
नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार आरोप लागेका ९ जना सार्वजनिक
प्रकाशित मिति । १३ माघ २०७९ ।
काठमाडौं– गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रका होटलमा एक महिलालाई सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
सामूहिक बलात्कारको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो।
प्रहरीले सार्वजनिक गरेको सूची अनुसार पक्राउ पर्नेहरु अधिकांश मुगु जिल्लाका छन्।
मुगुको छायानाथ रारा नगरपालिका– १० झाकोट घर भएका २३ वर्षीय हिक्मत नेपाली, सोही ठाउँका २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, २६ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका– ६ लिउडीका २१ वर्षीय सुरेश सेज्वाल, छायानाथ रारा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ का ४३ वर्षीय गोपालकुमार शिरिष छन्।
हस्त र चन्द्रलाई बुधबार दिउँसो पक्राउ गरिएको हो भने बाँकीलाई मंगलबार राति नै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। उनीहरुले पुस १२ गते साँझदेखि १३ गतेसम्म नयाँबसपार्क स्थित तीन वटा गेष्ट हाउसमा एक महिलालाई बलात्कार गरेका थिए।
सुर्खेतबाट काम खोज्न भनेर काठमाडौं आएकी ती महिलालाई काम लगाइदिने भन्दै फकाएर गेष्टहाउस लगेर बलात्कार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखी अनुसन्धान अघि बढाइएको छ।
विदेश जाने तयारीमा थिए बसपार्क सामूहिक बलात्कारका ९ जनै आरोपित
बसपार्क सामूहिक बलात्कार घटनामा पक्राउ परेका ९ जना नै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको खुलेको छ।
एक महिलामाथि तीन वटा होटलमा बलात्कार गरेको आरोपमा ती व्यक्ति पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा सबै जना विदेश जाने तयारीमा रहेको देखिएको प्रहरीले जनाएको छ।
उक्त मुद्दामा सोमबारबाट जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उक्त मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
सुर्खेतकी एक महिलाले बसपार्कका तीन वटा होटलमा आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन्। मजदुरी गर्न गत पुस १२ गते काठमाडौं आएकी ती महिलाले त्यही रात र भोलिपल्ट आफूमाथि बलात्कार भएको बताएकी थिइन्।
उनको जाहेरीपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छ। ती महिलालाई करणी गर्ने ९ युवा र तीन वटा होटलका सञ्चालकलाई मुद्दामा प्रतिवादी बनाइएको छ।
प्रहरीले बयान लिँदा ९ जनै युवाले ती महिलालाई करणी गरेको स्वीकार गरेका छन्। तर, उनीहरुले महिलालाई जनही ३ देखि ५ सय रुयैयाँ दिएको बताएका छन्।
उक्त घटनाका आरोपितहरुमध्ये केही राहदानी बनाएर म्यानपावर कम्पनीमा पेस गर्न आएका थिए। कसैको भिसा नै लागिसकेको थियो। तर, गम्भीर अपराधमा संलग्न भएपछि उनीहरु विदेश होइन, हिरासत पुगेका छन्।
गोपालकुमार श्रीस कतारको भिसा लागेपछि पुस १२ गते रात्री बसमा कपिलवस्तुबाट काठमाडौं आएका हुन्। कतार उड्नुपहिले उनले पीसीआरको लागि स्वाब दिए। स्वाब दिएर फर्किएपछि उनले ती महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ।
मुगुबाट युवराज बडुवाल गत पुस ११ गते हवाईजहाजमा नेपालगञ्ज आए। नेपालगन्जबाट बेलुकी ६ बजेतिर उनी बस चढे। भोलिपल्ट करिब १२ बजेतिर नै उनी काठमाडौंको नयाँ बसपार्कमा ओर्लिएका थिए।
ओमान जाने प्रक्रिया सुरु गर्ने बेलैमा उनलाई एकजना साथीले पुजा गेस्टहाउसमा चिनजान गराइदिएका थिए। उनी काठमाडौँ आउजाउ गर्दा सोही होटलमा बस्थे।
