मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


साढे ३४ किलो चरेससहित एक जना पक्राउ

प्रकाशित मिति । १४ माघ २०७९ ।

काठमाडौँ — साढे ३४ किलो लागू औषध चरेससहित लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ सानो बाङ्गेका ३२ वर्षीय वीरबहादुर तामाङ छन् ।

लागूऔषध चरेसको खरिद विक्री कारोबार गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ब्युरोको टोलीले बुधबार बिहान धादिङ गल्छी गाउँपालिका ७ स्थित एक होटलबाट बिक्रीका लागि डिल गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा प्रहरीले गजुरीबाट ३४ केजी ५ सय ग्राम चरेश बरामद गरेको ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्काले बताए । तामाङको साथबाट बरामद भएको लागू औषधको अवैध बजार मूल्य प्रतिकेजी २५ हजार रुपैयाँ भएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई ईलाका प्रहरी कार्यालय धादिङ गजुरीमा बुझाइएको एसपी खड्काले बताए ।

हिमपातले कर्णालीमा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

मुगु — भारी हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । मंगलबार र बुधबार निरन्तर हिमपात हुँदा मुगु, हुम्ला, जुम्ला र डोल्पामा दुई दिनदेखि हवाई सेवा बन्द हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

भारी हिमपातले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको हुम्ला सिमकोट विमानस्थलका निमित्त प्रमुख चेतराज भट्टले बताए । हवाई सेवा बन्द हुँदा हुम्लामा खाद्य वस्तु ढुवानीमा बाधा परेको र यात्रुलाई तराई झर्न र माथि जिल्लातिर आउन मुस्किल भएको उनको भनाइ छ । दोस्रो पटक हिमपात भएको हुम्ला हिउँ पर्न रोकिएको छैन सिमकोट विमानस्थलमा करिब डेढ फिट हिउँ जमिसकेको छ‚ अझै आउने क्रम जारी रहेको छ । जुम्लामा हिमपात नरोकिँदा दुई दिन देखि हवाई सेवा अवरुद्ध भएको छ ।

नेपालगञ्ज-सुर्खेतदेखि सीता, समिट, तारा एयरलाइन्सले दैनिक तीन-चार फ्लाइट उडान गर्ने कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण उडान ठप्प भएको छ ।

मुगुको रारा विमानस्थलमा पनि दुई दिनदेखि उडान भएको छैन । धावन मार्गमा बाक्लो हिउँ जमेपछि सुर्खेत नेपालगञ्जदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भर्न नसक्दा मुुगुदेखि सुर्खेत‚ नेपालगञ्ज झर्ने यात्रु र नेपालगञ्ज-सुर्खेतदेखि माथि मुगु जाने यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।

कर्णालीमा हिमपात रोकिएपछि विमानस्थलमा हिउँ पन्छाएपछि मात्र हवाई उडान हुने गरेको छ । भारी हिमपातले गर्दा कर्णालीमा हिमाली जिल्लामा छिनछिनमा सञ्चार नेटवर्क अवरुद्ध हुन थालेको छ ।

उपत्यकामै नदी दोहन

काठमाडौँ — भक्तपुरका अधिकांश बालुवाखानी करिब ८ वर्षयता बन्द छन् । खानी तथा भूगर्भ विभागले त्यसयता खानी सञ्चालनको स्वीकृति दिएको छैन । तर, चाँगुनारायण नगरपालिकाले व्यक्तिले घडेरी सम्याउँदा निस्किएको माटो तथा खानीजन्य पदार्थ बालुवा, ढुंगा राजस्व लिँदै बिक्री अनुमति दिएको छ ।

अनुमति दिने प्रावधानको आडमा भक्तपुर र काठमाडौंको सिमाना मनोहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी व्यापार गर्ने क्रम बढेको छ ।

मनोहरा खोला आसपासका जडीबुटी, बोडे–मूलपानी, चाँगुनारायण–४ कुइँकेल गाउँ, ब्रह्मखेललगायत क्षेत्रमा दोहन भइरहेको छ । खानी बन्द भएको मौका छोपी व्यवसायीले नै अवैध व्यापार थालेको स्थानीय बासिन्दा बताउँछन् । ‘खानी खोल्दा जिल्ला समन्वय समिति र नगरपालिकालाई कर तिर्नुपर्थ्यो,’ कागेश्वरी मनोहरा ब्रह्मखेलका राजीव थापाले भने, ‘खानी बन्द भएपछि व्यापारीलाई फाइदा भएको छ । रातभर खोलाबाट बालुवा निकालेर थुपार्‍यो, दिनभर बेच्यो ।’

काठमाडौं उपत्यकाका नदीनालामा उत्खनन गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भए पनि बालुवा व्यापार गर्नेहरू बढेको थापा बताउँछन् । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको अदृश्य रूपमा कर उठाएर उत्खननलाई प्रोत्साहन गरिरहेको उनले बताए ।

सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरू भने नगर क्षेत्रभित्र खानीजन्य पदार्थ उत्खननलाई अनुमति नदिएको भन्दै पन्छिरहेका छन् । ‘नगर क्षेत्रभित्र के–कति खानीहरू वैधानिक/अवैधानिक छन् भन्ने यकिन जानकारी नगरपालिकासँग छैन, त्यो छानबिनको पाटोमा छ,’ कागेश्वरी मनोहरा नगरकी उपप्रमुख शान्ता थापाले भनिन्, ‘स्थानीयको गुनासो बढेपछि बालुवा, माटो, क्रसर, नदी कटानको विषयमा छानबिनका लागि प्रहरीलाई अनुरोध गरेका छौं । प्रहरीले अनुसन्धान प्रतिवेदन दिएपछि यकिन हुन्छ ।’ हाललाई खोला नदीबाट खानीजन्य पदार्थ उत्खनन कार्य बन्द भएको उपप्रमुख थापाले बताइन् ।

वाग्मती, मनोहरा, रुद्रमती, विष्णुमतीलगायत नदीको मुहानस्थलका दायाँबायाँका बालुवा उत्खनन भइरहेको स्थानीय बासिन्दा बताउँछन् । अवैध रूपमा उत्खनन गरिएको बालुवा राति ओसारपसार हुने मूलपानीकी रेवती कार्कीले बताइन् । काठमाडौंको शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, भक्तपुरको मध्यपुर थिमि र चाँगुनारायणलगायत नगरपालिकाले आफूखुसी रूपमा व्यक्तिलाई घडेरी सम्याउने अनुमतिको बहानामा कर उठाएरै बालुवा निकासीलाई प्रश्रय दिइरहेको पाइएको छ ।

‘नगरप्रमुखको निकटताको आधारमा वडाध्यक्षहरूलाई नै आफूखुसी पत्र बनाउन लगाएर खानीजन्य पदार्थ निकासी गर्न लगाएको समेत पाएका छौं,’ चाँगुनारायण दुवाकोटका राजेश्वर खत्रीले भने, ‘स्थानीय तहका जनप्रतिनिधिलाई कसले प्रश्न गर्ने ? सबै मिलेर खल्ती भर्ने काम भएको छ ।’

हिउँदमा हुने नदी/खोला दोहनले वर्षामा किनारसँगै आसपासका जग्गा कटान तथा बस्ती डुबानको समस्या प्रत्येक वर्ष थपिँदै गएको छ । मनोहरा खोला दोहन नियन्त्रण तथा करिडोर निर्माणका लागि कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाबीच छलफल भइरहेको चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले बताए ।

‘हिउँदमा हुने नदी दोहनले वर्षामा कटान तथा डुबानको समस्या विकराल बन्दै छ, त्यसको रोकथामका लागि करिडोर निर्माणको विषयमा स्थानीय तहहरूबीच छलफल भइरहेको छ,’ उनले भने । खोलाको अवैध दोहनका कारण नदी गहिरिँदै गएकाले प्राकृतिक प्रकोपको जोखिम पनि बढाएको उनी बताउँछन् । सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तहले कुनै कदम नचालेको स्थानीयवासीको गुनासो छ ।

प्रहरीले भने अवैध उत्खनन रोक्न निर्देशन आउने तर अनुसन्धानका क्रममा नगरपालिकाको पत्र प्राप्त भएपछि छाड्न बाध्य भएको बताउँदै आएका छन् । ‘उत्खनन र बिक्रीवितरणमा रोक लगाएको जानकारी आउँछ, ट्रक रोक्यो नगरपालिकाको बिल देखाउँछन्,’ मनोहरा खोला किनारमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अनुमतिको कागज नै भेटिएपछि कारबाही प्रक्रिया गर्न मिल्दैन । हामीले रोकेका कतिपय गाडी जनप्रतिनिधिकै निर्देशनमा छाड्न बाध्य भएका छौं ।’

शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिकाले गत वर्षदेखि बालुवाको कर उठाउन लगाएको संयुक्त ठेक्कालाई यो वर्ष पनि निरन्तरता दिएका छन् । दुवै नगरलाई समेट्ने गरी कागेश्वरी मनोहराले नै ठेक्का लगाएको जनाएको छ ।


Last Updated on: January 28th, 2023 at 7:25 pm


१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया