सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


संसद् भवनमा वसन्त ऋतु आएको छ : सांसद् सोभिता गौतम

प्रकाशित मिति । ७ माघ २०७९

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोभिता गौतमले संसद् भवनमा वसन्त ऋतु आएको बताएकी छिन्।

शनिबार प्रतिनिधि सभामा बोल्दै सांसद् गौतमले नयाँ पुस्ताका धेरै प्रतिनिधि संसद् भवनमा देखिनु वसन्तको आगमनको संज्ञा दिएकी हुन्।

संसद्‍मा अनुभवी पुस्ता र उर्जा पुस्ताहरू रहेकोले सबै जना मिलेर नेपालका विद्यमान विकृतिहरू मेटाउने कुरामा आफू विश्वस्त रहेको उनले बताइन्।

उनले आफूलाई विश्वास गरेर भोट दिने काठमाडौं-२ का मतदातालाई धन्यवाद दिइन्। उनले जनताले आफूलाई गरेको विश्वासलाई कुठाराघात नगर्ने जिकिर गरिन्।

काठमाण्डूमा घण्टीको उदय ‘पानीको फोका’ कि वैकल्पिक राजनीतिको अनुमोदन

घण्टी चुनाव चिह्नसहित उत्रिएको नेपाल स्वतन्त्र पार्टीले राजधानी काठमाण्डूमा प्रतिनिधिसभातर्फ चार सिट जितेपछि त्यो नेपाली राजनीतिका लागि एउटा महत्त्वपूर्ण प्रस्थान विन्दु बन्न सक्ने विश्लेषकहरूले बताएका छन्।

सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा केही महिनाअघि स्थापित दलले आफूले लडिरहेको पहिलो आमचुनावमा नै यो स्तरको परिणाम ल्याउनु देशमा मूलधारका दलहरूका कारण निम्तिएका कैयौँ विसङ्गति माथिको जन आक्रोश भएको विश्लेषकहरू बताउँछन्।

अघिल्लो पटकको प्रतिनिधिसभा चुनावमा काठमाण्डूका १० वटा क्षेत्रमध्ये ६ वटामा विजयी भएको नेकपा एमाले यसपालि एउटा स्थानमा खुम्चिने देखिएको छ।

हाल सत्ताको नेतृत्व सम्हालिरहेको नेपाली कांग्रेसले भने अघिल्लो चुनावभन्दा एक सिट बढी अर्थात् पाँच सिट जितेको विवरण आएका छन्। निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ।

विश्लेषकहरू के भन्छन्?

एकजना टिप्पणीकार मुमाराम खनाल राजधानीको परिणामले मतदाताहरू अहिलेका पार्टीहरूको विकल्पमा उभिँदै गएको सन्देश दिएको बताए।

उनले भने, ‘त्यो भनेको व्यवस्थाको विकल्प होइन। अहिलेका पार्टीहरूले आन्तरिक लोकतन्त्रका हिसाबले युवालाई सम्बोधन गरेनन् र आर्थिक समृद्धिको कुरा गरिरहे पनि परिणाम दिन सकेनन्। त्यो निराशा अघिल्लो निर्वाचनमा नै पनि देखिएको थियो। त्यसबेला वामपन्थीहरूको एकता भएका कारण मात्रै त्यो अहिले जसरी मुखरित हुन पाएन।’

खनालका अनुसार ‘कहिले साम्राज्यवाद, कहिले विस्तारबाट र प्रतिक्रियावाद अनि कहिले कांग्रेसले’ काम गर्न दिएन भन्ने वामपन्थी दलहरूको दुई तिहाइको सरकार बन्दा समेत मुलुकमा बेथिति बढ्दा त्यसले मतदाताहरूलाई थप निराश बनायो।

उनी थप्छन्, ‘जम्मा प्रत्यक्षतर्फ २३ सिट मात्रै दिएर प्रतिपक्षमा बस्न भनेर जनताले जसलाई पठाएका थिए त्यही दललाई गुहारेर वामपन्थी दलहरूले कांग्रेसको नेतृत्वमा सरकार बनाए। त्यसप्रति पनि आम मान्छेहरूको गुनासो रह्यो। अझ जब गठबन्धन तयार भयो त्यो वैचारिक र सङ्गठनात्मक भएन भनेर आफ्नै दलहरू भित्रबाट प्रश्न उठ्यो। मलाई लाग्छ, त्यसबाट नागरिकको तहमा उत्साह जगाउन सकेनन्। यिनै कारण होलान् विकल्पको राजनीतिलाई उनीहरूको ठूलो प्रयासबिना नै एक प्रकारको अनुमोदन गरिदियो।”

आर्थिक रूपमा स्वावलम्बी भएका सहितका कारणले शहरी क्षेत्रका मतदाताहरूले जोखिम उठाउनसक्ने र स्वतन्त्र ढङ्गले भोट खसाल्नसक्ने भएकाले काठमाण्डूबाट परिवर्तन देखिएको उनको विश्लेषण छ।

यसअघि गएको वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा काठमाण्डूले ३१ वर्षका बालेन शाहलाई मेयरमा निर्वाचित गरेको थियो।

उनको जितलाई राजनीतिक रूपान्तरणको रूपमा अर्थ्याएका धेरैले स्वतन्त्र उम्मेदवार शाहको जितले मूलधारका राजनीतिक दललाई गतिलो झापड दिएको टिप्पणी गरेका थिए।

वैकल्पिक राजनीतिक शक्तिको पक्षमा विगतमा जोडिएका अर्का विश्‍लेषक सूर्यराज आचार्यले घण्टीको पछिल्लो उदयलाई महाभारतको एउटा कथाको प्रसङ्गसँग जोडे।

उनले भने, ‘शिशुपालको १०० वटा गल्तीसम्म श्रीकृष्णले माफी दिए। तर १०१ गल्ती भएपछि उनले सुदर्शन चक्र चलाए। काठमाण्डूका जनताले पनि त्यस्तै १०१ गल्ती भएपछि मतदानमार्फत् सुदर्शन चक्र चलाएका हुन्।’

सोभिता गौतम काठमाण्डू २ बाट निर्वाचित भएकी हुन्

दोस्रो पटक तोडियो एमालेको ‘लाल किल्ला’

परम्परागत रूपमा नै काठमाण्डू एमालेको ‘लाल किल्ला’ मानिन्छ।

विक्रम सम्वत् २०४६ सालको परिवर्तनपछि पहिलो पटक भएको आमचुनावमा काठमाण्डूका ५ मध्ये चार निर्वाचन क्षेत्र एमालेले जितेको थियो।

त्यसबेला एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी काठमाण्डूका दुईवटा निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

उनले काठमाण्डू एकमा नेपाली कांग्रेसका सभापति एवं संस्थापक नेतामध्येका एक कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए।

दाश ढुङ्गामा सवारी दुर्घटनामा भण्डारीको निधन भएपछि भएको उपचुनावमा भण्डारीकी पत्नी तथा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: भट्टराईलाई पराजित गरेकी थिइन्।

विक्रम सम्वत् ०५१ सालको निर्वाचनमा काठमाण्डूका सातवटा क्षेत्र एमालेले जितेको थियो।

०५६ सालको आमनिर्वाचनमा पाँच क्षेत्रमा एमाले विजयीहुँदा २ वटा सिट कांग्रेसले जितेको थियो।

तर ०६२/०६३ को राजनीतिक परिवर्तनपछि मुलुकमा पहिलो पटक निर्वाचित संविधानसभामा काठमाण्डूमा एमाले पूरै बढारिएको थियो।

कुल १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र ४ वटामा पूर्व विद्रोही दल नेकपा माओवादी विजयी भयो।

दोस्रो संविधानसभामा काठमाण्डूका १० निर्वाचन क्षेत्रमध्ये ७ वटामा कांग्रेस र ३ वटामा एमालेका उम्मेदवार विजयी भएका थिए।

एमाले पराजित हुनुको कारण?

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित भएका छन्

विश्लेषक मुमाराम खनाल एमाले अध्यक्ष ओलीको व्यक्तिवादी चरित्रका कारण उक्त दलको वास्तविक सङ्गठनात्मक संरचना खलबलिन पुगेको र त्यसका कारण पार्टीले राजधानीमा क्षति बेहोरेको ठान्छन्।

‘पार्टीमा अलिकतिमात्रै पनि विमति राख्नेहरूलाई ओलीको नजिक रहेको एउटा ठूलो जमातले आक्रमण गर्ने भएपछि त्यो दलको चरित्र नै परिवर्तन भएको छ। यो कमजोर हुने दिशामा नै गइरहेको मलाई लाग्छ।’

विश्लेषक आचार्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक संसद्को विघटन गरेको र त्यो ‘बल मिच्याईँपछि’ उक्त दलप्रति ‘जनविश्वास भाँचिएको’ आफूलाई लागेको बताए।

उनले भने, ‘यो पानीको फोका जस्तो भुलुक्क आएको वा रवि लामिछानेको कारणले मात्र क्षणिक रूपमा आएको होइन। विसङ्गतिपूर्ण राजनीतिमाथिको अभिमतका रूपमा यसलाई हेर्नुपर्छ।’

समानुपातिकमा तेस्रो स्थानमा घण्टी

स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुमन सायमीलाई पराजित गरेका थिए । बुधवार अपराह्न १ बजेसम्मको मतगणनामा समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ।

पहिलो स्थानमा २ लाख ४१ हजारभन्दा बढी मत सहित एमाले र दोस्रोमा २ लाख १८ हजारसहित कांग्रेस अघि बढीरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी पनि राष्ट्रिय दल बन्ने दिशामा छ।

उक्त दलले १ लाख ११ हजारभन्दा बढि मत ल्याएको छ जुन हाल गठबन्धनमा रहेको दोस्रो ठूलो दल माओवादी केन्द्रभन्दा ११ हजारले बढि हो।

राष्ट्रिय दल बन्न पहिलो हुनेले जित्ने प्रणालीमा कम्तीमा एउटा र समानुपातिक प्रणालीमा कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ।

घण्टीका सामु चुनौती

चुनावबाट एउटा मुख्य शक्ति बन्ने दिशामा अघि बढिरहेको उक्त दलको भविष्य कस्तो होला भन्नेमा पनि व्यापक चासो पाइन्छ।

विश्लेषक खनाल भन्छन्, ‘कुनै मानिसले कुनै प्रयत्न विना नै यो खालको असन्तुष्टिलाई भजाएर जति सजिलो आगमन हुन्छ त्यति नै सजिलो गमन पनि हुनसक्छ। त्यही भएर उनीहरूले कस्तो भूमिका खेल्छन् त्यसमा धेरै कुरा निर्भर हुन्छ।”

प्रतिपक्षमा बस्दा वा सत्तामा रहँदा उक्त दलले खेल्ने भूमिका र पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा व्यवस्थापन गर्नसक्ने उक्त पार्टीको नेतृत्वको क्षमतामा सो दलको भविष्य निर्भर हुने उनले बताए।

मतदाताहरूले आफ्नो जिम्मेवारी ‘राम्रोसँग पूरा गरेको ठान्ने’ आचार्य कुनै दलको पनि एकल बहुमत नभएको अवस्थामा सांसदहरूलाई ‘खिचातानी, अपारदर्शी लेनदेन, किनबेच’ जस्ता चुनौती थपिने बताउँछन्।

उनले भने, ‘त्यस्तोमा उहाँहरूलाई जबरजस्त दबाव हुन्छ। त्यसमा उहाँहरू कसरी बच्नुहुन्छ? त्यसलाई चिरेर ६ महिनादेखि एक वर्षभित्र संसदमा कस्तो सन्देश दिनुहुन्छ त्यसले ठूलो प्रभाव पार्छ। चुक्नुभएन भने अर्को चुनावमा ठूलो पार्टी बन्ने वा एकल बहुमत ल्याएर सरकार बनाउने सम्भावना देख्छु।’

आफ्नो चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उनको दल प्रतिपक्षमा बस्ने बताएका थिए।

बीबीसीसँग कुरा गर्दै उक्त दलका प्रवक्ता डा. मुकुल ढकालले उक्त दलले चुनावको अन्तिम परिणाम आएपछि सांसदको सङ्ख्या हेरेर सरकारमा जाने वा नजाने रणनीति बनाउने बताएका छन्।


Last Updated on: January 21st, 2023 at 7:51 pm


९६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया