
प्रेमप्रसादको आत्मदाहले राज्यको चरम असफलताको भयानक संकेत गरेको छ : महानगरप्रमुख साह
प्रकाशित मिति । ११ माघ २०७९ ।
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्। मंगबार आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको निधनपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
मेयर साहले प्रेमप्रसादको व्यवसायमा, निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको बताएका छन्। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएको मेयर साहको भनाइ छ।
उनले नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भएको बताएका छन्। उनले भनेका छन्, ‘हामी सबै असफल भइरहेका छौं। नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन।
हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन। जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन। प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ।’
हेर्नुस सामाजिक संजाल फेशबुकमा मेयर बालेनले लेखेको जस्ताको तस्तै स्टेटस
एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् ।
त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।
उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।
नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन ।
जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ ।
सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् ।
नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।
अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड अर्को साता आउँदै
काठमाडौँ — अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै छिन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ ।
पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।
उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिती बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । उनले प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याललगायतलाई भेट्ने छिन् । स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बारेमा भने टुंगो लागिसकेको छैन ।
नेपालमा सरकार गठनलगत्तै प्रधानमन्त्रीको दुई छिमेकी मुलुकहरू भारत र चीन भ्रमणको विषयमा बहस भइरहेको बेलामा अमेरिकाबाट भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने भ्रमणको बारेमा गृहकार्य भइरहे पनि मितिको सम्बन्धमा अन्तिम टुंगो लागिनसकेको बताइन् ।
स्रोतका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा आज वा भोलिसम्म वासिङ्टन डीसीबाटै विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक हुनेछ ।
परराष्ट्रका एक अधिकारीका अनुसार यो भ्रमणमा मुख्य गरी अमेरिकाको अनुदान सहयोगमा अघि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल हुनेछ । साथै, उपमन्त्री नुल्यान्डले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि नियोग (यूएसएआईडी) मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा पनि छलफल गर्नेछिन् ।
साथै, भेटवार्ताहरूमा अमेरिकी मन्त्री नुल्यान्डले अमेरिकाको प्राथमिकतामा रहेका विषयहरु मानव अधिकार, प्रजातन्त्र, शरणार्थीलगायत विषयमा कुरा गर्ने अनुमान गरेको परराष्ट्रका ती अधिकारीले बताए ।
‘सुस्ता बचाऊ’ अभियन्ता गोपाल गुरुङको निधन
पैसा अभावमा समयमै उपचार हुन नसकेको स्थानीयको भनाइ
नवलपरासी पूर्व — ‘सुस्ता बचाऊ’ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको निधन भएको छ । गत पुस ८ गते घरमै बेहोस भएका गोपाललाई त्यसैदिन भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
मस्तिष्कघात भएका उनको आर्थिक अभावका कारण त्यहीदिन शल्यक्रिया गर्न नसकिएको सुस्ता बचाऊ आन्दोलनका प्रवक्ता रवीन्द्र जयसवालको भनाइ छ । उनले भने, ‘रगत र अपरेशन गर्न पैसा खोज्दाखोज्दै ३ दिन ढिलाभयो । पैसा भैदिएको भए त्यहीदिन अपरेशन हुन्थ्यो ।’
उनको मंगलबार उपचारकै क्रममा अस्पतालमै निधन भएको हो । उनको उपचारमा १० लाख खर्च भैसकेको छ । करिब ६ लाख अस्पतालमा बुझाइएको छ । बाँकी ४ लाख खोजखाज गरेर शव बुझ्ने जयसवालले बताए ।
भारतीय सीमामा रहेको सुस्ताको भूमि जोगाउन उनले २४ वर्षभन्दा बढी भारतिय सुरक्षाकर्मीको ज्यादती सहे । उपचारका क्रममा पैसा अभाव भएपछि भने सुस्तेलीले गोपाल गुरुङ बचाउअभियान सुरु गरेर घरघरै नगद सहयोग मागेका थिए । त्यसबाट करिब १ लाख ९० हजार रुपैयाँ संकलन भएको थियो ।
रकम अभावकै कारण गुरुङको ज्यान गएको स्थानीयको भनाइ छ । ‘उनको अवस्था विपन्न हो । हामीले उनलाई बचाउने अभियान सुरु गरे पनि सरकारले चासो नदिँदा सुविधासम्पन्न अस्पताल लैजान नसक्दा उनको ज्यान गयो,’ अभियानका उपाध्यक्ष आदम खाँ भन्छन्, ‘देशका लागि एक्लै लडेका गोपालको रकम अभावमै ज्यान गयो ।’
उनी ५९वर्षका थिए । २०५५ सालमा नेपाल प्रहरीको हवल्दारबाट अवकाश पाएपछि सुस्तामै घर बनाएर उनले बसोबास थालेका थिए । सुस्ता चौकीमै ड्युटी रहेकै बेला उनले अवकाश पाएका हुन् ।
उनी २०५७ सालमा भारतमा जेलसमेत परेका थिए । उनी सुस्ताको नेपाली भूमि सुस्तावासीले मात्र जोगाउन सक्ने भन्थे । सुस्तावासीलाई एक बनाएर वर्षौंदेखि नेपाली भूमिका रक्षामा खटिएका गुरुङको पैसा अभावमा निधन हनु विडम्बना भएको खाँ बताउँछन् ।