
रास्वपा तत्काल सरकारबाट नबाहिरिने, उच्चस्तरीय राजनीतिक संयन्त्रमा कुरा राख्ने
प्रकाशित मिति । १९ माघ २०७९ ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले २ दिन पर्खन आग्रह गरेका छन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको छ । गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले स्वीकारेनन् ।
केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् । ‘उच्चस्तरीय संयन्त्रको बैठक पर्खने र पर्ख र हेरको नीतिमा बस्छौं’ बैठकमा सहभागी एक सांसदले इकान्तिपुरसँग भने,’सरकारबाट तत्काल हटेमा कमजोरी र कच्चा व्यवहार हुन्छ भन्ने अधिकांशको धारणा आएको छ ।’
बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले २ दिन पर्खन आग्रह गरेको जानकारी दिए ।’प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर समय माग्नु भएको छ’ ढकालले भने,’त्यसैले हामीले अहिले उहाँहरुले गर्नुहुन्छ हेर्छौं । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं ।’
रास्वपा अध्यक्ष लामिछानेले बिहीबार दिउँसो सामाजिक सन्जालमा आफू अभिमन्यू बनेर नबस्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । उक्त चेतावनी दिएपछि उनले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।
गृह मन्त्रालय नपाएकै अवस्थामा सरकारबाट बाहिरिइहाल्न नहुने भन्दै अधिकांसले सुझाव दिएपछि लामिछानेले सरकारबाट बाहिरिने निर्णय गर्न हिच्किचाएर मध्यमार्गी बाटो अनपाएका हुन् ।
प्रधानमन्त्री दाहालले गृह मन्त्रालयमा तत्काल रास्वपाको स्वार्थ बाझिने र मुद्दाको पूर्ण पाठ समेत आइनसकेको अवस्थामा फेरि लामिछानेलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भन्दै लामिछानेलाई मन्त्री नबनाउने अडान लिइरहेका छन् । तर, सत्ता गठबन्धनकै अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गृह मन्त्रालय लामिछानेलाई दिन अदालतको फैसलाको पूर्णपाठ पर्खिनु आवश्यक नरहेको बताउँदै आएका छन् ।
बिहीबारै बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तत्काल रास्वपालाई गृहमन्त्री नदिने अडान लिएको छ ।
रास्वपाका सभापति लामिछानेमाथि दोहोरो राहदानी राखेको आरोपसमेत छ । उनको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ आइसकेको छैन भने उनको राहदानी मुद्दामा प्रहरीले अनुसन्धान समेत गरेको छैन ।
लामो समय अमेरिका बसेर नागरिकता समेत लिइसकेका लामिछानेले नेपाल फर्किएर पत्रकारिता गर्दै राजनीतिमा सामेल भएका हुन् । तर, उनले विदेशबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिमा प्रक्रिया पूरा नगरेका कारण उनको गृहमन्त्री र सांसद पद नै गुम्यो ।
सांसद पद गुमेपछि प्रक्रिया पुर्याएर उनले नेपाली नागरिकता लिएका छन् । तर उनको हैसियत गैरसांसदको छ । गैरसांसदकै हैसियतमा पनि रविले गृहमन्त्री बन्न जोडबल गरिरहेका छन् । उनको जोडबलमा प्रधानमन्त्री दाहालले सहयोग नगरेपछि लामिछाने सरकारबाटै हट्ने मनस्थितिमा पुगेका हुन् । तर बिहीबारको पार्टीको बैठकले लामिछानेको झोकलाई केही दिनका लागि शान्त पारिदिएको छ ।
राजनीति ! ओ राजनीति !
प्रत्येक हप्ता एउटा नयाँ स्क्यान्डलको झ्यालबाट राजनीतिको घाम उदाउँछ र सामाजिक सञ्जालको बार्दलीबाट हात हल्लाएर अस्ताउँछ । राजनीतिको नयाँ फर्मुला बनेको छ, स्क्यान्डल । स्क्यान्डल छ त राजनीति छ, छैन त छैन । तिमी विचारको कुरा गर्छौ ? हैट, विचार कहीँ बिक्ने कुरा हो ?
