मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १२ माघ २०७९ ।

काठमाडौ

संसद्को ठूला दल कांग्रेससँग १६२२१ र एमालेसँग १५२३३ मत रहेकाले अन्य धेरै सहयोगी जुटाउँदा पनि बहुमत पुर्‍याउन कठिन, आफ्नो ७७४५ मतलाई रणनीतिक रुपमा प्रयोग गर्न खोज्दै माओवादी

पूर्वसहमतिअनुसार राष्ट्रपति उम्मेदवारमा एकल निर्णय गर्ने एमालेको अडान

राष्ट्रिय सहमतिका नाममा माओवादीले पूर्ण वा आंशिक असहयोग गरेमा गैरएमाले उम्मेदवार निर्वाचित हुने अवस्था

काठमाडौँ — सरकारलाई विश्वासको मत दिएर कांग्रेसले सत्ता गठबन्धनको पोखरीमा ढुंगा हानेपछि सुरु भएको तरंगले राष्ट्रपति निर्वाचन प्रभावित पार्ने सम्भावना बढेको छ । पूर्वसहमतिअनुसार राष्ट्रपति उम्मेदवारमा एकल निर्णय गर्ने अडानमा एमाले छ । तर, राष्ट्रिय सहमतिका नाममा माओवादीले पूर्ण वा आंशिक असहयोग गरेमा गैरएमाले उम्मेदवार राष्ट्रपति हुने अवस्था पनि देखिएको छ ।

राष्ट्रपति निर्वाचनमा संघ र प्रदेशका सांसद मतदाता हुन्छन् । संघका एक सांसदको ७९ र प्रदेशका एक सांसदको ४८ मतभार जोड्दा राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७ सय ७ मतभार हुन्छ । बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छन् । संसद्को ठूला दल कांग्रेससँग १६ हजार २ सय २१ र एमालेसँग १५ हजार २ सय ३३ मत रहेकाले अन्य धेरै सहयोगी जुटाउँदा पनि बहुमत पुर्‍याउन कठिन छ । त्यसैले ७ हजार ७ सय ४५ मत भएको माओवादी निर्णायक देखिन्छ, यो मतलाई माओवादीले रणनीतिक रूपमा प्रयोग गर्न खोजेको छ ।

आलंकारिक भनिए पनि खास अवस्थामा राष्ट्रपतिले कार्यकारी भूमिका निर्बाह गरेका अनुभवले यस पदप्रति सबै प्रमुख दलको लगाब बढेको छ । राष्ट्रपतिका उम्मेदवारका रूपमा धेरैको नाम चर्चामा रहे पनि मुख्यतः तीन विकल्पबाट राष्ट्रपति निर्वाचित हुने देखिएको छ । सरकारको नेतृत्व गरेको माओवादीले पूर्ण समर्थन गरेमा एमालेले चाहेको व्यक्ति सहजै राष्ट्रपति हुन सक्ने पहिलो विकल्प छ ।

एमाले १५ हजार २ सय ३३, माओवादी ७ हजार ७ सय ४५, राप्रपा २ हजार ४ सय ५०, जसपा २ हजार १ सय ४५, रास्वपा १ हजार ५ सय ८०, मनोनीत २ सय ३७, नेमकिपा २ सय २३, स्वतन्त्रका सम्भावित १ सय ९४ एकैठाउँ जुटाउन सक्दा एमाले उम्मेदवारले २९ हजार ८ सय ७ मत पाउनेछन् । यो अवस्थामा एमालेले अघि सारेका उम्मेदवारले ३ हजार ४ सय ४४ बढी मत प्राप्त गर्नेछन् ।

पुस १० मा बालकोटमा भएको सहमतिअनुसार एमाले उम्मेदवार २९ हजारभन्दा पनि बढी मतसहित राष्ट्रपति हुने अपेक्षा गरिएको थियो । तर, सरकार गठन भएदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध अविश्वासमै रुमलिएको छ । सत्ता समीकरणका रूपमा उनीहरू नजिकिए पनि एकअर्काको प्रस्तुतिबाट असहज छन् । त्यही अवसर सदुपयोग गर्न कांग्रेसले दाहाल सरकारलाई विश्वासको मत दिएको हो ।

एमाले अध्यक्ष ओलीले छानेका उम्मेदवारलाई माओवादीले जस्ताको त्यस्तै समर्थन गर्ने सम्भावना कम छ । ‘पुस १० र पुस २६ को स्थिति फरक हो, त्यसैले अब राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता छ,’ स्वयम् प्रधानमन्त्री दाहालले ५ माघमा आह्वान गरेको सर्वदलीय बैठकमा ओलीकै अगाडि भनिसकेका छन्, जसलाई ओलीले तत्कालै प्रतिवाद पनि गरेका थिए । ‘एमालेले उम्मेदवार अघि सार्छ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ,’ ओलीले भनेका थिए ।

‘ओली र दाहालबीच सम्बन्ध कसरी विकसित हुन्छ भन्नेमा कांग्रेस नेतृत्वको चासो छ, दाहाललाई विश्वासमा नलिई ओलीले उम्मेदवार उठाए माओवादी समर्थन पाउने सम्भावना छैन, यो सन्देश हामीलाई आइसकेको छ,’ कांग्रेसका एक नेताले भने, ‘ओलीले एकतर्फी उम्मेदवार घोषणा गरेमा माओवादी हामीतर्फ आउँछ ।’

कांग्रेसले अपेक्षा गरेजस्तै भएमा दोस्रो विकल्पबाट राष्ट्रपतिको चयन हुनेछ । माओवादी कांग्रेसतर्फ ढल्किएमा गैरएमाले उम्मेदवार राष्ट्रपति हुन सक्नेछन् । कांग्रेस १६ हजार २ सय २१, माओवादी ७ हजार ७ सय ४५, जसपा २ हजार १ सय ४५, एस २ हजार ५ सय ७४, जनमत १ हजार २ सय ४२, लोसपा ९ सय ७१, नागरिक उन्मुक्ति ८ सय ९२, जनमोर्चा २ सय ६, स्वतन्त्र (झुकाबका आधारमा) ६ सय ५० सहित ३२ हजार ६ सय ४६ मत एकठाउँ हुनेछ । यसरी यो गठबन्धनले आवश्यकभन्दा ६ हजार २ सय मत बढी पाउनेछ ।

एक महिनाअघि मात्र बनेको गठबन्धन तुरुन्तै विघटन गर्न माओवादी तयार होला ? अथवा माओवादीले साथ नदिने स्थितिमा ओली आफ्नो अडानमा कायम रहलान् ? प्रश्न यी पनि छन् । त्यसैले माओवादीले घोषित रूपमा गठबन्धन नछाडेर केही मतमात्र ‘क्रस’ गरिदिएमा पनि एमाले अप्ठ्यारोमा पर्नेछ । यो अवस्थामा तेस्रो विकल्पबाट राष्ट्रपति निर्वाचित हुनेछन् ।

तेस्रो विकल्पबाट राष्ट्रपति निर्वाचित गर्न कांग्रेसले ७ हजार ७ सय ४५ मत भएको माओवादीबाट जम्मा १ हजार ४ सय ५३ मत प्राप्त गरे पुग्नेछ । किनकि कांग्रेस १६ हजार २ सय २१, एस २ हजार ५ सय ७४, जसपा २ हजार १ सय ४५, जनमत १ हजार २ सय ४२, लोसपा ९ सय ७१, नागरिक उन्मुक्ति ८ सय ९२, स्वतन्त्र (झुकाबका आधारमा) ६ सय ५०, जनमोर्चा २ सय ६ गरी २४ हजार ९ सय १ मत प्राप्त गर्नेछ । बहुमतका लागि आवश्यक २६ हजार ३ सय ५४ पुर्‍याउन माओवादीले २० प्रतिशत मत ‘क्रस’ गरिदिए पुग्छ ।

तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पछिल्लो पटक राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय सहमतिको प्रस्ताव अघि सार्दै आएका छन् । राज्यशक्तिको सबै स्रोत एमाले अध्यक्ष ओलीको हातमा नपुगोस् भनेर दाहाल ‘राष्ट्रिय सहमतिको प्रस्ताव’ मार्फत विकल्पको खोजीमा छन्, तर निर्वाचन कहिले हुने निश्चित भइनसकेकाले मुख खोलेका छैनन् ।

विश्वासपात्र देवराज घिमिरेलाई सभामुख बनाएपछि ओलीले राष्ट्रपतिमा पनि त्यस्तै पात्र अघि सार्न सक्ने अनुमान छ । ‘राष्ट्रपति पनि ओलीनिकट व्यक्ति नै भए भने प्रधानमन्त्रीको अवस्था के होला ?’ दाहालनिकट एक नेताले भने, ‘यसमा सचेत भएरै उहाँ (दाहाल) ले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।’

एमालेबाट राष्ट्रपति उम्मेदवार को बन्छ भन्ने ओलीकै वरिपरिका नेताहरूले समेत अनुमान गर्न सकेका छैनन् । ओलीले अघि सार्ने व्यक्तिलाई राष्ट्रपति हुन नदिन कांग्रेसले पुस २६ मा प्रधानमन्त्री दाहाललाई रणनीतिक हिसाबले विश्वासको मत दिएको थियो । त्यसपछि दाहालले सरकारलाई विश्वासको मत दिने दलहरूको बैठक बालुवाटारमा डाकेरै राष्ट्रपतिमा सहमति खोज्ने प्रयत्न गरेका थिए । त्यसयता ओली सशंकित छन् ।

यहीबीच कांग्रेसले पनि सरकारमा सहभागी नभएका जसपा, नागरिक उन्मुक्ति र जनमतलाई आफ्नो पक्षमा तान्ने कसरत गरिरहेको छ । यो प्रयास सफल भएमा र माओवादीका केही प्रतिशत मतमात्रै आफ्नो पक्षमा ल्याउन सके परिणाम प्रभावित गर्न सकिने आकलन कांग्रेसमा छ । ‘सभामुख र उपसभामुख निर्वाचनजस्तो राष्ट्रपति निर्वाचनमा हुन्न, ०६४ मा माओवादी ठूलो दल थियो, माओवादी र एमाले गठबन्धनको सोझो बहुमत थियो तर राष्ट्रपतिमा हाम्रा उम्मेदवार रामवरण यादवले जित्नुभएको हो,’ कान्तिपुरसँग केही दिनअघिको अन्तर्वार्तामा कांग्रेस नेता शेखर कोइरालाले भनेका थिए, ‘अहिले पनि त्यस्तै नहोला भन्न सकिन्न ।’

कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म माओवादीले कांग्रेस उम्मेदवारलाई साथ दिनेमा आशावादी छन् । कांग्रेसले राष्ट्रपतिका लागि रामचन्द्र पौडेलको नाम अघि सारेको छ । तर, गैरएमाले उम्मेदवारलाई राष्ट्रपति बनाउने सर्तमा कांग्रेस आफ्नो दाबीबाट पछि हट्न सक्ने माओवादी बुझाइ छ ।

त्यस्तो अवस्थामा बाबुराम भट्टराई उम्मेदवार हुने सम्भावना रहेको कांग्रेसकै नेताहरूको बुझाइ छ । ‘रामचन्द्र र बाबुराम दुवैप्रति एमालेको समर्थन हुने सम्भावना नरहेकाले राष्ट्रिय सहमतिका नाममा तेस्रो व्यक्तिको खोजी हुने सम्भावना छ, तर त्यसमा पनि एमालेले अवश्य मान्दैन । त्यसैले देउवा वा दाहालले अघि सारेका उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना बलियो छ । ओलीको लचकता निर्णायक देखिन्छ,’ कांग्रेसका एक नेताले भने ।

राष्ट्रपति निर्वाचनको पृष्ठभूमिमा कांग्रेस र माओवादी नेताहरूबीच छलफल जारी छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालसँग संवाद गरिरहेका छन् । लेखकले मंगलबार साँझ पनि दाहालसँग छलफल गरेका थिए ।

राष्ट्रपतिको निर्वाचन कहिले गर्ने विषयमा कुराकानी गर्न गएको लेखकले बताए । ‘निर्वाचन कहिले गर्ने भन्नेमा कानुनी र संवैधानिक जटिलता भए सम्बोधन गरेर जाऊँ तर निर्वाचन तोकौं, अन्योलमा लामो समय नराखौं भन्ने कुरा प्रधानमन्त्रीसँग गरेको हुँ,’ लेखकले भने, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजौं भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।


Last Updated on: January 26th, 2023 at 8:44 am


३२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया