सोमबार २३ माघ २०७९


हेलिकप्टर पाइलटलाई अभद्र व्यवहार गरेका युवा पक्राउ

प्रकाशित मिति । १० माघ २०७९ ।

कास्की — हेलिकप्टर पाइलट रानेश डंगोललाई अभद्र व्यवहार गरेका आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेका छन् । यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत ६ जनालाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदमराज थापाले जानकारी दिए ।

माघ ५ गते खेल भइरहेको समयमा वालिङकै स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेलमैदानमा नै प्रभुको हेलिकप्टर अवतरण गर्न लगाएका थिए । हेलिकप्टर ल्यान्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । सोही विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।

प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको तर जवाफ नआएकाले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।

स्वभाषा, स्वजाति, स्वराष्ट्रको भाष्य

विविधताबीच एकता नै नेपालीको पहिचान हो ।’ यो पदावली देखेर कसैलाई नेपाली राष्ट्रवादका प्रणेता श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव याद आउन सक्छन्, कसैलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका सर्वेसर्वा अध्यक्ष एवं सर्वाधिक राष्ट्रवादी खड्गप्रसाद शर्मा ओलीको सम्झना आउन सक्छ ।

खासमा यो वर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डको ताजाताजा उद्गार हो । शाहदेवदेखि शर्मा ओलीलाई सम्झाउने हदसम्मको प्रभावशाली पदावली नेपालका सबैजसो शासकलाई साह्रै प्रिय लाग्दो रहेछ, अतः उनीहरूका मुख–मुखमा झुन्डिरहेकै हुन्छ । र त, जनजाति नेपालीहरूका चाडबाडमा उनीहरूका मुखारविन्दबाट फ्याट्ट झरिहाल्छ, ‘अनेकतामा एकता नै नेपालीको शक्ति हो । नेपाल भनेकै विविधतामा समन्वय, सद्भाव र शान्ति भएको देश हो ।’

‘राष्ट्रिय एकताको सरकार’ को उपहार

एकातिर, विभिन्न जाति र समुदायका नेपालीहरूका ल्होछार/लोसार वा नयाँ वर्षमा गरिमामय आतिथ्य ग्रहण गर्ने क्रममा खस–आर्य नेपाली शासकहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको गीत नगाउनु त अपवाद मात्रै हुन्छ । चाहे राजावादी होऊन् या गणतन्त्रवादी, चाहे लोकतन्त्रवादी होऊन् या जनवादी–समाजवादी–साम्यवादी, सबैजसो एकजातीय शासक र नेताहरूले ‘अनेकतामा एकता’ र ‘विविधतामा सामञ्जस्य’ को गफ दिएनन् भने अनौठै हुन्छ ।

अर्कातिर, विविध जाति र समुदायका नेपालीहरूको मन–मस्तिष्क जित्न लगाइने उनीहरूका नारा र सामाजिक जीवनका व्यवहारमा भने एक वा एकल वा ‘स्व’ लाई राष्ट्रियकरण गर्ने अभियान जारी रहन्छ, एक व्यक्तिलाई राष्ट्रिय एकताका प्रतीकका रूपमा अनूदित गरिन्छ, एक राजाको जन्मदिन नै राष्ट्र–निर्माणको शिलान्यासमा रूपान्तरित हुन्छ, नेपालकै निर्माताका रूपमा देशभरि सार्वजनिक बिदासहित जन्मोत्सव मनाइन्छ ।

लोकतान्त्रिक गणतन्त्रमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले गठनकै अवस्थामा सबै जात/जाति/लिंग/क्षेत्रका नेपालीलाई एक राजाका नाममा बुनिएको राष्ट्रिय एकताको महान् भाष्य उपहार दिइसकेको छ । यसबीच विभिन्न जातिको लोकरिझ्याइँका लागि अनेकतामा एकताको नारा लगाउँदै करिब एकलजातीय एकताको सरकारी नेतृत्व निर्माण गर्न भ्याइसकेको छ, एकलजातीय पुरुष–प्रदेश सरकार पनि सृजना गर्ने काम भइसकेको छ । नेपालकै नागरिक हुन् कि होइनन् भन्ने टुंगो नभएका व्यक्तिले पार्टी चलाउने, उम्मेदवारी

दिएर जित्ने अवस्थाबीच नागरिक हैसियत अदालतमा विचाराधीन रहेका विवादास्पद व्यक्तिलाई उपप्रधान तथा गृहमन्त्रीको पगरी गुथाउने र उनको राष्ट्रवादी भगवान्पनाको गुणगान गाउने सुवर्ण मौका पनि दिइएको छ । कथित प्रतिपक्षको समेत विश्वासको मत पाएपछि आफूलाई ‘राष्ट्रिय एकताको सरकार’ समेत दाबी गर्ने दाहाल–श्रेष्ठ–पौडेल–लामिछाने–लिङ्देन सरकारले जनगणसामु राष्ट्रिय एकता नै प्रदर्शन गरिसकेका छन्, सबैजसोले राष्ट्रिय पोसाक लगाएर ।

खस–आर्य शासकहरूका त्रास र भाष्य

नेपाली समाजको विविधता र अनेकता देखेर खस–आर्य नेपाली शासकहरू कि साँच्चै त्रसित छन्, कि त डर लागेको भान पार्दा रहेछन् । नभए ‘विविधता’ शब्दको उच्चारणसँगै सामञ्जस्यको राग अलाप्नु जरुरी हुँदैन, नभए अनेकतासँग एकताको ताल तुरुन्तै ठोकिहाल्नु आवश्यक हुँदैन । विविधता र अनेकतालाई राष्ट्रिय एकता, समन्वय, मेलमिलापको प्रतिलोमका रूपमा हेर्दा विविधताको त्रास जन्माएको मात्रै देखिन्छ; जनगणमा अनेकताको डर मात्रै फैलिन्छ; राष्ट्रियता, राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेपको भाष्य मात्रै विस्तार हुन्छ ।

कुनै पनि उत्पीडित जात, जाति, लिंग, भाषा, सभ्यताका मानिसले समान अधिकारको माग गर्दा जातीयता, संकीर्णता, साम्प्रदायिकता, विखण्डनवाद फैलाएको आरोप लगाइन्छ । र, सवर्ण समुदाय, त्यसमा पनि ब्राह्मण महापुरुष शासक र बुद्धिजीवीहरूका जुनसुकै मूल्यमान्यता, विचार र भाष्य राष्ट्रिय हुन्छन्; सभ्य, श्रेष्ठ, पवित्र र उन्नत हुन्छन् ।

‘सबै भाषालाई समान अधिकार र नेपाल संवत्लाई राष्ट्रिय मान्यता देऊ’ भन्ने माग गर्नासाथ साम्प्रदायिकताको आरोप लगाउने काम यही त्रास र भाष्यको विस्तार हो । मधेशको क्षेत्रीय स्वायत्तता र संघीयताको मागलाई विखण्डनकारी ठान्ने, धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको आवाज बुलन्द गर्दा देशनिकाला गर्नेदेखि जेलमै कोच्ने, वर्ण व्यवस्थाको दलन र जात व्यवस्थाको उत्पीडनविरुद्ध आन्दोलन गर्दा थप दमन गर्ने काम यही डर र वर्चस्वको फैलावट हो । त्यसैको अर्को पाटो हो- संकीर्णता, साम्प्रदायिकता, विखण्डनवाद रोक्ने नाममा अनेकताबीच एकताका लागि राष्ट्रियकरणको आलाप लगाउने

अभियान । र, संविधानमै राष्ट्रको चिनोका रूपमा धर्म, भाषा, लुगाफाटा, टोपी, फूलदेखि जनावरसम्मलाई राष्ट्रिय प्रतीकमा ढाल्ने राजनीतिक–सांस्कृतिक काम । यो मूल रूपमा सवर्ण ब्राह्मण महापुरुषका मूल्यमान्यता र प्रतीकलाई मात्रै राष्ट्र, राष्ट्रिय र राष्ट्रियता मान्ने–मनाउने उपक्रमबाहेक केही होइन ।

शाहकालमा अनेक चीजको राष्ट्रियकरण भोगेका डा. देवेन्द्रराज पाण्डेको खरो मत छ, ‘महेन्द्रको राष्ट्रवादले विविधतामा एकता भन्न सिकायो, तर त्यो विविधतालाई कहिल्यै सम्बोधन गरेन । नेपाल भनेको गोर्खा राज्य मात्रै हो ? हाम्रो राष्ट्रियताको प्रतीक खुकुरी मात्रै हो ? खुकुरीले काट्ने त वीर गोर्खाली भए, तर काटिने पनि नेपाली थिए नि, तिनलाई पनि खुकुरी नै हाम्रो प्रतीक हो भन्न लगाउने उनको राष्ट्रवाद हो । अब महेन्द्रको राष्ट्रवाद सम्झिएर ती दिन ठीक थिए भन्नु त अमेरिकी शासनमा ह्वाइट एङ्लो सेक्सन प्रोटेस्टेन्ट (गोरा प्रोटेस्टेन्ट इसाई अंग्रेज) को राज हुँदा नै अमेरिका ठीक थियो भन्नुपर्ने हुन्छ  । वस्तुनिष्ठ भएर भन्ने हो भने यो असुरक्षाभाव हो ।’

अनेकता र एकताको द्वन्द्व

नेपाल देश निर्माण गरेको, विदेशी हमलाबाट सुरक्षित राखेको, सयौं वर्षसम्म यसलाई विखण्डित हुन नदिएको, चार वर्ण छत्तीस जातको ‘फूलबारी’ स्याहार्दै आएको दाबी गर्ने शाह र राणा शासकहरूको लोकप्रिय नारा हो- ‘अनेकतामा एकता ः नेपालको राष्ट्रियता’ । करिब सात दशकअघिसम्म पनि ‘नेपाल र नेपाल सरकार’ भन्नुको सट्टा ‘गोर्खा राज भर मुलुक’ भन्न रुचाउने, नौ दशकअघिसम्म आफ्नो भाषालाई ‘गोर्खा भाषा’ नै लेख्ने राजा–महाराजाका नारा लोकतान्त्रिक गणतन्त्रका राजनीतिक नेता र आम नागरिकका दिलदिमागमा पनि रचेबसेका छन् ।

विभिन्न जात, जाति, लिंग, भाषा, धर्म र क्षेत्रका जनतालाई ‘रैती दुनियाँ’ ठान्ने र सिंगो देशलाई आफूले कमाएको भूमि वा सम्पत्ति वा मुलुक (पोजेसन) मान्ने शासकहरूका संकथन (डिस्कोर्स) र भाष्यमा निहित ‘एकता’ शब्द सबैभन्दा प्रभावशाली शास्त्र र शस्त्र हो । तर, नेपाली समाजको विविधता र अनेकताबीच निर्माण गरिएको एकता र समन्वयका मूलभूत तत्त्वहरू हेरियो भने अत्यधिक लोकप्रिय नारा ‘राष्ट्रिय एकता’ को वास्तविक पाटो उजागर हुन्छ । त्यो पाटो हो- स्थायी सत्ताबाट राष्ट्रिय एकताको नारा अन्तर्गत जारी प्रभुत्वशाली (डोमिनेन्ट), वर्चस्वशाली (हेजिमोनिक) र दमनकारी (रिप्रेसिभ) भूमिका ।

‘डि–ब्राह्मनाइजिङ हिस्ट्री’ का लेखक एवं अध्येता व्रजरञ्जन मणिको विचारमा, भारतको सामाजिक–सांस्कृतिक विकासको विशेष सन्दर्भमा ‘एकता’ र ‘विविधता’ दुईवटा मूल्यनिरपेक्ष र अराजनीतिक शब्द होइनन् । आम धारणाभन्दा ठीक उल्टो, ‘एकता’ र ‘अनेकता’ दुई द्वन्द्वात्मक शब्द हुन्, जसको गहिरो सामाजिक–राजनीतिक अर्थ छ ।

यहाँ एकातिर, ‘एकता’ ले केन्द्रीयता र एकात्मकताको अर्थ बोक्छ, वर्चस्वकारी सांस्कृतिक–विचारधारात्मक शक्तिहरू, विशेष गरी शास्त्रीय ब्राह्मणवाद/हिन्दुत्वको प्रतिनिधित्व गर्छ र यस रूपमा एकता स्वयंमा दमनकारी र उत्पीडक रहेको छ । अर्कातिर, ‘अनेकता’ ले भने केन्द्रीय र आक्रामक तत्त्वबाट पृथकतालाई र वर्चस्वको प्रतिरोधको मूल्यलाई बोक्छ, नेपाली समाजमा विद्यमान विविध सभ्यता र बहुल पहिचानको इन्द्रेनीपनालाई प्रतिनिधित्व गर्छ ।

एकात्मकताको विस्तार : अनेकतामाथि दमन

नेपालको विशिष्ट सन्दर्भमा हेर्दा एकता वा एकात्मकता वा केन्द्रीयताको मियोका रूपमा हिन्दु राजा, हिन्दु अधिराज्य, हिन्दु मूल्य–मान्यता लामो समयसम्म प्रभावशाली रहेको पाइन्छ, जसले देश र समाजको राष्ट्रिय एकीकरण गर्दै आएको भाष्य बलियो छ । खासमा तिनको मूल काल्पनिकीको चुरोमा ‘असिल् हिन्दुस्थाना’ थियो भने राजनीतिक–सांस्कृतिक–आर्थिक अभ्यासको केन्द्रमा ‘जाततन्त्र’ थियो, जुन अद्यापि एक वा अर्को नाममा प्रचलित छ ।

ती दुवै अन्योन्याश्रित सम्बन्ध रहेका राजनीतिक–सांस्कृतिक संरचना विस्तारका क्रममा एकताका नाममा एकल पहिचानको केन्द्रीयता लादिएको हो । त्यसअनुरूप एकताका अनेक भाष्य सृजना गरिएका हुन्, सञ्चार र शिक्षामार्फत मनमस्तिष्कमा घुसाइएका हुन्, जनमनमा तीप्रति स्वीकार्यता बढाइएको हो । र, अनेकताको पर्यायका रूपमा रहेका अन्य सबै धर्म, जात, लिंग, क्षेत्र, भाषा, संस्कृतिमाथि दमन पनि गरिएको हो ।

राजनीतिक–सांस्कृतिक जीवनमा वर्णव्यवस्थाको निरन्तरतासँगै सर्वश्रेष्ठ वर्णका रूपमा ब्राह्मण पुरुषको प्रभुत्व विस्तार गरिएको हो । आर्य वा देव भाषाका रूपमा संस्कृतको सर्वोच्चता कायम राखिएको हो, जसलाई गोर्खा भाषासहित सबै भाषाको जननी र ज्ञानको खानीका रूपमा प्रचार गरिन्छ । गोर्खा भाषालाई पछि ‘नेपाली भाषा’ न्वारन गरियो, जसको प्रभुत्वसँगै अन्य नेपाली भाषा विलोप हुने क्रम जारी छ । अन्य सबै लिपिको जीवन–मूल्यमा नागरी (देव) लिपिको एकाधिकार निरन्तर छ ।

एकता वा एकात्मकता वा केन्द्रीयताबारे अनेक मिथक निर्माणमा स्थायी सत्ताको भूमिका जति छ, त्योभन्दा कम भूमिका छैन स्थायी सत्ताको वर्चस्व विस्तारका सारथि बनेका बुद्धिजीवी, लेखक र कलाकारहरूको पनि । नेपालमा राज्य, प्रशासन, अड्डा–अदालत, शैक्षिक क्षेत्र र सञ्चारमाध्यममा एकल भाषाको प्रभुत्व र जनमनमा त्यसको वर्चस्वका आधारमा कसरी राष्ट्रिय एकात्मकता र केन्द्रीयता स्थापित गरियो, खासमा कसरी एक भाषाभाषीको राष्ट्र निर्माण गरियो त ?

एक भाषाका आधारमा बन्ने–बनाइने राष्ट्र–राज्य (नेसन–स्टेट) बारे महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार मात्रै हेरियो भने पनि यसको उत्तर प्रस्ट हुन्छ । स्वभाषा, स्वजाति, स्वराष्ट्र र स्वधर्मका पक्षमा खरो र आक्रामक रूपमा उत्रिएका देवकोटाले २००४ जेठमा भएको तीनदिने कवि सम्मेलनमा सभापतिका हैसियतले दिएको लामो भाषणमा एक भाषाका आधारमा बन्ने राष्ट्रबारे प्रस्ट बोलेका थिए ।

समाजशास्त्री बेनेडिक्ट एन्डरसनले राष्ट्र/राष्ट्रियतालाई ‘इम्याजिन्ड कम्युनिटिज’ (काल्पनिक समुदाय) का रूपमा परिभाषित गर्नुअघि नै देवकोटाले किटान गरेका थिए, ‘एक भाषाले एक जाति बनाउँछ । एक जातिले राष्ट्र बनाउँछ । एक राष्ट्र भएपछि एक सभ्यता हुन्छ, एक धर्म्म हुन्छ, एक ध्येय हुन्छ । सब चीज एकट्ठा रहन्छन् । सहस्र्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात्- हाम्रो विराट् राष्ट्र जन्मिन्छ, धपधपाउँछ, जगमगाउँछ ।’ (रचना, २०३३, वर्ष १४, अंक ४ : १७)

राष्ट्र–राज्यको प्रतिरोधमा

वर्णव्यवस्थालाई सैद्धान्तिकीकरण गरेको र आर्य नस्ल/जातिको पवित्र ग्रन्थ मानिएको ऋग्वेदको पुरुष सूक्तलाई उद्धृत गर्दै देवकोटाले जुन भाषिक राष्ट्रको कल्पना गरेका थिए, जुन राष्ट्र–राज्य (नेसन–स्टेट) को विराट् कल्पना, जपना र तपना गरेका थिए, आज त्यही नेपाली भाषाको राष्ट्र–राज्य अन्य नेपाली भाषाको विकासका लागि बाधक बनिरहेको छ । राष्ट्रिय एकता वा राष्ट्रिय एकीकरणको नारामा एकात्मकता लाद्ने क्रममा बहुभाषिक देशमा एक भाषाको राष्ट्र–राज्यले कति हदसम्म औपनिवेशिक रूप लिन्छ, नेपालका सबैजसो ‘राष्ट्रभाषा’ को बेहालले देखाउँछ । अहिले तिनको दुरवस्था देवकोटाकै भाषामा ‘अरू भाषाहरूले श्वास फेर्न, आत्मविकास गर्न ठाउँ पाऊन्, हामी रोक्तैनौं, तर नेपाली नै हामी सबैको मातृभाषा हो,’ र यसैलाई फल्ने–फुल्ने बनाउनुपर्ने राष्ट्रिय ध्येयले बताउँछ ।

यही ध्येयका साथ एकल राष्ट्र/राष्ट्रिय/राष्ट्रियताका नाममा थोपरिएको दलनको प्रतिवाद हो- विविधता र बहुलता । एकता/एकात्मकता/केन्द्रीयताका नाममा लादिएको प्रभुत्व र वर्चस्वकै प्रतिरोध हो- अनेकता पनि । चाहे त्यो अनेकता भाषाको होस्, चाहे त्यो विविधता जातिको होस्, चाहे त्यो बहुलता धर्म, पन्थ, सम्प्रदाय, संस्कृति र सभ्यताको होस् । नेपालभित्रका अनेक ‘राष्ट्रभाषा’ राज्यका तीनै अंग, प्रशासन, अदालत, शैक्षिक संस्थाका भाषामा प्रयोग हुने समान अधिकार र लोकतान्त्रिक अभ्यासका लागि संघर्षरत छन् ।

सबैजसो जात न्यायसहितको समानता, समता र सम्मानका लागि लडिरहेका छन् भने सबैजसो जाति सहअस्तित्व, स्वायत्तता र स्वशासनका लागि भिडिरहेका छन् । सबैजसो धर्म, पन्थ, सम्प्रदाय, संस्कृति र सभ्यताचाहिँ मूलतः ब्राह्मण/हिन्दु सनातन धर्म र संस्कृतिको रक्षा गर्ने राष्ट्र–राज्यसँग धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको अभ्यासका लागि जुझ्दै छन् ।

यी सबै समुदायका साना–ठूला प्रतिरोधको केन्द्रमा छ- समतायुक्त समाजको सृजना; एकल वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, भाषा, धर्म र संस्कृतिको समाप्ति; सत्ता–शक्ति–सम्पत्ति–शिक्षा–शास्त्रमा समान अधिकारको स्थापना । यिनै अवधारणाको द्वन्द्वात्मकता र द्वन्द्वात्मक अवस्थाबीच स्थायी सत्ताका सारथि बनेका प्रधानमन्त्री दाहालसँग एकता/एकात्मकता/केन्द्रीयताका पक्षमा उभिनेबाहेक; एकल राष्ट्र/राष्ट्रिय/राष्ट्रियताका पक्षमा नीति–निर्णय गर्ने बाहेक; अनेकता, विविधता र बहुलताको धरातलबाट समताका लागि प्रतिरोध गर्ने कुनै वैचारिकी र काल्फनिकी बाँकी छ ?


Last Updated on: January 24th, 2023 at 10:14 pm


तपाईको प्रतिक्रिया