बजारको बुर्जामा त बिक्ने कुरा पो ल्याउनुपर्छ । सिंगै राजनीति बेचिदिए पनि फरक पर्दैन । जरुरी कुरा केही छ भने त्यो हो- बिक्ने स्क्यान्डल ।
एक थान टुकुचा पनि उधिन्न नसक्ने कुनै सानदार मेयर हुन्छ ? छाया सेन्टरतिर पो डोजरको छाया पनि देखिन हुन्न, शाही डोजर अन्त जहाँ जोते पनि हुन्छ । व्यापारी घरानाले बाँसबारीमा अर्बौंको बास हाले पनि हुन्छ, बालमन्दिरको जग्गामा आलिसान पाल गाडे पनि हुन्छ, ठेलागाडा र साइकलमा स्वरोजगारी रच्नेहरूलाई पो लघारीलघारी खेद्न मजा आउँछ । मकै पोल्ने, जुत्ता मर्मत गर्ने, तरकारी र फलफूल घरघर पुर्याउनेहरू कान्तिपुरी नगरीमा कुनै सुहाउने मान्छे हुन् ? सेयर, घडेरी वा मान्छेकै दलाली गरेर होस्, सामान्य मान्छेको खल्तीबाट रातारात अर्बौं रुपैयाँ उडाउन सक्ने महारथीहरूले करोड–करोडका गाडीमा सयर गर्ने सहर पो हो त यो !
स्क्यान्डल नै राजनीति हो भन्ने स्थापित भैसकेको हुनाले नै गुरु केशव स्थापितले खनेको डोजरे बाटामा शिष्य बालेन लुरुलुरु एकलव्यसरि हिँडिरहेका छन् । एउटा कुरा नोट गर्नुहोला- उनी काम गरिरहेका छन् ! हो, प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म अर्थमन्त्रीदेखि गृहमन्त्रीसम्म सबै काम गरिरहेका छन् ।
यो नसोध्नुहोला, उनीहरू के काम गरिरहेका छन् । कोही निर्देशनमाथि निर्देशन दिइरहेका छन्, कोही सडकका खाल्डा पुरेको निरीक्षण गरिरहेका छन्, कोही बातबातमा कसम खाइरहेका छन्, कोही स्पष्टीकरणको पुलिन्दा खोलिरहेका छन्, कोही आफैंले सरापेको उपप्रधानको पगरी गुथेर पूजापाठ र सलामी खानुको मजा लिइरहेका छन् । उनीहरू फगत काम गरिरहेका छन् !
राजनीतिको खास काम पदमा पुग्नु हो । राजनीतिको यो ‘भालेजुधाइ’ मा रौद्र पखेटा उज्याउनु, काँक्काँक् र कुँक्कुँक् गर्नु, उफ्रीपाफ्री होहल्ला मच्चाउनु, जेजसरी होस् पदमा पुग्नु । सांसद होस् वा सभामुख, प्रधानमन्त्री होस् वा मन्त्रीको निर्वाचन, मानौं त्यो जित्नु कुनै व्यक्तिगत ‘उपलब्धि’ हो ।
मानौं, निर्वाचन भनेकै कुनै व्यक्तिगत जितबाजीको खेल हो । मानौं सार्वभौम जनताले भोट दिइरहेका छन् त केवल कसैको व्यक्तिगत जित सुनिश्चित गर्न, अनि आफू हार्न । राजनीतिको रागजस्तो, मिडियाको आलाप पनि उस्तै । फलानोको यस्तो उपलब्धि, चिलानोको उस्तो जित ! अपरम्पार छ यो खेल ।
राजनीतिलाई केले चलायमान बनाउँछ ? अझ भनौं, जनसेवी र देश हाँक्न सक्ने केले बनाउँछ ? चुनाव जित्ने फन्डाले कि सरकार बनाउने खेलले ? राष्ट्रपति पदको छिनाझपटीले कि सभामुख/उपसभामुख भागबन्डाले ? निर्देशनहरूको लस्करले कि प्रत्येक किस्सामा कसम खाएर जिब्रो पड्काउने रहरले ? विचार र विचारनिष्ठ व्यवहारले भनौं भने हिजोआज एकसेएक नेताहरू कार्यकर्तालाई सिकाइरहेका छन्- विचारले चुनाव जितिन्न ! समाजवादी, साम्यवादी सबैका मनमा विचार होइन, पावर र पैसा नै राजनीतिको चालकतत्त्व हो भन्ने गहिरो विश्वास झाँगिएको छ । विचार भनेको बिस्तारै सोचौंला, सत्तामा खुट्टा घुसाइहाल्नु नै राजनीति हो भन्ने ‘विचार’ बोक्नेहरूका बारेमा त केही भनिरहनै परेन ।
दैनिक २५ सयभन्दा बढी युवा विदेश गैरहेका छन् तर यो हाम्रो राजनीतिको सरोकार होइन । कृषि उन्मूलन कार्यक्रम जोडदार ढंगले अघि बढिरहेको छ, यो कुनै अनौठो कुरा हो ? करको भार र महँगी दिनहुँ चुलिँदो छ, यो कुनै मुद्दा हो ? शिक्षा केवल एउटा फेसन बनिसक्यो तर यो कुनै जरुरी जिनिस नै होइन ।
आधारभूत जनताको स्वास्थ्य त झन् वास्ता गर्नुपर्ने एजेन्डा नै रहेन । जुन देशमा जनताका छोराछोरीले नागरिकता पाउने हकलाई कानुनी जालमा फँसाएर अल्झाइन्छ, त्यहाँ शंकास्पद नागरिकताधारी मान्छे गृहमन्त्री हुन सुहाउँछ । भ्रष्टाचार मुद्दा लागेको ठेकेदार सहरी विकासमन्त्री हुँदा स्वर्णयुग दैलैमा आइपुग्छ । म्यानपावरको धन्दामा महारथ व्यक्ति नै श्रममन्त्री हुँदा दाँतमा किरिकिरी लाग्दैन । त्यस्तो देशमा राजनीति केवल केही व्यक्तिको ‘करिअर बुस्टर’ भन्दा बढी के हुन्छ ?
२०७९ को आम चुनाव कुन विशिष्ट विचार वा मुद्दामा लडिएको थियो ? अनुसन्धान गरेर कसैले एउटा खाका निकालेर देखाओस् ! यो चुनाव केवल हल्लामा लडिएको थियो, गालीगलौज र विचारहीन सिँगौरीमा लडिएको थियो । सुशासन, भ्रष्टाचारको विरोध इत्यादि त भन्नका लागि भनिएका थिए । यो चुनावबाट उदाएका सर्वथा नयाँ र ‘चमत्कारी’ पात्र रवि लामिछानेलाई हेरे यथार्थ छर्लंग देखिन्छ ।
लामिछानेले दाम्लो चुँडाएर गृहमन्त्रीको कुर्सी किन ताके ? नागरिकताको खोटले नै उनलाई त्यति धेरै व्यग्र बनाएको थियो । त्यसैले तमाम जिल्ला प्रशासन कार्यालयमध्ये काठमाडौं जिप्रका नै ‘निरीक्षण’ गरिहाल्नुपर्ने बाध्यता भयो । अहिले उनकै नागरिकताको मुद्दामा गृह मन्त्रालय र काठमाडौं जिप्रकाले उनैलाई जोगाउन सरासर गैरकानुनी र रकमी जवाफ लेखेर अदालत पठाए । देखादेखी पासपोर्ट फ्रडमा त प्रहरीले अनुसन्धान नै बन्द गरिदियो । नीतिगत भ्रष्टाचार, कुशासन र ‘सानालाई ऐन ठूलालाई चैन’ को विशिष्ट उदाहरण अहिले यही काण्ड बनेको छ ।
विचारको संकटबाट पैदा भएको असमञ्जस र लज्जा यति बेला कसैलाई सबैभन्दा धेरै अनुभूति भैरहेको छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरूलाई भैरहेको छ । उनीहरूले सबैभन्दा सुन्दर भाषण गरे भने त्यही सबैभन्दा कर्कश र झुटजस्तो सुनिन्छ । पुराना दल र नेताहरूलाई त यतिखेर हाइसन्चो भएको छ ।
