सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मेसीसँग नेपाली युवाको सेल्फी

प्रकाशित मिति । ९ माघ २०७९ ।

ओखलढुंगा — चर्चित फुटबलर लियोनल मेसीलाई भेट्ने रहर कसको नहोला ? तर भर्खरैका विश्वकप विजेता मेसीलाई भेटेर सेल्फी खिच्ने मौका जोकोहीले कहाँ पाउँछन् र ? त्यसमाथि एक सामान्य नेपाली युवकले उनलाई भेट्न पाउनु असम्भव जस्तै हो ।

काभ्रे दोलालघाटका ३८ वर्षीय नवाङ लामाले बुधबार मेसीसँग सेल्फी खिच्ने अवसर पाए । कतारको राजधानी दोहामा रहेको ‘द टर्च होटल’ मा एक दशकदेखि काम गर्दै आएका नवाङले जीवनमा यही अवसर खोजिरहेका थिए ।

टर्च होटलमा विश्वका अधिकांश खेलाडी आउने गर्छन् । त्यसैक्रममा उनले धेरै जनासँग यसअघि भेटेर सेल्फी खिच्न भ्याइसकेको थिए । उनको एउटै धोको थियो मेसीलाई भेट्ने । उनी मेसीका कतिसम्म ‘डाइहार्ट’ फ्यान थिए भने मनमनै कुलदेवता भाकेर भेट्न पाइयोस् भनेर कामना गर्ने गर्थे ।

साउदी अरबमा बिहीबार भएको पीएसजी र अल नासर क्लबबीचको मैत्रीपूर्ण खेलका लागि पीएसजी टिम बुधबार कतारको टर्च होटलमा आएर बस्यो । त्यही अवसरमा अप्रत्याशित रूपमा उनले मेसीसँग भेट्न पाए ।

सुरुमा उनले मेसीलाई लिफ्टसम्म पुर्‍याएर कोठा देखाउने अवसर पाए । तर सुरुमै उनीसँग सेल्फी खिचेनन् । होटलका कर्मचारीलाई कोही पाहुनासँग फोटो, अटोग्राफ लिन निषेध गरिएको छ । तर उनी मेसीसँग फोटो खिच्ने अवसर पाउँदा होटलले जागिरबाट निकाले पनि तयार नै थिए ।

‘मैले त पहिले नै म्यानेजरलाई भनेको थिएँ । बरु मलाई घर फर्काइदेऊ तर मेसीसँग अवसर मिलेमा सेल्फी लिन्छु भनेर,’ नवाङले भने, ‘नभन्दै मेरो चाहना पूरा भयो । अब म पूर्ण भएँ ।’

पीएसजीका सबै टोलीले खाना खाइसकेर कोठा फर्किने बेला उनले ‘लियो, कम हेयर वान फोटो प्लिज’ भनेर अनुरोध गरे । मेसी नजिकै आएर उभिए । मुसुक्क हाँसे । त्यतिखेर नवाङ पूरै नर्भस भए । उनको जीउभरि काँडा उम्रियो ।

पीएसजीका सबै खेलाडी सँगै थिए । तर उनलाई अरूसँग खासै मतलब थिएन । जसरी पनि मेसीसँग तस्बिर लिने उनको चाहना थियो । उनले फेसबुक र इन्स्टाग्राममा प्रोफाइल परिवर्तन गर्दै लेखे ‘मिसन एकम्प्लिसड ।’ विश्व चर्चित खेलाडीका सुरक्षा व्यवस्थादेखि गोपनीयता कायम गरिएको हुन्छ ।

त्यसैले जोकोही प्रशंसकले मेसी स्तरका खेलाडीसँग व्यक्तिगत रूपमा भेटेर तस्बिर लिन पाउनु सहज छैन । उनले यसअघि नै नेयमार जुनियर, आर्जेन रोबेन, मारियो गोट्जे, जाभियर हर्नान्डेज, आर्टुरो भिडाल, रोबर्ट लेवन्डन्स्की, जाभी अलोन्सोलगायत दर्जनौं विश्वचर्चित फुटबलरसँग सेल्फी लिन भ्याइसकेका छन् ।

देश छाड्ने खेलाडीको ताँतीले सरकारको मन रुँदैन ?

पछिल्लो समय नेपाली फुटबलमा खेलाडी पलायनको निकै निराशाजनक प्रवृत्ति देखिएको छ । सातैपिच्छेजसो कोही न कोही खेलाडी विदेश पलायन भइरहेका छन् । धेरैजसोको रोजाइ अस्ट्रेलिया बन्ने गरेको छ; केहीले अमेरिकालाई गन्तव्य बनाइरहेका छन् ।

एक वर्षभन्दा कम समयमै नेपालको घरेलु फुटबलमा माथिल्लो दर्जाका खेल खेलिरहेका ३० भन्दा बढी खेलाडी विदेश गएका छन्, जसमध्ये आधाजतिले त कुनै न कुनै समय नेपाली राष्ट्रिय टिमबाट पनि खेलिसकेको पृष्ठभूमि छ ।

अझ दुःखलाग्दो त सबैजसो खेलाडीले आफ्नो खेल जीवन उत्कर्षमा छँदै देश छाडिरहेका छन् । यो प्रवृत्तिले नेपाली फुटबलमा एक प्रकारको रिक्तता छाएको छ । अर्को महिना नेपाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिताका रूपमा सहिद स्मारक लिग ए डिभिजनको आयोजना हुँदै गर्दा देखिएको यो दृश्य विरक्तलाग्दो छ ।

अहिले नै त्यस प्रतियोगितामा खेल्ने खेलाडीको अभाव हुन थालेको छ । क्लबमा अनुबन्धित खेलाडी नै बाहिर गइरहँदा माथिल्लो दर्जामा खेल्ने खेलाडीको अभाव अझै चर्को हुने निश्चित छ । त्यस लिगको समाप्तिमा फ्रेन्चाइज लिगका रूपमा नेपाल सुपर लिग हुने कार्यक्रम पनि छ । खेलाडी अभावकै कारण उक्त प्रतियोगिता पनि प्रभावित हुने निश्चित छ ।

एउटा खेलाडी उत्पादनका लागि लाखौं रुपैयाँ मात्र होइन, उत्तिकै समय पनि खर्च भएको हुन्छ । यसका निम्ति अन्य क्षेत्रको पनि त्यत्तिकै योगदान परेको हुन्छ । तिनै खेलाडी विदेश पलायन हुँदा स्वाभाविक रूपमा खेल जगत्मा अकल्पनीय क्षति भइरहेको छ ।

राम्रा खेलाडीले देश छाडेपछि त्यसको सबभन्दा ठूलो असर नेपाली राष्ट्रिय टिममा पर्छ । केही महिनापछि साफ च्याम्पियनसिपको अर्को संस्करणको तालिका छ । त्यसअगाडि नेपालले भारतमा हुने एउटा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । त्यसका लागि नेपाली टिम निर्माणमा कठिनाइ आउने देखिन्छ । अहिले टिममा रहेका केही प्रमुख खेलाडीहरू लगभग संन्यासको संघारमा पुगिसकेको स्थितिमा तिनको स्थान लिने खेलाडी पनि नहुने चिन्ता उत्तिकै छ ।

खेलाडीको पलायनले नेपाली फुटबलप्रतिको आकर्षण र लोकप्रियता पनि घट्ने देखिन्छ । यो रिक्तताका कारण फुटबललाई एउटा उद्योगका रूपमा व्यावसायिक ढंगले सञ्चालन गर्न पनि व्यवधान आउनेछ ।

