशाली कार्यक्रम र कट्टर समर्थकको आडमा कानुनी कारबाहीबाट जोगिए।

श्रम स्वीकृति विना नै काम

उनले विदेशी नागरिकहुँदा श्रम स्वीकृति लिएर नेपालमा काम गरेको दाबी गर्ने गरेका थिए। तर नेपालको श्रम ऐनले नेपालमा उपलब्ध जनशक्ति भएसम्म त्यही कामका लागि विदेशी नागरिकलाई काम गर्ने अनुमति दिने प्रावधानै छैन। यदि पर्याप्त नेपाली जनशक्ति भएकै क्षेत्रमा काम गर्न कुनै विदेशी नागरिकले अनुमति पाए त्यस्तो अनुमति दिने सरकारी अधिकारीमाथि अख्तियारको दुरुपयोगको कसुर आकर्षित हुने कानुनी प्रावधान छ।

नागरिकता ऐनको उलङ्घन

उनले अमेरिकी नागरिक बने लगत्तै अमेरिकास्थित नेपाली दूतावासमा आफू अमेरिकी नागरिक बनेकाले नेपालको कानुन अनुसार नेपाली नागरिकता निष्क्रिय गराउन उनले निवेदन दिएनन्।

उनी पारिवारिक भिसामा नेपाल आएर अमेरिकी नागरिकता र अमेरिकी पासपोर्ट छाडेर २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उनको नाममा जारी भएको नागरिकताको दुरुपयोग गर्न थाले।

यही नागरिकताको प्रयोग गरेर उनले गरेका आर्थिक गतिविधि सार्वजनिक भएका छैनन्। श्रम स्वीकृति नै नलिई अमेरिकी नागरिकको हैसियतमा नेपालमा काम गरेर श्रम ऐनको उलङ्घन गरे र नातेदार भिसाले रोक लगाएको गतिविधि गरेकोमा अध्यागमन कानुन अनुसार कारबाही हुन सक्थ्यो उनीमाथि।

प्रक्रिया अगाडि बढेको पनि थियो। तर बिचैमा रोकियो। कारबाही भएन।

उनले गृह मन्त्रालयको रेकर्डमा दर्ता खारेज भइसकेको नागरिकता प्रयोग गरेर नागरिकता सम्बन्धी ऐन, निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन आयोग सम्बन्धी ऐन उलङ्घन गरेको पुष्टि भइसकेको छ।

त्यही नागरिकता प्रयोग गरेर उनले राहदानी निकालेर अध्यागमन ऐन समेत उलङ्घन गरेको देखिन्छ।

नेपाली नागरिक मात्रै प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधान रहे पनि उनी दर्ता खारेज भएको नागरिकता पेस गरेर चितवन-२ बाट उम्मेदवार बने र जिते पनि।

निर्वाचन आयोगमा उजुरी पनि पर्‍यो। आयोगको अनुसन्धानमा उनले दल दर्तादेखि उम्मेदवारी दर्तासम्म प्रयोग गरेको नागरिकता गृह मन्त्रालयले दर्ता खारेज गरिसकेकै नागरिकता भएको खुल्दा पनि ‘निर्वाचन परिणाम आएको’ भन्दै उजुरीमा कुनै निर्णय गरेन।

के हुनसक्छ कारबाही ?

अधिवक्ता सरोज अधिकारी नेपालको कानुनी प्रावधान अनुसार जसले कानुनी अधिकार लिन प्रमाण पेस गर्छ त्यो प्रमाणको दायित्व उसैमा हुन्छ।

फर्जी प्रमाण पेस गर्दा पनि कुनै सरकारी निकायका जिम्मेवार अधिकारीले स्वीकृत गरेको हकमा उनीमाथि अख्तियार दुरुपयोगमा समेत अनुसन्धान हुनसक्छ। तर जसले प्रमाण पेस गरेको हो उ माथि फर्जी प्रमाण पेस गरेकोमा कारबाही प्रक्रिया अगाडि बढ्न सक्छ।

‘ दोहोरो नागरिकता लिन हुन्न भन्ने कानुनी प्रावधान रहे पनि लिए के हुन्छ भन्ने प्रस्ट कानुनी व्यवस्था छैन। तर राहदानी, दल दर्ता अनि उम्मेदवारी दर्तासम्म दर्ता खारेज भएको नागरिकता प्रयोग गरेको हकमा सम्बन्धित व्यक्तिमाथि जालसाजीको मुद्दा चल्न सक्छ’ अधिकारीले उकेरासँग भने।

विवेकशील साझाको अध्यक्षमा समीक्षा, महासचिवमा रञ्‍जु

काठमाडौँ — विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको उक्त पार्टीको पहिलो महाधिवेशनले समीक्षा बाँस्कोटालाई अध्यक्ष र रञ्जु दर्शनालाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।

गत जेठमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी बाँस्कोटाले पार्टीको पहिलो महाधिवेशन गराएर पुन: नेतृत्वमा आएकी छन् । विवेकशील साझाको अभियानमा सुरुवातदेखि नै जोडिएकी उनी कानुनमा स्नात्तकोत्तर हुन् । ३८ वर्षीया बाँस्कोटा अधिवक्ता समेत हुन् ।

उनका बुवा दीपकप्रकाश बाँस्कोटा भने कांग्रेसका नेता हुन् । तर उनी अहिले सक्रिय राजनीतिमा छैनन् । उनी कांग्रेसबाटै मन्त्री समेत बनेका थिए ।

महाधिवेशनले पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा दामोदर नेपाल सर्वसम्मत चयन भए ।

विवेकशील साझाको केन्द्रीय कार्यसमिति ५१ सदस्यीय रहने व्यवस्था भए पनि त्यसबारे अहिले छलफल भइरहेको सो पार्टीका नवनिर्वाचित उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

नामिबियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ — नेपालले विश्वकप लिग-२ मा नामिबियाविरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले पाहुना टोली नामिबियालाई पहिला ब्याटिङका लागि बोलाएको हो ।

रोहित पौडेलको कप्तानीमा नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।

नेपालले सूर्य तामाङ, भीम सार्की र गुलशन झालाई प्लेयिङ-११ बाहिर राखेको छ । सन्दीप जोरा ४ वर्ष यता पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका छन् । २०१९ मा यूएईमा डेब्यु गरे यता सन्दीपले अर्को एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने मौका पाएका थिएनन् ।

लिग-२ मा नेपालले ओमानसँग खेलेको चार मध्येको तीन खेलमा दोस्रो इनिङ्समा ब्याटिङ गर्दा हारेको थियो । एक खेल रद्द भएको थियो । मोन्टी देसाईको नेपालको प्रशिक्षकका रूपमा यो पहिलो खेल हो । वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक रहेका उनी दुई साता अघि नेपाल आएका थिए ।

नामिबिया २०१६ यता पहिलो पटक नेपाल आएर खेलिरहेको छ । पछिल्लो पटक ७ वर्ष अघि काठमाडौं आउँदा नामिबियालाई नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुवै खेलमा पराजित गरेको थियो ।

लिग-२ मा नेपाल २४ खेलमा १८ अंक जोडी सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडि तेस्रो स्थानमा छ । लिग २ मा नेपालको यो सातौं शृंखला हो ।


Last Updated on: February 14th, 2023 at 10:38 am


१२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया