आइतबार १९ चैत्र २०७९


प्रकाशित मिति । १६ माघ २०७९ ।

काठमाडौं, १९ पुष । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह उर्फ बालेनले आज सर्वोच्च अदालत पुगेका छन्। उनी केन्द्रीय निर्वाचन आयोग, जिल्ला निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्।

निर्वाचन आयोगले उनीमाथि समयमै निर्वाचन खर्च नबुझाएको आधारमा ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भएपनि आफूले ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्रै खर्च भएको विवरण शाहले बुझाएको बताएका छन्। सोही जरिवानाको विरुद्धमा मेयर शाह सर्वोच्च पुगेका हुन्।

मेयर शाहले रिट निवेदनमा म्याद सकिने ३० औं दिन अर्थात २०७९ असार ११ गते शनिबार सार्वजनिक बिदा परेको र त्यसको भोलिपल्ट आइतबार आफूले खर्च विबरण पेश गरेको बताएका छन्।

‘३० दिने म्यादको अन्तिम दिनमा विदा परेकाले त्यसको लगत्तै अड्डा खुलेको पहिलो दिनमा विबरण पेश गर्न सकिने कानूनी आधार रहेको हुँदा सोही बमोजिम खर्च विबरण पेश गरेको थिए,’ सर्वोच्चमा पेश गरिएको रिट निवेदनमा भनिएको छ ।

उनी १० पृष्ठ लामो रिट निवेदनसहित सर्वोच्च पुगेका हुन्। शाहले अदालतबाट तत्काल आवश्यक र उपयुक्त आन्तरिक आदेश जारी गर्न माग गरेका छन्।

सहिदको सपना र प्रेमको आत्मदाह

राजाराम गौतम लेख्छन्– के सहिदले यस्तै कुरूप समाज निर्माणका खातिर जीवनको आहुति दिएका हुन्, जहाँ केही गरूँ भन्ने हुटहुटी बोकेको युवाले विकल्पहीन भएर आत्मदाहको बाटो रोज्नुपर्छ ? सहिदको बलिदानको योभन्दा ठूलो अपमान र अवमूल्यन अरू के हुनसक्ला ?

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए

जब–जब सहिदहरू सम्झनामा आउँछन्, भूपी शेरचनको यो कालजयी सृजनाले तिनीहरूको उत्सर्गको अर्थ र औचित्य बोध गराउँछ । अनि, राष्ट्र निर्माणको बलिवेदीमा चढेका ती इतिहासनिर्माताको बलिदानप्रति गर्व महसुस हुन्छ, सम्मानले शिर निहुरिन्छ ।

आज सहिद दिवसका दिन त्यो गरिमामय इतिहास सम्झिँदा गर्वभन्दा बढी पीडा महसुस भइरहेको छ । इलामका एक युवा उद्यमी प्रेमप्रसाद आचार्य जिउँदै जलेको घटनाका कारण मन मर्माहत छ । बेचैन मनमा प्रश्नका पत्रैपत्र छन् । के सहिदले यस्तै कुरूप समाज निर्माणका खातिर जीवनको आहुति दिएका हुन्, जहाँ केही गरूँ भन्ने हुटहुटी भएका युवाले विकल्पहीन भएर आत्मदाहको बाटो रोज्नुपर्छ ? सहिदहरूको बलिदानको योभन्दा ठूलो अपमान र अवमूल्यन अर्को के हुन सक्ला ?

लेख्न त हामीले समाजवादोन्मुख संविधान लेख्यौं । तर, न समाजले न त राजनीतिले नै समाजवादको भारी बोक्न सकेको छ । बरु नेपाली समाज राजनीतिक, आर्थिक, नैतिक सबै हिसाबले चरम भ्रष्टीकरणको बाटामा अग्रसर छ । तलदेखि माथिसम्म र माथिदेखि तलैसम्म भ्रष्ट मानसिकता जड भएर बसेको छ । एक–दुई व्यक्ति वा संस्थाले गरेका आदर्श प्रयासहरू छायामा छन् । आम निराशाका बीच समाजमा ‘म खाऊँ, मै लाऊँ’ प्रवृत्ति हावी छ ।

सत्ता र शक्तिमा पुग्ने होड सर्वत्र छ । जसरी पनि सम्पत्ति जोड्ने, भौतिक सुखसयल प्राप्त गर्ने दौडमा मानवीयता–सामाजिकता विलुप्त हुँदै छ । समाज दोहोरो मानसिकता र प्रवृत्तिमा बाँचेको छ । सीमित टाठाबाठा र सत्तानिकटले स्रोत र साधनमा रजाइँ गरिरहँदा एउटा जनसाधारण (कमन म्यान) असमानता र विभेदका बीच अनेक हन्डर–ठक्कर खान विवश छ । अभाव, असन्तुष्टि, निराशा र कुण्ठा चरमोत्कर्षमा पुगेपछि ‘कमन म्यान’ का लागि जीवन पनि बोझ हुँदो रहेछ । त्यसैले त प्रेमले जीवनसँग हार खाएर देह बिसाए । उनले जाँदाजाँदै नेपालको अर्थराजनीतिक व्यवस्था, समाज र प्रशासनको कुरूप पाटो उजागर गरिदिएर इहलीला समाप्त गरे ।

संसद्भवन अगाडि प्रेमको चीत्कार सुनेर जोकोही भावुक हुन्छन् । त्यो हृदयविदारक दृश्य सम्झिँदा मुटु नै काम्छ । तर, भावुकतामा बगेर उनको मृत्युको महिमा गाउने बेला होइन यो । बरु, उनको मृत्यु पछाडिका अन्तर्निहित कारणको खाजी गर्ने, त्यसमाथि बहस गर्ने र यो सामाजिक रोगलाई बढ्न नदिनेतर्फ आवश्यक सचेतता अपनाउने बेला हो ।

नेपाल प्रहरीको रेकर्ड अनुसार, एक दिनमै सरदर बीस मानिसले आत्महत्या गर्छन् । तर, आत्मदाह ! विरलै सुनिन्छ । यो नेपाली सन्दर्भमा नौलो घटना हो । हुन त आत्मदाह आत्महत्या अर्थात् सामाजिक अपराध नै हो, तर पनि प्रेमको आत्मदाहलाई मानसिक रूपमा विक्षिप्त भएर गरिने ‘आत्महत्या मात्रै’ भनेर बुझियो र त्यही श्रेणीमा राखियो भने त्यो एकांगी धारणा हुनेछ ।

आत्मदाहमार्फत प्रेमले सरकार र समाजलाई थुप्रै कुरा भन्न खोजेका छन् । आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक उनको लामो ‘सुसाइड नोट’ ले ती कुरा उजागर गर्छ । तसर्थ, अवसादबाट गुज्रेका उनले जाँदाजाँदै जे भनेर गए, जे गरेर गए, त्यो बेवास्ता गर्न मिल्ने विषय होइन । छत्तीस वर्षीय महत्त्वाकांक्षी युवा किन र कसरी खुला सडकमै ‘अग्निस्नान’ गर्ने हदमा ओर्लिए ? सामाजिक न्याय, लोकतन्त्रजस्ता अग्रगामी मुद्दाको पैरवी गर्ने समाजका लागि यो लज्जास्पद कुरा हो । यो हाम्रो समग्र राज्यप्रणालीकै असफलता हो ।

उनको ‘सुसाइड नोट’ मा दुःखका पोकैपोका छन् । ती पोका खोतल्दा थाहा लाग्छ, उद्यममा असफल भएपछि उनीभित्र चरम निराशा हुर्कंदै थियो । थपिँदो ऋणको बोझ, साथीभाइ–आफन्तबाट बहिष्कृत हुँदै जाँदा उनले न टेक्ने लौरो भेटे न समाउने हाँगो । कतिसम्म भने, नियमित जीविकोपार्जन र औषधिमुलोकै लागि वित्तीय संकट आउन थालेपछि ‘डिप्रेसन’ मा पुगेका उनी आत्महत्याको बाटो हिँड्ने निष्कर्षमा पुगे ।

मनोविद्हरू भन्छन्, मानसिक रूपमा विक्षिप्त भएका मानिसले क्षणिक आवेगमा आएर आत्महत्याको बाटो समाउँछन् । तर, प्रेमले क्षणिक आवेगमा आएर आत्मदाह गरेको देखिँदैन । उनले योजना बनाएरै यो बाटो रोजेको देखिन्छ । जब उनलाई लाग्यो आफ्ना लागि सबै ढोका बन्द भए, त्यसपछि आत्मदाहमार्फत आफ्ना पीडा र भोगाइ समाजलाई बताउने निधो गरे ।

यो आत्मदाह निदाएको अभिनय गरेर बसेको समाज र सरकारको कानैमा पड्किएको धमाका हो । उनले आत्मदाह गरेर नदेखेको, नसुनेको र सुतेको अभिनय गर्ने सरकारलाई झकझकाउन चाहेका छन् । नेपालको अर्थराजनीतिक व्यवस्थामा एउटा सामान्य उद्यमीले बेहोर्नुपर्ने भुक्तमान कति पीडादायी हुँदो रहेछ, उनको ‘सुसाइड नोट’ ले प्रस्ट पार्छ । कृषि अनुदानमा पहुँचवालाको रजाइँ र पक्षपात, बिमा–बैंकिङ क्षेत्र उद्यमीमैत्री हुन नसकेको सन्दर्भ, ठूला व्यापारीको घानमा साना उद्यमीको पिसाइ, कृषकको पसिनामा बिचौलियाको रजाइँ लगायतका थुप्रै मुद्दा व्यक्ति र संस्थाहरूको किटानीसहित प्रस्ट उल्लेख गर्दै उनले सरकारको ध्यान खिच्न खोजेका छन् ।

‘सुसाइड नोट’ मा उनले आर्थिक सहयोगको याचना पनि गरेका छन् । यो दुःखद घटनापछि विभिन्न मनकारी व्यक्तिहरूले उनको परिवारका लागि आर्थिक सहयोग गरिराखेका छन् ।

प्रेमको परिवारले एक हदसम्म वित्तीय सुरक्षा त पाउला तर के उनले उठाएका सवाल र सन्दर्भले न्याय पाउलान् ? ढुक्क हुने आधार छैन । किनभने, न सरकारमा यसप्रति आवश्यक संवेदनशीलता देखियो न त समाजमै ।

हाम्रो समाज अनौठो छ । यहाँ मानवीय संवेदना नहुने होइन तर त्यो क्षणिक हुन्छ । घटनाहरूप्रति छिटो प्रतिक्रिया व्यक्त गर्नु, छिटै उद्वेलित हुनु अनि छिटै बिर्सिहाल्नु नेपाली समाजको चारित्रिक विशेषता हो । केही दिनअघि पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा तरंगित समाजलाई प्रेमको आत्मदाहले एक–दुई दिन पोल्यो । छटपटायो पनि । तर, अब रवि लामिछानेको नागरिकता प्रकरणमा तिनलाई चासो छ । अदालतले लामिछानेको नागरिकता अवैध भन्दै फैसला सुनाएपछि उनका आगामी कदम के होलान् ? समाजको यति बेलाको केन्द्रीय चासो यता सरेको छ । प्रेमको आत्मदाह बिस्तारै विस्मृतितिरै उन्मुख छ ।

सरकारले चाहिँ छानबिन प्रतिवेदन सार्वजनिक गर्ने औपचारिकतासम्म पूरा गर्ला । किनभने, सरकारले जानेकै कर्मकाण्ड हो । यतीको जहाज दुर्घटना हुँदा छानबिन समिति गठनको कर्मकाण्ड पूरा गरेको सरकारले आत्मदाहमा पनि त्यही गर्‍यो ।

संसद्भवनको ढोकैमा ‘आत्मदाह विस्फोट’ भएपछि झसंग भएको सरकारले यो घटनालाई जुन गाम्भीर्यसाथ लिनुपर्थ्यो, लिएन । घटनापछि उसले जर्किन वा बोतलमा मट्टीतेल र पेट्रोल किन्न निषेध गर्ने निर्णय गरेर लाचारी मात्रै देखायो । यो निर्णय ‘टाउकाको औषधि नाइटोमा’ लगाएजस्तै हो ।

त्यसपश्चात् मन्त्रिपरिषद् बैठकले छानबिन गर्न गृह मन्त्रालयलाई अह्रायो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने परिवारजनलाई संवेदना दिन पुगे । उनले सहसचिवको नेतृत्वमा छानबिन समिति पनि बनाए । छानबिन गर्ने आश्वासन दिए । स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले लोकप्रियता बटुल्ने चक्करमा आईसीयूको भिडियो प्रचार गरेर केटाकेटी पारा देखाइन् । मन्त्रीका यी गतिविधिको सन्देश हो— सरकारमा नयाँ–पुराना जो गए पनि ती सबै उस्तै कर्मकाण्डी हुन् ।

सहिद दिवसकै कुरा गरौं न ।

सरकारले यो परम्परा धान्न थालेको पनि ६७ वर्ष भइसकेछ । सहिदहरूको सम्मानमा २०१२ माघ १६ गते सरकारले पहिलो पटक यो दिवस मनाउन थाल्यो । जहानिया राणा शासनविरुद्ध लोकतन्त्र र स्वतन्त्रताका लागि आवाज उठाएका कारण शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो । १९९७ माघ १० गते शास्त्रीलाई, १३ गते माथेमालाई र १५ गते श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो । तिनै सहिदको सम्मानमा सहिद दिवस मनाइन्छ ।

हरेक सहिद दिवसका दिन नेता/मन्त्री/प्रधानमन्त्री सहिदहरूको बखान गरेर थाक्दैनन् । ती सहिदका सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउँछन् । तर, के ती कर्मकाण्डी प्रतिबद्धता गर्नाले मात्र सहिदका सपना साकार भए त ? के शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दजस्ता महान् सपूतले यस्तै समाज निर्माणका लागि आहुति दिएका थिए ?

जहानियाँ राणा शासनविरुद्ध लड्दा सहिद भएका चार महान् सपूतपछि पनि राजनीतिक संघर्षका क्रममा अरू थुप्रै बलिवेदीमा चढे । निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलन, ज्ञानेन्द्रको राजशाहीविरुद्धको आन्दोलन लगायतका अनेक राजनीतिक विद्रोहहरूमा हजारौं नेपालीले शहादत प्राप्त गरेका छन् । सरकारले झन्डै नौ हजारलाई सहिद भनेर घोषणा गरेको छ । सहिद घोषणामा उचित मापदण्ड पूरा नगरेकाले कतिपय सन्दर्भमा यो विवादित र आलोचित पनि छ । यो बेग्लै बहसको विषय हुन सक्छ । तर, देशमा खुसियाली र समृद्धि ल्याउन आफू जलेर अरूलाई उज्यालो दिने सबै ज्ञात–अज्ञात सहिदको बलिदानले सार्थकता पायो ?

सहिदका सपना वास्तवमा सामान्यजनका सपना हुन् । एउटा सामान्य मान्छेले सम्पूर्ण रूपमा गरिखाने वातावरण पाउनु नै उसको सबैभन्दा ठूलो सपना हो । सहिदले देखेको सपना पनि त्यस्तै नै हो ः एउटा उन्नत समाज, जहाँ व्यावहारमै लोकतान्त्रिक पद्धति स्थापित होस्, जहाँ मानिसका राजनीतिक, आर्थिक, सांस्कृतिक सबै थरी अधिकारको सुनिश्चितता होस्, जहाँ जीविकाको चिन्ता नहोस् । तर, आज एउटा गरिखान खोज्ने उद्यमीले आफ्नै शरीरमा आगो खन्याएर जीवन समाप्त गर्नुपर्ने अप्रिय अवस्था हाम्रो नियति बनेको छ ।

यो चरम निराशाको कारक हो— नबदलिएको राजनीति । संघर्षहरूबाट उपलब्धि हासिल गरे पनि राजनीतिका सञ्चालकहरू जनतामुखी नभई सत्तामुखी भइदिँदा न पद्धति स्थापित भयो न त सामान्यजनले परिवर्तनको आभास नै गर्न सके । हुँदाहुँदा आशा र अपेक्षा गरिएका नवोदित नेताहरू पनि ‘बेइमान हुने अवसर नपाएर इमानदार भएका’ रहेछन् ।

प्रविधिले ल्याएको परिवर्तन, विश्वपरिवेशमा आएको परिवर्तन र समयसँगै स्वतः आएका परिवर्तनबाहेक नेपालीजनले सन्तुष्ट हुने ठाउँ पाएका छैनन् । पटकपटक व्यवस्था बदलिए पनि अवस्था नबदलिँदा समाजमा आक्रोश, असन्तुष्टि र चरम निराशा बढिरहेको छ ।

राजनीतिक आन्दोलन सकिए, अब मुलुक आर्थिक समृद्धिको बाटामा हिँड्छ भनेर नेताहरूले भाषणबाजी गरे पनि लाग्छ— संघर्षका दिनहरू अझै बाँकी छन् । देश बन्न अझै अरू कति सपूतले आहुति दिइरहनु पर्ने हो ? भूपीले भनेजस्तो दुई–चार होइन, यहाँ हजारौंले जीवनको आहुति दिइसके । र, अझै दिँदै छन् । तैपनि गरिखाने वर्गले चैनको सास फmेर्न सकेको छैन ।


Last Updated on: January 30th, 2023 at 8:57 pm


तपाईको प्रतिक्रिया