जसले ‘नो नट अगेन’ को नारा लगाए, उनीहरू नै यो हाइसन्चोका सूत्रधार हुन् । किनभने उनीहरूले राजनीतिलाई जग्गा दलालीको दाउपेचभन्दा बढी सोच्दै सोचेनन् । यद्यपि विचारको संकट ठूला दलहरूकै हेडक्वार्टरबाट पैदा भएको हो । कुनै पनि पार्टीको विचार, सिद्धान्त, नीति, घोषणापत्रप्रति जनताको विश्वास छैन । ती केवल कागजका खोस्टा वा बुद्धिविलासका पुलिन्दा साबित भैसकेका छन् । यो दुर्घटित राजनीतिको जर्जर यथार्थ हो ।
हवाईजहाज दुर्घटनाको छानबिन आयोग बन्छ (बस लगायत सवारीसाधन दुर्घटनाको पनि छानबिन आयोग बन्नुपर्ने हो), तर राजनीति दुर्घटनाग्रस्त हुँदा छानबिन आयोग कसले बनाउने ? त्यस्तो कुनै निकाय छ भने त्यो स्वयम् जनता मात्रै हो । जनताले नै आफूभित्रबाट छानबिन गर्ने र नयाँ चेतनाको बत्ती बाल्ने हो । त्यसका निम्ति दुर्घटना चिन्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अनि राजनीतिको दुर्घटना चिन्ने सबैभन्दा सरल यन्त्र हो, विचारको यन्त्र । विचारको दृष्टिबाट हेर्नासाथ राजनीतिको भविष्यवाणी सजिलै गर्न सकिन्छ ।
राजनीति भनेको कुनै पार्टी वा राजनीतिकर्मीको भविष्यको कथा होइन । यो त जनताको सामूहिक भविष्यको कथा हो, जो इतिहास र वर्तमानको जगमा बनेको हुन्छ । उदाहरणका लागि, सुगौली सन्धिदेखि सुरु भएको लाहुरे (वैदेशिक रोजगारी) इतिहास किन र कसरी आज हाम्रो एउटा बृहत्तर वर्तमान बन्न पुग्यो ? आज विप्रेषण (रेमिट्यान्स) नेपाली अर्थतन्त्रको मेरुदण्ड बनिसकेको छ । र, यही प्रवाहमा कृषि र अरू उत्पादनका क्षेत्र मृत्युशय्यामा छन् । विचारको दृष्टिबाट हेर्नुहोस्, कसैलाई पनि कृषिकर्म गरेर पिछडा वा ‘हलो जोत्ने’ अपमानजनक जिन्दगी बाँच्न मन छैन ।
मानौं, कुनै कारणवश १० लाख नेपालीले वैदेशिक रोजगारी गुमाउनुपर्यो र उनीहरूले पठाउने रेमिट्यान्स बन्द भयो; हाम्रो हालत के हुन्छ ? प्राण उब्जाउने कृषिलाई किसानको व्यक्तिगत बाध्यताभन्दा बढी केही ठानिएको छैन भने कुनै पनि संकटमा हामी के खाएर बाँच्छौं ? के यो सवाल हाम्रो राजनीतिमा प्रभावकारी मुद्दा हो ? होइन भने हाम्रो राजनीति विचारहीनताको दलदलमा फँसेर दुर्घटनाग्रस्त भैसकेको छ । राजनीतिमा फेरि पनि विचार फगत फेसन वा बुद्धिविलास मानिएको छ भने हामी दुर्घटनामा नपरे को पर्छ ? के यो दुर्घटनालाई पृथ्वी जयन्ती मनाएर टार्न सकिन्छ ?
देश र जनताको जीवनको जाज्वल्यमान यथार्थ नदेख्ने राजनीति कसको राजनीति हो ? विचारविहीन राजनीति कसको राजनीति हो ? कुनै करिअर खोजिरहेको राजनीतिक दलालको त होला, तर त्यो जनताको कदापि हुन सक्दैन ।