
महानगरका कर्मचारीको सम्पत्ति छानबिन गर्ने मेयर शाहको तयारी
प्रकाशित मिति । १६ माघ २०७९ ।
काठमाडौ
कर्मचारीहरु कमिसनको लोभमा टेण्डर तथा कोटेसनका कामहरुमा बढी ध्यान दिन थालेको बालेन्द्रको टिमको निष्कर्ष
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धार दुरुपयोग आयोग,राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् ।
कान्तिपुरलाई मेयर बालेन्द्रका सहयोगीहरूबाट प्राप्त जानकारी अनुसार ३५ देखि ४० जना कर्मचारीहरुको सम्पत्ति छानबिन हुन लागेको हो । महानगरमा करिब २१ सय जना कर्मचारी कार्यरत छन् । काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख,वडा सचिव, केही नगर प्रहरीलगायत विभिन्न शाखामा कार्यरत तल्लोतहदेखि माथिल्लो तहसम्मका कर्मचारी छन् ।
विभिन्न बहानाबाजी बनाउँदै सेवाग्राहीलाई झुलाउने, दुःख दिने जस्ता गुनासाहरू महानगरमा आइरहेको छ । जनतासँग प्रत्यक्ष रुपमा जोडिएका कामहरू चाँडो गर्न र कुनै पनि बहानामा जनताले दुःख नपाउने गरी सम्पन्न गर्न मेयर शाहले निर्देशन दिए पनि सेवाग्राहीबाट निरन्तर रुपमा गुनासो र भ्रष्टाचारको गुनासो आउन थालेपछि बालेन्द्रले उक्त निर्णय लिएको उनका एक सहयोगीले कान्तिपुरलाई बताए ।
वडा स्तरमा कार्यरत कर्मचारीहरु समेत कमिसनको लोभमा टेण्डर तथा कोटसनका कामहरुमा बढी ध्यान दिन थालेको बालेन्द्रको टिमले जनाएको छ ।
यसबारे उनको सचिवालयले आधिकारिक रुपमा नबताए पनि ‘स्वभाविक प्रक्रिया’ भनेको छ । कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी भइरहेको हो ? भन्ने प्रश्नमा मेयर बालेन्द्रको सचिवालयले ‘स्वभाविक प्रक्रिया’ भनेको छ ।
विगतका नेतृत्वदेखि नै काठमाडौं महानगरपालिकामा भ्रष्टाचारको अखडा भएको भन्दै गुनासो आउने गरेको थियो । मेयरमा निर्वाचित भएयता बालेन्द्रले ‘पर्ख र हेर’को नीति लिए पनि पुरानै नेतृत्वमा भएजस्तै काम कर्मचारीहरुबाट हुन थालेको उनको टिमले निष्कर्ष निकालेको छ । मेयरमा निर्वाचित भएयता ८ महिनामा पनि सेवाग्राहीको गुनासो झन धेरै बढ्न थालेपछि शाहले ती कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नका लागि सम्बन्धित निकायसँग परामर्श थालेका हुन् ।
‘भ्रष्टाचार शून्य नगर’को रुपमा अग्रसर बालेन्द्रले सेवालाई डिजिटलाइज गर्नमा विशेष जोड दिएका छन् । अघिल्लो सातादेखि महानगरले वडा नम्बर ५मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने कामको थालनी गर्दै सेवा विस्तार गरिरहेको जनाएको छ ।
‘हामीले अहिले ३५/४० जना कर्मचारीलाई शंकाको सूचीमा राखेका छौं । तिनको सम्पत्ति र बैंकिङ ट्रान्जेक्सन हेरेपछि अरु आउने गुनासोको आधारमा अख्तियार र सतर्कता केन्द्रलाई सूचना उपलब्ध गराउने छौं, ‘ मेयरका सचिवालयका एक सदस्यले भने ।
त्यसैगरी कोभिड महामारीको समयमा सिम्रौनगढ नगरपालिकाले करोडौं लगानी गरेर सञ्चालनमा ल्याएको सुविधा सम्पन्न अस्पताल मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कोराना कालमा सुलभ र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको १५ शय्या क्षमता भएको अस्पताल (अहिले नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखा) ले सोमबार एक सूचना प्रकाशित गरी ओपीडी (बहिरंग) सेवाबाहेकका सबै सेवा अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको जनाएको छ ।
अस्पताल बन्दले ग्रामीण भेगका सर्वसाधारण निराश बनेका छन् । अस्पतालमा दैनिक करिब सय जनाले उपचार सेवा पाउँदै आएका थिए । नगरपालिकाले दुई करोड खर्चेर २ तल्लाको १२ कोठे नगर अस्पताल आफ्नै लगानीमा निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।
त्यसपछि यस क्षेत्रका बासिन्दाहरू सहज उपचार सुविधा पाउन थालेका थिए । नगरभित्रका अन्य सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक एमबीबीएससहित प्राविधिक र स्वास्थ्यकर्मी गरी ३० जना परिचालन गरेर सुविधायुक्त यो अस्पताल सञ्चालन गरिएको थियो ।
२५ लाख खर्चेर २४ औं घण्टा खुल्ला रहने फार्मेसी सञ्चालनमा ल्याइएको थियो । अहिले अस्पतालका प्रयोगाशाला, एक्सरे, फार्मेसी, अकास्मिक सेवालगायत सबै बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले बताए । नगरपालिकाले त्यसमा कार्यरत ३० जनामध्ये करारका २४ जना कर्मचारीलाई हटाएपछि सेवा अवरुद्ध भएकाले केही समयका लागि अस्पताल बन्द गर्नु परेको उनको भनाइ छ ।
‘अस्पतालको व्यवस्थापन भद्रगोल थियो । कर्मचारी अटेरी गर्थ्यो,’ त्यसैले कर्मचारी व्यवस्थापनदेखि सबै कार्य सकेर ठीक ढंगले अस्पताल सञ्चालनमा ल्याइनेछ,’ नगरपालिकाका प्रशासन शाखाका एक कर्मचारीले भने, ‘करारका कर्मचारीको म्याद सकेकाले अब अर्को कर्मचारी भर्ना गरेर सञ्चालनमा ल्याइनेछ ।’ करारका कर्मचारीको म्याद नथपेर अर्को कर्मचारी भर्ना गरी अस्पताल सञ्चालनमा ल्याइने नगरपालिका प्रशासनको योजनाविरुद्ध हटाइएका कर्मचारीहरुले अस्पतालमा सोमबार ताला लगाएका छन् ।
अस्पतालमा उच्चस्तरीय प्रयोगशाला, डिजिटल अल्ट्रसाउन्ड, साधारण एक्सरे, ईसीजी, ५ वटा मोनिट्रिङ मेसिनसहितको कक्षको व्यवस्था गरिएको छ । सर्पदंश र एन्टी रेबिज भ्याक्सिन, प्रसुती सेवा र अक्सिजनको व्यवस्था छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र यादवका अनुसार तत्कालका लागि ओपीडी सेवा सञ्चालन मात्र गरिने बताए ।