
प्रकाशित मिति । २९ माघ २०७९ ।
काठमाडौ । गत निर्वाचनमा भरतपुर–४, लंकुमा रहेको आनन्द चोकमा घन्टीहरुको एकोहोरो किरिङरिङ आवाज गुञ्जिरहेको थिए । तर आसपास कुनै मन्दिर वा धार्मिक सभा चलेका थिएनन ।
महिलाहरु स्वतस्फूर्त भेला भएर घन्टी बजाइरहेका थिए । त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभा थियो । उनको पार्टीको चुनाव चिह्न घण्टी भएकाले समर्थनमा त्यो आवाज घन्किएको थियो ।
पहिल्यैदेखि कांग्रेसमा भोट हालेको हो, तर केही काम गरेनन्’, सभाको पछिल्तिर उभिएकी ४१ वर्षकी निर्माया चापागाईंले सुनाइन्, ‘यसपालि रवि बाबुलाई जिताउन घरबाट घन्टी लिएर आएको छु ।’ उनले टोलका सबै महिलाहरुले सल्लाह गरेरै सभामा जम्मा भएको बताइन् ।विदेशमा छोराछोरीले दुःख पाउँदा जनताले पैसा उठाएर झिकाउनुपर्छ, सरकार केही गर्दैन ।
रवि बाबुले धेरै गर्नुभएको छ’, चापागाईंले लामिछानेलाई समर्थन गर्नुको कारण खुलाउँदै भनिन्, ‘त्यसैले घन्टी बजाएको हुँ, यो पनि विग्रियो भने पछि हेर्छौं ।’लामिछानेले ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत विदेशमा दुःख पाएका नागरिकका गुनासो सुनेर सम्बोधन गर्ने प्रयास गरेका थिए ।
उनले नागरिकलाई पिरपर्का परेका विषयमा तत्काल सरोकारवालासँग सम्पर्क गरेर समाधान खोज्ने प्रयासलाई कार्यक्रमको शैली बनाएका थिए ।हिजो उहाँले कार्यक्रममा के–के गर्नु भएको छ सोच्नुस्, अनि आफैं विचार गर्नुस्’, भरतपुर–१, नारायणघाटका झलक थापाले लामिछानेको पक्षमा माहोल देखिनुको कारण खुलाए, ‘आउने दिनमा पनि गर्नुहुन्छ जस्तो लाग्छ ।’
त्यही सोचेर आफूले चलाउने अटोको सिटमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्टिकर टाँसेका छन् । चितवनमा करिब आठ हजार अटो चालक छन् । अधिकांशले घण्टीलाई नै भोट हाल्ने हो’, उनले सुनाए, ‘हामी जस्ता युवाको अटो चलाएर हिँड्नुपर्ने अवस्था यिनै नेताहरुको कारणले हो ।’ती रवि, यी रवि
रवि तिनै सञ्चारकर्मी हुन्, जो बेथिति र विसंगतिविरुद्ध टेलिभिजन कार्यक्रममा खरो उत्रन्थे । आक्रामक बनेर प्रस्तुत हुने उनको शैलीको एउटा वर्गले आलोचना गरेपनि जनतामाझ लोकप्रिय बन्यो ।
उनले यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई ‘स्टिङ अपरेशन’ भन्दै बनाएको कार्यक्रममै पीडितको खुट्टा ढोग्न लगाए । प्रहरीले गर्नुपर्ने काम आफैं गरेको आरोप लाग्यो ।
सुन तस्करी प्रकरण चलेका बेला त उनले राष्ट्रिय टेलिभिजनबाटै ‘टुँडिखेलमा राखेर घुमाएर एक–एक किक हान्न मन छ । नाकको डाँडी भाँचिने गरी’ भनिदिए । उनको यो शैलीलाई सधैं प्रश्न गरिरहनेको समूह पनि ठूलै छ ।
लामिछानेले चाहिँ आफू पत्रकार नभएको जिकिर गर्दै ‘कार्यक्रम प्रस्तोता’ मात्र भएकाले आफ्नो शैली भिन्न हुनु स्वाभाविक रहेको बताइरहे । तर यसपालि भरतपुरमा भेटिएका रवि चाहिँ सञ्चारकर्ममा रहँदाभन्दा विल्कुल भिन्न देखिए ।
उनले कसैलाई गाली गरेनन् । प्रतिष्पर्धीलाई पनि ‘सम्मान गर्ने’ बताए । अझ सभामै अरु राजनीतिक दलले गरेका ‘ऐतिहासिक योगदानलाई अवमूल्यन नगर्ने’ पनि सुनाए ।
‘म ती पार्टीको योगदानको अवमूल्यन गर्ने साहस राख्दिनँ, जसले यत्रो ठूलो परिवर्तनमा योगदान दियो’, उनले चुनावीसभामा मतदातालाई प्रश्न गरे, ‘तर, देशलाई योगदान दिन आफ्नो दलले बाटो विरायो भने सही बाटोमा ल्याउने काम पनि आम कार्यकर्ता र सदस्य साथीहरुकै होइन र ?’
लामिछानेले बालेन शाहको पनि उदाहरण दिँदै उनलाई भोट दिने मानिसहरु सबै दलका भएको स्मरण गराए । ‘किन बालेनलाई सबैले भोट हाले ? उनीहरुले देशलाई माया गर्छन् र आफ्नै दलको बेथितिविरुद्ध पनि बोल्न तयार हुन्छन्’, रविले तर्क गरे ।
रविले बोल्दै जाँदा विभिन्न पार्टीमा आस्था राखे पनि सभामा पनि सहभागी समर्थकहरुले घण्टी बजाएर समर्थन जनाए । उनको पक्षमा हुटिङ गरे ।
लामिछानेले पनि थपे, ‘तपाईंहरु गोलीसँग नडराएको मान्छेहरु हो, परिवर्तनका लागि योगदान दिएका व्यक्तिहरुलाई पार्टीको कारबाहीको डर हुँदैन ।’रविको फेरिएको शैली चुनावी रणनीति पनि होला । तर, विगतमा खरो उत्रिने उनको आजभोलिका भाषण सुन्दा जोकोहीलाई रविको बदलिएको अनुहार स्पष्ट देखिन्छ ।
रवि स्वयं पनि भन्छन्, ‘म खरो र दह्रो बोल्न नसक्ने मान्छे होइन । तर, अहिले त्यो गल्ली छाडेर मूल बाटोमा आएको छु ।’
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णयको स्वागत गरेका छन् ।
उनले बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचन जतिसक्दो छिटो गर्न आग्रह गरेका थिए । ‘बिहान प्रधानमन्त्रीलाई आग्रह गरेको थिएँ । दिउँसो निर्णय आयो’ लामिछानेले भने ।
अब फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने लामिछाने बताउँछन् । चितवन २ मा अर्को उम्मेदवार हुँदैन होला नि भन्ने प्रश्नमा उनले भने, ‘हुँदैन होला, कसरी होला र !’
गत ४ मंसिरको चुनावमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।
अर्थात, लामिछाने भारी मतले विजयी भएका थिए । तर, नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको उम्मेदवारी र विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको थियो । लामिछानेले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसला गरेको थियो ।
अब फेरि पनि आफू नै उम्मेदवार हुने बताएका लामिछानेले विगतका भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने आशा राखेका छन् ।
‘त्यसैले पनि मलाई चुनौतीपूर्ण छ भन्ने लाग्दैन । तर, पनि निर्वाचन हो । वैशाखसम्म के हुन्छ हेरौं । त्यस्तो चुनौतीपूर्ण होला भन्ने लाग्दैन,’ रास्वपा सभापति लामिछानेले अनलाइनखबरसित भने, ‘हिजो मात्रै निर्वाचन क्षेत्रमा पुगेर आएँ । नागरिकहरुले जुन ढंगले प्रतिक्रिया दिनुभएको छ । त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन ।’
तथापि, वैशाखसम्म हुने राजनीतिक घटनाक्रमलाई नियाल्नुपर्ने लामिछाने बताउँछन् । उनी थप्छन्, ‘वैशाखसम्म के हुन्छ हेरौं ।’
सगरमाथामा पहिलोपटक ७० किलोमिटर म्याराथन हुने
काठमाडौँ — विश्वभर सर्वाधिक चासोका रुपमा हेरिने एभरेस्ट म्याराथनमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रासहित तीन विधामा दौड प्रतियोगिता हुने भएको छ । आयोजक हिमालय एक्सीपीडीसनका अनुसार, विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो मानव पाइला पुगेको ७० वर्षको अवसरमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथन हुने भएको हो ।
१८ औं एभरेस्ट म्याराथन संस्करण २०८० जेठ १५ गते सगरमाथा दिवसका दिन हुने छ । यो म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चेबजारमा टुंगिने छ । ‘सरगमाथा चुचुरोमा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेको मे २९ (जेठ १५) का दिन पहिलोपटक ७० किलोमिटर लामो म्याराथन आयोजना गर्ने घोषणा गरेका छौं,’ एभरेस्ट म्याराथनका संस्थापकसमेत रहेका पर्यटन व्यवसायी विक्रम पाण्डेले भने, ‘यो कार्यक्रममा तेन्जिङ र हिलारीका सन्तानहरु सहभागी हुँदै छन् ।
उनीहरुले खुम्बु क्षेत्रमा विभिन्न मुलुकका राजदूतहरुसँगै लालीगुराँसका करिब ४ सय बिरुवा पनि रोप्ने कार्यक्रम तय भएको छ ।’ यस दौडमा विश्वचर्चित अल्ट्रा धावक नेपालकी मिरा राई र भारतको कालिङपोङकी अल्ट्राधावक रोशनी राईले सहभागीता जनाउने भइसकेका छन् ।
आइतबार सानेपामा आयोजित कार्यक्रममा धावक मिरा राईले आफू पहिलोपटक संसारकै अग्लो स्थानमा हुन लागेको सर्वाधिक लामो म्याराथनमा सहभागी हुन लागेको जनाउँदै यस्ले विश्वको खेल पर्यटनको ध्यान खिच्न मद्यत पुग्ने बताइन् ।
यसैबीच हिमालय एक्स्पीडीसनले विगतका वर्षहरुमा झै ४२ र २१ किलोमिटरका फुल र हाफ म्याराथन पनि आयोजना गर्ने जनाएको छ । फलु म्याराथन विजेतालाई २ लाख र हाफम्याराथनलाई १ लाख रुपैयाँ राशीको नगद पुरस्कार दिइने छ । आयोजकले ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथनको पुरस्कार राशि केही दिनमै घोषणा गरिने जनाएको छ ।
एभरेस्ट म्याराथनमा सहभागी हुन नेपालीले २५ हजार रुपैयाँ र विदेशीले ५ सय अमेरिकी डलर शुल्क बुझाउनु पर्छ । यो शुल्कमा धावकलाई मेडिकल र आपतकालीन उद्धारका लागि हेलिकप्टर सेवा प्रदान गरिन्छ । यसबाहेक काठमाडौंबाट लुक्ला हुँदै सगरमाथा आधार शिविरसम्म धावकहरुले आफ्नै खर्चमा जानुपर्छ ।