यस पटक पुजा गेस्टहाउसको कोठा नं. ३ उनले बुक गरेका थिए। दिउँसो साथी हिक्मतलाई बोलाएर सँगै खाजा खाए। एउटा ज्याकेट किने। छुट्नुअघि यौनकर्मी भेटे यौनसम्पर्क गर्ने योजना उनीहरुले बनाएका थिए। बसपार्क क्षेत्रमा यौनकर्मी पाइन्छन् भन्ने पनि उनीहरुले सुनेका थिए। बेलुकी खाना खाएर बाहिर निस्केका युवराजले नै बलात्कृत महिलालाई सबैभन्दा पहिले भेटेका थिए।
१३ गते युवराज अभिमुखीकरण तालिममा सहभागी भइरहेका थिए। विदेश जानुपहिले त्यहाँको बारेमा सामान्य जानकारी लिन यस्तो तालिम लिनैपर्छ। तर, त्यतिबेला आफूलाई प्रहरीले खोजिरहेको जानकारी हिक्मतमार्फत आयो। उनी पनि साथीहरु भएकै होटल कलंकीको गण्डकी होटलमा त पुगे। प्रहरीले उनलाई त्यहीँ हत्कडी लगायो।
यही घटनामा पक्राउ परेका चन्द्र साउद वैदेशिक रोजगारीका लागि साउदी अरब जान मंसिर ८ गते नै घरबाट बाटो लागेका हुन्। १० गते सुर्खेत पुगेका उनी ११ गतेको रात्री बसमा काठमाडौंतर्फ आए। १२ गते बिहान १० बजेतिर काठमाडौं ओर्लिएपछि उनी आफन्तको डेरामा बस्दै थिए।
उनले वैदेशिक रोजगारीका लागि प्रक्रिया सुरु गरिसकेका थिएनन्। आफन्तकहाँ बसिरहेकै बेला आयुष गेष्ट हाउसका सञ्चालक बाबुरामले वैदेशिक रोजगारीमा पठाइदिने काम पनि गर्छन् भन्ने जानकारी पाए। मंसिर २७ गते सोही होटलमा बसे। मेडिकल जाँचको काम भइसकेको थियो।
त्यसपछि उनी कोटेश्वरस्थित आफन्तकोमा बसे। पुस ११ र १२ गते अभिमुखीकरण तालिम भनिएको थियो। दुई दिन त्यहीँबाट तालिममा सहभागी भए। तर भोलिपल्ट गाउँकै अरु साथीभाइसँगै उनी पनि अपराधकर्ममा सहभागी भए।
शिवहरी बुढा र सुरेश सेजवाल पनि साउदी अरब जाने तयारीा थिए। उनीहरु पुस ९ गते काठमाडौं आएका थिए। हस्त नेपाली कुवेत जानका लागि मंसिर २६ गते नै काठमाडौं आएका हुन्।
हिक्मत नेपाली, दिपक नेपाली, रतन नेपाली भने पासपोर्ट बनाउन काठमाडौं आएको खुलेको छ।
यस्तो थियो घटना
काठमाडौं आएकै बेलुका मित्रनगरस्थित सडकमा बसिरहेकी ती महिलाको मुगुको छायानाथ नगरपालिका १० झाकोटका २४ वर्षीय युवराज बडुवालसँग भेट भएको थियो।
युवराज बसपार्क क्षेत्रमा राति ८ बजेतिर पुगेका थिए। बसार्कको पुलनजिकै ती महिला र युवराजको चिनजान भएको थियो। त्यही क्रममा उनले त्यही दिन काठमाडौं आएको र खान बस्न समस्या भएको बताएकी थिइन्।
युवराजले ती महिलालाई खानबस्न दिने र केही रकम पनि दिने बताउँदै आफू बस्ने होटलमा लगे। होटलमा माछा–खाना खान दिए। त्यसपछि ३५० रुपैयाँको रक्सी किने। दुवैजना सँगै बसेर खाए। रक्सीले मात्तिएपछि आफूले करणी गरेको उनले बयानका क्रममा बताएका छन्।
आफूले करणी गरेपछि राति ९ बजे हिक्मत नेपालीलाई पनि टेलिफोन गरेर आफू बस्ने पुजा गेस्टहाउसमा बोलाए। हिक्मत पनि आएर ती महिलालाई करणी गरे। युवराजले ४०० र हिक्मतले ३०० रुपैयाँ महिलालाई दिएको बताएका छन्। भोलिपल्ट बिहान ६ बजे होटलबाट निस्किएर साथी भेट्न गए।
हिक्मतले पछि पनि भेट्ने भन्दै ती महिलाको फोन नम्बर लिए। ती महिला त्यही होटलमा थिइन्। युवराज र हिक्मत भने साथीहरु भएको आयुष गेस्टहाउसमा पुगे।
त्यहाँ उनीहरुका साथीहरु बसेका थिए। आयुषमा पुगेर उनीहरुले राति महिलामाथि करणी गरेको सुनाए। त्यसपछि सो होटलमा बसेका अरु युवा पनि हौसिए।
केही समयपछि ती महिलाले सेन्ट हराएको भन्दै हिक्मतलाई फोन गरिन्। हिक्मतले त्यसबारेमा कुरा गर्न भन्दै आयुष होटलमै बोलाए। तर त्यहाँ अरु ६ जना मिलेर उनीमाथि बलात्कार गरे।
उनीहरुले करणी गरेर ती महिलालाई ३ सय रुपैयाँका दरले रकम दिएको बयानका क्रममा बताएका छन्।
करणीपछि उनीहरुले ती महिलालाई गेस्टहाउसभन्दा पर सडकमा लगेर छाडे। त्यहाँ नजिकै खाजा पसल थियो। खाजा पसलमा कपिलवस्तुका गोपालकुमार श्रीसले ती महिलालाई भेटे।
गोपाल रोजगारीका लागि कतार जान भन्दै त्यही दिन बिहान काठमाडौं आइपुगेका थिए। गोपाल पनि त्यो खाजा पसलमा पसेर रक्सी खान थाले। उनले पाँचथर सप्तकोसी गेष्टहाउसमा कोठा लिएका थिए। १३ गते बिहान ११ बजेतिर रक्सी र चुरोट खाने क्रममा गोपाल र ती महिलाबीच कुराकानी भयो।
त्यसपछि उनले ती महिलालाई लिएर आफू बसेको होटलमा गए। होटलमा करणी गरेर ५ सय रुपैयाँ दिए पनि महिला जान नमानेपछि जबर्जस्ती पठाएको गोपालले बयान दिएका छन्।
ती महिलाले हिक्मतको मोबाइल नम्बर लिएकी थिइन्। हिक्मतलाई बिहानैबाट आफूलाई बिहे गर्न भनेकी थिइन्। हिक्मतले टार्दै आएका थिए।
१३ गते दिउँसो १ बजेतिर पनि महिलाले नयाँ नम्बरबाट हिक्मतलाई फोन गरिन्। फोनमा महिलाले भेट्न बोलाएकी थिइन्। हिक्मतले भेट्न जान मानेनन्। फोन काटेर मोबाइल अफ गरे। हिक्मतले मोबाइल अफ गरेपछि महिला बसपार्क प्रहरी प्रभागमा पुगिन्। त्यसपछि प्रहरीले उनीहरुमध्ये धरैजसोलाई कलंकीबाट र केहीलाई अन्य ठाउँबाट पक्राउ गर्यो।
कति हुन्छ सजाय?
प्रहरीले यो घटनामा ९ युवाले बलात्कार गरेको पुष्टि भएको बताएको छ। उनीहरु बसेका तीनवटा होटलका सञ्चालकलाई पनि प्रतिवादी बनाएको छ। उनीहरुमाथि होटलमा ग्राहकको इन्ट्री नगरेको, होटलमा घटना हुँदा ख्याल नगरेको र मौन बसेर घटनाको मतियार बनेको अभियोग छ। पाँचथर सप्तकोसी गेस्टहाउस सञ्चालक जानुका घिमिरे पोख्रेल, आयुष गेष्टहाउसकी सञ्चालक मन्जु खरेल न्यौपाने र फेमिली पुजा गेस्टहाउसका सञ्चालक द्रोणचार्य पौडेललाई मतियारको अभियोग लागेको हो।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) र (७) बमोजिमको कसुर गर्न मतियारको भूमिका निर्वाह गरेकोले सोही संहिताको दफा २१९ को उपदफा (३) (ङ) बमोजिम हुने सजायमा उपदफा (७) बमोजिमको थप सजाय गर्न माग गरिएको छ।
हिक्मत नेपाली, युवराज बडुवाल, रतन नेपाली, दीपक नेपाली, सुरेश सेजुवाल, शिवहरि बुढा, हस्त नेपाली, चन्द्र साउद र गोपाल श्रीसले कसुर गरेको बताएको छ। उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) र (७)बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीहरुलाई सोही संहिताको दफा २१९ को उपदफा (३) (ङ) बमोजिम हुने सजायमा उपदफा (७) बमोजिमको थप सजाय माग गरिएको छ।
उक्त दफा अनुसार ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यस्तै महिलालाई क्षतिपूर्ति भराइदिन समेत माग गरिएको छ।
सामुहिक बलात्कार प्रकरण : तीन होटल सञ्चालकसँग जनही ३ लाख धरौटी माग
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट सामुहिक बलात्कार प्रकरणमा तीन होटल सञ्चालकसँग अदालतले तीन/तीन लाख रुपैयाँ धरौटी मागेको छ।
बुधबार काठमाडौं जिल्ला अदालतले होटल सञ्चालकहरुसँग धरौटी माग गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पाँचथर सप्तकोसी गेस्टहाउस सञ्चालक जानुका घिमिरे पोख्रेल, आयुष गेष्टहाउसकी सञ्चालक मन्जु खरेल न्यौपाने र फेमिली पुजा गेस्टहाउसका सञ्चालक द्रोणचार्य पौडेलसँग अदालतले धराैटी मागेकाे हाे।
बलात्कारको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो।
सुर्खेतकी एक महिलाले बसपार्कका तीन वटा होटलमा आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन्। मजदुरी गर्न गत पुस १२ गते काठमाडौं आएकी ती महिलाले त्यही रात र भोलिपल्ट आफूमाथि बलात्कार भएको बताएकी थिइन्।
उनको जाहेरीपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी महिलालाई करणी गर्ने ९ युवा र तीन वटा होटलका सञ्चालकलाई मुद्दामा प्रतिवादी बनाएको हाे।