यो दुरवस्था अन्त्यका लागि सम्बन्धित निकायले गहिरो चिन्तन गरी खेलाडी टिकाउन नीतिगत व्यवस्था गर्नुपर्ने हो । तर ठीक यही बेला नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मौनप्रायः छ । राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय पनि चुपचाप देखिन्छन् ।

खेलाडी व्यक्तिगत कारणले पलायन भएको औंल्याउँदै त्यसलाई रोक्न नसकिने तर्क एन्फा अधिकारीहरूको छ । खेलाडीहरू किन पलायन भैरहेका छन्, त्यसपछाडिका सामाजिक–आर्थिक कारणहरू के–के हुन्, यो अवस्था सच्याउन के गर्न सकिन्छ, एन्फाले यसको खोजी गर्न र सुधारका उपायहरू अवलम्बन गर्न जरुरी छ । त्यसो त, यति बेला देशको ठूलो युवाशक्ति अध्ययन वा रोजगारीका सिलसिलामा बिदेसिने गरेको छ ।

कारणहरू पक्कै उही र उस्तै होलान्, तर आम युवाजसरी नै राष्ट्रिय जीवन बनाइसकेका खेलाडीहरू पनि पलायन हुनुलाई उत्तिकै स्वाभाविक रूपमा लिनु हुन्न । आम युवाकै हकमा पनि अहिले भैरहेको पलायन रोक्न मुलुकले विस्तृत सुधारको बाटो समात्नैपर्छ, त्यसको पहिलो सुरुआत भने खेलाडीहरूमा केन्द्रित भएर हुन सक्छ ।

शंकै छैन, खेलाडी पलायन हुनुको प्रमुख तत्कालीन कारण खेलेर देशमा कुनै भविष्य नदेख्नु नै हो । एक त खेलाडीले पाउने पारिश्रमिक–सुविधा अति न्यून छ, त्यसमाथि यो अनियमित पनि छ । फेरि, खेलाडीहरूलाई व्यस्त राख्न र निरन्तर आम्दानी सुनिश्चित गर्न फुटबलका प्रतियोगिताहरू पनि नियमित भैरहेका छैनन् । र, यो अवस्था एकाएक आएको भने होइन । लामो समयदेखि जिम्मेवार निकायहरूको अदूरदर्शिता र व्यवस्थापनहीनताका कारण यस्तो परिस्थिति निम्तिएको हो ।

यसअघि पनि फुटबल खेलाडीहरू विदेश पलायन नभएका होइनन्, तर संख्यात्मक हिसाबले हालको अवस्था अकल्पनीय छ । फेरि अहिले फुटबल मात्र होइन, अन्य खेलका खेलाडी पनि बाहिरिने क्रम बढ्दो छ । नेपालमै भएको पछिल्लो दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीसमेत धेरै विदेश पुगिसकेका छन् ।

धेरै पदक जितेका दुई खेल तेक्वान्दो र करातेका लगभग सबै पदकविजेता पलायन भइसकेका छन् । अहिले नेपाली खेलकुदमा जताततै भताभुंग चाला छ । नेपाली खेलकुदमा जति पनि संघहरू छन्, ती सबैमा अनुचित राजनीतिले प्रवेश पाएको छ, जहाँ विवाद, अन्योल र अनिश्चितताबाहेक अर्थोक छैन ।

त्यसैले सम्बन्धित खेल संघ मात्र होइन, युवा तथा खेलकुद मन्त्रालय र समग्र सरकारकै यसतर्फ गम्भीर ध्यानाकर्षण हुनुपर्छ । खेलाडीहरू आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट क्षणमै किन देश छाड्न बाध्य छन्, यसका यथोचित कारणहरू पहिल्याई समस्याको समाधान गर्न जरुरी छ । खेलाडीलाई राष्ट्रिय गहना भन्ने तर त्यो गहनालाई राष्ट्रमै अड्याइराख्न नसक्ने विडम्बनाको अन्त्य हुनुपर्छ ।


Last Updated on: January 23rd, 2023 at 9:01 am


१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया