सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रास्वपाको बैठक अनिर्णीत, आइतबार फेरि बस्ने

प्रकाशित मिति । २१ माघ २०७९ ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा टुंगोमा पुग्न सकेन । शनिबार राति आकस्मिक रूपमा पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षबिहीन बनेको हो ।

बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए । ‘बैंठकमा समसामयिक राजनीतिबारे कुरा गर्‍यौं । जुन किसिमको अहिलेको अवस्था छ राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनसम्म छलफल भयो,’ उनले भने, ‘भोलि बैठक बस्ने भएको छ । साढे ११ बजे पुनः बैठक बस्ने र निर्णय गर्ने कुरा भएको छ ।’

बैठकमा पार्टी सभापति रवि लामिछानेले सत्तारुढ गठबन्धनमा भइरहेका कुराकानीबारे जानकारी दिएका थिए ।

रास्वपाले अहिलेको राजनीतिको आवरणमा गृह मन्त्रालयको विवाद जस्तो देखिए पनि अन्तर्यमा भने अर्कै खेल भइरहेको हो कि भन्ने आशंका गरेको छ । परियारले भने, ‘यो गठबन्धनमा गृह मन्त्रालय र रास्वपामात्रै विवादको विषय होइन । अरु विषय पनि छन्, हामीलाई विषय बनाइएको हो कि भन्ने लागेको छ ।’

रास्वपाले चितवन क्षेत्र नम्बर २ मा चाँडो उपनिर्वाचन गर्नुपर्ने पनि माग गरेको छ । बैठकमा चितवन-२ मा छिटो निर्वाचन गराउन पहल लिनुपर्ने कुरा पनि भएको थियो ।

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको आग्रहमा बिहीबार दुई दिन समय दिएको तर बैठकसम्म नबोलाएकोप्रति भने रास्वपाले असन्तुष्टि जनाएको छ ।

भैरहवाका युवाको चासो- ‘मिडियाले राजधानी बाहिरका विषय पनि उठाउनुपर्‍यो’

भैरहवा — भैरहवाका युवा उद्यमी, विद्यार्थी र स्थानीय सरोकार पक्षहरूले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सञ्चारमाध्यमले दबाब सिर्जना गर्नुपर्ने बताएका छन् । कान्तिपुर पब्लिकेसन्सद्वारा भैरहवामा आयोजित अन्तरक्रिया ‘कफी विथ काठमाडौं पोस्ट’का सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।

अन्तरक्रियामा सहभागी अधिकांशले स्थानीय तथा क्षेत्रीय विषयलाई मिडियाले उठाउनु पर्ने भन्दै सुझाव दिएका थिए । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलले विदेशी एयरलाइन्सलाई आकर्षित गर्न नसक्दा अझै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उक्त मुद्दा मिडियाले उठाउनुपर्ने भन्दै स्थानीयहरूले जोड दिएका हुन् ।

लुम्बिनी क्षेत्रका युवा उद्यमीहरूले स्टार्टअपहरू काठमाडौं उपत्यकामा धेरै केन्द्रित भएको भन्दै राजधानी बाहिरका क्षेत्र केन्द्रित स्टार्टअप सुरु गर्न उद्यमीहरूलाई आकर्षित गर्नुपर्ने बताएका थिए।

शुक्रबार भैरहवामा आयोजित उक्त कार्यक्रममा बोल्दै कान्तिपुर पब्लिकेसन्सका सीईओ महेश स्वारले यस कार्यक्रमले आफ्नो संस्थालाई युवाहरूको आवाज सुन्न र आम स्रोतामाझ पुग्न मद्दत पुग्ने बताएका थिए । ‘हाम्रो उद्देश्य तपाइँहरूलाई सुन्नु हो । विशेषगरी नसुनिएका युवाका प्रतिक्रियालाई व्यवहारमा समावेश गर्ने प्रयास हो,’ सीईओ स्वारले बताए ।

यस्तै काठमाडौं पोस्टका सम्पादक विश्वास बरालले आफूहरूले समेट्नुपर्ने युवाका प्रतिक्रिया सुन्न भैरहवामा आइपुगेको बताए । काठमाडौं पोस्टका पाठकले पत्रिका र डिजिटल प्लेटफर्ममा पनि के पढ्न र सुन्न चाहन्छन् भन्ने विषयबारे बुझ्न आफूहरू यहाँ पुगेको उनले बताए । ‘हामी यहाँ द काठमाडौं पोस्टले समेट्नु पर्ने समस्याका बारेमा तपाईंको प्रतिक्रिया सुन्न आएका छौं। एक पाठकको हैसियतले अङ्ग्रेजी पत्रपत्रिकाले फरक ढंगले समेटेका विषयलाई कसरी खोज्दै हुनुहुन्छ ? द काठमाडौं पोस्टमा आजका युवाहरू के हेर्न चाहन्छन् ? भन्ने जान्न यहाँ आएका हौं,’ सम्पादक बरालले भने ।

सम्पादक बराल, सीईओ स्वार र कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवालले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिएका थिए । अन्तरक्रियाका युवा सहभागीहरूले संघीयता सुदृढीकरणका लागि वकालत गर्ने हो भने पत्रिकाले प्रदेशका समाचार र विषयलाई बढी समेट्नुपर्ने सुझाव दिएका थिए ।

पोस्टका सम्पादक बरालले भने संघीयता र विद्यमान शासन प्रणालीको सुदृढीकरणका लागि आवाज उठाउने पोस्टको मुख्य प्राथमिकता रहेको बताए । कार्यक्रममा सहभागी केही विद्यार्थीहरूले नेपाली सञ्चारमाध्यमले क्षेत्रीय विषयलाई पर्याप्त ठाउँ नदिएको र केन्द्रीय राजनीतिजस्ता विषयमा केन्द्रित हुँदा आम जनताको पीडा ओझेलमा परेको गुनासो गरेका थिए । यस्तै केही सहभागीहरूले युवाहरूको रोजाइमा पर्ने फेसन र मनोरन्जनका विषयलाई पनि समेट्न सुझाव दिएका थिए ।

केहीले भने सांस्कृतिक मुद्दा र भिन्न समुदायलाई बढी प्राथमिकता दिनुपर्ने सुझाव दिए। यस्तै अन्तरक्रियामा मानसिक स्वास्थ्य, हिंसाविरोधी विषय लगायत मुद्दालाई पनि मिडियाले समेट्नुपर्ने सुझाव आएका थिए ।

कान्तिपुर पब्लिकेसन्सको आयोजनामा शनिबार हुने ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रममा राजनीतिज्ञ, विज्ञसहित अन्य सरोकारवालाले केही महत्त्वपूर्ण विषयमा विमर्श गर्नेछन् ।

नेपालको विकास र जनताको खुसी भारतको चाहना : राजदूत श्रीवास्तव

राजविराज — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध संसारको अन्य कुनै मुलुकमा नरहेको दाबी गरेका छन् । भारतीय दूतावासको सहयोगमा सप्तरीमा निर्माण भएको योजनाहरुको शुक्रबार राजविराजमा उद्घाटन गर्दै राजदूत श्रीवास्तवले दुई देशको मैत्रीपूर्ण समबन्ध अझै प्रगाढ बनाउन सबैको योगदान हुनुपर्ने बताए ।

‘नेपाल र भारतबीचको जस्तो मैत्री सम्बन्ध संसारको अरु कुनै दुई देशमा छैन,’ राजदूत श्रीवास्तवले भने, ‘नेपालको विकास र यहाँका जनताको खुसी हाम्रो चाहना हो ।’

पछिल्लो समय कालीगण्डकीबाट अयोध्या लगिएको शिलाले पनि दुई देशको स्नेहपूर्ण मित्रता प्रष्टिएको राजदूत श्रीवास्तवले बताए । राजदूत श्रीवास्तवले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा भारतीय दूतावासले सहयोग गरिरहेको चर्चा गर्दै भारत सरकारले नेपाली जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यमा सहयोग जारी राख्ने बताए ।

राजदूत श्रीवास्तवले दूतावासको सहयोगमा निर्मित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष तथा प्रसूति भवन, नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय बोरियाको भवन तथा जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरको भवन उद्घाटन गरे ।


Last Updated on: February 5th, 2023 at 12:09 am


१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया