
श्रीलंकाली क्रिकेटर धनुष्का बलात्कार आरोपमा पक्राउ
प्रकाशित मिति । २८ माघ, २०७९ ।
काठमाडौं । श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा प,क्राउ परेका छन् । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका गुनाथिला प,क्राउ परेका हुन् ।
एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बला,त्कार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले ती महिलामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ । उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छिन् ।
प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिना नै आज स्वदेश फर्किएका छन् । अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ ।
गुनाथिलका चोटका कारण टी-ट्वान्टी विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए । उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए । तर पनि उनी अष्ट्रेलियामै रहेका थिए ।
‘उपत्यकामा पहिलोपटक स्थानीय तह जित्यौं अब सांसद पनि जित्छौं’
बाहिरबाट डलर ल्याएर होइन आँफैले कमाएको रकमबाट खर्च गरेर काम गरेको हुँ । यो क्षेत्रमा मात्रै होइन देशको विभिन्न दुर्गम क्षेत्रमा पुगेर पनि काम गरेको छु । घरमै बस्न सक्थे होला तर युवा र महिलाहरुको पीडा देख्दा मनले मानेन त्यसैले उम्मेदवारी दिएको हुँ ।
काठमाडौँ — काठमाडौं-२ को भूगोल चुनावको समयमा सँधै चर्चामा रहने गरेको छ । त्यही क्षेत्रमा २० राजनीतिक दल र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । २०४८ साल यताको चुनाव एक पटकको उपचुनाव बाहेक यो भूगोलमा धेरै एमालेले जित्दै आएको छ ।
यो क्षेत्रमा राप्रपाको तर्फबाट उम्मेदवार रहेकी कुन्ती पोखरेल (३५ वर्ष)सँग गरिएको संक्षिप्त कुराकानी :
चुनाव अभियान कसरी सञ्चालन भइरहेको छ ?
चुनावी अभियान तीव्र रुपमा अघि बढेको छ । अहिले घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । आम मतदाताले राम्रो प्रतिक्रिया देखाउनु भएको छ र सद्भाव व्यक्त गर्नुभएको छ ।
प्रत्येक घरका जहाँ उहाँहरु उत्साहित हुने गर्नु भएको छ । एउटा परिवर्तन ल्याउनुपर्छ र नयाँ अनुहारलाई मत दिनुपर्छ भन्ने उहाँहरुको भनाइ छ । राप्रपाले यस निर्वाचन क्षेत्रमा मेयर पनि जितेको हो ।
अहिले यहाँ (जहरसिंह पौवा) सहित क्षेत्र रहेको नगरपालिकामा हामीले जितेको हो पनि । त्यसले यस क्षेत्रमा राम्रो परिणाम आउने अपेक्षा गरेको छु । अहिले मुख्य रुपमा घरदैलो कार्यक्रम र त्यसको समीक्षाका लागि दैनिक जस्तो बैठक र कार्यकर्ता परिचालन भइरहेको छ ।
तपाईंका के-के एजेण्डाहरु रहेका छन् ?
पहिलो नम्बर भनेको भ्रष्टाचार विरोधी अभियान हो । भ्रष्टाचारलाई निर्मुल बनाउने नै अभियान छ । दोस्रो विषय भनेको समग्र क्षेत्रको विकासको विषय हो । यो मन्त्रालयहरुसँग जोडिएको ठाउँ भएपनि विकासको दृष्टिले निकै पछि रहेको छ । जहरसिंह पौवातिर हेर्नु भयो त्यो झनै स्पष्ट हुन्छ ।
कोटेश्वर, पेप्सीकोलासहित समग्रमा क्षेत्रमा खानेपानीको अभाव रहेको छ । सांसदको प्रमुख काम विकास भन्दा पनि नीति निर्माण गर्ने हो तर नीति निर्माणसँगै विकास पनि हेर्नुपर्ने आवश्यकता छ, बजेट कहाँ छ के छ र कुन ठाउँमा आवश्यक छ भनेर हेर्ने हो । विकासको मुद्दाका लागि केन्द्रित रहेको छु ।
राजनीतिमा युवाको हस्तक्षेप र रोजगारी सिर्जनाको विषय अर्को हो । युवा पलायन रोक्ने विषय हो । महिला, वृद्धवृद्धा, बालबालिका र समाजमा पिछडिएका वर्गहरुका लागि आवश्यक पर्ने सामाजिक सुरक्षाको विषय पनि मैले लिएको छु ।
दुई नम्बर क्षेत्रमा रहेको ऐतिहािसक मठ मन्दिर धरोहर, पाटीपौवाहरुको संरक्षण पनि मेरो एजेण्डा रहेको छ । त्यो विषयलाई राम्रोसँग उठाएको छु किनभने पशुपतिको फूलबारी दुई नम्बर क्षेत्रमा रहेको छ । साँखु शालीनदीलाई पर्यटकीय क्षेत्र बनाउनु पर्छ । त्यहाँ वर्षको एकपटक मेला लाग्छ, त्यसलाई १२ महिना मेला लाग्ने क्षेत्र बनाउन सकिन्छ । त्यहाँ पुग्दा हिमालको मुनी बसेको जस्तो महशुस हुन्छ यस्तो राम्रो दृश्य छ । सूर्योदयदेखि सूर्यास्तसम्म एकदमै राम्रो दृश्य देखिन्छ । बाटो मात्रै प्रयोग गर्न पाइयो भने सबै मानिस यतै घुम्न आउँछन् ।
राष्ट्र र राष्ट्रियताका लागि मेरो उम्मेदवारी हो । केन्द्रीय विषय नै यही हो । नीति निर्माण तहमा पुगेर युवा वर्गका लागि काम गर्ने चाहाना हो । उद्योगधन्धाहरु एकदमै सुचारु बन्द नहुने प्रकारको हुनुपर्छ । यसले युवा पलायनलाई रोक्छ । हामीसँग अलिअलि भएको उद्योगधन्धा पनि बन्द गर्ने अवस्थामा छ । मैले उद्यमी साथै समाजसेवाको काम गर्दै आएको हुँ । उद्यमको समस्या के हो भन्ने पनि जानकारी छ । त्यसका समाधानका उपायहरु मसँग छन् ।
अहिलेसम्मको चुनावी परिणाम हेर्दा राप्रपाले खासै उपलब्धी हासिल गरेको छैन । तपाईंले आफ्नो क्षेत्रमा जित्छु भन्ने आधार के हुन्?
म जीतको नजिक छु । उम्मेदवारहरुको सूची हेर्दा नै थाहा हुन्छ । संसद्मा पुगेकाले के गरेका छन् र संसद्नै नभएपनि कुन्ती पोखरेलले के गरेको छ ? जनताले हेरेका छन् । स्थानीय चुनावमा पनि हाम्रो राम्रो प्रदर्शन भयो । शंखरापुर नगरपालिकामा जितिसकेका छौं ।
उपत्यकामा पहिलो पटक जितेको हो, अब सांसद पनि जित्छौं । स्थानीय तह जित्नेहरुले जसरी यो ६ महिनामा काम गर्नुभएको छ त्यसले गर्दा पनि राप्रपाप्रति आकर्षण बढेको छ । शिक्षा, स्वास्थ्य, समाजकल्याणको क्षेत्रमा कस्तो काम गरेको छ त्यो हेर्दा हुन्छ । ११ कक्षा सम्म शिक्षा फ्री छ, स्वास्थ्य फ्री छ र वृद्धावृद्धाका लागि पनि कामहरु पनि भैराखेका छन् । हामीले शंखरापुर जितिसकेका छौं ।
म आँफै पनि समाजसेवी हुँ । दशौं वर्ष मैले यस क्षेत्रमा काम गरेको छु । कामको अनुभवी पनि हो। एनजीओमार्फत पनि काम गरेको छु । त्यस रकम बाहिरबाट डलर ल्याएर होइन आँफैले कमाएको रकमबाट खर्च गरेर काम गरेको हुँ । यो क्षेत्रमा मात्रै होइन देशको विभिन्न दुर्गम क्षेत्रमा पुगेर पनि काम गरेको छु । घरमै बस्न सक्थे होला तर युवा र महिलाहरुको पीडा देख्दा मनले मानेन त्यसैले उम्मेदवारी दिन आएको हुँ ।
आन्तरिक रुपमा मूल्याकंन गर्नु भएको होला । यसपटकको चुनावमा कति मत ल्याए जितिन्छ भन्ने लाग्छ ?
मेरो प्रतिस्पर्धी नै मैले देखेको छैन । मत लिएपछि कोही पनि आउनु हुन्न भन्ने छ । यसअघि भोट पाएपछि ५ वर्ष गायब हुने गरेको देखिन्छ । अर्कोतर्फ गठबन्धनको उम्मेदवार बाहिरबाट ल्याइएको हो । पहिले जुन क्षेत्रबाट जित्नु भएको थियो त्यहाँ विकास गरेको भए त्यहीबाट उठ्नु हुन्थ्यो होला ।
त्यो क्षेत्रबाट भागेर यहाँ आउनु पर्थेन । यहाँबाट जितेर पनि नभाग्ने ग्यारेन्टी छैन । जनताले अन्य उम्मेदवार देखेका छैनन् । मतदाताले अन्य उम्मेदवारलाई विश्वास गरेको र मैले काम गरेको आधारले पनि मेरो प्रतिस्पर्धामा कोही छ जस्तो लाग्दैन । मैले कहिले पनि गफ गरेर हिँडिन, मिडियामा गएर बोलिन र काम गरे । जुन कुरा अहिले मतदाताले अनुमोदन गर्नुहुन्छ ।
राजनले जिते आर्मी म्याराथन
काठमाडौँ — आर्मीका धावक राजन रोकायले आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार राजधानीमा भएको म्याराथन दौडमा २ घन्टा २० मिनेट ८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राजनले स्वर्ण पदक जितेका हुन् ।
राजन नेपाल आर्मीकै खेलाडी हुन् । उनले ३ लाख रुपैयाँ र यामाहाको मोटरसाइकल पुरस्कार पाएका छन् । आर्मीकै खडकबहादुर खड्काले २ घन्टा २१ मिनेट ४३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे । उनले गत मंसिरमा नेपालगन्ज म्याराथन जितेका थिए । जतिबेला उनले २ घन्टा २० मिनेट २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।
पूर्वविजेता कृष्णबहादुर बस्नेत भने तेस्रो भए । आर्मीका उनले दूरी तय गर्न २ घन्टा २२ मिनेट २२ सेकेन्ड लगाए । खड्कले २ लाख र स्कुटर पुरस्कार जित्दा कृष्णले भने १ लाखमै चित्त बुझाए । एपीएफका धावक गोपीचन्द्र पार्की २ घन्टा २७ मिनेट १८ सेकेन्डबाट चौथो भए । उनले ५० हजार पुरस्कार जिते । शीर्ष १० भित्र आर्मीकै खेलाडी विजयी भए ।
यस्तै २१ किमी हाफ म्याराथनमा नेपाल पुलिसकी धाविका राजपुरा पछाईं विजयी भइन् । उनले १ घन्टा १४ मिनेट ३४ सेकेन्डबाट स्वर्ण जित्दै ७५ लाख नगद र इलेक्ट्रिक स्कुटर पुरस्कार जितिन् । आर्मीका पूर्णलक्ष्मी न्यौपाने (१ घन्टा १९ मिनेट ०३ सेकेन्ड) दोस्रो र निर्मला केसी (१ घन्टा २१ मिनेट २९ सेकेन्ड) भए । उनीहरूले क्रमशः ५० हजार र ३५ हजार पुरस्कार पाए ।
हाफ म्याराथनको पुरुषतर्फ आर्मीका दीपक अधिकारी विजेता भए । उनले १ घन्टा ०४ मिनेट ०६ सेकेन्डमा दूरी पार गरे । उनले ७५ हजार र स्कुटर पुरस्कार जिते । आर्मीका मुकेश पालले १ घन्टा ०४ मिनेट ५७ सेकेन्डबाट रजत र बागलुङका तीर्थ पुनले १ घन्टा ०५ मिनेट १५ सेकेन्डबाट कांस्य जिते । उनीहरूले क्रमशः ५० र ३५ हजार पुरस्कार पाए ।
यस्तै, १० किमी छात्रतर्फ विकेश घिमिरे, प्रज्वल श्रेष्ठ र सुशील बोहरा तथा छात्रातर्फ सोनी घतानी, साधना श्रेष्ठ र मनीषा गिरी शीर्ष तीन स्थानमा विजयी भए । उनीहरूले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार पाए । १० किमी सैनिक अधिकृत महिलातर्फ अस्मिता जिसी, दुर्गा केसी र गीता गुरुङ तथा पुरुषतर्फ सुरज ऐरी, विशालचन्द्र वाजी र जिलेस्पीजंग कार्की क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरूले क्रमशः १०, ७ र ५ हजार पुरस्कार पाए ।
विजेता खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले पुरस्कार वितरण गरेका थिए ।