
प्रहरीले रविको राहदानी अनुसन्धानको उजुरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा पेस
प्रकाशित मिति । २५ माघ २०७९ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आई राहदानी (पासपोर्ट) लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी परेको निवेदन प्रहरीले दर्तासम्म गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको छ ।
रवि लामिछानेको राहदानी सम्बन्धमा छानबिन गरिपाउँ भनेर युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार निवेदन पेस गरेका छन् ।सरकारी वकिलको कार्यालयले बिहीबार फेरि बोलाएको पौडेलले जानकारी दिए ।
‘रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसुर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)को व्यवस्थाअनुसार निज कसुरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाई पाउँ,’ जिल्ला सरकारी वकिलको कार्यालयमा पेस भएको निवेदनमा भनिएको छ ।
प्रहरी परिसर टेकु, काठमाडौंले प्रमाणसहित जाहेरी दिँदा पनि दर्ता गर्न नमानेपछि आफू कानुन बमोजिम नै जिल्ला सरकारी वकिलको कार्यालय आउनुपरेको पनि पौडेलले निवेदनमा उल्लेख गरेका छन् । ‘गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसुरदारको नामको राहदानी,
राहदानी ऐन बमोजिम रद्द गर्न तथा राहदानी सम्बन्धी कसुरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसुरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसुरको अनुसन्धान तथा कानुन बमोजिम मुद्दाको कारबाही चलाई पाउँ भनी मिति २०७९ माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठामडौंमा जाहेरी दर्ताको लागि पेस गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदाहुँदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेको,’ भन्ने पौडेलले निवेदनमा उल्लेख गरेका छन् । प्रहरीले उजुरी लिन नमानेमा सरकारी वकिलको कार्यालयमा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।
अमेरिकी पासपोर्टमा नेपाल छिरेको १६औं दिनमा नेपाली पासपोर्ट
रविसँग तीन वर्षसम्म दुई राहदानी, रोकिएको अनुसन्धान अब होला ?
लामिछानेले अमेरिकी नागरिक बनेपछि निष्क्रिय बनेको २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी नागरिकता प्रयोग गरी २७ मे २०१५ मा ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । त्यतिबेला उनी नातेदार भिसामा ५१२९६६९८१ नम्बर अमेरिकी राहदानी बोकेर नेपाल आएका थिए । लामिछाने चितवन २ बाट सांसद निर्वाचित भएपछि राहदानीको सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।
गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । जिल्ला प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशन दिएको थियो ।
प्रहरीले छानबिन गरिरहेकै बेला लामिछाने गृहमन्त्री बनेका थिए । त्यसपछि उक्त अनुसन्धान तथा छानबिन प्रक्रिया रोकिएको थियो । लामिछानेलाई सर्वोच्च अदालतले माघ १३ गते सांसद बन्न अयोग्य रहेको भन्ने फैसला गरेको थियो । त्यसपछि उनको राहदानीको विषयमा छानबिन गर्न फेरि उजुरी परेको हो ।
राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित
दाङ — लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी विजयी भएका छन् । उनी ४ हजार२६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए । दसौंदी सत्ता गठबन्धनका उम्मेदवार थिए।
कांग्रेसका माधवप्रसाद आचार्यले ३ हजार ७ सय २० र नागरिक उन्मुक्तिका राजेन्द्रबीर रायले १ सय ९३ मत प्राप्त गरेका छन् । सत्तागठबन्धनका तर्फबाट दसौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको थियो।
एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रियसभा सदस्य छोडेका थिए । उनले रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको थियो । रूपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशासिं उपचारका लागि भारत गएकाले मतदानमा सहभागी हुन नसकेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए ।
प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरु छन् । तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थान जितेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका थिए । स्वतन्त्रबाट ३ जनाले जितेकामा एक जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सुर्खेतमा लागूऔषधसहित चार जना पक्राउ
वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ पाथिभारा मन्दिर नजिकबाट कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिलीग्राम ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर- ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत र २० वर्षका रोहन धौलाकोटी छन् । यस्तै २६ वर्षका दिपेश थापामगरलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट लागूऔषध बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । उनीहरूको साथबाट २१ हजार ९ सय ४० रुपैयाँ पनि फेला बरामद गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई समातेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा राखिएको छ ।