
तीन बालबालिकाको जीवनयापनमा समस्या
प्रकाशित मिति । १९ माघ २०७९ ।
बझाङ — बाबुको मृत्युपछि आमाको संरक्षणमा रहेका तीन बालबालिका बिचल्लीमा परेका छन् । गत मंसिरमा आमाले अर्को विवाह गरेपछि साइपाल गाउँपालिका–२ जिमाका १३ वर्षीया सुनिता बोहरा, १० वर्षीय अर्जुन बोहरा र ७ वर्षीया सन्दीपा बोहरा अलपत्र परेका हुन् ।
०७२ असारमा यार्चा टिपेर फर्किने क्रममा उनीहरूका बुवा दुर्क बोहराको खोलामा बगेर मृत्यु भएको थियो । त्यसयता उनीहरूको लालनपालन आमा अमृता बोहराले गर्दै आएकी थिइन् । आमाले पनि छाडेर गएपछि विपन्न परिवारका यी बालबालिकालाई दैनिक जीवनयापनमा समस्या हुन थालेको छ ।
वृद्ध बाजेबज्यैको स्याहारको अभिभारासमेत जेठी छोरी सुनिताको काँधमा आएको छ । ‘आमाले छोडेर गएपछि राम्रोसँग खान पनि पाएका छैनौं, भाइबहिनीलाई कसरी पाल्ने, कसरी पढाउने सोच्न सकेको छैन,’ कक्षा ६ मा अध्ययनरत सुनिताले भनिन्, ‘बाजेबज्यैको रेखदेख कसरी गर्ने ?’
बाजे रतिभान बोहरा र बज्यै रूपा दुवै ७४ वर्षका छन् । अमृताले जडिबुटी टिपेर र स्थानीय स्तरमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी थिइन् । अहिले बालबालिकालाई खान–लाउन समस्या भएको र खर्च अभावमा पढाइसमेत छुट्ने अवस्था रहेको काका रवीन्द्र बोहराले बताए । ‘हामी आफैं गरिब छौं, अहिलेसम्म सहयोग गरे पनि सधैं नसकिएला, यिनीहरूको बिचल्ली हुने भयो,’ उनले भने ।
पालिकाका तर्फबाट केही राहत दिन सकिए पनि उनीहरूको जीविका र शिक्षाको ग्यारेन्टी नहुने भएकाले कुनै संघसंस्थाले लगेर पढाइदिए राम्रो हुने गाउँपालिका अध्यक्ष मानवीर बोहराको भनाइ छ ।
यो खबर आजको कान्तिपुरमा छ ।
व्यासमा मोबाइल सेवा बन्द
काठमाडौँ — आगलागीको कारण एक महिनादेखि अवरुद्ध दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु आसपासको मोबाइल सेवा अझै सञ्चालन हुन सकेको छैन । पुसमा आगलागीले लिंक टावरमा राखिएका ब्याट्री डाउन भएपछि मोबाइल सेवा अवरुद्ध भएको थियो ।
नेपाल टेलिकम दार्चुलाले माघ पहिलो साता प्राविधिक पठाएर मोबाइल सेवा सञ्चालन गर्ने प्रयास गरे पनि हुन सकेको छैन । माघ ४ मा प्राविधिक कर्मचारी छाङरु पुगेर एक हप्ता टावर सञ्चालनको प्रयास गरेका थिए । ‘आगलागीबाट सोलार र ब्याट्री जोड्ने तारहरू जलेका थिए’, टेलिकम दार्चुलाका प्राविधिक दुर्गा बस्यालले भने, ‘तारहरू परिवर्तन गर्दा पनि ब्याट्री र सोलार कन्ट्रोलरले काम नगर्दा टावर सञ्चालन हुन सकेन ।’
अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मात्र बसोबास छ । कौवा र बसुन्धरा वन क्षेत्रबाट फैलिएको आगो ज्याक्ति टावरसम्म पुगेपछि टावरमा क्षति भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । कौवा र बसुन्धरा क्षेत्रमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ ।
छाङरु गाउँबाट ३ घण्टाको पैदल दूरीमा रहेको ज्याक्ति टावरमा तत्काल नयाँ ब्याट्री ढुवानी गर्न सम्भव नभएको टेलिकम दार्चुलाले जनाएको छ । ‘अहिले उक्त क्षेत्रमा बाक्लो हिमपात भएको हुनाले तत्काल ब्याट्री ढुवानी गर्न सकिने अवस्था छैन’ टेलिकम कार्यालयका प्राविधिक कर्मचारी बस्यालले भने ‘भारतीय बाटो भएर छाङरुसम्म र छाङरुबाट भरियामार्फत ढुवानी गर्नुपर्ने हुन्छ ।’
हिमपातले अत्यधिक चिसो भएको र ज्याक्ति टावर उच्च स्थानमा रहेकाले त्यहाँ पुग्नसमेत कठिन भएको बस्यालको भनाइ छ । छाङरुमा एक हप्ता कुरेर माघ ९ मा टेलिकमका प्राविधिक बस्याल सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई/दुई सुरक्षाकर्मीसहित ज्याक्ति टावरमा पुगेका थिए ।
व्यासका स्थानीयको कुञ्चा सरेसँगै दुई महिनापछि ज्याक्तिको लिंक टावर मर्मत गरी सञ्चालनमा ल्याइने टेलिकम दार्चुलाले जनाएको छ । अहिले व्यासको छाङरुमा स्काई फोन र सशस्त्र प्रहरीको गुल्ममा भिस्याट प्रविधिको एनटिस्याट फोन सञ्चालनमा छ ।
मौसममा बदली भएपछि स्काई फोन सेवा बन्द हुन्छ । घाम लागेपछि उक्त सेवा सञ्चालन हुन्छ । हिमपात र चिसो छल्न व्यासका स्थानीय बासिन्दा भने अहिले सदरमुकाम खलंगा सरेका छन् ।
कालीगण्डकीको शिला मूर्ति निर्माणका लागि अयोध्यामा हस्तान्तरण गरियो
अयोध्या (उत्तर प्रदेश) — अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।
बिहीबार अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तानान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट आएका सयौं मानिसहरूको सहभागिता थियो ।
रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला ल्याइएको हो ।
शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्याउने क्रममा बाटामा हजारौं भक्तजनले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।
लामो समयको विवादपछि अयोध्यामा राम मन्दिरको निर्माण भइरहेको छ । राम जन्मभूमिस्थल विवादित थियो । मुसलमान समूदायको बाबरी मस्जिद र हिन्दुको मन्दिरलाई लिएर वषौं विवाद कायम थियो ।
एउटै जमिनलाई हिन्दुहरुले रामजन्म भूमि र मुसलमान आफ्नो पवित्र मस्जिदको स्थान दाबी गर्दै आएका थिए । भारतको सर्वोच्च अदालतले ९ नोभेम्बर २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिरको निर्माण हुँदैछ ।
७ फिट लम्बाई, ५ फिट चौडाई र ३.५ फिट मोटाईका २ थान शिला म्याग्दीबाट दुईवटा लहरीमा ल्याइएको हो । १८ सय करोडको लागतमा भारत सरकारले राम मन्दिरको निर्माण गर्दैछ । मन्दिर निर्माणसँगै अयोध्याको चौतर्फी विकासका विभिन्न योजनाहरु पनि एकैसाथ सञ्चालित छन् । सडक फरकिलो गर्ने, विमानस्थलको निर्माण, रेल्वे स्टेशनको आधुनिकीकरण लगायतका ५० बढी प्रोजेक्टमा काम भइरहेको छ ।